अमेरिकी विमान निर्माता कम्पनीले प्रमुख कार्यकारी अधिकृत(सिइओ) डेनिस मुलेनबर्गलाई बर्खास्त गरेको छ।
सोमबार कम्पनीले ७३७ म्याक्स मोडलका दुई जहाज दुर्घटनापछि गुमेको विश्वासलाई पुनर्स्थापना गर्न उनलाई बर्खास्त गरेको हो।
गत वर्ष बोइङ ७३७ म्याक्स मोडलका दुई जहाज दुर्घटनामा परेका थिए। इन्डोनेसिया र इथियोपियामा भएका दुर्घटनामा ३४६ जनाले ज्यान गुमाएका थिए जसकारण उक्त मोडलको जहाज उडानमा रोक लगाइएको छ।
साथै आउँदो जनवरीबाट उक्त जहाजको उत्पादन अस्थायी रूपमा बन्द गरिने कम्पनीले जनाएको छ।
यस दुर्घटनामा ज्यान गुमाउने मृतकका परिवारहरूले उक्त निर्णयलाई स्वागत समेत गरेका छन्। तर नयाँ प्रमुखप्रति पनि विश्वास गर्न भने चाहेका छैनन्।
मुलेनबर्ग बर्खास्त भएसँगै कम्पनीले डेभिड क्यालह्युनलाई प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त गरेको छ। जो सन् २००९ देखि यस कम्पनीको बोर्डमा कार्यरत थिए। साथै अहिले बोर्डका अध्यक्ष समेत रहेका छन्।