अस्ट्रेलियामा नेपाली समुदाय बढ्दै जाँदा छिमेकी मुलुक न्युजिल्यान्डमा पनि नेपाली विद्यार्थी लगायत कामदारहरूको संख्या ह्वात्तै बढ्न थालेको छ।
अस्ट्रेलियामा नेपालीहरूको संख्या दुई लाखको हाराहारीमा पुग्दै गर्दा न्युजिल्यान्डमा भने अहिले करिब २० हजारको संख्यामा नेपाली बसोबास गर्दै आइरहेको स्थानीय महावाणिज्य दूतावासले जनाएको छ।
त्यसमाथि नेपाली मूलका न्युजिल्यान्डबासीको संख्या खासै ठूलो छैन। यसै कारण पनि प्राय: नेपालीहरू नेपाली पासपोर्टकै प्रयोग गर्छन् सबैतिर।
न्युजिल्यान्डमा भने नेपालीहरू पासपोर्ट नविकरण र नयाँ बनाउँदा निकै ठूलो समस्याबाट गुज्रिरहेको स्थानीय भुक्तभोगी रमेश केसी बताउँछन्। नेपालबाट आउँदा पासपोर्टको म्याद छ महिना भएकै कारण नयाँ बनाउन नमिल्ने र यहाँ आएपछि नविकरणको समस्याले आफू पीडित भएको बताउँछन् उनी।
न्युजिल्यान्डलाई अस्ट्रेलियास्थित राजदूतावासले हेर्ने भएकोले एमआरपी बनाउन स्वंय उपस्थित हुनुपर्ने कारण उनको नविकरण सम्भव हुन सकेन।
उनले भिसाका लागि समेत आवेदन दिए तर पासपोर्ट नविकरण गर्ने कारण उनले अस्ट्रलियाको भिसा पाएनन्। त्यहाँ कामदारका रूपमा कार्यरत हुँदै गर्दा अति आवश्यक पर्ने पासपोर्ट बनाउन उनी नेपाल जाने सोचमा छन्। यस्ता समस्याबाट रमेश मात्र होइन, न्युजिल्यान्डमा बसोबास गर्ने सयौं नेपालीहरू गुज्रिरहेको अकल्यान्डस्थित वाणिज्य दूतावास कार्यालयले जनाएको छ।
'हामीकहाँ दिनदिनै यस्ता समस्याहरू आउँछन्, हामीसँग समाधान पनि छैन र भन्ने बाटो पनि छैनन्', अकल्यान्डका वाणिज्यदूत दिनेश खड्का भन्छन्।
'अब अस्ट्रेलिया जानुस् बनाउन भनौं भिसा पाइँदैन भन्नुहुन्छ, न्युजिल्यान्डमा घुम्ती शिविर वर्षको एक पटक आउँछ त्यसमा जस-जसले समय मिलाउनुभयो उहाँहरूको बन्ने भयो', खड्काको भनाइ थियो।
'यहाँबाट कतिपय पासपोर्ट बनाउनै नेपाल पनि जानु भएको छ, यो समस्या सानो होइन। अब सरकारले सोच्ने बेला आइसक्यो, न्युजिल्यान्डजस्तो ठाउँमा कि राजदूतावास स्थापना गर्नुपर्यो नत्र वाणिज्यदूतहरूमा भए पनि एक जना परराष्ट्रको कर्मचारीको दरबन्दी दिन सक्नुपर्यो', खड्काले आफ्नो भोगाइ सुनाए।
हाल अकल्यान्ड क्षेत्रमा पुग/नपुग दश हजार नेपालीको बसोबास रहेको पाइन्छ।
'नेपाली कामदारहरू विभिन्न पेशामा हुनुहुन्छ, गुनासो अरू कुराको भन्दा पासपोर्टको नै बढी आएको छ। हामीले राजदूतावास लगायतमा हाम्रो समस्या राखेका छौं तर त्यहाँ पनि स्रोत र साधनको कमी छ। घुम्ती सेवाले मात्र अब न्युजिल्यान्डमा पासपोर्टलगायत अन्य विषयगत समस्याको समाधान हुन कठिन देखिएको छ, राज्यले यस्ता विषयलाई गम्भीरताका साथ लिनु पर्दछ,' वाणिज्यदूत दिनेश खड्काले भने।
कोरोनाकालपछि मात्र भ्रमण भिसामा आएका करिब पच्चिस सय नेपालीहरू विविध रूपमा काम र अवसरको खोजीमा न्युजिल्यान्डमा छन्, उनीहरूको पनि अनेकन समस्या देखिएको छ।
'स्किल भएकाहरू एडजस्ट भएका छन्, अन्यको हकमा समस्या उस्तै छ। करिब चार हजार विद्यार्थीहरू उच्च अध्ययनका लागि न्युजिल्यान्ड आएको देखिन्छ तर यहाँ काम र पढाइको अवस्था सहज छैन। हप्ताको २० घन्टा काम गरेर फि तिर्न र खान बस्न निकै कठिन छ। पढ्न आउने विद्यार्थीहरूका पनि मानसिकदेखि अनेकन समस्या देखिएका छन्', खड्काले न्युजिल्यान्डको अवस्थाको चित्रण गरे।
'हामी आफ्नो स्रोत र साधनले भ्याएसम्म न्युजिल्यान्ड बस्ने नेपालीको पासपोर्ट लगायतको समस्या सम्बोधन गर्ने काममा लागेका छौं, गत मेको अन्तिमतिर पनि हामीले पासपोर्टको लागि अस्ट्रेलियाबाट बायोमेट्रिक्स मेसिनसहित शिविर सञ्चालन गरेका हौं, फेरि पनि निकट भविष्यमा जाने योजना छ', अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले भने।
‘अस्ट्रेलिया आफैंमा ठूलो देश छ, पर्थबाट सिड्नी आउन पाँच घन्टा उड्नु पर्छ। यस्तो अवस्थामा हामीले भ्याएसम्म सबै स्थानलाई महत्वका साथ राखेर काम गरेका छौं। तर हामीसँंग सीमित स्रोत र साधन भएकाले केही कठिनाइ देखिएको हुनसक्छ’, राजदूत पोखरेलले अगाडि भने।
राजदूत पोखरेलले न्युजिल्यान्डलाई भनेर मन्त्रालय अन्तर्गत विभागसँग काठमाडौंबाटै घुम्ती टोली ल्याउन समेत पहल गरेको बताए।
'त्यसो भएमा निकट भविष्यमै न्युजिल्यान्डको तड्कारो समस्या समाधान हुने विश्वास लिएका छौं, राजदूत पोखरेलले भने।
यो पनि:
न्युजिल्यान्ड आउँदै हुनुहुन्छ?, विचार पुर्याउनुस्!