'अस्ट्रेलिया र न्युजिल्यान्डजस्ता आकर्षक कमाइ हुने मुलुकमा काम लगाइदिन्छु र वर्किङ भिसामा लैजान्छु' भन्दै ठग्ने ठूलो गिरोह नेपालमा सक्रिय रहेको पाइएको छ।
प्रारम्भमै यसका लागि दश लाख रुपैयाँ लाग्ने र यसपछि प्रक्रिया सुरू हुने भन्दै सामाजिक सञ्जाल र पत्रिकामा विज्ञापन समेत छापेर ठग्ने गिरोहको जालमा केही युवा परेपछि अहिले यसको वास्तविकता विस्तारै खुल्न थालेको छ।
अस्ट्रेलियामा विभिन्न सांगीतिक कार्यक्रममा नर्तकी, मेकअपम्यान, व्यवस्थापक र गितारिष्ट, किर्बोडिस्ट जस्ता नक्कली कलाकार बनाएर मानव तस्करी हुन थालेपछि सरकारले यस्ता भिसामा 'नो फर्दर स्टे' जारी गर्न थालिसकेको छ। तर अहिले फेरि न्युजिल्यान्डमा वर्क परमिट भन्दै विभिन्न कम्पनीहरूको नाम समेत दिएर खुलेआम महिनाको पच्चीस सय डलर अनि काम गर्नुपर्ने समय ३८ घन्टा भनेर सामाजिक सन्जालमा यत्रतत्र विज्ञापन आउन थालेपछि स्थानीय निकाय समेत सचेत देखिएको छ।
न्युजिल्यान्डको पर्यटकीय केन्द्र मानिने अकल्यान्डका वाणिज्यदूत दिनेश खड्का केही मानिसहरूले नेपालबाट यस्तो विषयमा जिज्ञासा राखेपछि आफूहरू अचम्मित भएको बताउँछन्।
न्युजिल्यान्डमा स्थानीय व्यापारिक प्रतिष्ठानहरूले आफ्नो आवश्यकता अनुरूप केही व्यावसायिक कामदार विदेशबाट ल्याउन पाउने प्रावधान रहेता पनि यसरी कामदार भिसामा नेपालबाट न्युजिल्यान्ड ल्याउने कुनै कानुनी र नीतिगत प्रावधान नरहेको खड्का बताउँछन्।
'यसरी कुनै कम्पनीको नाम अगाडि सारेर बकाइदा यति तलब र यो पदमा भनेर अनि भिसा खर्च समेत दश लाख लाग्ने भन्ने कुरा सरासर गलत विवरण हुन्,यसको पछाडि लाग्नुभयो भने ठगिने पक्का छ,' वाणिज्यदूत खड्का बताउँछन्।
यसअघि पनि महिल विश्वकप हेर्नका नाममा करिब दुई सय नेपाली न्युजिल्यान्ड पुगेको र काम, कोठाको समस्यामा भौंतारिँदै हिँडेको बताउँदै अकल्यान्डका लागि नेपाल सरकारका वाणिज्यदूत खड्का भन्छन्, 'यो स्क्याम हो। यस्ता कन्सलटेन्सीलाई नेपाल सरकारले पनि छानबिनको दायरामा राख्नुपर्छ।'
'न्युजिल्यान्ड सरकारले नेपाली कामदारहरूको लागि कामदार भिसा खोलेको छैन, सानातिना व्यवसायमार्फत् आवश्यक कामदार भनी स्पोन्सर्स्ड गर्ने कुरा अलग हुन् तर यसरी बकाइदा विज्ञापन छापेर भिसा प्रक्रियामा दश लाख लिनु सिधै ठगी धन्धा गर्नु अनैतिक कार्य हो,' खड्काले थप भने।
यति मात्र होइन यतै स्पोन्सर भिसामा रहेका कयैन् कामदारहरूमाथि पनि काममा शोषण भैरहेको गुनासा आइरहेको वाणिज्यदूत खड्काले बताए।
'नेपालबाट ल्याउँदा एउटा समयसीमा र तलब तोकिएको हुन्छ, तर यहाँ आएपछि कामदारलाई बढी काम लाइने र कम पैसा दिने कयैन् गुनासाहरू आएका छन्, कानुनी प्रक्रियामा समेत यस्ता समस्याहरू देखिइसकेका छन्, त्यसैले न्युजिल्यान्ड आउनुअघि धेरै कुरा विचार पुर्याउनुपर्छ,' उनले भने।
न्युजिल्यान्डमा नेपालको राजदूतावास नभएको कारण पनि वाणिज्य दूतावासले यहाँका सानातिना समस्याहरूलाई सम्बोधन गर्ने गर्दछ।
अहिले करिब २० हजार नेपाली न्युजिल्यान्डमा बसोबास गर्दै आएका छन्।