नेपालले अन्तर्राष्ट्रियस्तरमा मान्यता पाउने सवारी चालक अनुमतिपत्र जारी गर्ने भएको छ। यातायात व्यवस्था विभागले इन्टरनेशनल ड्राइभिङ्ग परमिट (आइडिपी) का लागि कानूनी व्यवस्था गर्न लागेको जानकारी दिएको छ।
संघीय यातायात ऐनमा सो सम्बन्धी व्यवस्था गर्न लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।
‘हामीले आइडिपीलाई ऐनमा व्यवस्था गर्ने तयारी गरेका छौ, आइडिपीको व्यवस्था गर्न सकियो भने आइडिपीको १ सय ३५ वटा सदस्य राष्ट्रमा ३ महिनासम्म गाडी चलाउन पाउछन्,’ उपाध्यायले सेतोपाटीसगँ भने, ‘नेपालको लाइसेन्सलाई कतिपय देशले मान्यता दिँदैनन् तर आइडिपी जारी गर्न सकिएको खण्डमा हाम्रा नेपाली कामदारलाई विदेशमा सहज हुन्छ त्यस्तै नेपाल घुम्न आउने पर्यटकहरुलाई पनि सहज हुन्छ।’
छलफलको क्रममा रहेको ऐनले यस्ता नयाँ– नयाँ र प्रविधिक कुराहरुलाई समावेस गर्ने उनले बताए। यातायातका क्षेत्रमा विकसित भएका नयाँ प्रविधि र व्यवस्थालाई नियमन गर्न कानूनी व्यवस्था गर्न लागिएको उनको भनाइ छ।
संयुक्त राष्ट्र संघको जेनेभा अभिसन्धी १९४९ र भिएना अभिसन्धी १९६८ मा सडक ट्राफिक र सवारी साधन, सवारी चालक अनुमतीपत्रसँगै आइडीपी सम्बन्धी व्याख्या गरिएको छ।
यो अनुसार आफ्नो देशको लाइसेन्सको आधारमा अरू देशमा सोझै गाडी चलाउन पाउने प्रावधान छ।
याे पनि पढ्नुहाेस