राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सले सातामा दुई दिन अष्ट्रेलिया- काठमाडौं-अष्ट्रेलिया उडान गर्ने भएको छ।
लामो पहलपछि नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएसँगै उडान हुने निश्चित भएको हो।
सिड्नी विमानस्थलले निगमलाई सातामा २ उडानका लागि अनुमति र स्लट दिएको नेपाल वायुसेवा निगमका प्रवक्ता गणेश घिमिरेले सेतोपाटीलाई जानकारी दिए।
किङ्सफर्ड स्मिथ अन्तर्राष्ट्रिय विमानस्थलले बिहिबार र शनिबारका लागि आफूहरूलाई स्लट दिएको उनले बताए।
विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै अब निगमले अष्ट्रेलियन नागरिक उड्डयनसँग आफूहरूले उडान अनुमति प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।
'यसका लागि निगमले सबै विवरण अष्ट्रेलियन नागरिक उड्ययन प्राधिकरणमा बुझाइसकेको छ, हामीले छलफललाई तिब्र रूपमा अगाडि बढाएका छौ', उनले भने, 'निगमले काठमाडौंबाट सिंगापुरमा ट्रान्जिट गर्दै अष्ट्रेलियाको सिड्नी उडान भर्न लागेको भएकाले सिंगापुरको नागरिक उड्यायन प्राधिकरणसँग पनि कुरा भइरहेको छ।'
उनले आगामी दुई महिनाभित्रै उडान भर्ने तयारी रहेको जानकारी दिए।
निगमसँग भएको एयरबस ३३० जहाजले सिधा अष्ट्रेलिया उड्न नसक्ने भएकाले सिंगापुरमा तेल भरेर उडान गर्ने प्रस्ताव पेस गरेको थियो।
सन् २०१९ मा नेपाल सरकार र अष्ट्रेलिया सरकारबीच भएको हवाई सम्झौताको चार वर्षपछि पर्यटन मन्त्रालयले परराष्ट्रमार्फत राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले अस्ट्रेलिया उडान गर्ने भएको हो।
सबै प्रक्रिया पूरा गरेर जुन अन्तिम सातासम्ममा उडान सुरू गर्ने कोशिश गरिरहेका प्रवक्ता घिमिरेले जानकारी दिए।
निकट भविश्यमा नेपाली ध्वजाबहाक जहाजले अष्ट्रेलिया उडान गर्नू समग्र नेपालीकै लागि गौरवको विषय भएको अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले सेतोपाटीलाई जानकारी दिए।
नेपाल सरकार, पर्यटन मन्त्रालय र नेपाल एयरलाइन्सलाई यो प्रक्रियाका लागि सबै आवश्यक प्रक्रियाका लागि दूतावासले सहजीकरण गर्ने उनले बताए।
'यो हामीले सुरूदेखिनै पहल गरेका थियौं। आज आएर पूरा भएको छ। निकट भविश्यमा आफ्नै ध्वजावहक जहाजमा चढेर नेपाल जान/आउन पाउनू हाम्रा लागि गौरवको कुरा हो', उनले भने,' हाम्रो लागि यो ठूलो उपलब्धिनै हो। सेवा र सुविधामा पछि रहे पनि हाम्रो जहाजलाई विमानस्थलले स्लट दिनु र आगामी दिनमा उडान अनुमति दिनू ठूलो कुरा हो।'
उच्च शिक्षाका लागि नेपाल-अष्ट्रेलिया आउजाउ गर्ने नेपालीसँगै दुईतर्फी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सिड्नीको नियमित उडान विस्तार गर्ने निगमको तयारी छ।
निगमको पछिल्लो कदमले अब नेपाल-अष्ट्रेलियाबीच सिधा उडानको ढोका खुल्दा लाखौ नेपाली लावान्भित हुने भन्दै दूतावासका नियोग उपप्रमुख कुल बहादुर मगरले निगमको पछिल्लो कदमलाई सकरात्मक सन्देस भएको दाबी गरे।
‘बाटो खुलेपछि अब प्रकृया सुरू भएको छ, निकट भविस्यमा राष्ट्रिय ध्वजावाहकले सिड्नी-काठमाडौं उडान हुनेमा ढुक्क छौ, नियोग उपप्रमुख मगरले सेतोपाटीसँग भने।
अष्ट्रेलियामा नेपाली समाजको बढोत्तरीसँगै अबका दिनमा अस्ट्रेलिया-नेपालको सिधा उडान अत्यावश्यक भइसकेको एनआरएन अभियन्ता डा ज्ञानेन्द्र रेग्मीले बताए।
दिनहुँ सयौंको संख्यामा नेपालीहरु अष्ट्रेलियाबाट नेपाल र नेपालबाट विद्यार्थीको अस्ट्रेलिया आउने घुइँचो लागिरहेको बेला यस्तो खबर आउनू राम्रो प्रयास भन्दै उनले चाडै व्यहारमा उतार्नुपर्ने बताए।
‘हामीले धेरै अगाडिदेखि यसको हल्ला सुनेका थियौं तर अहिले आएर कार्यान्वयन पक्षमा केही काम अगाडि बढेको सुनियो। यो खुसीको कुरा हो’, उनले भने, ‘यस्ता महत्वपूर्ण विषयमा हामीले कुरा होइन काम प्रारम्भ गर्नुपर्दछ अनि मात्र यहाँ बस्ने दुई लाख नेपालीले राजदूतावासको महत्व अनुभूती गर्नेछन्।’
नेपाल एयरलाइन्सले साताको दुई दिन मात्र काठमाडौ-सिड्नी-काठमाडौं उडान भर्ने हो भने अष्ट्रेलिया आउजाउ गर्ने हजारौं नेपाली लावान्भित हुने र यात्रा पनि सहज र सुलभ हुने एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले बताए।
‘हरेक दिन तीन दर्जन अभिभावक नेपालबाट अस्ट्रेलिया र अष्ट्रेलियाबाट नेपाल आउजाउ गर्नुहुन्छ। अंग्रेजी नबुझ्ने र ट्रान्जीटको झन्झटीलो प्रकृयाबाट उहाँहरू कति पीडित हुनुहुन्छ त्यो हामीले देखेका छौ’, उनले भने, ‘यदि काठमाडौबाट सिधै नेपाली ध्वजाबाहक जहाज अस्ट्रेलिया आउन पाउने हो भने सबैका लागि सहज र सुविधा हुने थियो।’
अष्ट्रेलियामा हाल करिब २ लाख नेपाली बसोबास गर्छन्। यीमध्ये अधिकांश विद्यार्थी छन्। अष्ट्रेलियामा अध्ययन गर्न आउनेमध्ये नेपाल संख्याका हिसाबले तेस्रो नम्बरमा पर्छ। तर, अष्ट्रेलियाका लगि कुनै पनि नेपाली विमान कम्पनीले उडानका लागि पहल नगर्दा यात्रुले सास्ती पाउँदै आएका छन्।
हाल दैनिक अष्ट्रेलिया-नेपाल १०० जनाको हाराहारीमा यात्रुहरूको आउजाउ हुने एभरेष्ट ट्राभल्स एण्ड टुर्सका सञ्चालक इर्साद अहमदले जानकारी दिए।
'हाल अष्ट्रेलियाबाट सिंगापुर, मलेसिया, हङकङ, कतार, युएई, चीन भएर १०० भन्दा बढी नेपालीले आज जाउ गरिरहेका छन्', उनले भने,' नेपाल एयरलाइनेसले सेवा दिने हो भने यो संख्या अझै बढ्नसक्नेछ।'
कोरोनाको महामारी फैलिएको समयमा नेपाल एयरलाईन्सले सिड्नी र मेलबर्नबाट एक एक उडान गरिसकेको छ। आधिकारिक रूपमा कुनै पनि नेपाली ध्वजाबाहक विमानले व्यवसायीक उडान भने गरेका छैनन्।
हाल निगमले दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी जहाज गरी कुल चार वटा जहाजमार्फत नयाँ दिल्ली, बैंगलोर, मुम्बई, कतार, दुबई, मलेसिया, साउदी अरेबिया, हङकङ, थाइल्याण्ड, जापान लगायन विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएको छ।