भूकम्प पीडितहरुलाई आगामी असार ७, ८ र ९ गते ट्याक्सी नम्वर वितरण गरिने भएको छ।
भूकम्पबाट अति प्रभावित १४ जिल्लाका स्थानीयलाई तीन दिनसम्म ट्याक्सी नम्वर वितरण गरिने यातायात व्यवस्था विभागले जनाएको छ।
विभागका प्रवक्ता टोकराज पाण्डेका अनुसार कुल ट्याक्सी नम्बरका लागि १ लाख ४८ हजार आवेदन परेकोमा १५ सय भाग्यशालीले मात्रै पाउने छन्।
नम्बर बाँडिने तीन दिनमध्ये असार ७ गते रामेछाप, काभ्रेपलान्चोक, नुवाकोटका स्थानीय आवेदकलाई ४ सय ९१ वटा ट्याक्सी नम्बर वितरण हुनेछ।
८ गते सिन्धुपाल्चोक, सिन्धुली र दोलखाका स्थानीयलाई ५ सय १३ वटा ट्याक्सी नम्बर र ९ गते काठमाडौं, ललितपुर, भक्तपुर, ओखलढुंगा, धादिङ, मकवानपुर, गोरखा र रसुवाका स्थानीय आवेदकलाई ४ सय ९६ ट्याक्सी नम्बर वितरण गरिने विभागले जनाएको छ।
विभागले भूकम्प अति प्रभावित जिल्लाबाट ०७३ साल साउन २५ देखि भदौ ५ गतेसम्म आवेदन संकलन गरेको थियो।