प्रदेश नं ५ का चार उपमहानगरपालिका मध्ये ३ वटामा एमालेले अग्रता कायम राखेको छ। मतगणनाको सुरुवातमा कांग्रेससँग बुटवलमा पछाडि परेको एमाले अघि लागेको छ। कांग्रेस र माओवादीले बुटवलमा गठबन्धन गरेका छन्।
नेपालगञ्जमा राप्रपाका उम्मेद्वारले अग्रता कायम गरेका छन्।
बुटवल उपनगरपालिकामा सुरूदेखि नेपाली कांग्रेसले अग्रता लिए पनि एमालेले पछाडि पारेको छ।
४ हजार ७ सय मत गणना गर्दा एमालेका शिवप्रसाद सुवेदी अगाडि लागेका हुन्। उनले २०१७ मत प्राप्त गरेका छन्। कांग्रेसका मेयर उम्मेद्वार खेलराज पाण्डेले १६१० मत प्राप्त गरेका छन्। कांग्रेस र माओवादी गठबन्धन उम्मेद्वारलाई एमालेका सुवेदीले झण्डै ६ सय मतले पछाडि पारेका हुन्।
उपमेयरमा पनि एमाले उम्मेद्वार अगाडि छिन्। एमालेकी गोमा आचार्यले २१७२ मत प्राप्त गरेकी छिन्। उनलाई माओवादी केन्द्रकी उम्मेद्वार जगतबहादुर पोखरेलले पछ्याइरहेका छन्। उनले १११० मत पाएका छन्।
दाङका दुवै उपममहानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। तुलसीपुरमा एमालेका मेयर उमेम्द्वार घनश्याम पाण्डे र घोराहीमा नरुलाला चौधरीले अग्रता कायम राखेका छन्।
तुलसीपुरमा पाण्डेले २०९४ मत पाएका छन्। उनका प्रतिष्पर्धी कांग्रेसका गेहेन्द्र गिरीले १६३१ मत प्राप्त गरेका छन्। उपमेयरमा पनि एमालेकी माया आचार्य अगाडि छिन्। उनले १९९९ मत पाएर अग्रता लिइरहेकी छिन्। कांग्रेसकी देविका नेपालीले १७१९ मत पाएकी छिन्।
घोराही उपमहानगरपालिकामा एमालेका चौधीरीले २०५४ मत पाएका छन्। कांग्रेसका भूपबहादुर डाँगीले उनलाई पछ्याइरहेका छन्। डाँगीले ११८६ मत पाएका छन्।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा भने राप्रपाका धवलशमशेर राणा अगाडि आएका छन्। नेपालगञ्जमा एमालेका शम्सुद्धिन सिद्दीकीले सुरुवाती अग्रता लिएका थिए। तर गणना अगाडि बढ्दा राप्रपाका राणा अगाडि आएका हुन्। राणाले ४८२ मत पाएका छन्। उपमेयरमा भने कांग्रेसका उम्मेद्वार उमा थापामागर अगाडि छिन्। राप्रपाकै उम्मेद्वारले उनलाई पछ्याइरहेकी छिन्। राप्रपाका उपमेयर उम्मेद्वारले ३३२ मत पाएका छन्।
माओवादी केन्द्रका मेयर उम्मेद्वार दामोदर आचार्यले राणालाई पछ्याइरहेका छन्। उनले ३४५ मत ल्याएका छन् भने उपमेयर उम्मेद्वार कलामुन अन्सारीले पनि २८५ मत नै ल्याएकी छिन्।
कांग्रेसका मेयर उम्मेद्वार डा सुरेशकुमार कनौडियाले २६४ मत पाएका छन्।
एमालेका शम्सुद्धिन सिद्दीकी चौथो स्थानमा पुगेका छन्। उनले १८३ मत प्राप्त गरेका छन्। एमालेकी उपमेयर शान्तिदेवी ढकालले २ सय २६ मत पाएकी छिन्।