सेनामा भर्ती हुन लाहुर गएका नेपालीहरूको इतिहास निकै लामो छ। भारतीय सेनामा होस् या ब्रिटिस सेनामा सहभागी भएर नेपालीहरूले बहादुर तक्मा भिरे पनि अस्ट्रेलियामा नेपालीहरूको प्रवेश भने अन्य देशको जस्तो लामो छैन।
अस्ट्रेलियामा नेपालीहरूको प्रवेश केलाउँदै जाने हो भने विदेश घुम्न र पढ्नका लागि केही राजपरिवारका सदस्य र सरकारी कर्मचारी गएको आकलन गरिएको छ। तर आवासीय रूपमा पिआर लिएर सन् १९७४ फेब्रुअरीमा इलामका डाक्टर नारायण प्रधानले आफू अस्ट्रेलिया आएको दाबी गरेका छन्।
अस्ट्रेलियामा बसाइ नै सरेको आफू पहिले आएको प्रधानको भनाइ छ।
स्कटल्याण्डबाट आवासीय भिसामा श्रीमती लिला प्रधानलाई लिएर अस्ट्रेलियाको पाइला टेकेको अनुभव प्रधानले सेतोपाटीलाई सुनाए।
प्रधानले सम्झँदै भने, ‘राजकीय भ्रमण बाहेक विद्यार्थी भिसामा भने सन् १९६९ मा नै अमृत तण्डुकार अस्ट्रेलिया पुगेका थिए।’
त्यति बेला सरकारी छात्रवृत्ति बाहेक निजी खर्चमा अस्ट्रेलियामा अध्ययन गर्न पाउने अवस्था थिएन। तर स्कटल्याण्डमा केमेस्ट्री एनालिटिक पढेर अस्ट्रेलियाले आवासीय भिसासहित मेलवर्नको सिएसआरओमा जागिर पाएपछि अस्ट्रेलिया बसाइसराइ गर्ने भाग्यमानी बनेको उनी सुनाउँछन्।
खानी विभागमा सिनियर केमिष्ट भएर स्कटल्याण्ड पढ्न गएको र सन् १९७२ मा स्कटल्याण्डबाट पिएचडी सकेर उनी नेपाल फर्केका थिए। त्यसको २ वर्षपछि उनले अस्ट्रेलियामा जागिर पाएका थिए। मेलवर्नको सिएसआरओमा काम सुरू गरेका उनले पछि आफ्नै व्यापारमा समेत लगानी गरे।
पहिलो बसाइ सरेका नारायण प्रधानको आगमनसँगै आगामी माघमा नेपालीहरूको अस्ट्रेलिया आगमनको पचास वर्षको इतिहास कोरिँदैछ जुन नेपाली समाजको लागि एउटा कोशेढुंगा भएको यहाँ बस्दै आएका नेपालीहरू बताउँछन्।
सन् १९७६ मा नेप्लिज अस्ट्रेलियन सोसाइटी खुल्यो। जसमा नेपालीले मात्रै नपुगेर नेपाल पुगेर फर्किएका अस्ट्रेलिय समेतलाई आवद्ध गरेर संस्थालाई जीवन्त बनाइएको सम्झन्छन् प्रधान।
सोसाइटीको पहिलो संयोजकका रूपमा डाक्टर गोविन्द शाह थिए। त्यसपछि सन् १९९५ मा केही ब्रिटिस सेनाबाट यता बसाइ सरेका र अन्य नेपाली मिलेर पहिलो नेपालीहरू सम्मिलित गोर्खा नेप्लिज सोसाइटी जन्मेको स्मरण गर्छन् प्रधान।
सन् १९७४ मा पिआर लिएर पहिलो नेपालीका रूपमा मेलवर्न आएको र केही महिनापछि उनी सिड्नी पुगेको नेप्लिज अस्ट्रेलियन सोसाइटीको १८ वर्ष अध्यक्ष रहेकी इन्द्रा वनले जानकारी दिइन्।
प्रधान आएको फेब्रुअरी १० पारेर स्थानीय टेलिभिजन लुक्ला टिभीले समेत नेपालीको अस्ट्रेलिया आगमनको पचासौं वर्षगाँठ मनाउने तयारी गरेको यसका प्रधान सम्पादक राजु मानन्धर बताउँछन्।
अहिले करिब दुई लाख नेपाली बसोबास गर्ने अस्ट्रेलियाका जुनै सहर वा गाउँ ठाउँमा पनि प्रशस्तै नेपाली भेटिन्छन्। खानपिनको कुनै कमी छैन। सयौंको संख्यामा नेपाली रेष्टुरेन्ट र ग्रोसरी छन्। नेपालमा पाइने सबै चिज सहजै पाइन्छ सिड्नीमा। विदेशिएको पचास वर्ष पुग्दै गर्दाको अनुभवमा डा प्रधान भन्छन्, ‘देशको माटोसँग सबैको माया उत्तिकै हुन्छ, कसैलाई पनि चटक्कै देश छाडेर विदेशिने मन हुँदैन। तर सम्भावनाको खोजीमा विदेशिएका नेपालीले मुलुकको माया गर्न भने भुल्नु हुँदैन।’