देशको राजधानी काठमाडौंको मुटु हो टुँडिखेल। देशको यो मुटुमा अहिले धेरै नागरिक आफ्नो 'मुटु जोगाउन' भेला हुन्छन्। कोरोना कहरभन्दा बढी भोको कहरले थलिएको भिड यहाँ देखिन्छ।
बिहीबार त्यहाँ एक जना यस्तै व्यक्ति भेटिए, सुवास राई।
खुलामञ्चमा अचेल केही सहयोगी व्यक्ति र समूहले खाना खुवाइरहेका छन्। सुवास पनि त्यही साँझको खाना खान कुरिरहेका थिए। करिब छ महिनादेखि उनको दिउँसो-साँझ यहीँ बितेको छ, एक छाक खान।
तर बिहानको भोक त मरेकै छैन उनको, साँझ नपर्दै अनुहार अँध्यारो भइसक्यो।
वीर अस्पतालको इमर्जेन्सी गेटको ठ्याक्कै अगाडि नाङ्ला पसलमा उनले चाउचाउ किने। ५० रुपैयाँको नोट दिए, २० रूपैयाँ फिर्ता आयो। आसपास अरू पसल खुला छैनन्। नाङ्लामा चाउचाउ र बिस्कुटका पोका छन्। त्यसैले होला उनले १० रुपैयाँ बढी तिरेरै किने।
काठमाडौं महानगरपालिकाले भ्युटावर बनाउन भनेर पूरानो बसपार्क सारेपछि बनेको अस्थायी बसपार्कको गेटैमा बसेर उनले चाउचाउको प्याकेट फोरे। चाउचाउमा भएको मसला र खुसार्नी हाले। ढुंगेधाराबाट मिनिरल वाटरको बोतलमा भरेको पानी झोलाबाट निकाले। प्याकेटमा खलल हाले, फिटे अनि चाउचाउ-पानी घुटुघुटु पिए।
'बिहान भात खान पाएको छैन। यसैगरी धानिएको छु,' उनले भने।
चाउचाउ पिएपछि झोलाबाट खत्र्याकखुत्रुक पार्दै औषधिका केही गोटी झिके। पानीले स्वाट्ट एक गोली निले। एकछिनमा अर्को गोली। उनी क्षयरोगका बिरामी हुन्। दिनभरमा दस गोली खान्छन् रे।
'म टिबीको बिरामी हुँ। बिहान ८ वटा र बेलुका २ वटा गोली खान्छु। औषधिको डोज धेरै छ रे। डाक्टर साबले औषधि खाएपछि खाना खानु पर्छ भन्नु भएको छ,' उनले भने, 'खुला मञ्चमा खाना खुवाउँछ रे भन्ने सुनेर त्यो बेलादेखि आउन थालेको हुँ।'
उनका अनुसार पहिले–पहिले २ छाक खाना आउँथ्यो। हिजोआज एक छाक मात्र। कहिलेकाहीँ चाहिँ बिहान पनि आउँछ र उनको पेट दिनभर सन्तोक मान्छ।
दोलखा, जिरीका सुवासको गाउँको घर भुइँचालोले भत्काएपछि २०७२ सालमा काठमाडौंमा आएका रहेछन्। गाउँमा उनी खेती-किसानी गर्थे। अरू काम खासै नआउने भएकाले ज्यामी गरेरै पालिन्छु भन्ने थियो। आफ्ना बुवालाई बुढेसकालमा पाल्ने र एक मात्र सन्तान छोरीलाई शिक्षा दिने, उनको सपना पनि यत्ति नै हो।
पाँच वर्ष काठमाडौंमा जेनतेन धानिए। करिब ८ महिनाअघि देखि भने उनलाई समस्याले गाँज्न थालेछ। सुवासकी श्रीमती पत्थरीकी बिरामी थिइन्। डाक्टरले शल्यक्रिया गर्नु पर्छ भने। सुवासलाई खर्च जुटाउन मुस्किल पर्यो।
'बल्ल बल्ल ऋण खोजेर पैसा जुटाएँ। अपरेसन सफल पनि भयो। तर त्यही दिन राती श्रीमतीले संसार छोडिन्,' पैसा त सकिइसकेको थियो, त्यसले उक्साएको आश पनि मर्यो।
अब फेरि किरिया पो कसरी गर्ने?
'यस्तोमा सघाउने केही संस्था रहेछन्। मैले ती संस्थालाई गुहारेँ। उहाँहरूले किरिया खर्च दिनुभयो,' सुवासले सेतोपाटीसँग भने।
श्रीमतीको वियोग आफ्नै ठाउँमा थियो। बुवा र छोरीका लागि उनलाई कमाउनु थियो। आफ्नो ज्यामी काम छाडेनन्। कालीमाटीमा एउटा कोठा लिएर ३-४ जना साथीसगँ बसे।
काम पाए भने त सुवासले दिनको एक हजार रुपैयाँसम्म कमाउँथे। तर एकदिन बिराएर काम पाए पनि 'भाग्य' हुन्थ्यो। व्यक्तिगत खर्च धेरै नभएकोले उनले २-३ महिनामा ७-८ हजार रूपैयाँ घरमा बुवा र छोरीलाई पठाउँथे।
लकडाउनमा धेरैको रोजगारी गयो, कयौंको कोठा। उनले पनि दुवै गुमाए।
'जिन्दगी चलेकै थियो तर यो असत्ति कोरोना आइदियो। घरबेटी आफू पनि आफ्नो गाउँ गए र हामीलाई पनि तपाईंहरू अर्को कोठा खोज्नुस्, बरु पछि आउनुहोला भने,' उनले सुनाए।
त्यो बेलादेखि उनको बास कालिमाटीको पुलिस चौकी अगाडिका घरका पेटी हुन्। कोठामा ३-४ जनासँग बस्ने सुवासले पेटीमा उनी जस्तै ३५-४० जना भेटे।
पेटीमा बस्न सहज कहाँ हुन्छ र! पेटीवाला घरबेटीले कोरोना सर्छ भनेर सुत्न नदिने त कहिले पानी पोखिदिने।
'यति मात्र होइन, कहिलेकाहीँ त प्रहरीले लौरीले घोचेर समेत दुःख दिन्छन्,' उनले दुखेसो पोखे।
उनलाई यो बेला घर जान मन नलागेको होइन। ७० वर्षका बुबाले फोनमा तारन्तार बोलाउँछन्।
'बाले सधैं बोलाउनु हुन्छ, तर कसरी जाने। न पैसा छ न गाडी। फेरि गाउँ गएपछि १४ दिन क्वारेन्टिनमा बस्नु पर्छ रे,' सुवासले अब दसैंमा मात्र घर जाने सोच बनाएका छन्। अनि काठमाडौं नफर्कने योजना पनि बुनिसके। गाउँमा अलिअलि खेतीपाती छ। वस्तुभाउ छन्।
'कम्तीमा गाउँमा भोकले त मरिँदैन। भो अब त म काठमाडौं आउँदिनँ,' उनी भन्छन्, 'यहाँ त राज्यले नै हामीलाई लुट्यो, हाम्रो त देशै छैन। नागरिकता मात्र देश हो र हजुर? यहाँ भएका हामी कसैको पनि देश छैन।'