कीर्तिमानी फिल्म 'पूर्ण बहादुरको सारंगी' का निर्माता विनोद पौडेलले आफ्नो आगामी फिल्म 'अभिमन्यु: च्याप्टर १' लाई सानो सिनेमाको श्रेणीमा नराख्न आग्रह गरेका छन्।
उनले बजेट र स्टारकास्टले नभई बक्स अफिसमा गर्ने व्यापारले मात्र फिल्म सानो वा ठूलो भन्ने निर्धारण गर्ने बताएका हुन्।
निर्माता पौडेलका अनुसार, जुन फिल्मले धेरै कमाउँछ, त्यो नै वास्तवमा ठूलो फिल्म हो। केवल 'स्टारकास्ट' (चलेका कलाकार) र ठूलो लगानी हुँदैमा फिल्मलाई ठूलो भन्न नसकिने उनको तर्क छ।
'स्टारकास्ट हुँदैमा फिल्म ठूलो हुने र नहुँदैमा सानो हुने भन्ने हुँदैन। चलेका कलाकार भएका सबै फिल्म चल्छन् र नभएका फिल्म चल्दैनन् भन्ने भाष्य गलत छ,' उनले भने।
उनी आफ्नै निर्माणमा बनेको 'पूर्ण बहादुरको सारंगी' को उदाहरण दिन्छन्। करिब डेढ करोड लगानीमा निर्माण भएको उक्त फिल्मले नेपाली बक्स अफिसमा ४६ करोड ८० लाख रूपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्दै ऐतिहासिक रेकर्ड कायम गर्यो।
यसर्थ, लगानी कम भए पनि व्यापारका हिसाबले त्यो 'ठूलो फिल्म' बनेको उनको बुझाइ छ।
'पूर्ण बहादुरको सारंगी' मार्फत नेपालमा हालसम्मकै सर्वाधिक कलेक्सनको रेकर्ड बनाएका पौडेलको आगामी फिल्म 'अभिमन्यु' को बक्स अफिस व्यापारलाई लिएर अहिले धेरैको चासो छ।
पौडेलले 'अभिमन्यु' लाई 'अन्डर डग' हरूको फिल्म बताउँदै यसलाई कम नआँक्न आग्रह गरेका छन्। विभिन्न कारणले पटक–पटक प्रदर्शन मिति स्थगित हुँदै आए पनि निर्मातामा फिल्मलाई लिएर उच्च आश्मविश्वास देखिएको छ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहेको 'अभिमन्युः च्याप्टर १' मंसिर १८ गतेदेखि प्रदर्शनमा आउँदैछ। यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा नेपालसहित भारत र विश्वभर एकसाथ रिलिज हुने निर्माताले बताएका छन्।
सुशान्त गौतमले निर्देशन गरेको फिल्मको क्रिएटिभ डिरेक्टर मदन थापा हुन् भने कथा मुकेश खनालले लेखेका हुन्। फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरूङ, प्रकाश दाहाल, शिशिर वाङ्देल लगायतका कलाकारहरूको मुख्य अभिनय छ।
फिल्मका निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी छन्। त्यस्तै, सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ तथा कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। लाइन प्रोड्युसरको जिम्मेवारी जीवन शाक्यले सम्हालेका छन्।
प्राविधिकतर्फ शरद महतोको छायांकन (डिओपी), मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको कलर ग्रेडिङ र मदन घिमिरेको सम्पादन छ।