खेतीका कुरा गरौं, कुराको खेती नगरौं— बुटवल उपमहानगरपालिका वडा नम्बर १५ ढवाहस्थित कृषि फर्मको गेटमा लेखिएको नारा हो यो।
फोकस मल्टी एग्रो कन्सर्न एन्ड रिसर्च प्रालिमा पुग्ने जो कोहीको ध्यान यहाँ लगाइएका फलफूलभन्दा पहिले गेटमा लेखिएको यो कुराले तानिहाल्छ।
यो फर्म पाँच वर्षअघि कृषिमा स्नातकोत्तर पढेका पाँच जना— राजेश कुँवर, सरोज भट्टराई, विवेक ज्ञवाली, किरण तिमिल्सिना र विशाल पन्थीले सञ्चालन गरेका हुन्।
उनीहरूमध्ये चार जना कृषि क्याम्पसहरूमा पढाउँछन्।
राजेश कुँवर भैरहवास्थित पक्लिहवा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा उपप्राध्यापक छन् भने किरण त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त दाङको एक कृषि कलेजका सहायक प्राध्यापक हुन्। त्यस्तै सरोज भट्टराई सिटिइभिटी अन्तर्गत अर्घाखाँचीको एग्रो–भेटेरिनरी बहुप्राविधिक शिक्षालयमा र विवेक ज्ञवाली गुल्मीको एक सामुदायिक विद्यालयमा कृषि संकायमा पढाउँछन्।
विभिन्न जिल्लाबाट जोडिएका उनीहरूले बुटवलमा भाडामा लिएको जमिनमा खेती गरेर माटोमै भविष्य खोजिरहेका छन्।
अरूले बिर्सिए पनि कृषि पढेकाहरूले त माटोमा कुटो–कोदालो चलाउनुपर्छ भन्ने सन्देश दिन फर्मको नारामै खेती समेटिएको कम्पनीका अध्यक्ष समेत रहेका राजेशले बताए।
'चोक र चिया पसलमा बसेकाहरू कृषि उत्पादनको बजार भाउ, आयात बढेको भन्दै गफ गर्छन्। तर उत्पादनतिर लाग्दैनन्। आयात र बजार भाउ घटाउन सबैले थोरै थोरै भए पनि उत्पादन गर्नुपर्छ। गफ गर्ने तर काम नगर्ने नेपालीहरूको आम परिपाटीलाई हामीले नारा बनाएका हौं,' उनले भने।
राजेश पढाइ सकेपछि २०७७ सालदेखि पढाउन थाले। हाल उपप्राध्यापक रहेका उनलाई अध्यापनले मात्र चित्त बुझेको थिएन। कृषि पढेकाले माटो छुन्छन् र उत्पादनमा लाग्छन् भन्ने कुरा आफैले कृषि कर्म गरेर देखाउन चाहन्थे।


उनले कृषि पढ्दै गर्दा चिनेका साथीहरूसँग कुरा गरे र सबै मिलेर कृषि फर्म सञ्चालन गर्ने प्रस्ताव गरे। कृषि अध्यापनमै लागेका सरोज, विवेक, किरण र विशाल चारै जनाले सहमति जनाए।
अनि २०७७ सालमै स्थापना भयो फोकस मल्टी एग्रो कन्सर्न एन्ड रिसर्च प्रालि।
'कृषि पढेको भन्ने अनि माटो नछुने? उनीहरूले माटो छोए मात्र कृषिको माध्यमबाट देश समृद्ध बनाउन सकिन्छ भन्ने सन्देश दिन र पढेको कुरालाई प्रयोगात्मक रूपमा गरेर देखाउनुपर्छ भनेर फर्म सञ्चालन गरेका हौं,' राजेशले भने।
उनीहरूले ३० कट्ठा जमिन भाडामा लिएर फलफूल खेती गरिरहेका छन्। फर्ममा पाँच जनाको बराबर लगानी छ। रेखदेखको जिम्मेवारी विशालले लिएका छन्।
फर्ममा स्थायी खेतीका रूपमा ड्रागन फ्रुट, कागती, अम्बा र सित्तलचिनी (मोरिंगा) लगाइएको छ। फर्मको सबै जग्गा कसरी उपयोग गर्न सकिन्छ भनेर विभिन्न घुसुवा बाली पनि रोप्छन्। मौसम अनुसार सयपत्री र तरबुजासँगै विभिन्न तरकारीका बेर्ना उत्पादन हुन्छ।
'अहिलेको उत्पादन भनेको सयपत्री हो। १० कट्ठा जमिनमा कर्मा ५५५ र टेनिस बल भन्ने दुई जातका सयपत्री लगाएका छौं। तिहारलाई लक्ष्य गरेर लगाए पनि मंसिरसम्म उत्पादन लिन सकिन्छ। त्यसपछि लहरे तरकारीका बेर्ना र तरबुजा लगाउने योजना छ,' उनले भने।
काउली, टमाटर, बन्दा लगायत तरकारीका बेर्ना फर्ममा तयार छन्। जमिन सीमित भएकाले उनीहरूले आफै तरकारी खेती नगरी किसानलाई बेर्ना बेचेका हुन्। त्यस्तै वर्षभरि एउटै खेती गर्नुभन्दा बेर्ना, मौसमी बाली लगाउँदा छिटो छिटो उत्पादन लिन सकिने र माटो पनि राम्रो बन्ने राजेशले बताए।
सयपत्री खेती उनीहरूले फर्म सञ्चालन भएदेखि नै गर्दै आएका हुन्। पहिले सिकाइको चरणमा रहेकाले खास नाफा भएन। गत वर्षदेखि बल्ल राम्रो आम्दानी हुन थालेको छ।

'पोहोरदेखि बल्ल मालाका लागि कुन जात उपयुक्त हुने रहेछ भन्ने बुझ्यौं र राम्रो आम्दानी भएको छ। पोहोर ८ कट्ठाबाट ४ लाख रूपैयाँ जति आम्दानी भएको थियो। यसपालि १० कट्ठामा रोपेका छौं। मूल्य पनि पोहोरभन्दा दोब्बर भएकाले मंसिरसम्म १० लाख रूपैयाँ जति आम्दानी हुन्छ भन्ने अपेक्षा छ,' उनले भने।
करिब ५ कट्ठामा 'सुन कागती–१' र 'सुन कागती–२' जातका एक सयभन्दा बढी रोपिएको छ। यो वर्षदेखि फल्न थाले पनि पहिलो वर्ष भएकाले त्यति राम्रो छैन।
त्यस्तै पहिलो वर्षदेखि रोपिएको ड्रागन फ्रुटमा रोग देखिएपछि यस वर्ष नयाँ बोट लगाएका छन्। तीन कट्ठा जमिन र फर्ममा छिर्ने बाटोको दायाँ–बायाँ लगाइएका ड्रागन फ्रुटमा फल लाग्न सुरू भएको छ।
फर्ममा 'ताइवान पिंक' र 'केजी' गरी दुई प्रकारका अम्बा रोपिएको छ। सित्तलचिनीको खेती पनि यस वर्षदेखि सुरू गरिएको हो।
'अम्बा, कागती, सित्तलचिनी र ड्रागन सबै पहिलो पटक फल्दै छन्। अहिलेका बोटहरूको वृद्धि–विकास राम्रो देखिएकाले अर्को वर्षदेखि उत्पादन राम्रै दिन्छन् भन्ने अपेक्षा गरेका छौं,' राजेशले भने।
अहिले फलफूल खेतीबाट काम सुरू गरे पनि भविष्यमा उत्पादित वस्तुको प्रशोधन, तालिम सञ्चालन लगायत काम गर्न सकियोस् भनेर मल्टी एग्रोका रूपमा फर्म दर्ता गरेको उनीहरूको भनाइ छ।
राजेशका अनुसार फर्ममा उत्पादित वस्तु सिधै बजारमा लैजाँदा थोरै मात्र प्रतिफल आउँछ। त्यसलाई प्रशोधन गरेर लगियो भने प्रतिफल थपिन्छ।
'हाम्रो दीर्घकालीन लक्ष्य उत्पादन, प्रशोधन, तालिम, बिउ र विषादीसँग सम्बन्धित काम गर्न सकियोस् भन्ने हो। त्यसैले कार्यक्षेत्र फराकिलो बनाएका हौं,' उनले भने।

अहिले पनि कृषि पढ्ने विद्यार्थीहरू ओजेटी (अन द जब ट्रेनिङ) का लागि फर्ममा आउँछन्। कृषिका विद्यार्थीले कुनै कृषि फर्ममै गएर ३ देखि ६ महिनासम्म सैद्धान्तिक र प्रयोगात्मक ज्ञान लिनुपर्छ। हरेक वर्ष २० देखि ३० जना स्नातक तहका विद्यार्थीहरू आफूहरूको फर्ममा आउने गरेको उनले बताए।
'हामीलाई आफ्ना विद्यार्थीलाई सिकाउन पनि सहज भएको छ। कृषि पढेर मात्र हुँदैन, प्रयोगात्मक रूपमा ज्ञान छैन भने सैद्धान्तिक रूपमा जतिसुकै राम्रो नतिजा ल्याए पनि उत्पादनतिर लाग्दैन। त्यही भएर यहाँ प्रशिक्षार्थीका रूपमा आउने विद्यार्थीहरूलाई हामीले जाने जति र उत्पादनका लागि चाहिने जति ज्ञान दिएर पठाउँछौं। यहाँ तालिम लिएपछि कतिपयले आफै पनि फर्म सञ्चालन गरेका छन्,' उनले भने।
कृषि पढेका उनीहरूलाई प्राविधिक रूपमा सहज भए पनि मल, बिउबिजन, सिँचाइ र बजारीकरणमा अरू किसानलाई जस्तै समस्या भएको उनले बताए।
सुरूमा पाँच जनाले जनही दुई–दुई लाख रूपैयाँ गरी १० लाख रूपैयाँबाट सुरू गरिएको फर्ममा अहिले ३० लाख रूपैयाँभन्दा बढी लगानी पुगेको छ। फर्मबाट भएको आम्दानी सबै त्यसैमा लगाइरहेका छन्।
सुरूआती पाँच वर्ष सिकाइमै बिताएका उनीहरू आगामी पाँच वर्षमा हुने मुनाफाले कृषिमा आफूहरूको भविष्य देखाउने बताउँछन्।
'अब ५ वर्ष यही पेसा र यही ठाउँमा रहन सकियो र सम्बन्धित कार्यालयहरूको सहकार्य भयो भने यो काम छाडेर जान पर्दैन भन्ने लाग्छ,' राजेशले भने।
