जुम्लाको खलंगामा हिमपात भएको साँझ नोर्बु लामाको मनमा गर्मी चढेझैं थियो। आफ्नो जिन्दगीको बाटो नै मोडिदिने कथा सुनाउँदा बेलाबेला उनको आवाज उचो हुन्थ्यो।
६३ वर्षीय नोर्बुले आफू कसरी जुम्लामा कान्जिरोवा रिसोर्ट खोल्नेसम्मको निर्णयमा पुगेँ भनेर सुनाउन लागेका थिए।
फेरि के सुर चलेर उनले तर्कना गरे – उतिबेला पोखरामा जग्गा किनेको भए म अहिले अर्बपति बन्थेँ होला!
'होटल खोल्थेँ। आफ्नै ट्रेकिङ कम्पनी हुन्थ्यो। ३२ वर्ष ट्रेकिङमा लागेर कमाएका सबै पाहुना मेरो होटलमा बस्थे। मेरै कम्पनीबाट ट्रेकिङ जान्थे,' उनले भने।
उनले जीवनको ऊर्जाशील समय पोखरालाई नै केन्द्र बनाएर बिताए। नेपाल, भारत र तिब्बतका हिमाल परिक्रमा गरे। एकपटक होइन, धेरैपटक।
त्यतिबेला उनले जुम्लामा रिसोर्ट खोल्ने सपना देखेका थिएनन्। उनको सपना त पोखरामा एउटा होटल होओस्, होटलसँगै एउटा ट्रकिङ कम्पनी होओस्, पदयात्री पर्यटकलाई आफ्नो होटलमा बास दिन सकियोस्, आफ्नै कम्पनीबाट हिमाली भञ्ज्याङ कटाउन पाइयोस् भन्ने थियो।
त्यो सपना असम्भव पनि थिएन। ४० को दशकमा पोखरामा सस्तो मूल्यमा जग्गा पाइन्थ्यो।
अहिलेको पर्यटकीय केन्द्र लेकसाइड त झन् सस्तो थियो। लेकसाइडमा चार रोपनी जग्गा हेरेका पनि थिए। दामको कुरा हुँदै थियो। जग्गाको अन्तिम निर्णय हुनुअघि नै विदेशी पर्यटक लिएर भारतको काङ्ला पास पदयात्रामा जानुपर्ने भयो।
उनले सोचे – पैसा छँदैछ। आएपछि जग्गा किनौंला!
काङ्ला पासपछि पर्यटक लिएर थानपाटन भन्ने ठाउँ पुगे। त्यहाँ ठूल्ठूला स्याउ बगैंचा थिए। आलु र केराउ खेती यति धेरै थियो कि पर्यटकले टेन्ट टाँग्ने ठाउँसमेत थिएन। सबैतिर खेती मात्रै थियो।
त्यतिबेला पदयात्रा मार्गमा अहिले जस्तो जताततै होटल थिएनन्। टेन्ट, खाद्यवस्तु र बन्दोबस्तीका धेरै सामान साथै लैजानुपर्थ्यो। भारी बोक्ने भरिया हुन्थे, भान्से पनि हुन्थे।
पदयात्राको नेतृत्व नोर्बुले गरेका थिए। हिँड्दै जाँदा स्याउ बगैंचा नजिकै उनले एउटा घर देखे।
घरमा गएर आग्रह गरे – हामीले कतै पनि ठाउँ पाएनौं, तपाईंको बगैंचामा हामीलाई टेन्ट लगाउन दिनुहोस्। रात पर्यो, हामी आज यतै बस्नुपर्ने भयो।
घर र बगैंचा तिनै व्यक्तिको थियो। टेन्ट लगाएर रात गुजार्न अनुमति दिए। बिरूवा क्षति पुर्याउन नपाउने सर्त राखे। नोर्बुले स्याउ बगैंचामा टेन्ट टाँगे। भान्सेले खाना बनाए। बगैंचाका मालिक नोर्बुको टोलीसँग गफिन थाले।
ती व्यक्ति बगैंचामा आफै काम गर्थे। केही नेपाली कामदार पनि रहेछन्। उनले नेपाली कामदार बोलाएर नोर्बुसँग भेट गराए। कोही दैलेखका, कोही जुम्लाका त कोही कालिकोटका थिए। नोर्बुले आफू पनि जुम्ली भएको बताए। परिवेश रमाइलो भयो।
भोलिपल्ट बिहान नास्ता खाएर नोर्बुको टोली बाटो लाग्यो। बगैंचाका मालिकले बसाइको शुल्क लिएनन्, बरू एक झोला स्याउ दिएर बिदा गरे।
नोर्बुले ती मान्छेले भनेको कुरा स्मरण गरे, 'मेरो बगैंचामा धेरै नेपाली काम गर्छन्। तिमीसँग पैसा लिन्नँ। मसँग धेरै पैसा छ।'
नोर्बुको अन्तिम ट्रेक कार्गिलमा सकियो। तीन साताको पदयात्रा थियो। पर्यटकबाट आफ्नो पारिश्रमिक बुझेर लद्दाख हुँदै नेपाली टोली मनाली आयो। उनीहरू चार जना थिए। नोर्बु र उनका सहयात्रीहरू बाटोमा हिँड्दै थिए। पछाडिबाट एउटा गाडी प्वाँप्वाँ गर्दै आयो र अगाडि रोकियो। गाडी चालकले इशारा गरेर नोर्बुलाई बोलाए।
'ओइ बहादुर, तुमने मेरे को नहीँ पहिचाना?' गाडी चालकले सोधे।
चालकले नोर्बुका साथीहरूलाई पनि बोलाए। गाडीमा बस्न आग्रह गरे। नोर्बुले मानेनन्। धेरै जोड गरेपछि उनीहरू गाडीमा बसे।
घटना सम्झिँदै नोर्बुले भने, 'हामी डराएका थियौं। त्यो मान्छे (गाडी चालक) सुट-पाइन्ट लगाएर चिटिक्क परेको थियो। हामीलाई कहाँ लैजाँदैछ, पत्तै पाएनौं।'
गाडी मनालीनजिकै एउटा भव्य होटल अगाडि रोकियो। नोर्बुको टोली गाडीबाट उत्रियो। चालकले ब्रेकफास्ट अर्डर गरे आफू भर्याङ चढेर माथि गए।
अनेक परिकारमा टेबलभरि ब्रेकफास्ट आयो। स्याउको जुस पनि थियो। नोर्बुलाई भारतमा ट्रेकिङ गरेर कमाएको पैसा यहीँ सकिने भयो जस्तो लाग्यो। ती मान्छे (चालक) ले फसाउन खोजेको जस्तो शंका लाग्यो। मनमा चिसो पस्यो।
निकै बेरपछि ती गाडी चालक आएर आफ्नो परिचय दिए। उनी त थानपाटनको स्याउ बगैंचाका मालिक पो रहेछन्!
बगैंचामा पुरानो लुगा लगाएर काम गर्दै गरेका ती व्यक्ति त्यो होटलका मालिक पनि रहेछन्! सुटमा चिटिक्क परेर गाडीमा आएका उनलाई नोर्बु र उनका साथीहरूले ठम्याउन नसकेका रहेछन्!
त्यो घटनापछि लेकसाइडमा चार रोपनी जग्गा किन्न तयार परेका नोर्बु दोधारमा परे। जुम्ला कि पोखरा?
उनलाई लाग्यो – यी मान्छेले यस्तो ठाउँमा स्याउको बगैंचा बनाएका छन्। आलु खेती गरेका छन्, होटल चलाएका छन्। यो भन्दा राम्रो त मेरै जुम्ला छ!
उनले जुम्लासँग भारतको मनाली र थानापाटन तुलना गरे। सबै दृष्टिले जुम्ला निकै राम्रो लाग्यो।
ती भारतीय उद्यमीसँग बिदा भएर नोर्बु पोखरा फर्के। लेकसाइडमा हेरको जग्गा फेरि हेर्न गए तर उनले निर्णय लिन सकेनन्।
'पोखरा कि जुम्ला?' उनको मन दोधारमा पर्यो, निर्णय गर्न सकेनन्।
अनिर्णयमै उनी सिक्लेस पदयात्राका लागि हिँडे।
आखिर उनको मनमा जुम्लामा ठूलो स्याउ फार्म, आलुखेती र मनोरम रिसोर्टको सपना टुसायो। भारतको मनालीभन्दा के कम छ र जुम्ला! यस्तै सोच आइरह्यो। उनको दोधार पनि मेटियो।
त्यो समय अहिलेजस्तो जहाँतहीँ बैंक थिएनन्। उनले पोखराको राष्ट्रिय वाणिज्य बैंकमा पैसा राखेका थिए। एक दिन सबै पैसा झिके अनि पोखरा छाडेर हानिए जुम्लातिर।
नोर्बु मुगुमा जन्मेका थिए। उनी तीन वर्ष उमेरका हुँदा उनका बुबाको निधन भएको थियो। आमाले करिब २० दिन हिँडेर नोर्बुलाई जुम्ला पुर्याएकी थिइन्; मिलेसम्म बाटोका घरमा, नभए ओढारमा बास बस्दै। जुम्लामा पैतृक सम्पत्ति पनि थिएन। श्रीमान बितेपछि मुगुमा बस्न मन नलागेर जुम्लामा अलि सुख पाइएला, छोरो पढाउन पाइएला भनेर गएकी थिइन्।
पदयात्राको कमाइले नोर्बुले २०४९ मा जुम्लाको खलंगामा ३८ लाख रूपैयाँमा १६ रोपनी जग्गा किने। त्यही समय उनले पोखरामा १६ लाख रूपैयाँमा चार रोपनी जमिन पाएका थिए। उनले पोखरा रोजेनन्; मनालीका भारतीय उद्यमीबाट प्रभावित भएर जुम्ला रोजे।
जुम्लाकै गज्याङकोटमा पनि जग्गा किने। ठूलो स्याउ बगैंचा बनाउन उनलाई जमिन चाहिएको थियो। उनले आफ्नो सपनाको बगैंचा बनाउन सुरू गरे।
यसरी सुरू भएको उनको बगैंचामा हाल स्याउका एक हजार ६०० र ओखरका २५० बोट छन्। आलु, सिमी, जौ र गहुँ फल्छ। खलंगामा रिसोर्ट छ।
'के गर्नु, मेरो बगैंचा र रिसोर्ट देखेर कतिपयले मलाई सामन्ती भन्छन्। आफ्नो मेहनतले गरेको हुँ। कसैलाई ठगेर ल्याएको होइन, लुटेको होइन,' उनको प्रश्न छ, 'म कसरी सामन्ती भएँ?'
यो सबै निर्माण उनले एकैपटक सकेका होइनन्। किनभने उनीसँग पुग्दो पैसा थिएन। ट्रेकिङ सिजनमा पैसा कमाउँदै संरचना थप्दै गरेका हुन्। निर्माणको काम अझै चल्दैछ।
रिसोर्ट फराकिलो चउरमा छ। १६ वटा कोठामा सेवा चालु छ। निर्माण सकिँदा २५ वटा कोठा हुनेछन्। कार्यक्रमहरू गर्ने दुइटा हल छन्। रिसोर्ट वरिपरि स्याउ र फूल बगैंचा छ।
नोर्बुले रिसोर्टकै प्रयोजनमा चारवटा घोडा र १२ वटा खच्चड पालेका थिए। कोरानाको समयमा बेचे।
'बैंकको किस्ता तिर्न पैसा भएन। सबै घोडा र खच्चड बेचेर तिरेँ। ऋण नतिरी हुँदैन, पैसा भएपछि किनौंला भन्ने सोचेँ,' उनले भने।
उनी व्यवसाय चलाउँदै रिसोर्ट विस्तार गर्दैछन्। स्याउ र ओखर बेचेको पैसा पनि रिसोर्ट निर्माणमै खन्याएका छन्।
'निर्माण पूरा हुँदा यो रिसोर्ट जुम्लाकै सबभन्दा ठूलो र मनोरम रिसोर्ट हुन्छ,' उनले भने।
यो रिसोर्ट बनाउने समयमा उनले धेरैथरी अनुभव बटुलेका छन्।
यसमध्ये एउटा उनलाई अहिले पनि नमिठो लाग्छ।
उनका अनुसार रिसोर्ट बनाउन सुरू गर्दा उनले बैंकमा ऋणका लागि प्रस्ताव पेस गरेका थिए। जुम्लाको राजनीतिमा पनि सक्रिय भए। नेकपा एमालेको जिल्ला कमिटी सदस्य बने। त्यो बेला वामदेव गौतम गृहमन्त्री थिए। जुम्लाका एमाले नेताहरू गृहमन्त्रीलाई एउटा लघु जलविद्युत आयोजना उद्घाटनका लागि आग्रह गर्न काठमाडौं गए। त्यो टोलीमा नोर्बु पनि थिए।
उनलाई एमालेकै एक नेताले गृहमन्त्रीले भनिदिए भने बैंकले तुरून्तै ऋण पास गरिदिन्छ भनेर उपाय सुझाएका थिए। जुम्लाबाट जितेका एमाले सांसद देवीलाल थापाको नेतृत्वमा मन्त्रालयमा गृहमन्त्री गौतमसँग कुरा सुरू भयो।
जुम्ली नेताहरूको मुख्य कुरा सकिएपछि नोर्बुले भने, 'मन्त्रीज्यू! जुम्ला आउनुहोस्। मेरो होटल छ। घोडा पनि छ। तपाईं जाने ठाउँमा गाडी जाँदैन। घोडामा जानुहोला।'
गृहमन्त्रीले सोधे, 'जुम्लामा ट्वाइलेट छ कि छैन?'
नोर्बुले बैंक ऋणका बारेमा भन्न बाँकी थियो तर गृहमन्त्रीको प्रश्नले एकाएक उनको आवेगको पारो चढ्यो।
एकाएक कड्किए, 'कमरेड! तपाईं कहाँ हुनुहुन्छ? यो त बल्खु होइन नि। तपाईंलाई उपप्रधानमन्त्री, गृहमन्त्री, पार्टी उपाध्यक्ष कसले बनाएको? हामीजस्ता कार्यकर्ताले बनाएको हो। तपाईं सम्मानको अपमान गर्ने? तपाईंलाई लघु जलविद्युत उद्घाटन गर्न आइदिनुपर्यो भनेको हो, ट्वाइलेट उद्घाटन गर्न भनेको होइन।'
उनको आवेग अझै शान्त भएन। थपे, 'तपाईंले जुम्लालाई के ठान्नुभएको छ? गृह मन्त्रालयमा तपाईंले प्रयोग गर्नेभन्दा धेरै स्तरीय ट्वाइलेट मेरो होटलमा छ।'
गृहमन्त्री गौतमलाई यति भनेर नोर्बु बाहिर निस्के। अरू जुम्ली नेताहरू पनि सँगै निस्के।
बाहिर आएपछि नोर्बुले सांसद देवीलाललाई भने, 'जुम्लीको त्यति धेरै अपमान गर्दा तपाईंले दुई शब्द त बोल्नुपर्ने थियो नि! तेरो होटलमा ट्वाइलेट छ कि छैन भनेको भए हुन्थ्यो। जुम्लामा छ कि छैन पो भन्छन्!'
नोर्बुले देशको गृहमन्त्रीले सिंगो जिल्लालाई होच्याएको ठाने।
'आज पनि त्यो प्रश्न सम्झिँदा मलाई अपमान बोध हुन्छ,' उनले भने, 'त्यसपछि मलाई पार्टीमा बस्न मन लागेन। साधारण सदस्य पनि नरहने गरी जिल्ला कमिटी सदस्य पदबाट राजीनामा गरेँ।'
उनको राजीनामाले जुम्ला एमालेमा खैलाबैला भयो। जिल्लाका नेताले राजीनामा फिर्ता लिन आग्रह गरे।
उनले एकसूत्रीय माग राखे– जुम्ली जनताका नाममा वामदेव गौतमले माफी माग्नुपर्छ।
वामदेवले माफी मागेनन्। नोर्बुले राजीनामा फिर्ता लिएनन्। दिन यस्तो आयो, न वामदेव एमालेमा रहे, न नोर्बु।
अहिले नोर्बु एक चित्तले आफ्नै सपनाको पछि लागेका छन्।
कुरा गर्दै जाँदा उनी आफ्नो किशोरकालमा पुगे।
जुम्लाबाट पोखरा आइपुग्दाको क्षण कम्ता रोमाञ्चक छैन। जुम्लामा पाँच कक्षासम्म पढेका नोर्बु एक अमेरिकी संस्थाको स्वयंसेवकका भारी बोकेर १५ वर्षको उमेरमा पहिलोपटक पोखरा आएका थिए। जुम्लामा पनि ती संस्थाका स्वयंसेवकहरू राराताल, डोल्पा, से-फोक्सुण्डो ताल घुम्न जाँदा नोर्बु भारिया जान्थे।
पोखरा आउँदा जुम्लाबाट कागमारा पास हुँदै जलजलाबाट ढोरपाटन निस्किए। त्यहाँबाट बेनी हुँदै २४ दिनमा पोखरा आइपुगेका थिए। ती अमेरिकी स्वयंसेवक केही दिन पोखरा बसे। नोर्बु पनि उनीसँगै फेवाताल किनार ड्यामसाइडको धौलागिरि होटलमा बसे। ती अमेरिकी काठमाडौं गएपछि नोर्बु एक्लै भए।
उनलाई जुम्ला फर्किन मन लागेन। लेकसाइडको एउटा होटलमा काम माग्न गए।
त्यो बेला पोखरामा 'हिप्पी' पर्यटक आउँथे। लेकसाइडतिर हिप्पी बस्ने टहरा बनेका थिए। हिप्पीका लागि गाँजा र चरेस सामान्य थियो। उनीहरू टालेका लुगा लगाउँथे। नाचगान गर्थे।
नोर्बुले पोखरामा तिनै हिप्पीका भाँडा माझ्ने काम पाए। भाँडा माझ्दामाझ्दै १८ महिना बित्यो। उनलाई दिक्दार लाग्यो। हिप्पीले लिएको मज्जा उनलाई नमज्जा भयो। नोर्बु अर्को काम खोज्न भौंतारिए।
हिँड्दा हिँड्दै पोखरा विमानस्थल नजिकै अन्नपूर्ण होटलअगाडि पुगे। गेटका गार्डसँग चिनजान भयो। कामबारे सोधे। सुरक्षा गार्डले समय मिलाएर मेनेजरसँग कुरा गर्न पठाए। होटल परिसरमा धेरै पर्यटक टेन्टमा बसेका रहेछन्। मेनेजरले ट्रेकिङ जाने पर्यटकको भरिया बनाइदिए।
नोर्बु दैनिक २० रूपैयाँ पाउने गरी पर्यटकको भारी बोकेर हिमालतिर लम्किए। अन्नपूर्ण र धौलागिरि परिक्रमा गरे। पोखरा आसपासका डाँडाकाँडा त कति नाघे कति! त्यसको हिसाबै छैन।
विदेशी पर्यटकको भरिया भएर हिँड्दा हिँड्दै उनी अंग्रेजी बोल्न जान्ने भए। नजानेको कुरा सोधेर पनि सिके।
नोर्बुले भने, 'मान्छेले पढेर भन्दा पनि परेर छिटो सिक्दो रहेछ। नपरी त नसिक्दो रहेछ। अंग्रेजी जान्ने भएपछि मान्छेले पत्याउन थाले।'
दुई वर्ष भरिया भएर अंग्रेजी बोल्न जानेपछि उनी पर्यटक गाइड बने। अरूलाई भरिया बनाए। गाइडमा बढुवा भएपछि उनी जुम्ला गए। पाँच वर्षपछि फर्केका थिए उनी। त्यही मौकामा आमाले उनको बिहे गरिदिइन्। अनि जुम्लाबाटै विदेशी पर्यटक लिएर डोल्पा, राराताल र से-फोक्सुण्डो जान थाले।
एक दिन उनी जुम्लामै घट्टमा अन्न पिस्न गएका थिए। काठमाडौंको मल्ल ट्रेकका निर्देशक स्टिल आम्स्ट्रङ र केही विदेशी पर्यटक पुगेका रहेछन्।
नोर्बुलाई उनीहरूले सोधे, 'डोल्पा जाने बाटो थाहा छ?'
नोर्बुले भने, 'किन नहुनु, मलाई सबै थाहा छ।'
कुरा अघि बढ्दै गयो। आम्स्ट्रङले उनलाई गाइड बनाएर से-फोक्सुण्डो लगे। उनीहरू ११ दिनको पदयात्रा सकेर काठमाडौं फर्के।
यसरी नोर्बुको काम चल्दै गयो। उनी दुई छोराका बाबु भए।
पछि स्टिल आम्स्ट्रङले उनलाई आफ्नो कम्पनीका काम गर्ने प्रस्ताव गरे। उनले नोर्बुका छोरालाई पढाइदिने बाचा पनि गरे। उनको आश्वासन अनुसार कान्छो छोरो लिएर नोर्बु काठमाडौं आए। छोरालाई स्कुल भर्ना गराए। आफू मल्ल ट्रेकमा काम गर्न थाले।
अन्नपूर्ण क्षेत्रको पदयात्रामा गइरहने भएकाले उनको धेरैजसो बसाइ पोखरामै हुन्थ्यो। पर्यटक गाइड भएर नेपाल, भारत र तिब्बतका हिमाली क्षेत्र हिँडेका नोर्बुलाई धेरै विदेशीले आफ्नो देश भ्रमणका लागि बोलाउँथे। तर उनी कतै गएनन्। उनले घुमाएका विदेशीहरू जुम्ला आउँदा उनकै होटलमा बस्छन्।
यस्तैमध्ये एक हुन् अमेरिकी नागरिक डेविट स्टलेन। उनी पदयात्राका लागि धेरैपटक नेपाल आए। एकपटक नोर्बुलाई लिएर हुम्लाको बाटो हुँदै तिब्बत जाँदै थिए। लेक लागेर उनी चल्न सकेनन्। चौंरीलाई बोकाएर लगेको अक्सिजन निकालेर नोर्बुले डेविटलाई लगाइदिए। टोलीमा गाइड र भरिया गरी तीन जना नेपाली थिए। उनीहरूले डेविटलाई पालैपालो बोके।
तिब्बतको कैलाश मानसरोवर यात्रामा डोमा ला पास सबैभन्दा उच्च बिन्दु थियो। डेविटलाई सकुशल त्यो हिमाली भन्ज्याङ पार गराउनु नोर्बुको ठूलो चुनौती थियो।
'हामीले डोल्पा ला पास पार गराएर तल झार्यौं। डेविट बाँच्यो,' उनले भने, 'हामीले उसलाई बचायौं, ऊ साह्रै खुसी भयो। यात्रा पूरा भएपछि मलाई १० हजार अमेरिकी डलर टिप्स दियो।'
अहिले डेविट निकै बुढा भइसके। नोर्बुसँग बाक्लै कुरा हुन्छ। उनलाई न्यूयोर्क घुम्न बोलाइरहन्छन्।
तर नोर्बु आजभोलि सबै छाडेर आफ्नै बगैंचा र रिसोर्टमा व्यस्त रहन्छन्। लगानी कति पुग्यो, खास हिसाब राखेका छैनन्। उनको थाप्लामा ६ करोड रूपैयाँ ऋण छ। अहिलेको कमाइ ऋणको किस्ता तिर्नमा ठिक्क छ।
'जुम्ला पनि पोखराजस्तै पर्यटन हब हुन्थ्यो भने त ऋण तिरिसकेको हुन्थेँ,' उनले भने, 'तर जुम्लामा पर्यटन विकासका लागि सरकारले चासो दिएन। कर्णालीमा राराताल जान मात्र मान्छे आउँछन्। यस्ता ताल त कति छन् कति, सरकारलाई थाहै छैन। अन्नपूर्ण क्षेत्रमा जस्तै राम्रा पदमार्गहरू छन्, हिमाल छन् तर सरकारले प्रवर्द्धन नै गर्दैन।'
विदेशीहरू ताजा हावापानी र ताजा खाना खोज्दै नेपालतिर आउने उनको अनुभव छ। लामो समय विदेशीसँगको संगत गरेका उनी हस्पिटालिटी क्षेत्रमा शिष्ट व्यवहार चाहिने बताउँछन्। कर्णालीका होटल-रेस्टुरेन्ट सञ्चालक र कर्मचारीलाई पनि हस्पिटालिटी तालिम दिनुपर्ने उनको सुझाव छ।
'कर्णालीमा उत्पादित अन्नका परिकार बनाउन सिकाउनुपर्छ। सरसफाइमा पनि ध्यान दिन आवश्यक छ,' उनले भने।
उनी आफ्नो रिसोर्टलाई सोचेजस्तै बनाउन तल्लीन छन्।