न्युजिल्यान्डको राजधानी वेलिङ्टनको संसद भवनमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७० औं वर्षगाँठ मनाइएको छ।
सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामा आफ्नो पाइला राखेका थिए।
सोही आरोहणलाई स्मरण गर्दै न्युजिल्यान्डकी सगरमाथा आरोहणको ७० औं वर्षगाँठको ‘प्लाटिनम जुब्ली’ न्युजिल्यान्डको संसद भवनमा मनाइएको हो।
कीर्तिमानधारी आरोही हिलारीको सन् २००८ जनवरी ११ मा र नोर्गेको सन् १९८६ मे ९ मा निधन भएको थियो।
न्युजिल्यान्डकी लेबर पार्टीकी सांसद भानुसी वाल्टर्सको पहल र नेप्लिज सोसाइटी अफ वेलिङ्टनको आयोजनामा सञ्चालित कार्यक्रममा न्युजिल्यान्डकी प्रहरी मन्त्री जिन्नी एन्डरसनले सगरमाथासँंग जोडिएको दुई देशका आपसी सम्बन्ध एक आपसबीच सहयोग र सद्भावमा पनि अगाडि बढेको बताइन्।
मन्त्री एन्डरसनले आफ्नो सानो बच्चाले संसारको अग्लो हिमाल न्युजिल्यान्डको कुन ठाउँमा पर्छ भनेर सोध्दै गर्दा आफूले नेपाल र सगरमाथाको विषयमा बताएको रमाइलो कथा सुनाइन्।
मन्त्री एन्डरसनले सगरमाथाको सत्तरी वर्षगाँठ मनाउन पाउँदै गर्दा आफू उत्साहित भएको र यसले दुई देश बीचको आपसी सम्बन्ध थप प्रगाढ पार्न मद्दत पुग्ने बताइन्।
कार्यक्रममा शेर्पा पहिरनमा संसद भवन पुगेकी सांसद भानुसी वाल्टर्सले आजको दिन नेपाल र न्युजिल्यान्ड दुबैको लागि महत्वपूर्ण दिनका रूपमा रहेको चर्चा गरिन्।
‘हामीले सगरमाथा आरोहणको सत्तरी वर्षगाँठ मनाउँदै गर्दा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको योगदानलाई भुल्नु हुँदैन’, नेपालको भ्रमणमा समेत आफू पुगेको स्मरण गर्दै भानुसीले भनिन्, ‘नेपालीहरूको सत्कार र सम्मान प्रशंसायोग्य रहेको छ।’
कार्यक्रममा वेलिङटन नेपाली समाजका अध्यक्ष रमेश सापकोटा र भानुसी वाल्र्टसले दुई ऐतिहासिक पर्वतारोही हिलारी र शेर्पाको तस्बीरमा फूलमाला चढाएर कार्यक्रमको सुरूआत गरेका थिए।
कार्यक्रममा बोल्दै न्युजिल्यान्डका लागि नेपालका महावाणिज्यदूत दिनेश खड्काले नेपाल र न्यूजिल्यान्डबीचको आपसी सम्बन्ध र सहयोगको विषयमा प्रकाश पारेका थिए।
कार्यक्रममा न्युजिल्यान्डका लागि नेपाली महावाणिज्यदूत आत्माराम खनाल र शेर्पा समुदायको तर्फवाट याङजीन शेर्पाले ७० औं वर्षगाँठको विशेष केक काटेर कार्यक्रमको समापन गरेका थिए।
सगरमाथा दश पटक आरोहण गरेर कीर्तिमान बनाएका न्युजिल्यान्डका चर्चित पर्वतारोही मार्क उडवार्डले सगरमाथाको आरोहणको जोखिम र यसको महत्वबारे प्रकाश पारेका थिए।
स्थानिय समाजका अगुवा आदर्श तिवारीले सञ्चालन गरेको कार्यक्रममा स्थानीय अपर हट शेर्पा परिवार, माउन्ट कुक शेर्पा परिवार र कारोरी शेर्पा परिवारको तर्फबाट सहभागी पाहुनाहरूलाई स्वागत गर्नुका साथै आकर्षक शेर्पा नाच समेत प्रस्तुत गरिएको थियो।
नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला आठ वटा हिमाल छन।
हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन्।
आरोहणका क्रममा तीन सय बढीको निधन भइसकेको छ।
कामीरिता शेर्पाले २८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाए।
उनले वसन्त ऋतुको जारी आरोहणमा सगरमाथाको दुईपटक क्रमश: जेठ ३ गते र जेठ ९ गते सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमान तोडेका हुन्।
यस्तै, पासाङ दावा शेर्पाले यही याममा सगरमाथाको २७ पटक आरोहण गरी कीर्तिमान कायम गरेका छन्।
उनले यही याममा दुई पटक आरोहण गरी नयाँ रेकर्ड दर्ता गराएका हुन्।
दुवै खुट्टा नभएका हरि बुढामगरले यसै सिजनमा सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाए। यही जेठ ५ गते सगरमाथाको चुचुरोमा पुगेर बुढामगरले कीर्तिमान बनाएका थिए।