प्रवासी भएर आफू बसेको देशको कानुनी र सांस्कृतिक परिवेश बुझ्नु र पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुन्छ। आफू बसेको देशका कानुनी प्रबन्धहरू थाहा पाउनुपर्छ र सचेततापूर्वक पालना गर्नुपर्छ।
कानुनी प्रावधानबारे जानकारी नहुँदा र पलना नगर्दा गम्भीर परिणाम भोग्नुपर्ने हुन सक्छ। यस सन्दर्भमा अस्ट्रेलियामा बसोबास गर्ने धेरै नेपालीहरूले कठिनाइ सामना गर्नुपरेको छ। अस्ट्रेलियामा नेपालीहरूले गर्ने सामान्यतया कानुन पालनाका सन्दर्भमा १० किसिमका गल्ती गर्ने सम्भावना हुन्छ।
१. ओभर-स्टे
भिसाको म्याद नाघेपछि पनि बस्नु ओभर-स्टे हो। ओभर-स्टे गरेको व्यक्तिले कानुनी कारबाहीको सामना गर्नुपर्ने हुन सक्छ।
भिसासम्बन्धी गलत धारणा वा अन्य कारणले ओभर-स्टे हुन सक्छ। ओभर-स्टे गर्दा प्रहरीले हिरासतमा लिने, डिपोर्टेसन (देश निकाला) गर्ने र पुनः प्रवेशमा प्रतिबन्ध लगाउने जस्तो कारबाही हुन सक्छ।
आफ्नो भिसाको म्यादबारे प्रत्येक व्यक्ति सजग रहनुपर्छ, ओभर-स्टे गर्न हुँदैन।
२. भिसाका सर्तहरू पालना नगर्नु
अस्थायी र स्थायी भिसामा विशेष सर्तहरू हुन्छन्। काम गर्न पाउने घन्टा, अध्ययन वा रिपोर्टिङ सम्बन्धी सर्तहरू हुन्छन्। सर्तहरू पालना नगर्दा भिसा रद्द हुन सक्छ, जरिवाना लाग्न सक्छ र अन्य कानुनी कारबाहीको सामना गर्नुपर्ने हुन सक्छ।
भिसाका सर्तहरूबारे राम्रो जानकारी राख्नुपर्छ र पालना गर्नुपर्छ। कुनै अलमल भए वा राम्रो जानकारी नभए उचित ढंगले सल्लाह लिनुपर्छ।
३. बेदर्ताका सल्लाहकारबाट सल्लाह लिनु
कतिपय व्यक्तिले अनजानमै दर्ता नभएका एजेन्ट, साथी वा परिचितहरूबाट आप्रवासनसम्बन्धी सल्लाह लिन्छन्। यस्ता स्रोतहरूसँग सम्बद्ध विषयमा पर्याप्त ज्ञान नहुन सक्छ, सल्लाह गलत पनि हुन सक्छ।
यस्तो अवस्थामा आवेदन अस्वीकार हुने वा अन्य समस्या निम्तिने सम्भावना हुन्छ। दर्ता भएको आप्रवास सल्लाहकार वा वकिलसँग परामर्श लिनुपर्छ।
४. आवश्यक रिपोर्ट नगर्नु
कतिपय नेपाली आप्रवासीहरूले रोजगारीमा शोषण वा न्यून पारिश्रमिकको समस्या भोगेका हुन्छन् सम्बद्ध निकायमा रिपोर्ट गर्दैनन्। रोजगारी गुम्ने वा भिसासम्बन्धी समस्याको चिन्ताका कारण रिपोर्ट नगर्ने प्रवृत्ति हुन्छ।
कतिपयले अनजानमै कामको सीमा नाघेर भिसाको सर्त उल्लंघन गर्छन्। त्यसले गम्भीर परिणाम निम्त्याउन सक्छ। रोजगारीसम्बन्धी अधिकार र आफ्नो जिम्मेवारीबारे जानकारी राख्नु अत्यावश्यक हुन्छ।
५. परिवारिक कानुन पालना नगर्नु
विवाहमा पारिवारिक सम्बन्धमा सांस्कृतिक अपेक्षाहरूका कारणले कहिलेकाहीँ अस्ट्रेलियाको परिवार कानुन उल्लंघन हुन सक्छ। अलगअलग बसाइ, बालबालिकाको हेरचाहमा विवाद, अनौपचारिक सम्बन्धविच्छेद लगायतले अस्ट्रेलियामा कानुनी समस्या निम्त्याउन सक्छ।
यस्तो समस्यामा नपर्न परिवारिक कानुन पालना गर्नुपर्छ र आफ्नो अधिकार रक्षाका लागि सचेत हुनुपर्छ।
६. कर र सुपरएन्युएसन पालना नगर्नु
कर फाइल नगर्ने, आयको गलत रिपोर्ट गर्ने वा सुपरएन्युएसन पालना नगर्ने जस्ता गल्तीहरूले जरिवाना भोग्नुपर्ने हुन्छ। यससम्बन्धमा गहिरो अनुसन्धान हुन सक्छ र ठूलो समस्या आउन सक्छ।
सुपरएन्युएसन भनेको सामाजिक सुरक्षाका लागि सरकारले लिने कर हो। प्रत्येक व्यक्तिले उचित ढंगले कर व्यवस्थापन गर्नु र समयमै कर फाइल गर्नु आवश्यक हुन्छ।
७. घरेलु हिंसासम्बन्धी गलत बुझाइ
घरेलु र पारिवारिक हिंसासम्बधमा अस्ट्रेलियाको कानुन निकै कडा छ। यी कानुनको प्रावधान थाहा नपाउँदा वा थाहा भएर पनि पालना नगर्दा अपराध गरेको कसुरमा दण्ड भोग्नुपर्ने हुन सक्छ।
८. मदिरा सेवन गरेर सवारी चलाउनु
मदिरा सेवन गरेर सवारी चलाउनु कानुनको गम्भीर उल्लंघन हो। यसमा ठूलो जरिवाना तिर्नुपर्ने हुन्छ। लाइसेन्स निलम्बन हुन्छ अपराध गरेको भन्ने अभिलेख रहन्छ। जेल सजाय पनि हुन सक्छ।
९. दुर्घटना बीमा नगर्नु
सवारी दुर्घटना सम्बन्धी बीमा नभएका व्यक्तिहरू दुर्घटना परे भने आर्थिक र कानुनी रूपमा निकै कमजोर हुन्छन्।
दुर्घटना बीमा नहुँदा उपचारमा ठूलो आर्थिक भार पर्ने हुन्छ। यसमा कानुनी झमेला पनि आइपर्छ। प्रत्येक व्यक्तिले दुर्घटना बीमा गर्नु आवश्यक हुन्छ।
१०. साइबर कानुन पालना नगर्नु
सामाजिक सञ्जालमा गोपनीयता उल्लंघन गर्दा र अरूको प्रतिष्ठामा आघात पुर्याउँदा कानुनी समस्या निम्तिन सक्छ। सामाजिक सञ्जाल प्रयोग गर्दा साइबर कानुनको जानकारी राख्नु र पालना गर्नु आवश्यक हुन्छ।
(कानुन व्यवसायी माधव खरेल 'इमिग्रेन्ट लयर्स' नामक कानुनी फर्मका संस्थापक हुन्।)