जीवनका भोगाइको कठघरामा यसरी उभिएकी छु आज, जहाँ समग्र जीवनका प्रश्नहरूको सामना म एकैपटक गरिरहेकी छु।
एउटा प्रश्नको उत्तर दिन नसक्दै अनेक प्रश्नहरू लामबद्घ भइरहेका छन्। जीवनभर सबै लडाइँहरू एक्लै लड्दै त आए तर आज भने युद्ध हारेको सिपाहीझैं अथाहा पीडा महशुस भइरहेछ।
पुराना घाउका पाप्राहरू फेरि दुख्न थालेका छन्। मभित्र अन्र्तनादहरूका छालहरू उथलपुथल किन गरिरहेका छन्? मेरो सीमित संसारको असीमित प्रवाहहरूमा यी प्रश्नहरूको उत्तर स्वयं मलाई नै थाहा छैन।
‘मम्मी म हस्पिटल गएँ है, हजुरलाई गाह्रो भए फोन गर्नुहोला, बाई।’ कुसुमको आवाजले मेरा ध्यान विथोलिएपछि बाहिर हेर्छु।
कुसुम हतारिँदै हस्पिटल जान निस्किसकेकी हुन्छे। पारिपट्टि छानामा एकजोडी परेवा निस्फिक्र रमाइरहेका देखिन्छन्।
बिहानै कोठाभित्र न्यानो घाम छिरेसँगै चियाको चुस्कीसँग कुसुम र मेरा केहीबेरका गफ हामी दुबैमा ऊर्जा थप्न पर्याप्त हुन्छन्।
अनि कुसुम हस्पिटलका लागि तयार हुन कोठाभित्र पसेसँगै म भान्सामा खाना पकाउन छिरिसक्छु।
मैले खाना पकाउन नसक्दै बाहिर लक्ष्मी आइसकेकी हुन्छे।
यतिसबै कामहरूबाट आफूलाई मुक्त गरिसकेपछि मैले पनि अफिस जानुपर्छ। राति फर्किसकेपछि अमेरिकाबाट रिमाले एकपटक ऊसँग कुरा नगरी सुत्न दिन्ने।
कोठामा छरिन लालायित घामका किरणहरूले आज ममाथि प्रभुत्व जमाउन सकेका छैनन्। यस्तो लागिरहेको छ कि मानौं मेरो बोझिल मनमस्तिष्कले घामलाई नै बरु चिस्याइरहेको छ।
म थर्मसबाट कालो चिया लगातार पिइरहन्छु। मनमा उठिरहेका तुफानहरूलाई हल्का गरिदिने खाएर वा पिएर हुने केही अरु नै वस्तुको चाह भैरहेको थियो।
‘दिदी’
लक्ष्मीको आवाज सुनेपछि घडी हेर्छु। छिट्टो बाथरुम पस्छु र तातोपानीको सावर खोल्छु।
‘लक्ष्मी तिमी चार बजेपछि आऊ न।’ कुनै दिन लक्ष्मीलाई भनेकी थिए।
‘आउन् त हुन्थ्यो नि दिदी तर, बिहान हजुरकोमा आए दिनभरि अन्त गएर काम गर्न जाँगर चल्छ क्या!’ लक्ष्मीले यसो भनिरहँदा शब्दहरूभन्दा उसका आँखामा अनुनयनको भाव चल्मलाएको देख्थें।
दिन छिप्पिँदै जाँदा उसका घाउहरू बासी भएर टल्कदैनन् भन्ने उसको आसयलाई म सहजै अनुमान लाउँथें, र सोच्थें ठीकै छ यसै बहानामा आफ्नो शरीर पनि थोरबहुत हलचल भैरहन्छ।
‘दिदी आज सन्चो नभएर अबेर भयो नुहाउन?’ अवरूद्घ आवाजमा लक्ष्मी प्रश्न गरिरहेकी थिई। म उतर्फ हेर्दिनँ।
कौसीमा कपाल फट्कार्दे गर्दा मेरा नजर लक्ष्मीको सुन्निएको अनुहारमा पर्छ। उसको घाँटीमा कुर्था च्यातिएको थियो, वरिपरि नीला डामहरू टल्किएका थिए। जसलाई लक्ष्मी पातलो सलले छोप्ने कोशिस गरिरहेकी हुन्छे।
उसको लोग्ने र उबीच नियमितजसो भैरहने झगडाका तगडा अवशेषहरू थिए ती।
किनभने हप्ता बिराएर यस्ता घाउहरू प्रायः उसको अनुहार या शरीरका अन्य भागहरूमा देखिनु नौलो थिएन।
ऊ भने कहिले सुक्कसुक्क मात्र गर्थी, त कहिले आगोझैं रन्थनिएर लोग्नेलाई गाली गर्दै अघिल्लो दिनको बेलीबिस्तार लाउँथी।
लोग्नेप्रति तुच्छ गालीहरूको प्रयोग सहजै गरिहेकी हुन्थी।
आज लक्ष्मीको पीडाले मलाई आफ्नो अतीत पुनः झल्झली आँखाअघि आइरहेको थियो।
म उसँग अंगालो हालेर धीत मररुन्जेल रूँन चाहें।
उस्तै पनि बच्चाहरूका सामुन्ने आफ्नो दुःख र बेचैनी देखाएर उनीहरूलाई कमजोर पार्न मैले कहिल्यै चाहिनँ।
‘तिम्रो लोग्ने तिमीलाई कुट्न केही कम भयो कि उस्तै हो लक्ष्मी?’ कहिलेकाहीँ उसको हालखबर सोध्ने गर्दथें।
‘के कम हुन्थ्यो र दिदी हप्ता बिराई आउँछ, पैसा राख्ने ठाउँ उथलपुथल गर्छ। भेटेजत्तिको पैसा लगेर जान्छ।’
आफूले जन्माएका तीनवटा सन्तान लक्ष्मीकै जिम्मा दिएर मर्द हुनुलाई पुनः प्रमाणित गर्न उसको लोग्नेले अर्को विवाह गरेर अलग्गै बसेको निक्कै भइसक्यो।
उसकी जेठीछोरी जवानीमा बौरिँदै हिँडेको मनपर्दैन लक्ष्मीलाई, सम्झाउँदा मान्दिन रे।
मसँग दुखेसो र प्रश्न गर्छे ‘दिदी सबै दु:ख मेरै पोल्टामा किन हाले होलान् दैवले ? यी तीनटा नभए त कहिले त्रिशूलीमा फाल हालिसक्थें या त पोइल जान्थें।’
के अर्को पोइल सहज हुन सक्छ र लक्ष्मीलाई ?
दिनहुँ घरमा आइरहने लक्ष्मी आज भने मलाई नजिकैबाट महशुस भइरहेकी थिई।
आफूलाई उसको समानान्तरमा राख्दै मनका भावहरू पढ्न खोज्छु। उसका घाउहरूले मलाईसमेत असर गरिरहेको थियो।
लक्ष्मी र र म फरक जीवन भए पनि भोगाइहरूका तापबाट निस्कने एक सरहको वाफ छ।
कतिपय उकुसमुकुसहरू खुकुलोपारि सुनाउन ऊ अभ्यस्त थिई , म भने धेरै कुरा लुकाउनमै विश्वास गर्छु।
एकछिनमै काम सिध्याएर लक्ष्मी जान्छे।
कौसीमा म एक्लै हुन्छु। के नियालिरहेकी छु ? किन नियालिरहेकी छु ? यो सबै म स्वंयलाई समेत थाहा छैन। बारीमा दुईरंगका गुलाबका फूलहरू फुलिरहेका छन्। त्यसको अलिपर फर्सीका पहेंला फूलहरूले पनि बगैंचाको शोभा बढाएकै छन्।
कौसीबाट सिधै देखिने चोकमा पीपलको रूख छ, त्यसको ठ्याक्कै दायाँतर्फ रहेको चर्चको आँगनमा फुलिहेको गुलमोहरको फूल छ।
यो फूल फुल्ने समयमा चोकबाट ओहोरदोहोर गर्न मलाई मनपर्दैन।
लामै भए पनि अर्कै बाटोबाट हिँड्डुल गर्छु। त्यो फूल मलाई मन नपर्न थालेको निकै भइसक्यो।
कुनै समयमा दीपक प्रायः मलाई ‘गुलमोहर’भनेर सम्बोधन गर्दथ्यो।
यो त्यतिबेलाको कुरा थियो, जब हामी दुबै जना कलेजका अन्तिम वर्षहरूमा सँगै पढ्थ्यौं।
ऊ सधैं आफ्नो बुवाको गाडीबाट ओर्लन्थ्यो। उसको व्यक्तित्वले सबैलाई आकर्षित गरिरहन्थ्यो। दीपक भने कुनै न कुन बहानामा मेरो बेन्चमा सँगै बस्न आइपुग्थ्यो।
एकदिन किताबको बीचमा मीठो कवितासँगै गुलमोहरको फूल राखेर मलाई दिएको थियो। त्यसपछि हाम्रो सम्बन्धमा दिनहुँ मीठो सुगन्ध थपिँदै गयो।
केही समयपश्चात् हाम्रो सम्बन्धले मीठो किनारा पायो अर्थात् हामीले विवाह गर्यौं।
तर , समयको अन्तरालसँगै हाम्रो सम्बन्धमा मिठास सधैं रहन सकेन।
०००
हिजो कुसुम र म सँगै सकुन्तला दिदीकोमा गइरहेका थियौं। कुसुमलाई मैले उसकै काम गर्ने हस्पिटलमा भेट्नपर्ने थियो।
‘एकछिन यता आउनुस् न मम्मी ,’ हिजो अस्पतालमा कुसुमको काम अलि लम्बिन थालेपछि उसले एकछिन मलाई रोगी जाँचिरहेकै कक्षमै बोलाएकी थिई।
बेडमा पल्टिरहेको व्यक्तितर्फ संकेत गर्दै केही सम्झेझैं कुसुम: ‘अँ मम्मी मैले हजुरलाई अस्ति भनेको पेसेन्ट उहाँ नै हो।’
कुसुमले संकेत गरेको शरीर निरिह र निस्तेज भएर सुतिरहेको थियो। जसलाई कुसुमले आफैं उपचार गरिरहेकी थिई। निधारको बीचमा ठूलो कोठी! म झस्किएँ। बेड नजिकैको स्टुलमा पेसेन्टको फाइल हेर्छु, नाम दीपक गिरी। वर्षोदेखि बन्द घरमा खिया लागेको ढोका अचानक उघ्रेजस्तो, धेरै कुराहरू अस्पष्ट र लथालिंग। मेरो मुटु झनै असन्तुलित भइरहेको थियो।
नजिकै दीपककी कान्छी बहिनी थिई। अप्रत्याशित भेट र वर्षौ पहिले समाप्त भइकेको सम्बन्धका निम्ति हामीसँग कुनै शब्द थिएन बोल्नलाई।
कुसुमले मलाई मम्मी भनेर बोलाउँदा त्यो अनुहारमा छाएको स्तब्धता मैले प्रष्ट देखें।
ऊ पनि आफ्नो दाजुको छोरा जन्मेको हेर्ने उत्कण्ठित प्राणी थिई।
ती घोचपेचहरू सम्झँदा मेरा नशाहरू आज पनि बाउरिएर आउँछन्।
आर्थिक अवस्था कमजोर भएका कारण डाक्टरले लिनुपर्ने ‘फी’ नलिएर उसको उपचार गरिरहेको कुरा केही दिनअघि कुसुमले सुनाएकी थिई। कुसुमको करुणा भावप्रति नतमस्तक हुने गर्दछु सधैं।
तर, दीपकको अर्थिक अवस्था कमजोर कसरी हुनसक्छ ? कति घमण्ड थियो आफ्नो सम्पत्तिको दीपक र उसको परिवारलाई।
किन कसरी यो अवस्थामा भयो? फेरि दीपक त आफ्नी श्रीमतीसँग विदेशमै बस्न गइसकेको थियो।
खैर,
‘कुसुम मेरो टाउको दुख्न थाल्यो’, मैले कुसुमसँग बहाना गर्छु।
‘ठीक छ मम्मी हजुर घर फर्किनुस , म जान्छु।’
सन्चो नभएको बहाना गरी म घर फर्केकी थिएँ। कहिलेकाहीँ माइग्रेनले गर्दा मेरो टाउको सहन गर्ने सीमा बहिर गएर दुख्थ्यो। अनि म जहाँ जुन अवस्थामा हुन्छु त्यहीँबाट घर फर्कनु पर्ने अवस्था आउँथ्यो। कुसुमले मेरो बहाना पत्याई।
मान्छे जिजीविषामा कतिपटक टुट्छ, कतिपटक सम्हालिन्छ। तर मैले आज यत्तिका विरक्तिनुको पनि त कारण छ। म अझै पनि दीपकलाई यो अवस्थामा किन देख्न सकिरहेकी थिइनँ? किन म ऊ जति स्वार्थी हुन सकिनँ कहिल्यै ? किन म आफू सम्हालिन अनवरत प्रयासमा यस्तै तर्कहरू हिजोदेखि गरिरहेकी छु? कसरी भनौं कुसुम त्यो तिम्रो बुवा हो, कसरी भनूँ एकदिन हामी तीन जनालाई छाडेर जाने यही व्यक्ति हो। आफूलाई सम्हाल्छु।
यदि भनेको खण्डमा कुसुमले उसको सायद उपचारै गर्न छाडिदिनसक्छे। अहँ ! भन्नु हुँदैन।
संसारमा मानवता भन्ने धर्म सबैभन्दा ठूलो धर्म हो, मैले धेरैथोक त्यागेर दिन सकेको शिक्षा पनि त छोरीहरूलाई त्यही नै हो। म आफैंलाई सम्झाउँछु।
माथि घरको दोस्रो तलामा भएको सुत्नेकोठामा जाँदैगर्दा भित्तामा टाँगिएको ऐनामा देखिएको आफ्नो अनुहारमा उमेरले दिइरहेको दस्तकलाई मिहिनतापूर्वक सुम्सुम्याउँछु।
आँखाका छेउतर्फ काँडे आकारका चाउरीहरू देख्छु। निधारमा हरियोलाम्चो टीका। म कोठामा छिर्छु, डायरीमा लेखिएका अतीतका पन्नाहरूलाई पल्टाउँछु जहाँ दीपकले मलाई छाडेर गएपछि कति दिनहरू कहाली लाग्दा भएर अनिश्चित भविष्यका त्रासहरूमा बितेका थिए।
कहिलेकाहीँ मन हलुका गर्न डायरी कोर्ने गर्दथें। तर निकै समययता दुइटा छोरी र कामको व्यस्तताका कारण डायरी नै कोर्न बिर्सन्थें। किनभने जीवनले अलिकति सुख देखाउने बित्तिकै म डायरीलाई बिर्सन्थें।
कत्ति दिनपछि डायरीको पन्नामा आज मज्जाले केही पोख्न मन लाग्यो। म कोर्छु , म लेख्दै जान्छु ....
दीपक मेरो जीवनमा प्रवेश गर्दा मलाई थाहा थिएन उसले मेरो महत्वपूर्ण समयलाई अँध्यारोमा बदलिन आएको थियो। भन्नलाई उसको र मेरो प्रेम विवाह थियो। तर बिस्तारै उसको परिवारसँग गर्नुपर्ने व्यवहारहरूका कारण म यसरी पिल्सिसकेकी थिएँ कि मैले आफ्ना जीवनका सम्भाव्य बोकेका स्थानहरू पुरिइसकेको आभाष निक्कैपछि थाहा पाएँ।
टल्किने सारीमा र आभूषणहरूमा सजिएर उच्च घरानियाँकी बुहारी बनेर बस्नुपर्ने तौरतरिकाहरूमा शितलताभन्दा बढी उकुसमुकुसको र छट्पटाहट बढी हुन्थ्यो उसको घरमा।
उसै पनि उनीहरूले चाहेको खान्दानियाँ बुहारीको श्रेणीमा म परेकी थिइनँ।
जीवनका प्रत्येक प्रहरमा ऊ मेरो साथ छोड्ने छैन भन्ने विश्वास थियो। साँझपख उसको छातीमा टाउको राखेर लामो सुस्केरा लिँदा दिनभरिका दु:ख हराउँछन् भन्ने लागेको थियो।
पहिलो छोरीको जन्मसम्म लगभग सबै ठीकठाक थियो। तर , बिस्तारै उसको मप्रतिको व्यवहारमा चिस्यानको अनुभव गर्न थालेकी थिएँ।
उसको परिवारको करकापमा यसबीच म तीन तीन वटा छोरी तुहाउन बाध्य भएँ।
पहिलो पटक यस्तो कुकृत्यका लागि उसको अनुहारमा मप्रति कहीँकतै थोरबहुत पनि सदभाव भेट्टाउन सकेकी थिइनँ।
बरु हामीबीचको सम्बन्धको डोरी क्षीण भइरहेको थियो जुन लगातार प्रत्येक छोरी तुहाउँदा कमजोर बनिरहेको थियो।
म गर्भमात्र बोक्ने एउटा मेसिन बनिरहेकी थिएँ। आखिर कहिलेसम्म ? मेसिन पनि कुनै निश्चित समयपछि रुग्ण हुँदै जान्छ र फ्याँकिन्छ।
‘दीपक के तिमी आफ्नो परिवारलाई सम्झाउन सक्दैनौ ? कहिलेसम्म मैले हत्याको भागिदार हुनुपर्ने हो ?’ सहनै नसकेर दीपकलाई प्रश्न गरेकी थिए।
दीपक आफ्नो परिवारसँगै उभिएको थियो।
समाजले छोरा जन्माउन नसकेको बुवाको “ ट्याग” झुण्डेला भन्ने त्रास उसको अनुहारमा थियो भने परिवारलाई वारिस चाहिएको थियो।
कुसुमलाई गर्भमा चेक गर्न जाँदा डाक्टरले मेरो जीवन खतरामा हुने स्पष्ट संकेत दिइसकेपछिमात्र परिवार पछाडि हट्न बाध्य भयो।
कुसुमको जन्मपछि अत्यधिक संक्रमणको कारण देखाएर डाक्टरले मेरो पाठेघर फाल्नैपर्ने निर्णय सुनाएको थियो।
वास्तविक अर्थमा म त्यतिबेला आफूलाई निष्प्राण महशुस गरिरहें। दीपक र उसको परिवारको अपेक्षालाई पूरा गर्न नसक्ने स्थितिमा मेरो शरीर पुगेको थियो।
मेरो अपरेशनपछि दीपक र उसको परिवारले मप्रति दर्शाइरहेको अघोषित रापमा म पोल्लिँदै गइरहेकी थिएँ।
दीपकको व्यवहार फेरिँदै थियो। विल्कुल अपरिचित अनि रुखो। ऊ मसँग भन्दा अरु सम्बन्ध बनाउँदै रमाइरहेको हुन्थ्यो। म उसका गाडीमा कहिले लिपिस्टिक त कहिले मेकअपका अन्य प्रसाधनहरू खसिरहेका देख्थें।
जसले मेरो अस्तित्वमाथि अनेक प्रश्नहरु लामबद्घ गराउँथ्यो।
म कुनै वस्तु बनाइएकी थिएँ, जसको म्याद सिद्घिसकेको थियो। म मौन भएर प्रश्नहरूका उत्तर आफैंसँग खोज्थें।
मेरा प्रश्नहरूको उत्तर मौन हुनु सिवाय केही थिएन।
आज बन्द कोठामा चिच्याउँछु, हो ! दीपक तिमीलाई थाहा छ! तिम्रो उपचारमा खटिएकी डाक्टर कुसुम तिम्री र मेरी कान्छी छोरी हो।
उही कुसुम जो नजन्मँदै हामी तीन जनालाई छोड्ने निर्णयमा पुगेका थियौ।
वंश बढाउने अभीष्ट मबाट पूरा नहुने देखिएपछि तिमीले परिवारको सहमतिमा अर्को विवाह गर्ने निर्णय गरेका थियौ।
तिम्रो छोरा पाउने चाहना तिम्रो विवाहेत्तर सम्बन्धलाई वैध बनाउने महत्वपूर्ण माध्यम पनि बन्यो।
शब्दले त तिमीले मलाई आफ्नो घरबाट अलग भैहाल भनेको त थिएनौ तर तिम्रो र तिम्रो परिवारको व्यवहारले मलाई पराई बनाइसकेको थियो।
मसँग बाँचेका जीवनका क्षणहरूलाई कुनै कदर नै नगरी तिमीले मलाई यसरी लत्याउलाऊ भन्ने मेरो मुटुको कुनै कुनामा पनि शंका पसेको थिएन।
तर, अचानक मेरो जीवनमा सुनामी, भूकम्प सबै एकचोटि आएर विध्वंश मच्चाएर गए, जसको पूर्वानुमान नै भएन मलाई।
दीपक मैले तिमीसँग अलग हुनुपर्छ भन्ने निर्णय त्यतिबेला प्रबल भएर आयो जब मैले थाहा पाएँ, तिम्री दोस्री श्रीमतीबाट सात महिनामै छोरो जन्मेको थियो।
समाजका लागि त्यो बच्चाको अवधि नपुगी जन्मेको थियो तर मेडिकल रिपोर्ट अनुसार त्यो बच्चाले गर्भमा रहनुपर्ने सबै समय पुर्याएर जन्मेको थियो।
दीपक तिमीले मेरो प्रश्नको जवफ नदिई बाहिरिएका थियौ। हरेक पटक मेरो छट्पटीले उचाइ छोइरहेको हुन्थ्यो।
तिमी छाडेर गयौ हैन! आफ्नो नयाँ परिवारसहित, विदेश।
म परित्यक्ता भएँ, सधैंका लागि। म निस्कें तिम्रो घरबाट। केही समय माइतीको सहयोगमा बसें।
अनि आफ्नो गुजारा गर्ने अठोट लिएँ। स्कुलमा शिक्षिकाको जागिर पाएँ। म यसअर्थमा सन्तुष्ट थिएँ, मैले छोरीहरूको जन्मलाई सार्थक तुल्याउन सफल भएकी थिएँ।
चाहे परिस्थिति जे सुकै भए पनि बगैंचामा उत्तम र सुगन्धित फूल फुलाउन सफल भएकी थिएँ। तर खै किन किन गुलमोहर फूलप्रति भने घृणा लाग्छ।
हो, तिमीसँग मेरो यात्रा अलग भएपश्चात् फरक ढंगले सुरू भएको थियो।
त्यो जटिल परिस्थितिकाबीच मैले आफ्ना दुई छोरीहरूलाई उचित तरिकाले हुर्काएर आमा र बुवाको जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व मेरो काँधमा आएको थियो।
समय बित्दै गयो, महत्वपूर्ण समय बित्यो पनि, नाबालक छोरीहरूले गर्ने प्रश्नहरू बिस्तारै परिपक्व हुँदै गइरहेका थिए।
अर्थात् तिम्रा लागि भएका प्रश्नहरूको उत्तर मसँग हुँदैन भन्ने कुरा उनीहरूलाई थाहा लाग्दै गयो।
मलाई थाहा छ, उनीहरूको बुवाको अभावको त्यान्द्राहरू लामै हुन्थे।
मेरो मौनता बिस्तारै उनीहरूमासमेत सर्दै गयो।
छोरीहरूका मौन प्रश्नहरूले मेरो घाउ सधैं चर्राइरहन्थ्यो।
सहज त कसरी हुन सक्थ्यो र सबथोक! तर सहज हुने अभिनय गरिरहें ताकि उनीहरूमा अलिकति पनि मेरो कमजोरीको छनक नपरोस्।
रिमा उच्च शिक्षाका लागि अमेरिकामा छे। कुसुम कार्डियोलोजिस्ट। मैले आफ्नो कोखलाई धन्य हुने अवसर दिएकोमा उनीहरूप्रति सदैव कृतज्ञ रहनेछु।
हेर ! अब तिम्रो शीघ्र स्वास्थ्य लाभको कामना बाहेक केही गर्न सक्दिनँ। सकेसम्म मेरी छोरीलाई पनि थाहा नलागोस् कि तिमी उसको बुवा हौ भन्ने। मेरा छारीहरूले ‘बुवा’ शब्दको पर्याय ‘अभाव’भन्नेमात्र बुझेका छन्।
आज पछुतो लाग्छ दीपक मैले तिमीजस्तो निर्दयीका लागि तीन तीनवटा छोरीहरूको घाँटी निमोठें।
पछुतो छ, किन दोस्री छोरीलाई जन्माएर तिमीबाट स्वनिर्णयले नै अलग भइनँ म...!