इङ्ल्यान्डले आजबाट सुरु हुने दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा कुनै खेलाडी परिवर्तन गरेको छैन्।
ट्रेन्ट ब्रिज टेस्टका लागि टोलीको घोषणा भएपछि कप्तान जोए रुटले खुसी व्यक्त गरे। ‘अहिलेको टिमले जहाँ पनि राम्रो खेल्ने दम राख्छ,’ उनले भने। इङ्ल्यान्डले लर्डस टेस्ट २ सय ११ रनले जितेर १–० को अग्रता बनाइसकेको छ। मोइन अलीको घातक स्पिनको अगाडि अफ्रिकी टोली लडखडिएको थियो। उनले १० विकेट लिएका थिए।
दोस्रो टेस्टका लागि टोलीको घोषणा भएपछि मिडलसेक्सका बलर टोबी रोलान्ड–जोन्सले मौका पाउने सम्भावना समाप्त भयो। तीन जना सिमबलर जेम्स एन्डर्सन, स्टुअर्ट ब्रोड र मार्क उड, जसले पहिलो टेस्टको दोस्रो इनिङमा १० ओभर मात्र बलिङ गरेका थिए, उनीहरुलाई पुनः निरन्तरता दिइएको छ।
यसबाहेक पनि इङ्ल्यान्डले ओभल र ओल्ड ट्राफोर्डमा दुई वटा टेस्ट खेल्नेछ। दक्षिण अफ्रिकी टिममा कप्तान फाफ डु प्लेसिस फर्किएका छन्। उनी आफ्नो बच्चाको जन्म भएपछि पहिलो टेस्ट छोडेर अफ्रिका उडेका थिए। कप्तान डु प्लेसिस फर्किएपछि जेपी डुमिनीले स्थान गुमाउने लगभग पक्का छ।