गत आर्थिक वर्ष काठमाडौं उपत्यकामा मात्र ८ हजार ५ सय ११ सवारी दुर्घटना भयो। जसमा ५ हजार ८ सय ९० साधारण घाइते, ३ सय १७ गम्भिर घाइते भए र २ सय ५४ जानाले ज्यानै गुमाउनु पर्यो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुसार यी दुर्घटना मध्य ६७ ओटा दुर्घटना यान्त्रीक गडबडीको कारण भएको हो।
त्यस्तै यो वर्षको पहिलो ७ महिनामा काठमाडौं उपत्यकामा मात्र ७ हजार ५ सय सवारी साधन दुर्घटना भइसक्यो। जसमा ४ हजार ९ सय ५९ साधारण घाइते, १ सय ७१ जना गम्भिर घाइते भए भने १ सय ५ जानाले ज्यान गुमाए। यी मध्य ३९ ओटा दुर्घटना यान्त्रीक गडबडीको कारण भएको थियो।
महाशाखाको अनुसार सवारी दुर्घटना हुने ९ ओटा कारण मध्य यान्त्रीक गडबडी पाचौँ प्रमुख कारण हो।
सरकारले यस्ता दुर्घटना कम गर्न सातै प्रदेशमा सवारी परीक्षण केन्द्र बनाउने बताइरहँदा भइराखेको पूर्वाधार भने प्रयोगमा आउन सकेको छैन।
२०६८ सालमा टेकुस्थित सवारी परीक्षण केन्द्रमा स्थापना गरिएको सवारी परीक्षण प्रविधी बेकाम्मे भएर बसेको छ।
उक्त प्रविधी राखिएको लामो समयसम्म प्रयोगमा नआएको कारण चलाउन नसकिएको सवारी परिक्षण केन्द्रका इन्जिनियर संजय थिङले जानकारी दिए।
‘७३ सालबाट मात्रै यो कार्यालय संचालनमा आयो। ५ वर्ष संचालनमा नआएको कारण हाल यो प्रविधी चलाउन सकिएको छैन,’ उनले सेतोपाटीसगँ भने ‘ संचालनमा ल्याउनसके गाडीको तौल, ब्रेकिङ फोर्स, च्यासिस, स्लिप टेस्ट, लाइटको क्षमता, हर्नको क्षमता स्वचालित रुपमा हेरेर स्क्रिनमै जानकारी पाउन सकिन्छ।’
यो प्रविधि संचालनमा नआएपनि याहाँका प्राविधिकले टायरको अवस्था, डेन्टिङ/पेन्टिङ, लाइट, इन्जिन नम्बर लगायत म्यानुअल्ली हेरेर जाचँ पास गर्ने गरेको थिङले जानकारी दिए।
त्यस्तै यहाँ केही समयदेखि डिजेल एनलाइजर बिग्रिएर डिजेलका गाडी प्रदुषण जाचँ रोकिएको छ भने खाली ठाउँको अभावमा ब्रेकिङ फोर्स पनि परीक्षण गर्न सकिएको छैन।
टेकुमा सवारी परीक्षण प्रणाली स्थापना गरिए पनि समयमै कर्मचारीको दरबन्दी पठाउन नसकिएको कारण उक्त प्रविधी विग्रिएको यातायात व्यवस्या विभागका एक कर्मचारीले बताए।
‘६८ सालमा सवारी परीक्षण केन्द्र स्थापना भएपनि २०७२/७३ तिर मात्र कर्मचारीको दरबन्दी पर्यो त्यो बेलासम्म उक्त प्रणली बिग्रिसकेछ,’ ती कर्मचारीले भने।
यस प्रणली बनाउन प्रयास गरिएपनि नसकिएको विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।
‘विभागले २ वर्ष पहिले बनाउन खोजेको हो तर त्यसको सफ्टवेयरमा समस्या देखियो। उक्त प्रणली बनाएको कम्पनीलाई सम्पर्क गर्दा कम्पनी नै कोल्याप्स भएको रहेछ,’ हमालले सेतोपाटीसगँ भने ‘ हामीले आफैंले पनि बनाउन सकिन्छकी भनेर प्रयास गर्यौं तर सफ्टवेयर चिनियाँ भाषामा भएको कारण सफल भएनौ।’
आउने वर्ष नयाँ समान जडान गरेर भएपनि यसलाई संचालनमा ल्याउने विभागको तयारी रहेको उनले जानकारी दिए।
हाल नेपालमा भइरहेको फिटनेस परीक्षण प्रयाप्त नभएको यातायातविद् अषिश गजुरेल बताउँछन्।
सवारी साधनको वैज्ञानिक ढंगले फिटनेस टेष्ट गराउन सकिए यान्त्रीक गडबडीको कारण हुने दुर्घटना ९० प्रतिशत भन्दा बढी घटाउन सकिने उनको तर्क छ।
‘नेपालमा फिटनेस जाँच गर्ने मापदण्डदेखि संरचनासम्म छैन। भएको संरचना पनि संचालनमा आउन सकेको छैन,’ गजुरेलले भने ‘वर्षमा २ पटक राम्रोसगँ सवारी साधन परीक्षण गर्न सकियो भने पनि हामीले दुर्घटना धेरै घटाउन सक्छौं।’