उ हरेक हप्ता या दुई हप्तामा मन लागि नलागी समुन्द्रका किनार र गगनचुम्बी मिनार अगाडि केही तस्बिर खिचेर फेसबुकमा पोस्ट्याउने गर्छ। उसले त्यसो गर्नुको पछाडि थुप्रै कारण लुकेका पनि छन्। अस्ट्रेलिया पढ्न जाने, कमाउने यसो गर्ने उसो गर्ने भनेर उसले लगाएको सानपट्टी छोप्नका लागि पनि उ यसरी फेसबुकमा तस्बिर तेर्साउने गर्छ।
पढाइ र काम अनि असाइमेन्ट र मामको जोहो गर्दागर्दै उसका ओठहरु कलेटी परेको कसलाई के थाहा। तर पनि उ आफूलाई देखाउन भएपनि कलेटी परेका ओठमा चार डलरको चिपस्टिक धसेर भएपनि हास्न खोज्छ र तस्बिर खिच्छ। अनि भन्छ कलेटी परेको ओठलाई हेर, लहलहैमा लाग्दा खेरी, यो मनमा बज्रेको चोटलाई हेर...।
अस्ट्रेलिया पढनुअघि उसले घर परिवारलाई पनि केही वाचा बन्धन गरेको थियो, चिन्ता लिनु पर्दैन सबै ठिक भइहाल्छ नि भनेर। तर आएको एक वर्ष नाघिसक्दा पनि उसको समस्याका पहाड ज्युका त्यू छन्। विश्वविद्यालय पढने उसको चाहना स्कुलदेखि नै हो।
त्यसैले पनि उ सिड्नीको राम्रै विश्वविद्यालय अध्ययन गर्नका लागि आयो। मंहगो पढाइ, गह्रुंगो बसाइ, कसिलो एसाइन्मेन्ट र चर्को भाडाले उनको दिनचर्या मेसिनजस्तो भएको छ। बिहान अर्लामसँगै उघ्रने उनको दैनिकी राति अबेरसम्म व्यस्ततामै बित्ने गर्दछ। काम र दामको चिन्ता अनि अस्तव्यस्त धन्धाले कता कता बिरानो देशमा विचराझै भएका छन् उनी।
तरपनि घरी-घरी सम्झनामा रमाउछन् र भविष्यप्रति आशावादी हुन्छन्। पढाइ सक्छु, टिआर एप्लाई गर्छु, केही वर्ष कमाउछु र घरको चाहना पूरा गर्छु। त्यसपछि पीआर आदि आदि। घर परिवार सोधिरहन्छन् कस्तो छ, पढाइ अनि कमाइ। उता गएपछि केही पठाउछु भन्थिस्, खोइ के भयो। एकछिन अक्कबक्क पर्छन् र घोत्लीन्छन्। दिनहुँ घरबाट आउने भाइबर पनि अचेल उनलाई नआओस जस्तो लाग्छ, किन हो किन टेलिफोनको घन्टी बज्दा पनि झस्कीन्छन् उनी।
यता आएपछिको हाल उनले कसलाई सुनाएकै छैनन। केही सय डलर लिएर आएका थिए। एजेन्टले जाने बितिक्कै काम पाइन्छ भनेको थियो। ढुक्क थिए, केही चिनेजानको पनि थिए र गुहार्नु पर्ला भन्ने सोच थियो।
आएको तीन महिनासम्म कता कता धाए, न काम पाए न त आफन्त नै भेटाए। ल्याएको डलर सकियो अनि साथीभाइको शरणमा परे। धन्न केही परोपकारी मन भेटाए र विदेशमा बास पाए। यो कुरा त उनले कसैलाई भन्नपनि भ्याएका छैनन। तरपनि उ हारेको छैन।
त्यसबेला विदेश जाने रहरले उनलाई कम्ता पोलेको थिएन, पल्ला घरका दाजु पीआर अरे, महल बनाका छन्, ओल्ला घरे साइला बाका छोरा अमेरिकाको ग्रीन कार्ड। मुहार पुस्तिकामा फोटो देख्थे, हसिला र रसिला। त्यसपछि उनले पनि जीवनलाई केही अग्लो र सग्लो बनाउने सोचका साथ बिदेश जाने बाटो रोजे।
बा आमासँग कचकच पछि भएको घडेरीको एक कठ्ठा बेचेर तीस लाख रुपैयाँ खर्चेर अस्ट्रेलिया हानिए। भिषा लागेको दिन साथीभाइलाई भोज खुवाएकै सम्झिन्छन् झल्झली उनी। काठमाडौँबाट भिषा लागेको खबर आयो, एजेन्ट सरले भन्नुभयो बधाइ छ, अब लाइफ बन्ने भयो। यता आएपछि थाहा भयो लाइफ बन्न त केके गर्नुपर्दो रहेछ।
उनी दुई ठाउँमा काम गर्छन्, युनिको फी तिर्न नत्र पुग्दैन। पढाइ र एसाइन्मेन्टको समागमले ७५ किलोको मान्छे ६० किलोको भैसके। सुत्ने र खाने टाइम छैन, हप्तामा एक दिन बिदा हुन्छ, सरसफाइ, किनमेलपछि उनी समय निकालेर समुन्द्रतिर टहल्छन्। कलेटी परेका ओठ लुकाउदै केही फोटो खिच्छ र फेसबुकमा पोष्ट्याउछन्। अनि लाइक र कमेन्ट हेरे चित्त बुझाउछन्।
कोठामा सँगै बस्ने साथी छ, उसको त कुरै बेग्लै छ। विश्वविद्यालय पढन आएको मान्छे फी तिर्न नसकेर भेट कलेजमा भर्ना भएको छ। बाबु आमालाई केही थाहा दिएको छैन, पढदैछु भन्छ। उसको सोचमा शिक्षाभन्दा अब विदेशमा आफ्नो रक्षा नै ठुलो हो भन्छ। विदशेमा पढ्न आएको नेपालबाट के पैसा माग्नु, जे पर्छ त्यै टर्छ भनेर सस्तो कलेजमा भर्ना भएको सुनाउँछ उ हामीलाई।
तर मैले मेरो सपना त्यागेको छैन, हरेस खाएको छैन, घरको वाचा भुलेको छैन, पीडा बीच हास्ने मेरो कर्मलाई निरन्तरता दिने गरेको छु। कलेटी परेको ओठलाई छोपेर भएपनि समुन्द्रका किनार र गगनचुम्बी मिनार बीच फोटो खिचेर फेसबुकमा हाल्ने गरेको छु। कम्तीमा पनि यसले साथीभाइ, परिवार बीच लाइक र कमेन्टले पनि पीडाका बीच नक्कली हाँसोमा रम्ने गरेको छु।
विदेश अध्ययनका लागि आउदै गर्दा यहाँको अवस्था, अध्ययन प्रतिष्ठान, पर्नसक्ने अप्ठ्यारा, काम र मामको व्यवस्थापनका बारेमा सही सूचना नलिइकन आउँदा समस्याको चाङ खडा भएको महशुस गर्दै अचेल गुनगुनाउने गरेको छु। पहेलो डलर, डलरले बिगार्यो कलर...