यतिबेला अस्ट्रेलियन शिक्षामा नयाँ नयाँ प्रयोगको सुरूआत भएको बेला सिड्नीमा रहेको क्राउन इन्स्टिच्युट अफ हाइएर एजुकेसनले नेपाल र अस्ट्रेलियामा पढ्ने गरी डबल डिग्री शैक्षिक कार्यक्रम अघि सारेको छ।
अस्ट्रेलियामा स्तरीय शिक्षाको मूल मन्त्र जपेर अगाडि बढेको क्राउन नेपाली मूलको लगानी भएको दोस्रो उच्च शिक्षा परियोजना पनि हो।
क्राउनले यस पटक आइटी क्षेत्रमा डलब डिग्री शैक्षिक अभियानलाई अगाडि सारेर नेपालमा रहेका युवा विद्यार्थीलाई नेपाल र अस्ट्रेलियाको शिक्षामा आपसी सहकार्यको नयाँ थालनी प्रारम्भ गरेको छ। जसमा काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा आइटी विषयमा डबल डिग्री शैक्षिक अभियान थालनी भएको क्राउनका कार्यकारी निर्देशक नारायण तिवारीले बताए।
यस शैक्षिक परियोजना अन्तर्गत काठमाडौं विश्वविद्यालयमा दुई वर्ष आइटीमा ब्याचलर पढिसकेका विद्यार्थीहरू अस्ट्रेलिया आएर क्राउनमा थप दुई वर्ष पढ्दै डबल ब्याचलर डिग्री प्राप्त गर्न पाउनेछन्।
यस अभियान अन्तर्गत पहिलो ब्याचको रूपमा गत वर्षको अगष्टमा काठमाडौं विश्वविद्यालयमा १७ जना विद्यार्थीहरू यस डबल डिग्री शैक्षिक योजनामा अध्ययनरत रहेको निर्देशक तिवारीले बताए।
अस्ट्रेलियाको शैक्षिक क्षेत्रमा केही चुनिएका र गनिएका उच्च शिक्षा केन्द्रहरूमा क्राउनको नाम अग्रस्थानमा आउने गर्छ। अस्ट्रेलियामा नेपाली मूलका धनाध्य शेष घलेको एमआइटी उच्च शिक्षा केन्द्रपछि क्राउन नेपाली मूलका अर्का व्यवसायी तथा पूर्व महावाणिज्यदूत दीपक खड्काद्वारा सञ्चालित दोस्रो हाइएर एजुकेसन कलेज हो।
ब्याचलर डिग्रीमा एकाउन्टिङ,आइटी अन्टरपेनरसीप एण्ड इनोभेसन तथा मास्टर डिग्रीमा आइटी र प्रोफेसनल एकाउन्टिङ समेत रहेको क्राउन उच्च शिक्षा केन्द्रमा नेपाली लगायत कोरियन, जापानिज, भारतीय, फिलिपिनो विद्यार्थीहरूको बाहुल्यता छ।
‘यस पटक हामीले नेपाल र अस्ट्रेलियाको शिक्षालाई जोड्ने अभियान अन्तर्गत डबल डिग्री कोर्सलाई अगाडि बढाएका हौं र यसले नेपाली विद्यार्थीहरूको शैक्षिक स्तरलाई पनि अस्ट्रेलियासँग जोड्ने छ भन्ने विश्वास गरेका छौं,’ कार्यकारी निर्देशक तिवारीले भने।
सन् २००८ देखि प्रारम्भ भएको क्राउनले भेट शिक्षाबाट आफ्नो व्यवसायलाई अगाडि बढाएको थियो।
‘शैक्षिक व्यवसायमा थुप्रै च्यालेन्जहरू छन्, नयाँ बजार नयाँ नयाँ विषयहरू अहिलेको आवश्यकता हो। यो सँगसँगै स्तरीय शिक्षा र उपयुक्त शैक्षिक वातावरण अर्को महत्वपूर्ण पाटोहरू हुन्,’ तिवारीले अस्ट्रेलियन शैक्षिक क्षेत्रको अनुभव सुनाए।