तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६ सय रूपैयाँले घटेर कारोबार भइरहेको छ।
तिहार बिदाअघि कात्तिक तीन गते सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार पाँच सय रूपैयाँ तोकिएको थियो। आइतबार भने सुन प्रतितोला दुई लाख ४१ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।
मूल्य घट्न थालेपछि अहिले बजारमा सुन किन्ने ग्राहक घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए।
शाक्यले भने, ‘सुनको मूल्य थप घट्ने खबर आएपछि बजारमा ग्राहकको संख्यामा पनि कमि आएको छ।’
गरगहनाको किनबेचमा समस्या नरहेपनि व्यवसायीहरूले यसअघि झै ढिका सुनको बिक्री भने रोकेको शाक्यको भनाइ छ।
औपचारिक रूपमा सुनका गरगहनाबाहेक ढिका सुनको बिक्री गर्न पाइँदैन। अनौपचारिक रूपमा भने यस्ता ढिका सुनको पनि कारोबार हुने गरेको छ। अहिले मूल्य उच्चले घटिरहेपछि ढिका सुनको कारोबार भने रोकिएको छ।
केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सुनको मूल्य थप घट्ने आँकलन गरिरहेका छन्।
अन्तर्राष्ट्रिय सिटी ग्रुपले सुनको मूल्य सन् २०२५ को अन्त्य वा २०२६ को सुरूआतको केही समय सुनको मूल्य घट्ने प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले उल्लेख गरेको छ।
सिटी ग्रुपले यो अवधिमा सुनको मूल्य प्रतिऔंस तीन हजार डलरसम्म आउन सक्ने प्रक्षेपण गरेको छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४१ सय १३ डलरमा कारोबार भइरहेको छ।
यसअघि विश्व बजारमा सुनको मूल्य उच्चले बढेपछि 'करेक्सन' आएर थप घट्ने अनुमान गरिएको हो।
अल्पकालको लागि सुनको मूल्य घट्ने प्रक्षेपण भइरहँदा दीर्घकालमा भने सुनको मूल्य बढ्ने प्रक्षेपण गरिएको छ। अझै पनि कतिपयले दीर्घकालमा सुनको मूल्य प्रतिऔंस पाँच हजार डलरसम्म पुग्ने प्रक्षेपण गरिरहेका छन्।
अघिल्लो मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको थियो। मूल्यले लगातार रेकर्ड बनाइरहँदा मंगलबार भने ६ प्रतिशतभन्दा बढीले सुनको भाउ घटेको थियो।
मंगलबार सुनको मूल्य प्रतिऔंस चार हजार ८२ डलरमा झरेको ‘द फाइनान्सियल टाइम्स’ ले लेखेको छ। यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबभन्दा ठूलो गिरावट हो।