अष्ट्रेलियाको पर्थ राज्यबाट राहदानी बनाउन राजधानी क्यानबेरासम्म आउँदा एक ब्यक्तिलाई कम्तिमा दुई हजार डलरसम्म खर्च लाग्ने भएपछि एक जोडी नेपालीले सोही खर्चमा नेपाल पुगेर पासपोर्ट बनाउने निर्णयमा पुगे।
अस्ट्रेलिया आफैंमा ठूलो देश भएकोले पर्थबाट राजधानी क्यानबेरा आइपुग्न साढे पाँच घन्टाको हवाइयात्रा पूरा गर्नुपर्छ। महंगो भाडा र होटल खर्च जोडेर नेपाल गए बराबर हुने भएपछि त्यो जोडी काठमाडौंतिर लागेका थिए।
राहदानी समस्याका चाँङ दूतावासमा थुप्रिएको छ। फर्म भर्ने समय नपाइने र राहदानीको म्याद गुज्रदै गएपछि समस्यामा परेकाहरूलाई दूतावासलाई समाधान दिन सकिरहेको छैन।
सन् १९६० को दशकमा कुटनीतिक सम्वन्ध स्थापीत भए पनि अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली राजदूतावास भने सन् २००७ मा मात्रै खुलेको हो।
तत्कालिन समयमा करिब १५ हजार नेपाली रहेको बेला खुलेको दूतावासमा रहेका कर्मचारीको दरबन्दी यतिबेला करिब दुई लाख नेपालीको बसोबास हुँदासम्म जहाँको त्यहीँ छ। यो संख्या दैनिक बढ्दो छ। राजदूतावासमा सेवाग्राहीको भिड थामिनसक्नु छ।
नेपाल सरकारले यसबारे सम्बोधन नगर्दा अष्ट्रेलियाका विभिन्न राज्यमा बसोबास गरिरहेका लाखौं नेपाली मारमा छन्।
राजदूतावास नै यतिबेला राहदानी विभागमा रूपान्तरण भएको देखिन्छ।
पछिल्लो समय नेपाल सरकारले ई-पासपोर्ट लागू गरेसँगै म्याद सकिएको र नयाँ पासपोर्ट लिनेको संख्या ह्वात्तै बढेको छ।
बायोम्याट्रिक्सका लागि भौतिक रूपमै उपस्थित हुनुपर्ने भएकाले पनि राहदानी बनाउन राजधानी आउनेको संख्या बढेको दूतावासले जनाएको छ।
बायोमेट्रिक्स गर्ने मेसिन दूतावासमा मात्र भएको र त्यसको बिकल्प नभएकाले पासपोर्ट बनाउनका लागि सेवाग्राहीहरू टाढाबाट हजारौं डलर खर्चेर क्यानबेरा धाउनुपर्ने बाध्यता छ।
दूतावासले यसअघि अस्ट्रेलियाका बिभिन्न शहर र न्युजिल्यान्डमासमेत घुम्ती पासपोर्ट शिविर राखेर केही हदसम्म भिड कम गरे पनि स्थायी रूपमा सम्बोधन गर्न सकिरहेको छैन।
यसैबीच राजदूतावासमा एनआरएन अस्ट्रेलियाका नवनिर्वाचित पदाधिकारीको सम्मानमा आयोजित कार्यक्रममा सबै राज्य र एनआरएन अस्ट्रेलियाको पहिलो मुद्दानै पासपोर्ट बन्यो।
एनआरएन अस्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलले आफ्नो कार्यकालको सुरूमै विभिन्न राज्यमा देखिएको पासपोर्ट समस्या समाधानका लागि पहल गर्ने बताए।
दूतावाससँगमा विद्यमान पासपोर्ट समस्यालाई सहजिकरण गर्न एनआरएन अस्ट्रेलिया पूर्ण रूपमा तयार रहेको र त्यसका लागि आवश्यक सबै सहयोग गर्ने अध्यक्ष पोखरेलले राजदूत कैलाशराज पोखरेलसमक्ष राखे।
'अष्ट्रेलियामा नेपालीको ठूलो समस्याका रुपमा रहेको राहदानी समस्या समाधानका लागि राजधानीबाहेक सबै राज्यमा घुम्ती शिविर सञ्चालन गर्न हामीले अनुरोध गरेका छौं', राजदूतसँगको भेटबारे स्पष्ट पार्दै पोखरेलले भने, 'आशा छ केही दिनमा देखिनेगरी परिवर्तन हुन्छ।'
यसबाहेक कृषि र यहाँको शिप र ज्ञानलाई नेपालमा कसरी प्रयोग गर्ने गर्ने विषयमासमेत दूतावाससँग छलफल भएको उनले जानकारी दिए।
एनआरएन अस्ट्रेलियाका महासचिव सन्तोस कुँवरले सिमित स्रोत र साधनका वाबजुद दूतावासको पहल महत्वपूर्ण रहे पनि ठूलो संख्यालाई सोचे अनुरूसार सेवा दिन नसकेकाले सम्बन्धित निकयले तत्काल यसबारे सम्बोधन गर्नुपर्ने बताए।
यस्तै एनएसडब्लु राज्य संयोजक बिनोद कुँवरले दूतावासमा देखिएको स्रोत र साधनको अभावलाई एनआरएन एनएसडब्लुले सहयोग गर्ने बचन दिए।
यसैबीच तास्मानिया राज्य संयोजक जगदिश खड्काले राजदूतलाई पासपोर्ट सहजिकरणका लागि ज्ञापनपत्रसमेत बुझाएका थिए।
पश्चिम अस्ट्रेलियाका संयोजक शेखर घिमिरेले आफूहरू यसमा सबैभन्दा बढी पीडित रहेको यथार्थ बताए।
कार्यक्रममा आइसीसी सदस्य डिल्ली ढकाल, रमेश अधिकारी, मदनराज पौडेल, एसीटी संयोजक बिक्रम सुबेदी , कोषाध्यक्ष अर्जुन गौतम, सहकोषाध्यक्ष रोजी पन्त लगायतले आ-आफ्नो धारणा राखेका थिए।
एनआरएन पदाधिकारीसँगको अन्तर्क्रियामा राजदूत पोखरेलले आफूहरू सेवा र सुविधा दिने कुरामा कहिले पछि नहटेको र कतिपय सवालमा सिमित र स्रोत र साधनले बाँधिएको जिकिर गरे।
'काम गर्ने थोरै मान्छे छौ ,यता काम गर्यो, उता छुट्छ, रात दिन नभनि साथीहरूले काम गरिरहनु भएको छ तर पनि समस्या उस्तै छ', राजदुत पोखरेलले गुनासो गरे, 'त्यसमाथि पनि घुम्ती सेवा र आपतकालीन सेवा मार्फत अप्ठयारोमा परेकालाई सहजीकरण गरिरहेका छौं। यसले टाउको दुख्दा पेनकिलर खाएजस्तो भएको छ। तर दिर्घकालिन समस्या समाधानबारे स्रोत र साधन अभाव छ।'
उनले आफूहरूले गर्नुपर्ने र सकेको सबै प्रयास जारी राखेको भन्दै एनआरएनको सहकार्यले थप सहयोग पुग्नेमा आशावादी रहे।