चर्चित गायक सुशान्त केसीको मुख्य अभिनय रहेको लघु चलचित्र (सर्ट फिल्म) 'यस्तै रैछ' सार्वजनिक भएको छ।
शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच फिल्म सार्वजनिक गरिएको हो।
गायनमार्फत युवा पुस्तामाझ अत्यधिक लोकप्रिय रहेका सुशान्तको फिल्ममा यो डेब्यु अभिनय हो।
१२ मिनेट ३१ सेकेन्डको फिल्ममा सुशान्तले 'शाम्बाला' फेम अभिनेत्री थिन्ले ल्हामोसँग स्क्रिन सेयर गरेका छन्।
अस्ट्रेलियन फिल्मकर्मी कलानी गाकोनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दुई युवायुवतीको वियोगान्त प्रेमकथा समेटिएको छ। फिल्मको निर्माता प्रतिक राई हुन् भने छायांकन चिन्तन राजभण्डारीले गरेका हुन्।
सुशान्तले फिल्मको शीर्षकमै रहेको 'यस्तै रैछ' बोलको गीत पनि चाँडै सार्वजनिक हुने जानकारी दिए। फिल्मको कथा जहाँ अन्त्य हुन्छ, त्यहीँबाट गीतको कथा सुरू हुनेछ।
यो लघु चलचित्र गायक केसीको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ।