सवारी चालक अनुमति परीक्षा सञ्चालन निर्देशिका-२०७७ आगामी जेठ १ गतेदेखि कार्यान्वयनमा आउने भएको छ। निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन्।
निर्देशिकाले परीक्षार्थीले आफ्नै सवारी प्रयोग गर्न सक्ने व्यवस्था समेत गरेको छ। 'प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीले परीक्षा दिन आफैंले सवारी साधन व्यवस्था गर्न सक्नेछन्,' निर्देशिकामा भनिएको छ। यसअघि कार्यालयले तोकेका र उपलब्ध गराएका सवारी मात्रै प्रयोग गर्न पाउने व्यवस्था थियो।
तर यो व्यवस्था कार्यान्यवनमा भने केही ढिलाइ हुन सक्ने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए। सर्वोच्च अदालतले सरकार वा ट्रायल सेन्टरले तोकेको सवारी मात्रै ट्रायलमा प्रयोग गर्नुपर्ने फैसला गरेकाले यो व्यवस्था सुरू गर्न केही समय लाग्ने घिमिरेले बताए।
'परीक्षार्थीले आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था जेठ १ देखि नै लागू गर्ने गरी तयारी थियो। आफ्नै सवारी प्रयोग गर्दा निर्धक्क परीक्षा दिन सक्छन् भन्ने हो। तर सर्वोच्चको एउटा फैसला रहेछ। फैसलामा सरकारले वा ट्रायल सेन्टरले तोकेकै सवारी प्रयोग गरेर गनुपर्ने भन्ने कुरा छ। म फैसला हेर्दैछु। त्यसो भए निर्देशिका परिमार्जन गरेर जानुपर्ने अवस्था आउँछ,' महानिर्देशक घिमिरेले सेतोपाटीसँग भने।
निर्देशिका परिमार्जन गर्नुपर्ने अवस्था आए व्यवस्था कार्यान्वयनमा केही ढिलाइ हुने उनको भनाइ छ।
प्रयोगात्मक परीक्षा (ट्रायल) का लागि प्रयोग हुने मोटरसाइकल-स्कुटर पेट्रोलबाट चल्ने र कार, जिप, भ्यानहरू पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने हुनुपर्नेछ। त्यस्तै सबै सवारी दर्ता प्रमाणपत्र अद्यावधिक भएको अथवा बहाल अवधि बाँकी रहेको तथा तेस्रो पक्ष बीमा भएको हुनुपर्नेछ।
प्रयोगात्मक परीक्षा १०० पूर्णांकको हुनेछ। यसको अंकभार यसप्रकार छः
- घुमाउरो आठ- २० अंक।
- साँघुरो फलेक- १० अंक।
- युटर्न- १० अंक।
- ट्राफिक संकेत- १५ अंक
- बम्प्स (उबडखाबड)- १५ अंक।
- उकालो- २० अंक।
- परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकन- १० अंक
ट्रायलमा अंक काटिने अवस्थाहरूः
- घुमाउरो आठमा एक पटकसम्म अंकित रेखा छोएमा ५ अंक घट्ने छ।
- एक पटकसम्म खुट्टाले भुइँ टेकेमा थप ५ अंक घट्ने छ।
- युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक घट्ने छ।
- ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्ने छ।
- उबड खाबडमा एक पटकसम्म भुइँमा टेकेमा ५ अंक घट्ने छ।
- एक पटक सवारीको स्टार्ट बन्द भए ५ अंक घट्ने छ।
- सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण गर्नुपर्नेछ। यसो नगरे ३ अंक घट्नेछ। हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक घट्नेछ। असंयमित भएर सवारी चलाए ३ अंक घट्नेछ।
फेल हुने अवस्थाहरूः
- एक पटकभन्दा बढी भुइँमा टेके अर्थात् स्टार्ट बन्द भएमा।
- एक पटकभन्दा बढी अंकित रेखा छोएमा वा खुट्टा भुइँमा टेकेमा।
- ठीक दिशाबाट ठीक तरिकाले ८ नबनाएमा।
- सवारीको स्टार्ट बन्द भएमा।
- साँघुरो फलेकमा खुट्टाले भुइँ टेक्दा अर्थात् फलेकको लम्बाई पार गर्नु अगाडि नै सवारी फलेक बाहिर निस्किएमा।
- उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अगाडि बढेमा वा रोकिएको अवस्थाबाट सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा।
- उकालो सकेर ओरालो झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढे फेल भइनेछ।
सवारी लाइसेन्सको लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी १०० पूर्णांकको प्रश्न सोधिनेछ। यसमा ५/५ अंकका जम्मा २० वटा वस्तुगत उत्तर दिने प्रश्न हुन्छन्।
लिखित परीक्षा प्रयोजनका लागि विभागले ५ सय वस्तुगत बहुउत्तर प्रश्नको संग्रह प्रकाशन गर्नेछ। सोही संग्रहबाट मात्र सम्बन्धित कार्यालयले लिखित परीक्षाको प्रश्न पत्र तयार पार्ने छ।
लिखित परीक्षाको अवधि ३० मिनेटको हुनेछ। सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाटसमेत लिखित परीक्षा सञ्चालन गर्न सक्नेछन्।