फ्रान्सको नाफा नकमाउने संस्था सपनाको हिमाल अर्थात् फ्रान्सेली भाषामा ‘मोन्टान देस रिभ्स्’ का अध्यक्ष ४२ वर्षीय लुदोभिक जिम्बासी २५ पटक नेपाल आइसके।
उनी पहिलो पटक सन् २००७ मा नेपाल आउँदा खुम्बु क्षेत्रमा पदयात्रा गरेका थिए। त्यसपछि अरू पदयात्रा गरे। सबभन्दा धेरै अन्नपूर्ण फेरो फन्का मारे।
पदयात्रामा आउँदा उनले नेपालका हिमाल हेर्दै हिमाली भञ्ज्याङ मात्र नाघेनन्, हिमाल छेउछाउ उभिएका अजंगका पहाड देखेर दंग परे। चट्टाने भिर देखेर आकर्षित भए। जता पदयात्रा गए पनि उनको ध्यान यस्तै चट्टानका भिरतर्फ हुन्थ्यो।
‘राउण्ड अन्नपूर्ण धेरै पटक पदयात्रा गरेँ, हिमाल हेर्नु र हिमाली भञ्ज्याङ पार गर्नु मात्र मेरो उद्देश्य थिएन,’ उनले सेतोपाटीलाई भने, ‘मलाई त चट्टानका यी पहाड चढ्न (रक क्लाइम्बिङ) गर्न पाए हुन्थ्योमात्र लागिरहन्थ्यो।’
विश्वका अन्य देशमा भन्दा अग्ला हिमाल भएर मात्र होइन, नेपालीको भावना पनि उत्तिकै लोभलाग्दो भएको लुदोभिकले बताए।
‘बारम्बार नेपाल घुम्दा मैले हिमाली क्षेत्रका मान्छेहरूमा एउटा सामूहिक भावना पनि पाएको छु। जुन अद्भूत र आश्चर्यजनक छ,’ उनले भने, ‘नेपालका हिमालले मात्र होइन, मान्छेका भावनाले पनि मलाई एकदम आकर्षण गर्छ।’
फ्रान्सेली नागरिक हिमालमात्र होइन, चट्टानका पहाड चढ्न अर्थात् रक क्लाइम्बिङ गर्न पनि उत्तिकै रूचाउँछन्। रक क्लाइम्बिङ गर्दागर्दै कोही हिमाल चढ्न सक्ने हुन्छन्। हिमाल चढ्न नचाहनेहरू पनि रक क्लाइम्बिङ गर्न चाहने लुदोभिकको भनाइ छ।
विश्वमा पहिलो पटक ८ हजार मिटर अग्लो हिमाल आरोहण गर्ने नागरिक पनि फ्रान्सेली नै थिए।
फ्रान्सेली नागरिक मौरिस हर्जोगले सन् १९५० जुन ३ गते ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए। विश्वमा जम्मा १४ वटा हिमाल मात्र ८ हजार मिटर अग्ला हिमाल छन्।
हर्जोगले अन्नपूर्ण प्रथमको टाकुरामा पाइला टेकेको खुसीयालीमा फ्रान्समा ३ दिन सार्वजनिक बिदा दिइएको थियो। उनको सफलताले संसार तरंगित थियो।
हर्जोगले अन्नपूर्ण आरोहण गरेको ३ वर्षपछि मात्र १९५३ मे २९ गतेका दिन तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए।
फ्रान्समा पाठ्यक्रममै चट्टानका पहाड चढ्ने तौरतरिका सिकाउने लुदोभिकले बताए।
पटक पटक नेपाल घुम्दा देखेका चट्टानका भीमकाय पहाड चढ्न उनलाई मन लागेछ।
उनले मनमनै सोचे– ‘यी पहाडमा रक क्लाइम्बिङ गर्न पाए!’
२४ औं पटक नेपाल घुमेर फ्रान्स फर्किएपछि उनले नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयलाई एउटा इमेल लेखे। इमेलमा उनले मनाङको चामे अगाडि उभिएको चट्टानका पहाडमा रक क्लाइम्बिङ गर्न आवश्यक किलाकाँटी गाड्ने आफ्नो योजना सुनाए। यसका लागि आर्थिक जोहो आफैं गर्ने पनि बताए। सहयोग गरिदिन पर्यटन बोर्डलाई अपिल गरे।
नेपालमा रक क्लाइम्बिङका सम्भावना कति कति। युरोप र अमेरिकामा लाखौं डलर रक क्लाइम्बिङमा खर्च हुने पनि लुदोभिकले लेखेका थिए। ती देशहरूमा भन्दा राम्रो सम्भावना नेपालमा देखेको पनि उनले इमेलमा खुलाए।
पर्यटन बोर्ड गण्डकीका प्रमुख नवीन पोखरेलले लुदोभिकको इमेलका विषयमा नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशसँग छलफल गरे।
संघले पनि ‘रक क्लाइम्बिङ’ व्यवसाय नेपालका लागि उपयुक्त हुने सुझाव दियो। हिमाल चढ्न पहिला रक क्लाइम्बिङ अभ्यास गर्नुपथ्र्यो। रक क्लाइम्बिङमा रूचि राख्ने पर्यटकलाई आकर्षण गर्न सकिने बतायो। त्यसपछि पोखरेलले लुदोभिकलाई जवाफी इमेल लेखे, ‘हामी सहयोग गर्न तयार छौं।’
मनाङ सदरमुकाम चामे अगाडिको भिरमा रक क्लाइम्बिङ गर्न आवश्यक किलाकाँटी गाड्ने विषयमा लुदोभिकले अर्का पर्वतारोही लुदुभाइन पोनसेलेटसँग पहिल्यै सल्लाह गरेका रहेछन्।
लुदुभाइन पनि चामेको चट्टाने भिर हेर्न २ वर्षअघि नेपाल आएकी थिइन्। उच्च शिक्षा रक क्लाइम्बिङ पढेकी लुदुभाइनले पनि लुदोभिकको योजनामा साथ दिइन्।
पर्यटन बोर्डले सहयोग गर्ने भनेपछि विश्वमा प्रचलित बलियो किलाकाँटी, सुरक्षाका सामग्री, डोरी लगायत बोकेर उनीहरू नेपाल आए।
नेपाल पर्वतारोहण संघ, गण्डकीको सहकार्यमा उनीहरू मनाङ गए। चामे अगाडिको भीरमा रक क्लाइम्बिङका पूर्वाधार बनाउन थाले। यसका लागि उनीहरूले १२ हजार २५० युरो खर्च गरेका थिए। नेपाल पर्यटन बोर्डले पर्वतारोहण संघमार्फत् करिब ३ लाख रुपैया सहयोग गरिदियो।
अनि लुदोभिक र लुदुभाइनले चट्टानका छङ्गाछुर भिर चढेर चट्टान छेड्न थाले। भिरका कुनाकाप्चामा औंलाले ज्यान थामेर उनीहरूले किला गाडे। फलामे किलामा डोरी टाँगेर ज्यान बाँधे। चट्टान छेडेर गाडिएको फलामे किलाले २ हजार ५०० किलोसम्म तौल धान्न सक्ने लुदोभिकले बताए।
लुदोभिकले रक क्लाइम्बिङ गर्न थालेको ३० वर्ष भइसकेको छ। उनीसँग रक क्लाइम्बिङको पूर्वाधार स्वरूप चट्टाने पहाड छेडेर किलाकाँटी गाडेर रक क्लाइम्बिङको रूट बनाउने थालेको पनि १८ वर्ष बितेछ। उनीहरूले १३ दिनमै चामे अगाडिको चट्टाने पहरामा १५० मिटर लामो रक क्लाइम्बिङको रूट बनाए।
चामे बजारसँग जोडिएको लङ्गुर भिरको अर्कोपट्टि लमजुङ हिमाल उभिएको छ। सानो बजार र छेउमा कलकल बगेको कञ्चन मर्स्याङ्दी नदी। चामे बजारबाट नदेखिएका दृश्य रक क्लाइम्बिङ गरेर माथि जाँदा देखिएको लुदुभाइनले बताइन्।
‘रक क्लाइम्बिङ गरेर हेर्दा परपर हिमालका चुचुराहरू देखिए, त्यो दृश्य अद्भूत थियो,’ उनले भनिन्, ‘हामीले बनाएको रक क्लाइम्बिङको रूटमा अरू पर्यटक पनि आउन सक्छन्। नेपाल रक क्लाइम्बिङको गन्तव्य बन्न सक्छ।’
मनाङको चामेमा मात्र होइन, अरू २ ठाउँमा पनि रक क्लाइम्बिङको पूर्वाधार बनाउने लुदोभिकको योजना छ। मनाङको पनि दुर्गम नार फु गाउँमा रहेको क्याङ भिरमा पनि रक क्लाइम्बिङको गन्तव्य बनाउने लुदोभिक बताउँछन्। यसका लागि आगामी वर्ष ४ लाख युरोको योजना बनाएको उनले बताए।
‘चामेमा अहिले बनाएको रक क्लाइम्बिङ रूट अर्को वर्ष पहाडको टाकुरासम्म पुग्ने गरी विस्तार गछौं, अरू २ ठाउँमा पनि हाम्रो योजना छ,’ उनले भने, ‘रक क्लाम्बिङ नजानेका साधारण मान्छेका लागि एउटा र अरू रक क्लाइम्बिङ खेल खेल्नेका लागि आकर्षण बन्न सक्छ।’
हिमाल चढ्ने अभ्यासका रूपमा बुझिने साहसिक खेल रक क्लाइम्बिङ ओलम्पिकमा पनि समावेश छ।
चामेमा रक क्लाइम्बिङका पूर्वाधार बनाउँदा स्थानीयलाई पनि उनीहरूले सिकाएका छन्। पञ्चमाया तामाङ र लक्मी तामाङ रक क्लाइम्बिङका गाइड बनेका छन्। नेपालमा व्यावसायिक रूपमा रक क्लाइम्बिङ अघि बढाउन सके विश्वका रक क्लाइम्बर आकर्षित हुन सक्ने उनीहरूको विश्वास छ।
नेपालका उच्च हिमाली क्षेत्र (हाइ अल्टिच्युड)मा रहेका चट्टाने पहाडमा रक क्लाइम्बिङ गर्दा आउने चुनौती सामना गर्दा छुट्टै मज्जा आउने उनीहरूको अनुभव छ।
यी चट्टानका भिर सफा र बलियो भएको लुदोभिकले बताए।
चामेको चट्टानी पहाडमा बनाइएको रक क्लाइम्बिङ रूटमा १२ महिना रक क्लाइम्बिङ गर्न सकिने उनको दाबी छ।
नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष विकास गुरूङले व्यावसायिक रूपमा रक क्लाइम्बिङ अघि बढाउन तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताए।
‘व्यावसायिक रक क्लाइम्बिङ गर्न व्यवसायीको लगानी र सरकारको साथ चाहिन्छ,’ उनले भने, ‘हामी तालिम दिएर दक्ष गाइड उत्पादन गर्न सक्छौं।’
सघंका पूर्वअध्यक्ष शेषकान्त शर्माले नेपाल हिमालै हिमालको देश भएर पनि हिमालमा आधारित पर्यटन व्यवसाय फस्टाउन नसकेको बताए। हिमाल आरोहण गर्न मात्र नभई पदयात्रामा आउने पर्यटकलाई पनि रक क्लाइम्बिङमा आकर्षित गर्न सकिने बताए।
‘पदयात्रामा जाने जसले पनि सामान्य खालका रक क्लाइम्बिङ गर्न सक्छ, खेलाडीका लागि त सबभन्दा राम्रो नै यहाँका चट्टाने पहाड छन्,’ उनले भने, यति धेरै हिमाल र यति धेरै पहाड भएर पनि हामीले सदुपयोग गर्न सकेनौं।’
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पदमार्ग मोटरबाटोले बिगारेका बेला अब रक क्लाइम्बिङ नेपालको नयाँ गन्तव्य बन्न सक्ने बताए। नेपालमा रक क्लाइम्बिङ गर्न सकिन्छ भनेर विदेशी आफैँ अग्रसर हुँदा पनि सरकारले यस्तो व्यवसाय अघि बढाउन कुनै कार्यक्रम नल्याएको उनको गुनासो छ।
‘पर्यटकले यहाँ रक क्लाइम्बिङ गर्न सकिन्छ भनेर आफैँ लगानी गर्छ, सरकार व्यावसायिक रूपमा अघि बढ्न खोज्दैन,’ उनले भने, ‘पदयात्रा मासिएका बेला अब हामीसँग रक क्लाइम्बिङ नयाँ पर्यटकीय गन्तव्य बन्न सक्छ।’