कुनै पनि चिकित्सकले आफू असुरक्षित महसुस गर्दा थाहै नपाई ऊ रक्षात्मक बन्दै जान्छ। पहिलो ध्यान नै आफू कसरी जोगिने भन्ने हुन्छ र रक्षात्मक अभ्यास अर्थात् डिफेन्सिभ प्राक्टिस गर्न पुग्छ।
चिकित्सकले त्रासमा काम गर्दा जोखिम लिने बानीमा कमी आउँछ। आवश्यकभन्दा बढी जाँच गराउने आदत बन्दै जान्छ।
उदाहरणको लागि हेर्ने हो भने एक दुई दिन खोकी लागेर आउने सबैलाई छातीको एक्सरे गरेर मात्र औषधि लेख्ने बानी बस्छ। यसो नगर्दा सयौंमा एक जना बिरामीलाई निमोनिया भइसकेको रहेछ भने उसले आफूलाई पहिल्यै एक्सरे किन नगराएको भनी प्रश्न गर्ने वा आक्रोशित हुने हो कि भन्ने डर पैदा हुन्छ।
शरीरमा कुनै सानो गाँठो क्यान्सर होइन भन्ने लाग्दालाग्दै पनि मासु जाँच अर्थात् बायोप्सी गर्ने बानी लाग्छ। हजारौंमा एकलाई क्यान्सर सुरू भइसकेको हो कि, के थाहा? रक्षात्मक अभ्यास गर्ने चिकित्सकमा चाहिनेभन्दा बढी औषधि लेख्ने बानी देखिन्छ।
कतिपय संक्रमण भएको बेला आफ्नो ज्ञान र चिकित्सकीय नियम अनुसार साधारण एन्टिबायोटिक लेख्नुपर्नेमा कडा एन्टिबायोटिक लेख्न बाध्य महसुस गर्छ। धेरै बिरामीहरू भर्ना हुन पुग्छन्। ओपिडीमा आएर जँचाउँदा र फलोअप गर्दै उपचार गर्न मिल्ने बिरामीलाई समेत भर्ना गर्न सुझाव दिइन्छ।
यही बिरामीलाई नै राति रोगले च्यापेर गाह्रो पार्ने हो र आफूमाथि आरोप आइपर्ने हो कि भन्ने मनोदशामा चिकित्सक रहन्छ।
उपचारमा मनदेखि तल्लिन भएर लाग्नुपर्नेमा चाहिनेभन्दा बढी कागजी काममा लाग्नुपर्ने हुन्छ। अदालती कामकारबाही वा कुनै छानबिन हुँदा कागजी काम नै आवश्यक पर्छ। बढी जोखिम हुने सर्जरीहरू सकेसम्म गर्नु नपरोस् भन्ने लाग्छ। केही परिहालेमा आरोप लगाउने, मुद्दा हाल्न सक्ने व्यहोरा देखिएका बिरामीलाई सकेसम्म आफूले उपचार गर्न नपरोस् जस्तो लाग्ने हुन्छ।
सामान्य समस्यालाई पनि सकेसम्म अन्य विभागका चिकित्सकलाई रिफर गर्ने प्रवृत्ति देखिन थाल्छ। जस्तो: कि घाँटी खसखस गर्यो भने मनतातो पानीले गार्गल गर्न सल्लाह दिनुको साटो सोझै घाँटीको विशेषज्ञलाई जँचाउन सल्लाह दिइन्छ। यसो गर्दा उपचार महँगो र झन्झटिलो हुँदै जान्छ।
चिकित्सकहरू रक्षात्मक बन्दै जाने कारणहरू अनेक छन्। चिकित्सकहरू प्राय:जसो आफ्नो पेसामा लगनशील भएर काम गरिरहन चाहने स्वभावका हुन्छन्। चिकित्सकहरूले उपचारको क्रममा कसैलाई हानि गर्दिनँ भनेर हिप्पोक्राटिक शपथ खाएका हुन्छन्।
मुद्दा मामिलातिर लाग्नु नपरोस् भन्ने चाहन्छन्। आफूले मुद्दा खेप्नु पर्ने डर, अन्य सहकर्मीले मुद्दा खेपेको वा कार्यक्षेत्रमा दुर्व्यवहारमा परेको समाचारले चिकित्सक भयभित हुन सक्छन्। पहिल्यै आफू त्यस्तो समस्यामा परिसकेको कारण त्यो डर नहटिसकेको अवस्था हुनसक्छ। पत्रपत्रिका वा सोसियल मिडियामा नकारात्मक प्रचार हुने हो कि वा आफू काम गर्ने संस्थाबाटै कारबाहीमा परिएला कि भन्ने डर आदि कारणहरूले गर्दा थाहै नपाई चिकित्सकहरू रक्षात्मक बनिसकेका हुन्छन्। सधैं त्रासमा काम गर्नुपर्दा चिकित्सकमा मानसिक तनाव बढी भइरहने, बिरामीले पनि अनावश्यक बढी जाँच गराउनुपर्ने, अनि उपचार पनि खर्चालु बन्दै जाने हुन्छ। यस्तो प्रवृत्तिलाई सकेसम्म चाँडै समाधान गर्नुपर्ने देखिन्छ।
सबै चिकित्सकमा आफूले गरेको गल्तीमा कारबाही भोग्न तयार हुनुपर्छ भन्ने साझा धारणा पाइन्छ। तर हरसम्भव प्रयास गर्दा पनि सफल नभएको अवस्थामा सबै दोष चिकित्सकलाई थोपर्नु मानवीय हुँदैन भन्ने कुरामा पनि चिकित्सकहरू एकमत छन्। अब कुरा रह्यो, उपचारको क्रममा वा सर्जरी गर्दा हर सम्भव प्रयास गर्दा पनि उपचार सफल हुन सकेन भने के गर्ने?
प्राय: मानिसलाई यस्तो अवस्थामा चिकित्सकबाट त्रुटि वा लापरबाही भयो भन्ने लाग्दछ। वास्तवमा उपचारमा संलग्न चिकित्सकलाई जति प्रयास गर्दा पनि बिरामी बचाउन सकिएन भन्ने चिन्ता परिरहेको हुन्छ। यस्तो बेला चिकित्सकमाथि औंला उठाउँदा चिकित्सकमा नैराश्यता आउँछ र असुरक्षित महसुस हुन्छ। त्यसैले शंका लागेमा आरोप लगाउनुभन्दा निष्पक्ष छानबिन गर्नु र सो अनुसार अघि बढ्नु उचित हुन्छ। अन्जानबस भएका त्रुटिहरूमा आवश्यक छानबिन गरी चिकित्सक दोषी देखिए चिकित्सकले तिर्ने क्षतिपूर्तिलाई बीमामार्फत् सहजीकरण गर्नुपर्ने देखिन्छ। भित्रभित्रै गरिने लेनदेन र मिलापत्रले वास्तविकता बाहिर आउन पाउँदैन र भविष्यमा यस्तै घटना दोहोरिने सम्भावना रहिरहन्छ।
(प्रा. डा. कमल कोइराला सिनियर कन्सल्ट्यान्ट जी.आई.सर्जन हुन्।)