सरकारले पाँचौं संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ गर्ने भएको छ।
अहिले नेपालको श्रम तथा रोजगार क्षेत्रमा संकुचन आएको र सुधारका लागि छलफल गर्ने उद्देश्यले आगामी फागुन १६ र १७ गते काठमाडौंमा आयोजना गरिने भएको हो।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसअघि पनि चार वटा सम्मेलन आयोजना गरिसकेको छ। तर सम्मेलनमा आएका सुधार गर्नुपर्ने गुनासा सुझाव कार्यान्वयन भने हुन सकेको छैन।
यसअघि गर्न नसकेका काम र कमी कमजोरी सुधार गर्दै अगाडि बढ्ने मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले विश्वास व्यक्त गरे।
'सरकारले रोजगारी सिर्जना गर्ने क्षेत्रहरूलाई नियमन मात्रै हैन, प्रवर्द्धनकारी भूमिका समेत निर्वाह गर्नुपर्ने अवस्था देखिएको छ। उद्योग र प्रतिष्ठानहरूको भूमिका र यसको लागि सम्पूर्ण आपूर्ति श्रृंखलामा समेत रोजगारीको विषयलाई हामीले छलफल गर्नुपर्ने देखिएको छ,' सहसचिव घिमिरेले भने।
बजारको माग बमोजिम आपूर्तिमा सन्तुलन कायम राख्न यो सम्मेलनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए।
उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धनको रणनीतिक कार्ययोजनामा व्यापक छलफल हुने उनले बताए।
सम्मेलन श्रमिक, रोजगारदाता, अनुसन्धानकर्ता लगायत यस क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरूबाट सरकारलाई विभिन्न विषयहरूमा प्राप्त हुने सुझावलाई अवलम्बन गर्ने आगामी नीतिगत र कानुनी सुधारमा काम गर्नेतर्फ केन्द्रित हुनेछ।
विशेषगरी वैदेशिक रोजगार ऐनको परिमार्जन, राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन र सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको सुधारका लागि मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनमाथि समेत छलफल गरिने उल्लेख छ।
यसबारे सम्मेलनबाट प्राप्त सुझावलाई आन्तरिक रोजगार प्रवर्द्धन दश वर्षे रणनीतिक योजनामा समावेश गरिने मन्त्रालयले जनाएको छ।
रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता÷ विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी यो सम्मेलनमा ५०० जनाको सहभागिता रहनेछ।