श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान गरेका छन्।
शुक्रबार साँझ नेपाली टोलीको नेतृत्व गर्दै मन्त्री भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठनले आयोजना गरेको ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन गएका हुन्।
जेठको १९ गतेदेखि सुरू भएको सम्मेलन ३० गतेसम्म चल्नेछ। यसअघिका जारी सेसनहरूमा मन्त्रालयका तर्फबाट सचिव डा. कृष्णहरि पुष्करले सहभागिता जनाइरहेका छन्।
यस अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा मन्त्री भण्डारीले प्लेनरी सत्रमा सम्बोधनका क्रममा अनौपचारिक श्रमलाई औपचारिकीकरण, सामाजिक न्याय प्रवर्द्धन, मर्यादित रोजगारी, नेपालको दश वर्षे आन्तरिक रोजगारीको योजना साथै मुलुकको दीर्घकालीन लक्ष्य र प्राथमिकताका विषयहरूलाई प्रस्तुत गर्नेछन्।
सचिवालयले जनाएअनुसार मन्त्री भण्डारीले जेठको २६ गते प्लेनरी सेसनलाई विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
सोही दिन अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गिल्बर्लट एफ. हाउङवो र मन्त्री भण्डारीबीच द्धिपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, साउदी अरेबियाको अन्तर्राष्ट्रिय मामिला उपमन्त्री डा. तारिक अल हमदसँग नेपाल र साउदी अरबको श्रमसम्बन्धी विषयमा द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ।
मन्त्री भण्डारीले साइडलाइन छलफलको क्रममा अन्तर्राष्ट्रिय श्रम संगठनका सहायक महानिर्देशक मिया सेप्पोसँग पनि सामाजिक सुरक्षाको विषयमा छलफल गर्ने समय तय भएको बताइएको छ ।
त्यसैगरी, स्विस श्रम निर्देशनालयका प्रमुख, आर्थिक मामिलाका लागि राज्य सचिवालय (सेको) जेरोम कोसान्डेसँग मन्त्री भण्डारीले द्विपक्षीय छलफल गर्ने कार्यक्रम तय भएको छ।
मन्त्री भण्डारीले जेठको २७ गते मलेसियाका मानव संशाधन मन्त्रीसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ भने, अन्तर्राष्ट्रिय आप्रवासन संगठनका महानिर्देशक एमी पोपसँग पनि आप्रवासनको विषयमा द्विपक्षीय छलफल हुने निजी सचिवालयले बताएको छ।
त्यस्तै, मन्त्री भण्डारीले जेठ २८ गते जर्मनको बर्लिनमा हुने बालश्रम विरूद्धको विश्व दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।
उनले जेठ २९ मा हुने सामाजिक न्याय सम्बन्धी विश्वव्यापी गठबन्धनको मन्च कार्यक्रममा सहभागी हुने र विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
जेठ, ३० गते सभाको प्लेनरी सेसनको समापन सत्रमा सहभागी भई मन्त्रीको भ्रमण टोली स्वदेश फिर्ता हुनेछ।