धेरै कुरा सायद लेखिँदैनन् तर भोगिन्छन्— शान्त, मौन र गहिरो रूपमा!
म एक सामान्य कृषक परिवारमा जन्मिएको, जहाँ बिहानको सूर्य हलोको सिउँदो चुम्थ्यो र गोधुली साँझ ढिकी र जाँतोको तालमा दिनको अन्त्य हुन्थ्यो। बाल्यकालमा कर्मशील पाखुरामा गुच्छा, भुरुंग र डन्डीबियो मात्रै थिए, सपना थिए— एक दिन ठुलो मान्छे बन्ने।
कपडाको भकुन्डोले खेलिएका ती दिनहरूमा जागिर भन्ने कुरा सपनाभन्दा बाहिरको संसारजस्तो लाग्थ्यो। तर जीवन बिस्तारै बदलियो। संघर्षको रापमा पाकेर पढाइ सकियो, बिकम.पछि जागिरको सपना साकार भयो। कञ्चन सपना थियो, जागिर खाने— त्यही सपना बोकेर म सहरी जीवनको यात्रामा होमिएँ।
सुरुका दिनहरू सजिला थिएनन्। म अफिस जाने माइक्रो बस कुर्थेँ, जहाँ प्रतीक्षालयको एउटा कुनामा एक जना माग्नेले मलाई हरेक दिन हेर्थ्यो। अनि चिया नास्ताको नामबाट पैसा माग्थ्यो। ‘नेपालको जागिर कति तलब हुन्छ र त्यही ... हजार त हो नि।’
माग्ने मान्छेले पनि किन हेपेको होला जस्तो लाग्थ्यो। ‘लौ! आज पनि पैसा माग्छ’ भनेर नजर अन्तै घुमाउँथे। तर एक दिन उसले केही मागेन, बरु मेरो मासिक खर्चको हिसाब माग्यो— घरभाडा, स्कुल फी, ग्याँस, तरकारी, गाडीभाडा, नास्ता....
म बताउँदै गएँ, ऊ हिसाब गर्दै गयो। अन्त्यमा मेरो तलबभन्दा खर्च धेरै निकाल्यो र सल्लाह दिँदै भन्यो— ‘हे भाइ, किन यत्रो दुःख गर्छौ? आनन्दसँग घरैमा बस। जागिरले केही हुनेवाला छैन!’
म हाँसेर चुप लागेँ अनि माइक्रो बस चढेँ। त्यस दिन शरीर अलिक हलुङ्गो भयो, मन अझ भारी भयो।
अर्को दिन पनि मुसुक्क मुस्कुराउँदै ‘हिँड्यौ भाइ’ भन्यो। मैले पैसा माग्ला भनेर अर्को पट्टि टाउको फर्काएर ‘हो दाइ’ भनेँ। तर अचम्म! उसले त्यस पछिका कुनै पनि दिनमा मसँग पैसा मागेन। कसैले दयाभाव राखेर भिख माग्ने लिस्टबाट मेरो नाम हटाएछ। म धन्य भएँ!
मैले ४ कोठाको एक तले घर बनाउँदै थिएँ। एक दिन ससुराली गाउँकी एक जना बहिनी घर हेर्न आइछन्। मेरी श्रीमतीलाई ‘हेर्नोस् है दिदी, आजकाल अख्तियारले कर्मचारीलाई रंगेहात समातेका घटना समाचारमा आइराखेका छन्। भिनाजुलाई अलि विचार गरेर काम गर्न भन्नु होला है’ भनी उनले सचेत गराएर गइछन्।
हामी दुई जना कर्मचारी एक जना मान्यजनसँग खानपिन कार्यक्रममा थियौँ, प्रसंगवश उहाँले भन्नुभयो, ‘कर्मचारी भनेका सर्कसका... मात्र हुन्, आसै आसमा जिन्दगी समाप्त! नोकरी गर्दासम्म मात्र सहरमा बस्ने हुन्, रिटायर्ड लाइफपछि गाउँ फर्क अभियान चल्छ, नत्र निर्वाह चल्दैन।’
उहाँ मान्यवर हुनुहुन्थ्यो। हामी चुप लाग्यौ र छुट्टियौँ।
कार्यालय जाने आउने क्रममा बस स्टपसम्म पैदल हिँडेको देखेर एक जना बुबाले सहानुभूतिपूर्वक भन्नुभयो, ‘बाबु, एउटा मोटरसाइकल किन्न सकेको भए हजुरलाई अलि सजिलो हुन्थ्यो होला।’
बुढा मान्छेले मप्रति देखिएका सहानुभूति र सदाशयताप्रति कृतज्ञ हुँदै नमस्ते गरेँ र भनेँ, ‘हैन बुबा, बाइक चलाउन डर लाग्छ, त्यसैले।’ कता कता मनमा एउटा नमिठो अनुभूति भइरह्यो।
कलेजमा पढाउने एक जना सज्जनसँग भेट हुँदा प्रसंगवश उहाँले मेरो पद सोध्नुभयो। मेरो पद थाहा भइसकेपछि भन्नुभयो- ‘अझै अफिसर बन्न सक्नु भएको छैन, यस्तो तालले कसरी प्रगति हुन्छ खै?’
म चुपचाप सुनिरहेँ! व्यक्तिको मूल्याङ्कन पद, पैसा, घर, गाडीले मापन गर्ने हाम्रो समाजको प्रवृत्तिप्रति मेरो गुनासो छ।
२०५२/५३ सालतिर ग्रामीण क्षेत्रको कार्यालयमा कार्यरत हुँदा घरधनीले ‘कर्मचारी भनेका खान लाउनका समस्याले भौँतारिएका मान्छे हुन्, नत्र किन आफ्नै घरमा नबसेर अरूको घरमा गएर बस्छन्?’ यही कटु वाणीका कारण मैले त्यही दिन घर खोजेर रातारात डेरा सरेको छु।
संयोगवश करिब २०/२२ वर्षको अन्तरालपछि उहाँसँग आफ्नै कार्यालयमा कामको सिलसिलामा भेटघाट भयो। कार्यालय प्रमुखको हैसियतले उहाँलाई राम्रो सेवा सत्कार गरेँ। लामै कुराकानीपछि थाहा भयो, उहाँका २ छोराहरू वैदेशिक रोजगारीको लागि विदेशमा रहेछन्।
‘हैन सर, नेपालका कर्मचारीहरूले छोरा-छोरीको विवाह गर्न नसक्ने दिन आयो। यत्रो पार्टी प्यालेस, गहना, कपडा, तडकभडक कसरी हो?’ एक जना जग्गा कारोबारीले एकाबिहानै मेरो पेसाप्रति दया देखाउँदै थिए। उनी मेरो छिमेकी पनि हुन्। अझ ठुलो शुभचिन्तक पनि। मैलेभन्दा बढी मेरा बारेमा चिन्ता लिने व्यक्ति हाम्रो समाजमा जताततै भटेको छु।
‘खै विवाह त सबैले गरेकै छन् क्यारे!’ मैले यति मात्र भनेँ।
‘हैन म्याडम! बजारमा ग्यारेन्टीवाला गहना सस्तैमा पाइन्छ। किनेर लाउनोस् न। सरले जागिर गरेर एउटा रानीहार पनि बनाइदिन सक्नु भएन। मलाई त छोरा-बुहारीले अस्ट्रेलियाबाट पैसा पठाइदिन्छौ भनेका छन्। यसपालि त बनाउने हो,’ छिमेकी महिलाले बिचरा श्रीमतीलाई राम्रो विकल्प दिएर जानु भएछ।
एक दिन कार्यालयबाट दिनभरको कामले थकित हुँदै घर फर्किँदै थिएँ। बाटोमा एक जना सँगको भेटमा ‘आज... पैसा कमाएर आइयो?’ भन्ने अप्रत्याशित प्रश्नले निरुत्तर बनायो। बाटोघाटोमा बसेर मेरो परिश्रमको मूल्य तोक्ने सज्जनलाई मैले प्रत्येक दिनको तलब हिसाब हेर्ने जिम्मा दिएको थिइनँ। त्यसैले कुनै शब्द खर्च नगरीकनै खिस्स हाँसेर छिटो छिटो पाइला चालेँ।
यस्ता घटना जागिरे जीवनमा अनगिन्ती भोगेको छु। उनीहरूको व्यवहार र धारणाबाट विचलित भएको छैन। मेरो जीवनमा कुनै नकारात्मक सोचको विकास भएको पनि होइन। जागिर अवधिमा थुप्रै राम्रा र सम्झन लायक मानिसहरूसँग संगत गरेको छु। उनीहरूबाट ठुलै प्रेरणा पाएको छु। असल जीवन जिउनका लागि पाएका मार्ग दर्शनहरू कुनै दिनमा गरौँला।
हाम्रो समाजमा अझै पनि जागिरे कर्मचारीप्रति हेर्ने दृष्टिकोण पूर्ण रूपमा सकारात्मक छैन। खास गरी अस्वाभाविक रूपमा धन आर्जन गर्ने, पुर्ख्यौली सम्पत्तिमा रमाउने वा सहरीकरणले मूल्य बढेको जग्गा हुनेहरूमाझ कर्मचारीलाई कमजोर, निरीह र संघर्षशील पात्रका रूपमा चित्रित गरिन्छ।
पैदल हिँड्दा ‘गाडी किन्न नसकेर हो’ भन्ने, डेरामा बस्दा ‘घर छैन’ भन्ने, तलब बढ्दा ‘मासु खाए पुग्छ मलाई खान्न तरकारी’ भन्ने उपहासपूर्ण गीत निकाल्ने जस्ता टिप्पणीहरूले कर्मठ र इमानदार कर्मचारीको मनोबल घटाइरहेका छन्। इमानदारी, निष्ठापूर्वक र स्वाभिमानीका साथ काम गर्ने आम कर्मचारीहरूमा परेको मनोभावना लाई समाज र राष्ट्रका जिम्मेवार व्यक्तिहरूले बेलैमा बुझ्न ढिला भैसकेको छ।
तर जागिर केवल आम्दानीको माध्यम मात्र होइन, यो सिकाइ, अनुभव र उत्तरदायित्व निर्वाह गर्ने यात्रा पनि हो। समूहमा काम गर्ने, समयमै जिम्मेवारी पूरा गर्ने, निष्ठापूर्वक कर्म गर्ने अभ्यासबाट जीवनलाई व्यवस्थित बनाउन सकिन्छ। विदेश पलायन वा अस्वाभाविक आम्दानीबाट प्राप्त चिल्ला जीवनशैली सधैँ टिकाउ हुँदैनन्। तर आफ्नै मातृभूमिमा कर्म गरेर साधारण, सन्तुलित र अनुशासित जीवन जिउनुमा छुटै आनन्द समेत छ।
प्रगतिको मापन केवल धन, पद वा भौतिक वस्तुहरूबाट होइन, व्यक्तिको नैतिकता, सोच, व्यवहार र खुसीबाट हुनुपर्छ। त्यसैले, सामान्य जीवनशैली, सकारात्मक सोच, पारिवारिक अनुशासन र सन्तानलाई असल संस्कार दिनु नै सादा जीवनलाई रंगिन बनाउनु हो।
हामी सबैको साझा जिम्मेवारी हो– कर्मचारी वर्गप्रति सम्मानजनक दृष्टिकोण राख्ने, उनीहरूलाई निरीह होइन, राष्ट्रका कर्तव्यनिष्ठ अंगका रूपमा हेर्ने। समाजको मूल्य र मान्यतालाई सन्तुलित राख्न यिनै व्यवहार परिवर्तनले ठुलो भूमिका खेल्न सक्छ। राष्ट्रसेवक कर्मचारीहरू पनि समाज र राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर आफ्नो कर्तव्य नबिर्सौँ। यदाकदा आउने केही यस्ता नकारात्मक टिप्पणीले कर्तव्यपथ बाट विचलित नबनौँ। कर्तव्यनिष्ठ कर्मचारीलाई हेर्ने दृष्टिकोण बदलौँ, इमानदार कर्मको सम्मान गरौँ।
(लेखक कृषि विकास बैंक लिमिटेडका सेवा निवृत्त शाखा प्रमुख हुन्।)