नेपाल पर्यटन बोर्डले म्यानमारको राजधानी यगुनबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा सञ्चालनको लागि पहल गरेको छ।
बौद्ध धर्माबलबी भएको देश म्यानमारबाट सिधा उडान गर्न सके लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न सहयोग मिल्ने अपेक्षा सहित बोर्डले यो पहल गरेको हो।
यसका लागि बोर्डले मंगलबार नेपालका लागि म्यामारका राजदूत र म्यामारका लागि नेपाली राजदूत, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका उच्च अधिकारी, लुम्बिनी विकास कोषका पदाधिकारी तथा म्यानमार नेशलन एअरलाइन्सका कार्यकारी प्रमुख सहित सरोकारवालासँग उच्चस्तरीय छलफल गरेको छ।
छलफलका क्रममा नेपाली पक्षले म्यानमारबाट भैरहवा सिधा उडानको म्यानमार तयार रहे आवश्यक सहयोगका लागि नेपाल तयार रहेको बताउँदै म्यानमारको टोलीलाई थप प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।
छलफल कार्यक्रममा लम्बिनी विकास कोषका उपाध्यक्ष मैत्य शाक्यपुत्ताले नेपाल र म्यानमारबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै सिधा उडान हुन सके म्यानमारबाट लुम्बिनी आउने पर्यटकहरू बढ्ने बताए।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले म्यानमार नेशलन एअरलाइन्सले गौतमबुद्ध विमानस्थलमा उडान गर्न नेपालको तर्फबाट विभिन्न छुट, सुविधा तथा अन्य आवश्यक सहयोग गर्न आफूहरू तयार रहको बताए।
उनले सिधा उडान गर्न सकेमा दुवै देशले पर्यटनका माध्यमबाट फाइदा लिनसक्ने बताए।
यस्तै, म्यामारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले म्यानमार भैरहवा सिधा उडानबारे म्यानमारको सरकारी पक्षसँग संवाद भइरहको सन्दर्भमा म्यानमारको टोली नै नेपाल आउनुले उडानको लागि थप बल पुग्ने विश्वास व्यक्त गरे।
यस्तै नेपालका लागि म्यानमारका राजदूत सेन ओले सिधा उडान गर्नेबारे आफुहरू सकारात्मक रहेको उल्लेख गर्दै यसको प्राविधिक पक्षको अध्ययनपछि नयाँ सम्भावनाबारे जानकारी गराउने प्रतिवद्धता व्यक्त गरे।
म्यामारको नेशनल एअरलाइन्सका कार्यकारी प्रमुख क्याप्टेन कुप खान्मुङले गौतमबुद्ध विमानस्थल निरक्षण गरेर फर्किएको र सिधा उडानबारे सकारात्मक रहेको बताए।
उनले यसको लागि आवश्यक प्राविधिक तथा व्यवसायिक योजनाका साथ छलफल अगाडि बढाइने समेत बताए।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बौद्धमार्गी म्यानमारबाट लुम्बिनीमा सिधा उडान गर्न सके धार्मिक पर्यटन प्रवर्द्धन गर्न सघाउ पुग्ने उद्देश्यले बोर्डको पहलमा कार्यक्रम आयोजना गरिएको र छलफल सकारात्मक भएको बताए।
उनकाअनुसार सिधा उडानका नयाँ सम्भावना, व्यापार व्यवसाय तथा अन्य पक्षबारे थप छलफल गर्ने बाटो खुलेको छ।
'लुम्बिनीलाई केन्द्रमा राखेर ठूलो लगानीमा विमानस्थल बनेको छ। तर बुद्धिष्ट कन्ट्रिबाट नै उडान छैनन् यो अवस्थामा विमानस्थल सञ्चालन तथा लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि हामीले यो पहल गरेका हौं', उनले भने 'छलफल सकारात्मक रहेकोले यसले छिट्टै नयाँ सम्भावनाको ढोका खुल्नेमा आशाबादी छौं।'