झाडा पखाला र हैजाको संक्रमण फैलिएको वीरगञ्ज महानगरपालिकाले उपचारमा सतर्कता अपनाउन आग्रह गरेको छ।
उपचारका नाममा अनावश्यक परीक्षण र औषधीजन्य सामग्री वितरण नगर्न महानगरपालिकाले आग्रह गरेको हो।
महानगर प्रमुख राजेशमान सिंहले प्रभावित क्षेत्रमा जथाभावी औषधीजन्य सामग्री वितरण नगरी ‘एकद्वार नीति’ अवलम्बन गर्न आग्रह गरे। हैजालाई 'हौवा' बनाएर व्यापार नगर्न उनको सुझाव छ।
केही स्वास्थ्य संस्थाले परीक्षणको नाममा किट बिक्री गर्ने प्रयास गरेको सूचना आफूले पाएको भन्दै उनले आवश्यक किट महानगरले नि:शुल्क उपलब्ध गराउने स्पष्ट पारे।
‘किटहरू मगाउने कुरामा सरोकारवाला निकायले अंकुश लगाउनुपर्ने देखिन्छ, कमाउने खाने भाँडा नबनोस्, निजी अस्पताल, नर्सिङ होमलाई यसअघि पनि भनेका छौं,’ महानगरप्रमुख सिंहले भने, ‘रोग थाहा लागिसक्यो, औषधि के चलाउने भन्ने तय भइसक्यो। तै पनि परीक्षणका लागि किट चाहिन्छ भने हामीले उपलब्ध गराइदिन्छौं भनेका छौं।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय, विश्व स्वास्थ्य संगठन (डब्लएचओ), युनिसेफ र महानगर स्वास्थ्य शाखाका प्रतिनिधिहरू लगायत निकायका प्रतिनिधिहरूसँग सोमबार भएको छलफलमा झाडा पखाला तथा हैजा नियन्त्रणका सबै कार्य एकीकृत प्रयासमार्फत् गर्नुपर्ने बताए।
स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले सरकारी स्वास्थ्य संस्थालाई नै उपचारको मुख्य केन्द्र बनाउन आग्रह गरे।
उनले निजी स्वास्थ्य संस्थाले पनि झाडा पखालाजन्य रोगको उपचारका लागि समान मापदण्ड अपनाउनु उपयुक्त हुने सुझाव दिए।
महानगरको समन्वयमा मन्त्रालयको टोलीले निजी अस्पतालहरूको अनुगमन गरेको छ। उनीहरूले आइसियुमा उपचाररत बिरामीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका छन्।
स्वास्थ्य सेवा विभागका सरूवा रोग शाखाका प्रमुख डा. प्रविण झाले हैजाको परीक्षण बारम्बार गर्न आवश्यक नभएको बताए।
'एउटा बिरामीमा हैजा पुष्टि भइसकेपछि, त्यस्तै लक्षण देखिएका अन्य बिरामीको परीक्षण गर्नुपर्दैन, उपचारमा ध्यान दिनुपर्छ,' उनले भने।
युनिसेफका विज्ञ बोध नारायण श्रेष्ठले पानीको गुणस्तर जाँचलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिए।
‘संघीय, प्रादेशिक कार्यालयले नमूना संकलन गरेर लगेका छन्। खानेपानी संस्थानसँग परीक्षण गर्ने किट छ। कहाँ कति परीक्षण गरियो, के रिपोर्ट आयो? त्यो तथ्यांक आइसकेको छैन,’ उनले भने, ‘महानगरपालिकाको आफ्नै प्रयोगशाला छ, त्यसैलाई व्यवस्थित बनाउनुपर्छ। संघीय वा प्रदेशबाट आउने प्राविधिक र उपकरण यही प्रयोग गरौं।’
महानगरपालिकामा ३२ वटा वडा छ। वडा नं १ देखि १६ नम्बरसम्म जनघनत्व बढी भएका सहरी १६ वटा वडालाई जोखम क्षेत्र मानिएको छ।
ती वडाका स्वास्थ्य संस्थालाई न्यूनतम जनशक्तिलाई राखेर बाँकी स्वास्थ्यकर्मीलाई संक्रमण नियन्त्रणमा खट्न आग्रह गरिएको महानगरपालिकाले जनाएको छ।
वडा नं १७ देखि ३२ स्थित स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई बिरामीलाई सकेसम्म सहर नपठाउन आग्रह गरिएको छ।
वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले स्वास्थ्य संस्थालाई ‘नो रिफर’ नीति अपनाउन आग्रह गरिएको बताए।
‘जो जहाँ भर्ना भएको छ, त्यही उपचार गर्ने र घर फर्काउने भन्ने सहमति भएको छ,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णले भने।
आवश्यक परे १ हजार जना अटाउने होल्डिङ सेन्टरलाई ‘वैकल्पिक उपचार केन्द्र’ बनाउने तयारी गरिएको उनले बताए।
‘उपचार सेवा सुलभ र जनताले राहतको अनुभूति गर्न पाउने किसिमले हुनुपर्छ। कुनै पनि अस्पतालमा बिरामीले उपचार पाइनँ भनेर सुन्न नपरोस् भनेर निर्देशन दिइसक्नुभएको छ,’ कर्णले भने, ‘निजी अस्पतालमा स्थिति के छ? बिरामीसँग पैसा नभएर उपचार नपाएको स्थिति पो छ कि? उपचारको नाममा अनावश्यक चेकजाँच पो भइरहेको छ कि? हामीले चासो राखेका छौं।’
संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सचेतना जगाउन वीरगञ्ज महानगरपालिका, नेपाल रेडक्रस सोसाइटी लगायतले स्वयं सेवक परिचालन गरेका छन्।
वीरगञ्ज महानगरपालिकामा झाडा पखाला र हैजा समुदायस्तरमा फैलने क्रम रोकिएको छैन।
जिल्ला स्वास्थ्य कार्यालय पर्साले दिएको जानकारी अनुसार वीरगञ्जका ६ वटा वडामा झाडा पखालाका बिरामी देखिएका छन्। १ सय ३ जना बिरामी वीरगञ्जका विभिन्न अस्पतालमा भर्ना भएका छन्। जसमध्ये २२ जना आइसियूमा राखिएका छन्।
र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट परीक्षण गर्दा ७९ जनामा हैजा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
वडा नं १२ बाट सुरु भएको संक्रमण वडा नं ११, १३, ३, १० र १६ मा पनि फैलिएको छ।