कोरोना महामारीका कारण लामो समय थला परेको यातायात व्यवसायले विस्तारै लय समात्न थालेको छ. सामान्य अवस्थामाभन्दा यात्रु चाप घटे पनि अवस्था सन्तोषजनक रहेको व्यवसायीहरूले बताएका छन्।
यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न सरकारसँग हातेमालो गरेका कतिपय कम्पनी महामारीका कारण व्यवसाय बन्दै गर्नुपर्ने हो कि भन्ने चिन्तामा थिए। मयुर, महानगर, मेट्रोसिटी यातायात लगायतले यात्रु चाप घटेको, तेल र अन्य खर्च बढेकाले व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको गुनासो गरेका थिए।
पछिल्लो समय भने व्यवसाय लयमा फर्कन थालेको व्यवसायीहरूले बताएका छन्।
मयुर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठ अहिले व्यवसाय सन्तोषजनक रहेको बताउँछन्, 'अहिले खासै समस्या छैन। यात्रु केही घटे पनि अवस्था सहज हुँदैछ। यसबीच हामीले एउटा गाडीबाट ७ लाखसम्म कमाइ गर्यौं। किस्ता तिर्न सजिलो भयो, लगानी उठेको छ।'
सरकारले यातायात व्यवसायीलाई ऋणमा सहुलियत दिएकाले पनि थप सहज भएको उनले बताए। उनका अनुसार सरकारले ५ प्रतिशत ब्याजदरमा व्यवसायीलाई ऋण उपलब्ध गराइरहेको छ। बैंकले मौद्रिक नीतिअनुसार सेवासुविधा प्रदान गरिरहेका छन्।
'त्यसैले अहिले हामीलाई धेरै सहज भएको छ। केही व्यवसायीले अझै समस्या देखाइरहेका छन् जसको कुनै तुक छैन,' अध्यक्ष श्रेष्ठ भन्छन्, 'अब त आफैंले पनि व्यवस्थापन गर्दै लैजानुपर्छ अनि सहज हुँदै जान्छ।'
मयुर यातायातका ४४ वटा बस हाल सञ्चालनमा रहेको कम्पनीले जनाएको छ। ४५ वटा नयाँ बस काठमाडौं झारिसकेको पनि अध्यक्ष श्रेष्ठले बताए। ती बस वैशाख १५ गतेभित्र सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ।
महानगर यातायातका कार्यकारी प्रमुख केशव नेपाल पनि व्यवसाय राम्रोसँग चलिरहेको बताउँछन्। केही समयअगाडि यात्रु पाउन मुश्किल भए पनि पछिल्लो समय सार्वजनिक यातायात प्रयोग गर्ने यात्रु बढ्दै गएको उनको भनाइ छ।
'अहिले हाम्रा ३९ वटा बस सञ्चालनमा छन्। रिङरोडमा यात्रुहको रोजाइ महानगर यातायात भएकाले हामीलाई समस्या छैन। एक/दुइटा बस भने चालक र सहचालक अभावका कारण सञ्चालन गर्न समस्या देखिएको छ,' उनले भने।
महानगरले यात्रुको सहजताका लागि बसमा सुविधा बढाउँदै लैजाने तयारी गरेको उनले बताए। उनका अनुसार प्रविधि प्रयोग गर्ने यात्रुका लागि क्युआर कोडमार्फत भाडा भुक्तानीको व्यवस्था मिलाउने तयारी चलिरहेको छ।
'अवस्था सहजै रह्यो भने एक महिनाभित्र क्युआर कोडमार्फत भाडा तिर्ने व्यवस्था मिलाउँछौं,' उनले भने। यो व्यवस्थापछि यात्रु ठगिने समस्या पनि नहुने कम्पनीको विश्वास छ।
मेट्रोसिटी यातायातका अध्यक्ष हेमेन्द्र शेरचन भने व्यवसायीका केही समस्या कायमै रहेको बताउँछन्। सरकारले ऋणमा सहुलियत दिने भने पनि बैंकले चर्को ब्याज असुल्न सुरू गरेको उनको भनाइ छ।
'बैंकहरूले व्यवसायीसँग १२ प्रतिशतसम्म ब्याज असुल्न थालेका छन्। यसमा नियमन हुन सकेको छैन,' उनले भने।
चालक र सहचालकको अभावः
यातायात व्यवसायले कोरोना महामारी झेल्दै विस्तारै गति लिन थाले पनि चालक तथा सहचालकको अभाव खड्किएको छ। कोरोनाका कारण लामो समय बेरोजगार बनेपछि काठमाडौंमा गुजारा टार्न नसकेर कतिपय चालक तथा सहचालक गाउँतिर फर्किएका थिए। उनीहरूमध्ये धेरै अहिलेसम्म नफर्किएकाले गाडी चलाउने मान्छे अभाव भएको महानगर यातायातका कार्यकारी प्रमुख केशव नेपालले बताए।
त्यस्तै सहचालकको कामलाई सम्मान नगर्ने प्रवृत्तिका कारण पछिल्लो समय यो काममा युवाको आकर्षण नदेखिएको उनको भनाइ छ।
'आजभोलिका युवा पढे-लेखेका छन्। उनीहरूमा त सहचालकको काम गर्नु हुँदैन भन्ने मानसिकता छ। त्यसैले पनि सहचालक काम गर्नेहरू घट्दै गएका छन्,' उनले भने।
भारत तथा अन्यत्र मुलुक पलायन हुनाले पनि चालक अभाव खड्किएको नेपाल बताउँछन्। त्यस्तै सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा सरकारले सहजीकरण नगरिदिँदा योग्य चालक अभाव भएको उनको भनाइ छ।
मेट्रोसिटी यातायातका अध्यक्ष हेमेन्द्र शेरचन पनि चालक र सहचालक सहजै पाउन नसकिएको बताउँछन्।
'अहिले चालकलाई धेरै तलब दिन सकिएको छैन। त्यसमाथि लकडाउनमा बेरोजगार भएकाले धेरै चालक र सहचालक गाउँ गए, फर्किएनन्,' उनले भने।
दक्ष चालक तथा सहचालक भारत तथा तेस्रो मुलुक जाने क्रम बढेकाले पनि अभाव देखिएको उनले जानकारी दिए।