यहाँको त्रिवेणी नलगाड नगरपालिका–१ की शीतली कामीले राहत नपाएको भन्दै प्रशासनमै उजुरी गरेकी छन्।
द्वन्द्वमा ज्यान गुमाएका छोरा वीरबहादुर विकका नाममा आएको राहत सौतेनी छोरा लालबहादुरले बुझ्ने गरेको उनको गुनासो छ। वीरबहादुर भेरी नगरपालिका–१ का टिके कामीका छोरा हुन्। टिकेले शीतली र झुमादेवीलाई विवाह गरेका थिए। टिकेको मृत्युपछि शीतलीले दोस्रो विवाह गरेकी हुन्।
राहत पाउने हक सौतेनी भाइ लालबहादुर नभई आमालाई भएको शीतलीको दाबी छ। यही विषयमा झुमादेवीका छोरा लालबहादुर र शीतलीबीच विवाद बढेको छ। जिल्ला प्रशासन कार्यालयमा राहतको दाबी गर्दै दिनहुँ यस्ता उजुरी पर्ने गरेका छन्।
त्यस्तै, भेरी नगरपालिका–२ डिङाकी कालिका चन्दले पनि द्वन्द्वपीडित राहतका लागि धेरै प्रयत्न गरिन् तर पाउन सकेकी छैनन्। उनका भाइ सेतीरामको सशस्त्र द्वन्द्वमा ज्यान गएको थियो । सेतीरामकी दिदी कालिकाबाहेक नजिकका हकदार कोही छैनन्। तर सेतीरामका नाममा आउने राहत रकम ठूलाबुबा खम्बु चन्दले बुझ्ने गरेका छन्। उक्त राहत आफूले पाउनुपर्ने भन्दै कालिकाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी छन्। सेतीरामका नाममा आएको पाँच लाख रुपैयाँ राहतका लागि खम्बु र कालिकाबीच विवाद चुलिएको छ।
मृतकका नाममा आएको पाँच लाख राहत आफन्तबीच तानातान हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए। नजिकका हकदार कोही नहुनु, आमाबाबुको मृत्यु हुनु, नाबालकको उमेर नपुग्नु, दोस्रो बिहे गर्नुलगायत कारणले आफन्तबीच राहत तानातान हुने गरेको उनले बताए।
‘कतिपय आमा तथा पत्नीले दोस्रो विवाह गर्दा उनीहरूको नाममा आउने राहतका लागि छोराछोरीले उमेर पुगेपछि विवाद गर्ने गरेका छन् । दोस्रो विवाह गर्ने आमा राहतको हकदार हुन नसक्ने भन्दै विवाद भएको छ,’ उनले बताए।
काकाबाबा र दोस्रो विवाह गरेकाले पनि राहतमा दाबी गर्दा वास्तविक पीडितले राहत पाउन नसकेको शर्माले बताए। राहतका लागि विवादित बनेका हकवालाको बैंक खाता रोक्का गरेको उनले बताए। रासस