अभिनेता खगेन्द्र लामिछानेलाई पर्दामा नाचेको कमै मात्र देख्न पाइन्छ। तर, यही मंसिर १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'हर्ष' का दुई गीतमा भने उनले नृत्य गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित फिल्मको पत्रकार सम्मेलनमा खगेन्द्रको नृत्यको विषय चर्चामा रह्यो। आफूलाई नाच्न निकै असहज लाग्ने भए पनि निर्देशकको सोच र पेसागत बाध्यताका कारण नाच्नुपरेको खगेन्द्रले बताए।
खगेन्द्रले निर्देशक एकता पौडेललाई पहिल्यै आफूलाई नाच्न नलगाउँदा राम्रो हुन्छ भनेर अनुरोध गरेका थिए। तर, निर्देशकको आफ्नो सोचाइ हुने र कलाकार भएर जोडिएपछि नाइँनास्ति गर्न नमिल्ने उनको भनाइ छ।
उनले भने, 'कलाकार भएर जोडिएपछि र पैसा लिएर काम गरेपछि यस्तो गर्दिनँ भन्न नैतिकता र विवेकले दिएन।'
उनले फिल्म 'महाभोज' को छायांकन सकिनेबित्तिकै 'हर्ष' को छायांकन सुरू गरेका थिए। समय नभएकाले राम्ररी रिहर्सल नगरी गीतको छायांकन गरिएको उनले बताए।
नृत्य आफ्नो बलबुताको विषय नभएको र भविष्यमा पनि नसिक्ने उनले बताए। उनले नयाँ फिल्मको अफर आउँदा पारिश्रमिक र कथाको कुरा गर्नुअघि नै निर्देशक र निर्मातालाई 'यो फिल्ममा म नाच्न पर्छ कि पर्दैन?' भनी सोध्ने गरेका छन्। 'नाच्नुपर्दैन भनेपछि मात्र बल्ल अरू कुरा गरौं भनेर लाग्छु,' पत्रकार सम्मेलनमा उनले भने।
यसअघि फिल्म 'महाभोज' मा भने दयाहाङ राई, आर्यन सिग्देल र दिनेश राउत जस्ता साथीहरूको करले गर्दा नाचेको उनले प्रष्ट्याए।
सञ्चारकर्मीले 'यस्तै समस्या दयाहाङ राईमा पनि थियो नि?' भनी सोधेको प्रश्नमा खगेन्द्रले रमाइलो जबाफ दिए।
'समस्या थियो तर उसले सिकिसक्यो, अब त दया मेरो डान्सको गुरू', उनले भने। साथै, उनले विजय बरालले 'वरिष्ठ बलराम' को गीत 'न्याउली बनैमा' मा गरेको नृत्यको प्रशंसा गर्दै खुसी लागेको बताए।
पत्रकार सम्मेलनमा अभिनेत्री वर्षा राउतले भने खगेन्द्रको नृत्यमा सुधार आएको बताइन्। उनले भनिन्, 'मेयर फिल्ममा पनि गीत थियो, त्यसमा भन्दा हर्षमा धेरै राम्रो गर्नुभएको छ। गर्दै जानुभयो भने राम्रो हुन्छ।'
यस्तै, निर्देशक एकताले कथाअनुसार केमेस्ट्री देखाउन नचाएको बताइन्। गीत छायांकनका क्रममा खगेन्द्रले ठट्टा गर्दै 'एकता जी, बरू गरिबै हुन ठिक रहेछ' भन्ने गरेको प्रसंग पनि निर्देशकले सुनाइन्।
पारिवारिक कथामा बनेको फिल्म 'हर्ष' आगामी शुक्रबारदेखि सिनेमा हलमा लाग्नेछ।