कैलाश विकास बैंकले आर्थिक अनियमितता गरी भागेका पोखरा लाचाचौर शाखाका प्रमुख रविचन्द्र खनालसहित ५ कर्मचारी निलम्बित गरेको छ । उक्त शाखामा बैंकले बुधबारदेखि अरू कर्मचारी खटाएको छ। कर्मचारीले पैसा हिनामिना गरेको खबर सार्वजनिक भएपछि निक्षेपको चिन्ताले शाखा पुगेका कतिपय ग्राहकलाई बैंकले पैसासमेत दिएको छ।
कतिपयलाई पनि बचतकर्ताको पैसा केही नहुने भन्दै विश्वस्त पारेर फर्काएको छ ।
खनालको तनहुँस्थित पुख्यौली सम्पतिसहित, पोखरा पर्स्याङको घरजग्गा र गगनगौंडाको जमिन जस्ता जायजेथा रोक्का गरिएको कैलाश विकास बैंकको पोखरा क्षेत्रीय कार्यालय प्रमुख सूर्य तिवारीले सेतोपाटीलाई बताए। उनले भने, ‘अडिट चलिरहेको छ, कति हिनामिना भयो भन्ने यकीन भइसकेको छैन। तर जति हिनामिना भएको हो, त्यति उनको जायजेथाबाट असुल्न सकिने मात्रैमै भएको अनुमान गरेका छौं।’
आर्थिक हिनामिनाको यकीन विवरण निकाल्न बैंकले अहिले अडिट गरिरहेको छ। अडिट पूरा नभएकाले पूरा तथ्यांक नआएको तिवारीले बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी गरिसकेको बैंकले अडिटमा पत्ता लागेपछिको आर्थिक अनियमितताको विवरण प्रहरीलाई उपलब्ध पनि गराउँदैछ। फेक ट्रान्जेक्सनबाट खनालले बैंकको पैसा हिनामिना गरेको अड्कल काटिएको छ ।
लायन्स क्लबको कार्यक्रमका सिलसिलामा केही समयअघि अमेरिका घुमेर फर्केका खनालसँग उक्त देशको ५ वर्षको भिसा रहेकाले उतै गएको अनुमान छ । त्रिभुवन विमानस्थल काठमाडौंको अध्यागमन कार्यालयको रेकर्डले खनाल देशबाट बाहिरिइसकेको देखिएको छ ।
अहिलेसम्मको अडिटबाट खनालले झन्डै २ करोड हिनामिना गरेको देखिए पनि त्यो रकम अझै बढी हुनसक्ने अनुमान छ । अडिट पूरा भएपछि
यकीन विवरण आउनेछ । खनालले बैंकबाट पैसा उछिट्याउनुका अलावा आफ्ना साथीभाइ, चिनेजानेका तथा बैंकका ग्राहकसँग पनि व्यक्तिगत रुपमा पैसा उठाएको र सहकारीबाट पनि पैसा लिएको बैंकरहरू बताउँछन् । त्यस्तो खराब नहोला भन्ने साथीबाट करोडौं रुपमा ठगिएको खनालका साथीभाइले बताइरहेका छन् । तर उनीहरूमध्ये कसैले पनि प्रहरीमा उजुरी भने गरेका छैनन् ।
काठमाडौंमा केन्द्रीय कार्यालय रहेको बैंक व्यवस्थापनले खनाल भागेको थाहा पाउनासाथ अडिट टोलीलाई पोखरा पठाएको थियो । बेपत्ता खनाल कैलाश विकास बैंकमा आउनुअघि नेपाल एक्सप्रेस फाइनान्सको पोखरा, सभागृहचोकस्थित शाखा प्रमुख थिए । उक्त फाइनान्स गएको वर्षमात्रै कैलाश विकास बैंकमा मर्ज भएको हो । सँगसँगै मेट्रो विकास बैंक पनि मर्ज भएको थियो । एउटा शाखा हेरिसकेको व्यक्ति भनेरै कैलाशले लामाचौर शाखामा खनाललाई जिम्मेवारी सुम्पेको थियो ।