नयाँ वर्षका दिन ३५ हजार पर्यटक बन्दीपुर घुम्न पुगेका छन्।
कोभिडपछि पहिलो पटक बन्दीपुरका होटल समेत भरिभराउ भएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान श्रेष्ठले जानकारी दिए।
उनकाअनुसार यो संख्या कोभिडपछिको सबैभन्दा धेरै हो। 'नयाँ वर्षमा बन्दीपुरमा थुप्रै कार्यक्रमहरू आयोजना गरिएको थियो। होटलमा पनि प्याकेज थियो,' उनले सेतोपाटीसँग भने, 'सोचेअनुरूप पर्यटक भित्र्याउन सफल भयौं।'
पर्यटन प्रवर्द्धनका लागि बन्दीपुरमा २०७९ चैत ३०, २०८० वैशाख १ र २ गते (बिहीबार, शुक्रबार र शनिबार) १५ वटाभन्दा बढी कार्यक्रम गरिएको उनले बताए। उनकाअनुसार बन्दीपुरका ठाउँ-ठाउँमा लाखे नाच, बाघ जात्रा, पुतली ट्रे, बिस्केट यात्रा, चुड्का, घाटु लगायत सांस्कृतिक तथा मौलिक कार्यक्रम राखिएको थियो।
पाहुनाहरूलाई आकर्षित गर्न होटलहरूले आ-आफ्नो तरिकाले प्याकेजका कार्यक्रम पनि घोषणा गरेको थियो। नयाँ वर्षको पहिलो दिन बन्दीपुरको होटलमा पुग्ने पहिलो पाहुँनाले एक रुपैयाँमै बस्न पाउने व्यवस्था समेत गरिएको थियो।
यी विविध कार्यक्रमका कारण यसपालिको नयाँ वर्षमा पर्यटक आगमन बढेको समितिका अध्यक्ष श्रेष्ठ बताउँछन्।