वैदेशिक रोजगार विभागले अबदेखि इजाजत प्राप्त संस्था (म्यानपावर) नवीकरण गर्दा संस्था रहेको डिजिटल ठेगाना खुल्ने गरी गुगल प्लस कोड उपलब्ध गराउनुपर्ने र संस्थाको वेबसाइटमा समेत अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरेको छ।
यसरी राखिएको लोकेसन अनुसार सो संस्थामा जाने सेवाग्राही र विभागको अनुगमनमा समेत सहजता आउने र सूचना प्रविधिको उच्चतम् प्रयोग गर्नुपर्ने विभागले जनाएको छ।
विभागले जेठ २६ गते प्रकाशन गरेको सूचनामा वैदेशिक रोजगार ऐन २०६४, वैदेशिक रोजगार नियमावली २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ एवम् प्रचलित कानूनबमोजिम सम्बन्धित निकायमा दर्ता भई वार्षिक रूपमा नवीकरण गर्नुपर्ने वैदेशिक रोजगारसम्बन्धी काम गर्ने इजाजत प्राप्त संस्थाहरू, स्वीकृति प्राप्त शाखा कार्यालयहरू, अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरू, केयर गिभरसम्बन्धी सीप विकास तालिम प्रदायक संस्थाहरू, घरेलु कामदारसम्बन्धी सिप विकास तालिम प्रदायक संस्थाहरू, वैदेशिक रोजगारमा जाने कामदारहरूलाई सीपमूलक तालिम प्रदान गर्ने संस्थाहरू र खास देश पठाउनको लागि सूचीकृत भएका संस्थाहरूले तत् तत् कानूनबमोजिम तोकिएको समयावधि भित्र इजाजतपत्र-अनुमतिपत्र नवीकरण गर्न विभागको अनुरोध छ।
अन्यथा कानून बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरेको छ। सो सूचनाको विस्तृत विवरण विभागको वेभसाइटमा प्राप्त गर्न सकिने विषय उल्लेख गर्दै नवीकरण गर्दा आवश्यक पर्ने आधारभूत कागजातको अतिरिक्त गगल प्लस कोड र गुगल लोकेसन तथा मौजुदा सबै संचालक एवम् कार्यरत कर्मचारीहरूको विवरण समेत निवेदन साथ पेस गर्नुपर्ने विभागले व्यवस्था गरेको हो।
विभागले यस अघिका वर्षहरूमा प्रत्येक वर्ष सूचना निकालेर कानूनमा भएको व्यवस्थालाई आह्वान गर्ने गरेकोमा यस वर्षदेखि प्रचलित कानूनमा भएको प्रावधान बमोजिम सम्बन्धित संस्थाले अद्यावधि गर्नुपर्ने विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले बताए।
कानूनमा भएको व्यवस्था प्रत्येक वर्ष असार महिनाभित्र इजाजत प्राप्त संस्था एवं अभिमुखीकरण तालिम प्रदायक संस्था र असोज मसान्तभित्र म्यानपावरका शाखा कार्यालय नविकरण गरिसक्नुपर्ने भटराइले बताए।