यातायात व्यवस्था विभागले सेवाग्राही कार्यालयमा नगई सवारी चालक अनुमती पत्र (लाइसेन्स) को लिखित परीक्षा दिने व्यवस्था मिलाउन छलफल अगाडि बढाएको छ।
अनलाइन फारम भरेर स्वदेश तथा विदेशबाट पनि लिखित परीक्षा दिन पाउने र पास भएको ६ महिना भित्र आफूलाई अनुकुल पर्ने समयमा ट्रायलको मिति तथा स्थान छान्न मिल्ने गरी एउटा कोरियन कम्पनीले प्रस्ताव गरेको यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए।
‘हामी छलफलको प्रारम्भीक चरणमा छौं। एउटा कम्पनीको प्रस्ताव आएको छ। हामीले अध्ययन गरेर अरू प्रकृया अगाडि बढाउँछौ,’ दाहालले सेतोपाटीसग भने ।
यो योजना सफल भएमा सेवाग्राहीले अहिले जस्तो यातायात कार्यालय धाउनुपर्ने बाध्यता हट्ने उनले जानकारी दिए।
‘हामी ‘फेस लेस’ सेवामा जान खोज्दैछौ। यो योजना सफल भएमा सेवाग्राहीले टोफेल, आईईएलटीएस जस्तो तोकिएका केन्द्रमा लिखित परीक्षा दिन मिल्छ र परीक्षा पास भएपछि ६ महिना भित्र नेपालका छानेको स्थानबाट ट्रायल दिन पाउँछन्,’ दाहालले भने।
त्यसैगरी ट्रायल पनि ‘फेसलेस’ बनाउन ट्रायल सेन्टरमा कोही पनि नबसी सिसि क्यामराको मद्धतले कन्ट्रोल रूमबाटै निगरानी गर्न सकिने दाहालले जानकारी दिए।
यस्तो अभ्यास अरू देशमा पनि गरिएकोले असम्भव नरहेको उनको तर्क थियो।
यो योजनाको प्रिजेन्टेसन गर्न दक्षिण कोरियन कम्पनी इच्छुक रहेको र यातायात व्यवस्था विभागमा प्रस्ताव समेत पठाइसकेको छ।
विभाग पनि यो विषयमा सकारात्मक रहेको छ। अध्ययनको निष्कर्ष राम्रो आएमा यस्तै काम गर्ने अरू कम्पनीलाई पनि प्रतिश्पर्धा गराई काम सुरू गर्ने दाहालले जानकारी दिए।