अस्ट्रेलियामा रहेका नेपाली चिकित्सकहरुको संस्था 'अस्ट्रेलियन नेप्लीज मेडिकल डाक्टर एशोसियसन "(एन्मदा)ले ‘आउनुस मानसिक समस्याका कुरा गरौं,’ भन्ने नाराका साथ एक दिने गोष्ठीको आयोजना गरेको छ।
अस्ट्रेलियामा उच्च अध्यनका लागि आउने विद्यार्थीमध्ये कतिपयमा देखिएका आत्महत्या र गलत बाटोको कारण मानसिक तनाब पनि प्रमुख भएको भन्दै एन्मदाले शैक्षिक परामर्शदाता, समुदायका अगुवा, महिलाकर्मी र एनआरएनका पदाधिकारीबिच छलफल चलाएको हो।
एक दिने छलफलमा सिड्नीमा रहेका नेपाली मुलका चिकित्सक डा घनश्याम चापागाईँ , डा प्रबिण पाठक, डा विकास श्रेष्ठ, डा भुवन कँडेललगायतले मानसिक समस्या यसको रोकथाम र यस विषयसँग सम्वन्धित पक्षमा प्रकाश पारेका थिए।
‘विद्यार्थीको पहिलो उठबस हुने थलो शैक्षिक परामर्श केन्द्र भएकोले उहाँहरूले विद्यार्थीमा देखिएका यस्ता समस्यालाई बुझेर सही सल्लाह दिने हुँदा हामीले पहिलो चरणमा शैक्षिक परामर्शदातालाई महत्व दिएका हौ,’ कार्यक्रमका संयोजक डा घनश्याम चापागाईँले बताए।
बास्तबमै बिदेश जाने र पढ्ने अनि कमाउने सोचमा बिदेश हिँडेका विद्यार्थीमा देखिएका समस्याका बारेमा सहभागीले प्रश्न राखेका थिए।
कार्यक्रममा एनआरएन ओसेनियाका संयोजक धर्म अधिकारीले यस्ता बिषयमा विद्यार्थीलाई बिदेश पढ्न ल्याउने शैक्षिक परामर्शदाताहरुको सही सल्लाह र सुझाब महत्वपूर्ण हुने बताए।
सञ्चारकर्मीदेखि अधिकारकर्मीसम्मको उपस्थिति रहेको कार्यक्रममा सहभागि नेपाली चिकित्सकले विद्यार्थीमा देखिएको यस्ता समस्यामा सहयोग गर्न आफूहरू तयार रहेको बताए।
पहिलो चरणको कार्यक्रममा समाजीक संघ संस्था र शैक्षिक परामर्हदाताहरू रहेको र दोस्रो चरणमा भने सिधै विद्यार्थीसँग अन्तर्क्रियाको कार्यक्रम राखिनेआयोजक संघका डा. प्रविण पाठकले बताए।
कार्यक्रममा मानसिक समस्याका साथसाथै आत्महत्या रोक्न गर्न सकिने प्राथमिक उपचारका विषयमा समेत चिकित्सहरुले सल्लाह र सुझाब दिएका थिए।