संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पदमार्ग मापदण्ड सम्बन्धी दिग्दर्शन–२०८२’ जारी गरेको छ। पदयात्रीको सुरक्षा, एकरूपता र दिगोपनामा जोड दिँदै मन्त्रालयले पदमार्ग सम्बन्धी दिग्दर्शन जारी गरेको हो।
देशभरका पदमार्ग निर्माण, व्यवस्थापन र विकासमा अन्तरसरकारी समन्वय र सहकार्य अभिवृद्धि गर्दै पदयात्रालाई सुरक्षित र आकर्षक बनाउने उद्देश्यले मापदण्ड जारी गरिएको मन्त्रालयले जनाएको छ।
सुशासन ऐन, २०६४ को दफा ४५ बमोजिम तयार गरिएको दिग्दर्शनमा पदमार्गलाई हाइकिङ, सहज र साहसिक गरी तीन वर्गमा विभाजन गरिएको छ।
हाइकिङ पदमार्ग एक दिनभित्र पूरा हुने कम्तीमा पाँच किलोमिटर दुरीको हुनेछ। सहज पदमार्ग तीन हजार मिटरभन्दा कम उचाइमा र साहसिक पदमार्ग तीन हजार मिटरभन्दा माथिको भनिएको छ।
पदमार्ग निर्माण गर्दा प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्वका स्थलहरू जोड्ने, मोटरबाटोसँग नजोडिने, ५ किलोमिटर दूरीभित्र चमेना गृह, खाजाघर र सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ।
स्थानीय तहले समुदायको सहभागितामा सरसफाइ, वृक्षारोपण र सौन्दर्यकरण गर्नुपर्नेछ। सहज पदमार्गका लागि प्रदेश सरकार, र साहसिक पदमार्गका लागि संघीय सरकार वा संरक्षित क्षेत्र कार्यालयले बजेट विनियोजन गर्ने व्यवस्था गरिएको छ।
पदयात्री सुरक्षाका लागि संकेत बोर्ड, रेलिङ, सावधानी सूचनाहरू, उद्धार संरचना र हेलिप्याडको व्यवस्था गर्नु पर्नेछ।
साथै पदमार्ग क्षेत्रमा फोहोर व्यवस्थापन र पर्यटन श्रमिक, पदयात्री तथा समुदायका लागि आचारसंहिता लागू गर्ने भनिएको छ।
पर्यटन विभागले पदमार्गहरूको ट्रेल अडिट गर्न सक्नेछ। मापदण्ड नपुगेका पदमार्गको सञ्चालन रोक्न सक्ने व्यवस्था गरिएको छ।