चिकित्सा शास्त्रको स्नातकोत्तर तहमा मेरिटका आधारमा विद्यार्थी भर्ना नगर्ने भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको सम्बन्धन खारेज गर्न चिकित्सकहरुका संघसंस्थाले माग गरेका छन्।
विभिन्न १० वटा संस्थाले शुक्रबार संयुक्त विज्ञप्ति निकाल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको असार २२ गतेको पत्र अनुसार युनिभर्सल मेडिकल कलेजको सम्बन्धन खारेजीको माग गरेका हुन्।
माग सम्बोधन नभए उनीहरुले आन्दोलनमा जाने चेतावनी दिएका छन्।
'समग्र राज्यप्रणालीले आदेश र निर्देश दिँदा पनि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसले तिनको धज्जी उडाउँदै मेरिटका विद्यार्थीहरु तोकेको शुल्कमा भर्ना गर्न अस्वीकार गर्दै विद्यार्थीलाई विभिन्न शीर्षकमा मात्रा नखुलाइएको थप शुल्क लिन सक्ने बेहोराको कागजमा सहि गराउने कोशिस गरेको छ,' विज्ञप्तिमा उल्लेख छ, 'तसर्थ मन्त्रिपरिषद कार्यालयको असार २२ कै निर्देशनात्मक आदेश अनुरुप उक्त कलेजको सम्बन्धन खारेजीको प्रक्रिया तत्काल अगाडि बढाउन सम्पूर्ण सम्बन्धित निकायहरुसंग जोडदार माग गर्दछौँ। यो माग सम्बोधन नभएमा हामी सम्पूर्ण कडा भन्दा कडा आन्दोलनमा उत्रिन बाध्य हुने छौँ।'
मन्त्रिपरिषद् कार्यालयले सात दिन भित्र मेरिटका आधारमा विद्यार्थी भर्ना नगर्ने मेडिकल कलेजको सम्बन्धन खारेजी गर्ने चेतावनी दिँदै असार २२ गते विज्ञप्ति जारी गरेको थियो।
असार २९ सम्म एमडीका लागि भर्ना गर्ने अन्तिम दिन थियो। तर यूनिभर्सल कलेजले मेरिटका आधारमा विद्यार्थी गर्न मानेको थिएन।
हेर्नुस बिज्ञप्ति