नेपाली विद्यार्थीको रोजाइको मुलुक बनेको अस्ट्रेलियामा पनि यतिखेर दसैं पर्वले रौनकता छाएको छ।
हिन्दु धर्मावलम्बीहरूको यो महान् पर्व नेपाली तथा भारतीयहरूले विदेशमा पनि धूमधामका साथ मनाउने गर्छन्।
करिब दुई लाखको हाराहारीमा नेपाली बसोबास गर्ने अस्ट्रेलियामा पनि नवदुर्गा पूजा र बडा दसैँको चहलपहल ह्वात्तै बढेको छ। रङ्गीचङ्गी पहिरन र टीका थाप्ने हतारोले नेपालीजन र मनलाई पनि छोपेको छ।
अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्ने क्रममा करिब एक लाख नेपाली विद्यार्थी विभिन्न सहरहरूमा छरिएर रहेका छन् भने अरू एक लाख विभिन्न स्थायी भिसा पिआर र नागरिकका रूपमा रहेको पाइन्छ।
पढाइ,बसाइ र कामलाई व्यवस्थापन गर्नुपर्ने विद्यार्थी जीवनका लागि दसैं खासै रमाइलो बन्न नसके पनि स्थायी रूपमा जमेर बसेकाका लागि प्रवासमा पनि यो पर्व रंगीन र महत्त्वपूर्ण बन्दै आएको छ।
प्राय: नर्सिङ होम र रिटेल सपहरूमा बढी नेपाली कामदार भएकोले दसैंमा बिदा मिलाउन निकै अप्ठ्यारो हुने भएकोले काम सकेर टीका लगाउने सोचमा छिन् सिड्नीकी शीतल शर्मा।
‘हाम्रो नर्सिङ होममा छ महिना अघिदेखि दसैंको बिदा लिने होड चलेको थियो तर मैले एक महिनाअघि मात्र भनें तर पाइएन। खोइ काम सकेर आउने अनि थकित मुद्रामा तयारी भएर टीका लगाउँदा दसैँको रमाइलो के होला र!’, दसैंको दिन पनि काम गर्नुपर्ने पीडालाई उनले यसरी सुनाइन्।
यस्तै, अर्की नेपाली विद्यार्थी सदिसा केसी काममा बिदा नदिएकोले दसैं नरमाइलो हुने बताउँछिन्।
‘टीकाको दिन बिहानैदेखि रमाइलो गर्ने, टीका थाप्ने, खानपिन गर्न पाए त रमाइलो हुन्थ्यो। त्यही नपाएपछि काम सकेर नेपालमा आमा बालाई फोन गर्ने, आँसु झार्ने अनि दसैँ सिद्धियो।’
‘नातागोता र आफन्त भएका विद्यार्थीका लागि कमसेकम टीकाको झल्को मेट्ने ठाउँ पनि हुन्छ तर त्यति पनि नहुनेको लागि विदेशमा पर्व खुसी हैन पीडामा बित्ने रहेछ’, अर्की नेपाली विद्यार्थी स्नेहा घिमिरे बताउँछिन्।
सिड्नीमा ब्याचलर पढ्न यसै वर्ष मात्र आएकी स्नेहाको दसैंको रमाइलो यता सिड्नीमा दसैंको रमाइलो गर्नेको पनि कम छैन। दसैंमा नेपालबाट बाबुआमा आएका ग्रानभिलका सञ्जीव ढुङ्गेलले चालिस किलोको खसी किनिसकेका छन्। क्यानबेरामा हजुरआमा र काकाकोमा टीका लगाउने र फर्किने उनको दसैँ दुई दिन अगाडिबाट सुरू भैसकेको छ।
‘वर्षमा एकपटक आउने महान् चाडमा रमाइलो गर्नै पर्यो नि, अरू बेला काम गरिएकै छ’, सञ्जीव भन्छन्।
बाबु गोपाल ढुङ्गेल पनि आफूले विदेशमा आएर दसैँ मिस नगरेको बताउँछन्।
‘नेपालमा भन्दा सस्तो र राम्रो माछा मासु खान पाइँदो रहेछ’, ढुङ्गेल भन्छन्।
यता सिड्नीको रकडेलस्थित एभरेष्ट बुचरीका महेश प्रसाईं (म्याक्स) पछिल्लो केही दिनदेखि दिनको सरदर एक हजार खसी बिक्री भएको बताउँछन्।
‘मासु पुर्याउन धौधौ परेको छ, दसैंमा सबैलाई दिनै पर्यो’, म्याक्स भन्छन्।
म्याक्सले फार्मबाट खसी किनेर प्रशोधन गरेर सिड्नीलगायत विभिन्न सहरहरूमा मासु सप्लाइ गर्ने गर्छन्।
खसीको माग बढेर आपूर्ति समेत गर्न नसकेको अवस्थामा फार्ममा भीड लागेको देख्न सकिन्छ।
‘दसैं हाम्रो पर्व हो, रमाइलो गर्नै पर्यो नि!’, ग्रानभिल नेपाली सोसाइटीले त्यस वरपर बस्ने नेपाली अभिभावकको चाहना अनुरूप दसैं साँझको समेत आयोजना गरेको सोसाइटीका अध्यक्ष भीम बस्नेतले भने।
विदेशमा छोराछोरी भेट र नातिनातिनीको मुख हेर्न आएका आमा बुबाहरूलाई दसैँमा नरमाइलो नहोस् भन्ने हेतुले समाजले अभिभावकलाई केन्द्रित गरेर दसैँ महोत्सव आयोजना गरेको बस्नेतले बताए।
‘नेपालबाट अस्ट्रेलिया पुगेका हजारौँ अभिभावकहरूलाई चाडबाडमा खल्लो नहोस्,एक अर्कामा परिचय र शुभकामना आदानप्रदान होस् भन्ने हाम्रो उद्देश्य हो’, बस्नेतले भने।
अस्ट्रेलियाका विभिन्न समुदाय र सामाजिक सङ्घसंस्थाले पनि विद्यार्थीहरूको हितमा रहेर दसैं तथा टीका कार्यक्रमको पनि आयोजना गरेका छन्।
पर्थमा नेपाली विद्यार्थीलाई आपसी भाइचारा अभिवृद्धि र दसैं पर्व मनाउन कार्यक्रमको आयोजना गरिएको एनआरएन पर्थका युवा संयोजक मनिष सिग्देलले बताए।