गुड फ्राइडे सिनेमा
मुम्बई सपनाको सहर हो। यो सहरमा लाखौं मान्छेका सपना पूरा हुन्छन्, अरू करोडौं दिनरात संघर्ष गरिरहन्छन्।
सपना देखेर संघर्ष गर्न मुम्बई आइपुगेका यस्तै व्यक्ति हुन् शिव।
उनको सपना कलाकार बन्ने हो।
तर मुम्बई उनले सोचे जस्तो सहज छैन।
एक भाडाको घरमा उनी आफ्नी श्रीमती मधु र छोरासँग बस्दै आएका छन्। उनीहरूलाई दैनिक जीवन गुजारा गर्नै धौधौ छ। श्रीमती अरूको घरमा काम गर्न जान्छिन्।
छोरालाई जसोतसो उनीहरूले स्कुल पठाएका छन्। तर केही खानेकुरा या खेलौनाको माग पूरा गर्न सक्दैनन्।
एक दिन ठूलो फिल्ममा देखिने आश सजाउँदै शिव विभिन्न फिल्म स्टुडियो धाइरहेका हुन्छन्।
छोराले बारम्बार सोध्ने प्रश्न हो – बाबा तपाईंको फिल्म कहिले आउँछ? मेरा साथीहरूले तेरो बुबाको फिल्म कहिले रिलिज हुन्छ भनेर सोधिरहेका हुन्छन्।
जबाफमा शिव भन्छन् – छिट्टै आउँछ!
उनको मनको आँधी थाम्न श्रीमतीले आडभर दिइरहेकी हुन्छिन्।
दैनिक गुजारा चलाउन शिव पारलैंगिक महिलाको भेषमा सडकमा भिख माग्दै हिँड्छन्। उनको शृंगार गर्ने काम श्रीमती मधुले नै गर्छिन्।
पारलैंगिक महिला बनेपछि उनले आफ्नो नाम पार्वती राखेका हुन्छन्। यति मात्र होइन, गुजाराका निम्ति उनी ज्यामी काम पनि गर्छन्।
तर फिल्ममा देखिने उनको सपना भने जहाँको त्यही हुन्छ।
पाँच फिट उचाइ भएका शिवलाई कहिले उचाइ पुगेन फर्काइन्छ त कहिले उमेर बढी भयो भन्दै। तर पनि उनी हरेस नमानी बारम्बार फिल्मका लागि अडिसन दिन कुदिरहेका हुन्छन्।
उनीसँगै उनका साथी सत्य पनि अभिनेता बन्ने सपना बोकेर मुम्बई आएका हुन्छन्। उनले पनि अभिनय क्षेत्रमा सोचे जस्तो काम पाएका हुँदैनन्। त्यसैले अन्य काम गर्न थाल्छन्। उनले शिवलाई पनि काम गर्न सुझाउँछन्। तर पढाइ नभएकाले उनी भिख माग्न बाध्य हुन्छन्।
के ठूलो फिल्ममा काम गर्ने सपना बोकेर आएका शिव अभिनेता बन्लान्?
पारलैंगिक महिलाको भेषमा भिख माग्ने उनको नियति बदलिएला?
वा उनी यही दलदलमा रूमलिइरहलान्?
यसका लागि पलाश मुछाल निर्देशित फिल्म ‘अर्ध’ हेर्नुहोस्।
यो फिल्ममा शिवको भूमिकामा राजपाल यादव छन्। सहायक भूमिकामा देखिँदै आएका राजपालले यसमा मुख्य भूमिका पाएसँगै उनका लागि यो फिल्म एक खुड्किलो सावित भएको थियो।
त्यस्तै टेलिशृंखलामा रूचाइएकी रूविना दिलाइकले यसै ‘अर्ध’ मार्फत फिल्ममा डेब्यू गरेकी थिइन्। उनी मधुको भूमिकामा छिन्।
ओटिटीमा प्रदर्शन गरिएको यो फिल्म दर्शक र समीक्षकले निकै रूचाएका थिए।
आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं।
फिल्म हेर्न 'watch on youtube' मा क्लिक गर्नुहोला।