विश्व चर्चित पूर्व फुटबल खेलाडी जिनेदिन जिदानका जेठा छोरा इन्जोले आफू र आफ्नो बुवाको खेलमा आकाश जमिनको अन्तर भएको बताएका छन्। उनले आफ्नो बुवा जिनेदिनभन्दा आफ्नो खेलमा भिन्नता भएको बताउँदै भने, ‘म यस विषयमा धेरै टाउको दुखाउँदिन।’
२२ वर्षीय इन्जो पनि आफ्नो बुवा जस्तै आक्रामक मिडफिल्डरको भूमिकामा खेल्छन्। स्पेनिस ला लिगा क्लब डेपोर्टिभो आल्भेसमा आवद्ध भएका इन्जो गत सिजन रियल ,म्याड्रिडको तेस्रो श्रेणीको कास्टेलाबाट खेलेका थिए।
उनलाई आल्भेसले ३ वर्षका लागि अनुबन्धित गरेको छ। आल्भेस गत सिजन कोपा डेल रेको फाइनल पुगेको थियो। फाइनलमा यो क्लब बार्सिलोनासँग पराजित भएको थियो।
‘म इन्जो हुँ। म भिन्न छु, नितान्त भिन्न किसिमको खेलाडी,’ सन् १९९८ मा आफ्नो प्रभावमा फ्रान्सलाई विश्व कप जिताएका बाबु जिदानको विषयमा गरिएको तुलनालाई लिएर उनले भने।
हाल रियल म्याड्रिडको प्रशिक्षक रहेका जिदानको नेतृत्वमा क्लबले लगातार दुई सिजन च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ। यसपालि रियलले च्याम्पियन्स र ला लिगा दुवैको उपाधि जितेको थियो।
गत सिजन कोपा डेल रेमा रियलबाट डेब्यु गरेका इन्जोले गोल पनि गरेका थिए।