उद्धार गर्न गएको टोलीले नै सुरक्षा नअपनाउँदा १ जना प्रहरी जवानको ज्यान गएको छ । पोखरा–१८, चंखपुर, हर्पन खोलामा बेपत्ता भएका २ युवा खोज्न पुगेको टोलीले सुरक्षामा ध्यान नदिँदा १ प्रहरी जवानले ज्यान गुमाए ।
उद्धारका लगिएको डोरीनै प्रयोग नगरी उर्लदो खोलामा पस्दा प्रहरीले ज्यान गुमाउनु परेको स्रोतले बतायो । ‘डोरी नलगाई पानीभित्रको शव निकाल्न जानु जोखिमपूर्ण काम हो,’ स्रोतले भन्यो, ‘कम्मरमा डोरी लगाएर खोलामा पस्नुपर्ने हो । त्यसो भएको भए ३/४ मिनेटपछि बाहिरको टोलीले तान्न मिल्थ्यो ।’ सोमबार माछा मार्ने क्रममा बेपत्ता भएका २ युवामध्ये १ को शव निकालेर अर्को शव निकाल्ने क्रममा प्रहरी जवान बलबहादुर कुँवर डुबेका हुन् ।
युवाहरु बेपत्ता भएको घटना सोमबार दिउँसोको हो । सिमसिम पानी परेको थियो । त्यसदिन पोखरा–३, नदीपुरका७युवाले फेवाको मुहानमा बल्छी हान्ने योजना बनाए । उनीहरु चंखपुर हर्पन खोला,जुन फेवातालको मुहान पनि हो, त्यहाँ बल्छी हान्न गए । अलिअलि गर्दै खोला बढ्दै थियो तर उनीहरुले वास्तै गरेनन् । विस्तारै बढेको खोलाले ललित पुन र इन्द्र पुनलाई स्वातै बगायो । अन्य साथीहरु हेरेको हे¥यै भए । उर्लिएको भेलमा होमिएर सहयोग गर्ने आँट कसैको भएन । उनीहरुले आत्तिदै गुहार माग्नबाहेक अरु केही गर्न सकेनन् ।
सहयोगका लागि चिच्याएको सुनेर स्थानीय पनि जम्मा भए । त्यतिवेलासम्म खोलाले ठूलै रुप लिइसकेको थियो । उनीहरुले वडा प्रहरी कार्यालय बैदाममा खबर गरे । बैदामबाट प्रहरी टोली तुरुन्तै घटनास्थल पुग्यो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय र युवाका आफन्तसमेत मिलेर सोमबार अबेरसम्म खोजी गर्दा पनि हराएका युवाको अत्तोपत्तो लागेन ।
मंगलबार बिहान पनि खोजी जारी रह्यो । सोमबार जहाँबाट बगाएको थियो, त्यही केन्द्रित रहेर टोली खोज्न सुरु ग¥यो । खोजीका लागि पश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट विपत व्यवस्थापन समूह पनि पुगेको थियो । टोलीमा हवल्दार श्यामकान्त श्रीवास्तव, प्रहरी जवानद्वय जीवन चौधरी र बलबहादुर कुवँर थिए ।
बिहान करिब साढे ७ बजे टोलीलेचंखपुर, हर्पनखोलामा ललितको शव भट्टायो । ललितको शव निकालेको केहीबेरमा इन्द्रको शवपनि सोही नजिकै देखियो । पानीमा डुबुल्की हानेका प्रहरी जवान कुँवरले अर्का युवा इन्द्रको शव गडेको अवस्थामा देखे । कुवँरले पानीबाट बाहिर निक्लिएर टोलीलाई शवको अवस्थाबारे जानकारी गराए ।
शव निकाल्न कुँवरले दोस्रोपटक डुबुल्की हाने । दोस्रोपटक शव निकाल्न जाँदा कम्मरमा डोरी लगाउनुपर्नेमाउनले त्यस्तो गरेनन् । १ को शव सजिलै निकालेको टोलीले इन्द्रको शवपनि भेटेपछिउद्धारसकियो भन्ने ठानेको थियो । टोलीका सदस्यले सन्तोषको लामो सास फेरे ।
तर इन्द्रको शव दलदलमा गडेको थियो । कुँवरले पानीभित्र गएर इन्द्रको शव समातेर ताने तर निकाल्न सकेनन् । कुँवरलेसतहमा जोड लगाएर समातेर मात्र के तानेका थिए,शव आउनु त परै जाओस्, उल्टो कुँवरपनि भित्रै दलदलमै फसे ।दुर्भाग्यवस, कुँवर त्यहाँबाट निक्लिनसकेनन् । यसअघि शव लिएर २–३ मिनेटमा सजिलै बाहिर निस्किएका कुँवर ५ मिनेटसम्मपनि बाहिर आएनन् ।
अर्काे दुर्घटनाको आशंका गर्दै चौधरीलेपानीमा डुबुल्की मारे । उनले इन्द्रकै छेउमा कुँवर पनि हल्लिइरहेको देखे । चौधरीले कुबँरलाई बाहिर निकाले ।गम्भीर अवस्थाका कुबँरलाई उपचारका लागि तुरुन्तै गण्डकी मेडिकल कलेज पु¥याइयो । पर्वतको कुश्मा–१२ घर भएका कुँवरको उपचारका क्रममा मृत्यु भयो ।
पानीमा डुबेका कुँवरको उपचारको क्रममा मृत्यु भएको पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्ता एसपी वसन्तबहादुर कुवँरले बताए ।
‘ललितको शव निकालेर इन्द्रको शव निकाल्ने क्रममा डुबे,’ उनले भने, ‘इन्द्रको तौल पनि धेरै थियो, त्यसैमाथि दलदलमा परेका कुवँरलाई बाहिर निक्लन गाह्रो भयो ।’मंगलबार नै कुवँरको शव पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले बताए । ‘घटनाबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘कुवँरको शव आफन्तले बुझिसकेका छन् ।’