किताब चर्चा
सन् १९८९ को गृष्म याममा फ्रान्सिस फुकुयामाको एउटा लेखले वासिङ्टनको तापक्रम ह्वात्तै बढाइदियो।
न्यूयोर्कमा फेसन पत्रिकाको नयाँ अंक आउँदा जति चर्चा हुन्छ, वैदेशिक नीतिका लेख–रचनाले वासिङ्टनमा त्यस्तै बहस ल्याउँछ।
अझ त्यो लेख्ने मान्छे फुकुयामाजस्ता राजनीतिशास्त्री, अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता र अमेरिकी विदेश मन्त्रालयका उपनिर्देशक हुन् भने त आँखाकान त्यसै चनाखा।
‘द नेसनल इन्ट्रेस्ट’ भन्ने जर्नलको १६ औं अंकमा प्रकाशित आवरण लेखको शीर्षक थियो– ‘एन्ड अफ हिस्ट्री?’
अर्थात्, ‘इतिहासको अन्त्य?’
लेखको शीर्षकले नै सबैलाई छक्क पार्यो। के भन्दैछन् फुकुयामा? कुन इतिहास अन्त्यको आकलन गर्दैछन् उनी?
सहश्राब्दीको पूर्वसन्ध्यामा यी ३६ वर्षीय राजनीतिक विचारक कतै संसारलाई अशुभ भविष्यको संकेत त दिँदै छैनन्?
यो लेखको बीजारोपण त्यसै वर्ष फेब्रुअरीमा भएको थियो।
त्यतिबेला र्यान्ड कर्पोरेसनमा सोभियत वैदेशिक नीति विशेषज्ञका रूपमा कार्यरत फुकुयामा सिकागो विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धमाथि प्रवचन दिँदै थिए।
दुई महिनाअघि सन् १९८८ डिसेम्बर ७ मा मिखाइल गोर्वाचोभले राष्ट्रसंघमा मन्तव्य दिँदै भनेका थिए, ‘अब सोभियत संघले पूर्वी युरोपेली राज्यका आन्तरिक मामिलामा हस्तक्षेप गर्ने छैन।’
गोर्वाचोभको अभिव्यक्ति शीतयुद्ध अन्त्यको सुरुआत थियो।
सोभियत संघबाट टुक्रिएका पूर्वी युरोपेली राज्यहरूले उदार लोकतन्त्रको बाटो समाउन सक्थे।
फुकुयामाले आफ्नो प्रवचनमा ‘सोभियत विघटनपछि उदार लोकतन्त्रको विश्वव्यापीकरण हुने’ भविष्यवाणी गरे।
यो भविष्यवाणी वासिङ्टनबाट प्रकाशित हुने नवअनुदारवादी जर्नल ‘द नेसनल इन्ट्रेस्ट’ का सम्पादक ओवेन ह्यारिसलाई जच्यो।
उनले प्रवचन छाप्न फुकुयामालाई प्रस्ताव राखे।
‘सोभियत संघ विघटनपछि उदारवादको सैद्धान्तिक विकल्प बाँकी रहेन,’ आफ्नो सोह्र पृष्ठको प्रवचन–लेखमा फुकुयामा भन्छन्।
‘सत्तरी वर्षदेखि समाजवाद र साम्यवादको विचारधारालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्दै आएको सोभियत संघ टुक्रिएको छ। दोस्रो विश्वयुद्धले जसरी फासीवाद पराजित गर्यो, सोभियत संघ विघटनपछि समाजवाद र साम्यवाद पनि अन्त्य भएको छ।’
‘हामी मानवीय सैद्धान्तिक विकासक्रमको अन्तिम विन्दुमा छौं,’ उनी तर्क गर्छन्, ‘अबका दिनमा पश्चिमी उदार लोकतन्त्र नै मानव इतिहासको अन्तिम राजनीतिक अवधारणाका रूपमा स्थापित हुनेछ।’
भन्नुको मतलब, संसारभरि जे–जति राजनीतिक अवधारणा अभ्यास गरिए, कालान्तरमा सबै असफल भए।
संयुक्तराज्य अमेरिकाले वकालत र पोषण गर्दै आएको उदार लोकतन्त्र नै सबैतिर सर्वमान्य बन्यो।
अरू दर्शन दपेटिए, पश्चिमी दर्शनको डंका बज्यो।
लेख छापिएको केही साताभित्रै मूलधारका अमेरिकी अखबारहरूले फुकुयामाका विचारलाई प्राथमिक स्थान दिए।
‘न्यूयोर्क टाइम्स म्यागेजिन’ ले उनको ‘प्रोफाइल’ छाप्यो। ‘टाइम’ पत्रिकामा आवरण तस्बिर आयो।
बेलायत र फ्रान्समा पनि प्रशस्त बहस भए। बेलायतको प्रधानमन्त्री कार्यालयले जर्नलको प्रति मगायो। फ्रान्सको एक पाक्षिक पत्रिकाले त विशेष अंक नै निकाल्यो। बिबिसीले उनको अन्तर्वार्ता लिन आफ्नो टोली खटायो।
जापानिज, डच, इटालियन, आइसल्यान्डिक लगायत थुप्रै भाषामा उनको विचार अनुवाद भयो, विमर्श गरियो।
त्यतिबेला वासिङ्टनका एक पत्रिका बिक्रेताको भनाइमा ‘नेसनल इन्ट्रेस्टको उक्त गृष्म अंकको बिक्री पोर्नोग्राफीभन्दा बढी’ थियो।
संसारभरका विद्वान फुकुयामासँग सहमत थिए भन्ने होइन। कतिले उनको विचार सोझै नकारे, धेरैले शंका गरे।
लेख छापिँदा अमेरिकी विदेश मन्त्रालय छिरिसकेका फुकुयामाले ‘बुस डक्ट्रिन’ को वकालत गरेको आक्षेप पनि लाग्यो।
तै शीतयुद्ध अन्त्यपछि उनको विचारले छुट्टै धार कोर्न सफल भयो।
फुकुयामा भाग्यमानी पनि हुन्। लेख प्रकाशित भएको छ महिनाभित्रै विश्व राजनीति त्यसरी नै अघि बढ्यो, जस्तो उनले आकलन गरेका थिए।
सन् १९८९ नोभेम्बर १७ देखि डिसेम्बर २९ सम्म चेकोस्लोभाकियामा शान्तिपूर्ण क्रान्तिबाट सत्ता परिवर्तन भयो। रक्तपातरहित क्रान्तिले पचास वर्ष लामो कम्युनिस्ट सत्ता ढालेर लोकतन्त्र ल्यायो।
सन् १९६१ देखि पूर्वी र पश्चिमी जर्मनीलाई सैद्धान्तिक र भौगोलिक रूपमा छुट्टयाएको बर्लिन पर्खाल ढाल्ने प्रक्रिया त्यसै वर्ष नोभेम्बरमा सुरु भयो।
रूसी क्रान्तिबाट स्थापित सोभियत संघ पनि विभिन्न राज्यमा छिन्नभिन्न हुँदै गयो। फुकुयामाको भविष्यवाणी सही सावित गर्दै सन् १९९१ डिसेम्बर २६ मा सोभियत संघ विघटनको विधिवत् घोषणा गरियो।
संसारभरि उदार लोकतन्त्रका पक्षमा आवाज सल्बलाउन थाले। नेपाल पनि अछूतो थिएन। २०४६ को जनआन्दोलनले तीसवर्षे पञ्चायत ढालेर बहुदल ल्याएको त्यही बेला हो।
चीनको मामिलामा भने फुकुयामाको दलीलले काम गरेन।
आफूलाई ‘साम्यवादी’ भन्ने चीन राजनीतिक र आर्थिक सुधारको बाटोमा हिँड्न थालेको उनको दलील थियो। जबकि, १९८९ को गृष्म याममै बेइजिङको तियानमेन स्क्वायरमा आमनरसंहार गरेर विद्यार्थी आन्दोलन दबाइयो। दस हजारभन्दा बढी मारिए।
यो घटनाले एउटा प्रश्न खडा गर्यो– सोभियत विघटनपछि फुकुयामाले भनेजस्तो इतिहास अन्त्य भएकै हो वा त्यो इतिहासको नेतृत्व चीनतिर सरेको हो?
यसमा फुकुयामाको लेख मौन थियो।
हुनसक्छ उनको लेख मुद्रणमा गइसकेको थियो। तर, त्यसपछिका चर्चा–परिचर्चामा पनि तियानमेन काण्डको प्रसंग उठेन। जबकि, भविष्यमा उदार लोकतन्त्रले सामना गर्नुपर्ने वैचारिक संघर्षको नेतृत्व चीनले गर्ने प्रबल सम्भावना थियो।
चिनियाँ अपवादका बाबजुद उदार लोकतन्त्रको अविच्छिन्न उदयका पक्षमा उभिएका फुकुयामा आफ्नो विचारबाट विस्थापित भएनन्।
बरु उनले आफ्नो विचार पुष्टि गर्न एकपछि अर्को किताब लेखे।
पहिलो किताब सन् १९९२ मा आयो, जर्नलकै शीर्षकमा– ‘एन्ड अफ हिस्ट्री’।
यो किताबले सारा विश्वको ध्यान उदार लोकतन्त्रको पक्षमा सोहोरेर लग्यो।
‘१९८९ को विश्वव्यापी परिवर्तनले व्यक्तिगत प्रधानता स्थापित गरेको छ,’ उनले किताबमा भनेका छन्, ‘यसले अबको बाटो उदार लोकतन्त्र नै हो भन्ने पुष्टि गर्छ।’
नेपालभित्र पनि लोकतन्त्रको खुला हावा बहेको याम थियो त्यो।
हामी जनताबाट नागरिक बनेका थियौं। बहुदलीय प्रजातन्त्रको जग बसाउँदै थियौं। राजनीतिक र आर्थिक रूपले उदार समाज निर्माण गर्दै थियौं। राजनीतिक र आर्थिक स्वतन्त्रताको आधार भनेकै व्यक्तिगत स्वतन्त्रता हो भन्ने विचार घनिभूत हुँदै थियो।
त्यति बेला मलाई यो किताब पढ्दा नवीन लाग्यो। राजनीतिशास्त्र बढीजसो तथ्यांकमा आधारित हुन्छ, ‘एन्ड अफ हिस्ट्री’ भने विचारप्रधान थियो।
निराशावादी दर्शनको बोलबालामा फुकुयामा उदार लोकतन्त्रको उज्यालो लिएर आएका थिए।
उनको विश्लेषण अठारौं शताब्दीका जर्मन दार्शनिक जर्ज विल्हेम फ्रेडरिक हेगलको विचारधाराबाट प्रेरित छ।
मान्छेको वैचारिक द्वन्द्व स्वतन्त्रता प्राप्तितर्फ लक्षित रहन्छ र यही स्वतन्त्रता निम्ति राज्य निर्माण हुन्छ भन्ने हेगलको मान्यता थियो। मार्क्सको द्वन्द्वात्मक भौतिकवाद हेगलकै सिद्धान्तमा आधारित छ।
हेगलको दृष्टिमा राज्य भनेको स्वतन्त्रताको उत्कृष्ट समागम हो।
‘विभिन्न परिस्थितिबाट गुज्रिएर आएको मानव सभ्यताले स्वतन्त्रता प्राप्त गर्ने उत्कृष्ट माध्यमका रूपमा राज्य रचना गर्छ,’ उनी भन्छन्।
परम्परागत परिकल्पनाअनुसार एक समुदायमा एक जात वा एक भाषाका मानिस हुन्थे। राज्यमा धेरै जातजाति र भाषाभाषीका समुदाय एकैठाउँ बस्छन्।
जब समाज बहुलताबाट एकात्मकतातिर जान्छ, मानव सभ्यताले सही स्वरूप पाउँछ र पूर्ण स्वतन्त्रता उपभोग गर्छ भन्ने हेगलको धारणा थियो।
हेगलको यो विचारबाट फुकुयामा कसरी प्रभावित भए त?
कुनै पनि परम्परा र संस्कृति पुरानोबाट नयाँ पुस्तामा सर्दै आएझैं हेगलको दर्शन गुरूबाट चेलामा हस्तान्तरण हुँदै आएको पाइन्छ।
रूसी मूलका फ्रेन्च विचारक थिए, एलेक्जेन्डर कोजेभ। उनी १९३० दशकमा हेगलका विचारबारे गोष्ठी गर्थे। उनका दर्शन पढ्थे, पढाउँथे।
जँ पल सात्र, लियो स्ट्राउस, मरिस मोर्लु पोन्टी, रोमेन्ट एरोन, माइकल फुको, ज्याक्स लकां लगायत प्रभावशाली विद्वान कोजेभकै विद्यार्थी हुन्।
कोजेभ र लियो स्ट्राउस दुवैका विद्यार्थी थिए, एलेन बुम, जो फुकुयामाका गुरू हुन्।
इतिहास निश्चित दिशामा अघि बढ्दै जाँदा हामी सबै समाहित हुने उच्चतम विन्दुको राज्य स्थापित हुन्छ भन्ने कोजेभको धारणा थियो।
‘त्यस्तो राज्यमा मात्र मानवीय चेतनाले अभिव्यक्ति पाउँछ,’ उनी भन्थे।
हेगल र कोजेभले विभिन्न समुदाय राज्यको एकात्मक स्वरुपमा एकाकार हुनुलाई इतिहासको अन्त्य भनेका छन्। यही दर्शनका आधुनिक र परिस्कृत रूप हुन्, फुकुयामा।
त्यसो भए के सोभियत विखण्डनलाई नै हामी इतिहासको अन्त्य मान्न सक्छौं?
के फुकुयामाले भनेझैं उदार लोकतन्त्र निर्विवाद र निर्विकल्प नै हो?
के यही एउटा किताब वा दर्शन हाम्रो समयका घटनाक्रम बुझाउन पर्याप्त छ?
पश्चिमी समाज एउटा ठूलो किताब वा ठूलो दर्शनमा टिकेको हुन्छ। जसलाई ‘ग्रेट आइडिया बुक’ भनिन्छ। जसले छरिएको समाज बाँध्न मियोको काम गर्छ।
यस्तो किताब वा दर्शन सबैले मानेका विद्वानले लेख्छन्। सबै किसिमका ज्ञान एकैठाउँ समावेश गरिन्छ। जसको मूल उद्देश्य हाम्रो जटिल वास्तविकता बुझाउनु, बुझ्नु वा निर्देशित गर्नु हो। ताकि, एउटा सूत्र पढेपछि ज्ञानका अरू ढोका खुल्दै जाऊन्।
फुकुयामाको ‘एन्ड अफ हिस्ट्री’ लाई पनि ‘ग्रेट आइडिया बुक’ कै रूपमा लिइएको थियो। जसले तत्कालीन विश्व राजनीति, दर्शन र इतिहासको चर्चा गर्दै उदार लोकतन्त्रलाई संसार जोड्ने निर्विकल्प सूत्र सिफारिस गर्छ।
के अमेरिकीहरूले ‘ग्रेट आइडिया बुक’ को मान्यता दिएर बाइबलको दर्जामा राखेको ‘एन्ड अफ हिस्ट्री’ ले बताएकै सूत्रमा संसार चल्यो त?
किताब प्रकाशित भएका केही वर्ष फुकुयामाले देखेकै बाटोमा संसार हिँड्यो, तर यो क्रम सधैं रहेन।
जुन सोभियत संघ विखण्डनलाई फुकुयामाले उदार लोकतन्त्रको जित मानेका थिए, त्यसबाट जन्मेका गणराज्यहरू उनले भनेको बाटोमा हिँडेनन्।
सबभन्दा ठूलो रुसी गणराज्य नै लोकतन्त्रको साटो अधिनायकवादी मार्गमा हिँड्यो।
किताब छापिएकै वर्ष तियानमेन नरसंहारबाट अधिनायकवादी कम्युनिस्ट सत्ता टिकाएको चीन पनि फुकुयामाको आकलन असत्य सावित गर्दै लोकतन्त्रबाट टाढिँदै गयो।
चीनमा अर्थतन्त्र चम्किएको छ, लोकतन्त्रले लय समात्न सकेको छैन।
कुण्ठित राजनीतिक अधिकारले चीनको आर्थिक रफ्तार भने कुण्ठित पारेन। आर्थिक उन्नतिमा अमेरिकालाई नै चुनौती दिँदैछ।
चीनको फड्को नाप्दा फुकुयामाको अवधारणा सही ठहर्याउने कि गलत?
सोभियत विघटनपछि फुकुयामाले निर्विकल्प भनेको उदार लोकतन्त्रको वैकल्पिक धारले कतै चीनको बलियो नेतृत्व त पाएन?
यति मात्र होइन, संसारभरि अधिनायकवादी र सर्वसत्तावादी राजनीतिक चिन्तन हाबी छ।
चाहे त्यो अमेरिकामा डोनाल्ड ट्रम्पको उदय होस् वा भारतमा हिन्दु कट्टरवादी नरेन्द्र मोदी।
युरोपेली समुदायबाट बेलायतको बहिर्गमन होस् वा टर्कीमा रेजेप ताइप एड्रोगानको जित।
नब्बे दशकमा स्थापित उदार लोकतन्त्रहरू पनि असमानता र राजनीतिक अस्थिरताको जगजगीमा जेलिँदै गएको हामी पाउँछौं।
‘एन्ड अफ हिस्ट्री’ प्रकाशित भएको तीस वर्षका घटनाक्रम हेर्ने हो भने फुकुयामाको किताब कुनै अर्कै ग्रहका लागि लेखिएको थियो कि भन्ने लाग्न सक्छ।
यहाँनिर फुकुयामालाई फेरि भाग्यमानी मान्नुपर्छ।
सर्वसत्तावाद हाबी हुँदै गएका बेला पनि संसारलाई दिशानिर्देश गर्न उदार लोकतन्त्रजस्तै अर्को एकल विचारधारा जन्मेको छैन।
पुँजीवादको विकल्पमा सोभियत संघले अभ्यास गरेको समाजवाद र साम्यवादको असफलतापछि जन्मेको उदार लोकतन्त्रलाई चुनौती दिनसक्ने विचारधारा नआउनुले फुकुयामालाई गलत ठहर्याउने आधार देखिँदैन।
फुकुयामाकै गुरू प्राध्यापक सामुल पी हन्टिङ्टनले सन् १९९३ मा उनको अवधारणालाई चुनौती दिएका थिए।
अमेरिकी राजनीतिशास्त्री हन्टिङ्टनले शीतयुद्धपछिको विश्व व्यवस्था आकलन गर्दै ‘क्ल्याश अफ सिभिलाइजेसन’ लेखे। जसमा उनले सभ्यता वा धार्मिक द्वन्द्वलाई उदार लोकतन्त्रको चुनौती भनेका छन्।
‘सोभियत विघटनपछि पश्चिमी समाजको आधिपत्यलाई इस्लामले अवरोध गर्नेछ,’ उनको भनाइ छ, ‘आगामी द्वन्द्व इस्लामसँग हुनेछ।’
उनको विचारमा, जसरी पुँजीवाद र साम्यवादबीच द्वन्द्व थियो, त्यसको स्थान संसारका प्रमुख सभ्यताहरूले लिनेछन्।
यसमा ल्याटिन अमेरिकी, इस्लाम, चिनियाँ, हिन्दु, परम्परागत, जापानी र अफ्रिकी सभ्यता पर्छन्। यो द्वन्द्वमा धर्मको भूमिका अहम् हुनेछ।
‘पश्चिमी राष्ट्रहरूले उदार लोकतन्त्रको विश्वव्यापीकरणभन्दा सांस्कृतिक रूपले बलियो हुन जोड दिनुपर्छ,’ हन्टिङ्टन भन्छन्, ‘सभ्यताबीचको द्वन्द्व पहिचान गर्न नसके पश्चिमी आधिपत्य गुम्नेछ।’
हन्टिङ्टनको विचारधाराले फुकुयामाको उदारवादी दर्शनसँग असहमति राख्छ।
उनले फुकुयामाको किताबलाई सोझै लक्ष्य नगरे पनि शीतयुद्धपछि विश्व व्यवस्थाको विकासक्रम हेर्ने गुरू–चेलाको दृष्टिमा प्रस्ट दुरी देखिन्छ।
कालान्तरमा घटनाक्रम पृथक दिशातिर मोडिन थालेपछि फुकुयामा आफ्नो अध्ययन चुस्त–दुरुस्त पार्नतिर लागे।
आलोचकहरूसँग अनावश्यक बहस गरेनन्, बरु शान्त भएर अनुसन्धानमै केन्द्रित रहे र किताब लेखनलाई निरन्तरता दिइरहे।
सन् २०११ मा प्रकाशित ‘दि ओरिजिन्स अफ पोलिटिकल अर्डर’ मा फुकुयामाले मानव समाज कसरी राज्यमा रूपान्तरण भयो भन्ने चर्चा गरेका छन्।
हाम्रो प्रमाणित इतिहास वा हामीले कल्पना गर्न सक्ने अतीतमा राज्य सबभन्दा अगाडि आउँछ।
हाम्रो दैनिक जीवनमा राज्यको उपस्थिति वा महत्व यति व्यापक छ, हामी राज्य बन्नुअघि पनि समाज थियो भन्ने कल्पना गर्न सक्दैनौं।
जसरी नेपालका प्राचीन राज्यहरूको इतिहास पढ्छौं, राज्य बन्नुअघिको समाजबारे खासै अध्ययन छैन।
जसरी ग्रिक गणराज्य कसरी बन्यो भन्ने ग्रिक इतिहासले भन्छ, ग्रिक समाज राज्यमा परिणत भएको वर्णन कमै पाइन्छ।
चाणक्यबारे पढ्दा पाटलीपुत्र राज्यको थिति थाहा हुन्छ, तर खोई त पाटलीपुत्र बन्नुअगाडिको समाज?
अमेरिकाको इतिहास हेर्ने हो भने, दुई सय पचास वर्षअघिसम्म त्यहाँ राज्य थिएन, स–साना समाज थिए। अमेरिकी क्रान्तिले ती समाजलाई राज्यको रूप दियो।
समाजशास्त्री तथा मानवशास्त्रीहरू सभ्यताको कथा भन्न सिक्काको कुरा गर्छन्। शिलापत्रमा कुँदिएका अक्षर र आकृति उक्काउँछन्।
सिक्का र शिलापत्र भनेका राज्यका अवशेष हुन्। समाज त्योभन्दा अगाडिको परिस्थिति हो, जुन हाम्रो इतिहास र कल्पनाबाटै विस्मृत छन्।
उन्नाइसौं शताब्दीको प्रारम्भमा फ्रेन्च राजनीतिशास्त्री एलेक्स डे टकभिलले यस्तै किताब लेखेका थिए– ‘डेमोक्रेसी इन अमेरिका’। जसले अमेरिकी क्रान्तिपछि स–साना समुदाय राज्यमा रूपान्तरण भएको वर्णन गर्छ।
टकभिलले समाज राज्यमा रूपान्तरण हुँदाको संक्रमणलाई आफ्नो किताबमा जसरी उनेका छन्, त्यस्तै चित्रण फुकुयामाको किताबमा पाइन्छ।
फुकुयामाले राज्य बन्नुभन्दा पहिलेको समाज प्राकृतिक अवस्थामा थियो भनेका छन्।
अर्थात्, बलियोले निर्धोलाई सिध्याउने र रजाइँ गर्ने।
उनका अनुसार जंगलको घाँसे मैदानमा हुल बाँधेर शिकार खेल्न निस्कने मानव समूहलाई विभिन्न आस्थाले जोडेको हुन सक्छ।
कालान्तरमा यही आस्थाले धार्मिक रूप लियो।
समान आस्था राख्ने समुदायमा जब आफूभन्दा फरक समुदायमाथि विजय प्राप्त गर्ने लालसा बढ्यो, उनीहरूले लडाकू समूह बनाएर आक्रमण गरे। विजयीले हारेकाहरूलाई संरक्षणको प्रत्याभूति दिँदै शासन गर्न थाले।
एकले अर्कोमाथि गर्ने शासनबाटै राज्य जन्मियो।
समुदायका तुलनामा राज्य व्यवस्थित र दीगो थियो। समुदायमा नेताको मृत्युपछि सदस्यहरू तितरबितर हुन्थे। बलियोले हत्याहिंसाकै माध्यमबाट नेतृत्व हत्याउनुपर्थ्यो।
राज्यमा भने नेता चुन्ने विधान बन्यो।
यसले समुदायका सदस्यमा बाँच्ने र जीविका गर्ने स्वतन्त्रता प्रत्याभूत भयो।
व्यवस्थित कृषि, सिँचाइ, वर्ण र जातिका आधारमा पनि समुदायहरू राज्यमा बाँधिएका उदाहरण छन्।
समाज जब राजनीतिक रूपले संगठित हुन थाल्यो, त्यसलाई बाँध्न थिति बसालियो। त्यही थिति कालान्तरमा कानुन र राजनीतिक संस्थाका रूपमा विकसित भए।
‘कानुनले राज्यमा सुनिश्चितता र स्थायित्व ल्यायो,’ फुकुयामा भन्छन्, ‘समुदायमा परिवार नै प्रधान हुन्थ्यो। मान्छेहरू आफू र आफ्नो परिवारको भलाइका बारेमा मात्र सोच्थे। राज्यले भने सबैलाई नियममा बाँधेर मानवीय समृद्धितर्फ आकर्षित गर्यो।’
समाजबाट राज्यतर्फको रूपान्तरणले तीनवटा थिति बसाउँदै लगेको फुकुयामा विश्लेषण गर्छन् — बलियो राज्य, कानुनी शासन र जनउत्तरदायी सरकार।
यी तीनैवटा थिति आज पनि सर्वस्वीकार्य भएकाले उदार लोकतन्त्र निर्विकल्प रहेको उनी दोहोर्याउँछन्।
‘उदार लोकतन्त्रको अवधारणामा जतिसुकै प्रश्न उठे पनि राज्य आजको वास्तविकता हो भन्ने कसैले नकार्न सक्दैन,’ फुकुयामा भन्छन्, ‘बलियो राज्य, कानुनी शासन र जनउत्तरदायी सरकार मान्नु भनेकै उदार लोकतन्त्रको अवधारणा स्विकार्नु हो।’
त्यसपछि सन् २०१४ मा उनले अर्को किताब लेखे– ‘पोलिटिकल अर्डर एन्ड पोलिटिकल डिके’।
जसमा नेतृत्वको कमजोरी र असमानतालाई उदार लोकतन्त्रको चुनौतीका रूपमा उनले जोडेका छन्।
केही सानो समूहले राज्यका स्रोतसाधन र अर्थतन्त्रमा कब्जा जमाउन थालेपछि कानुनी शासन भुत्ते भएको र लोकतान्त्रिक संस्थाहरू धराशायी हुँदै गएको उनको विश्लेषण छ।
यति हुँदाहुँदै अल्पसंख्यक समुदायको अधिकार रक्षा गर्ने उदार संस्थाका रूपमा राज्यको विकल्प नभएको उनी बताउँछन्।
‘एन्ड अफ हिस्ट्री’ लेखेको दुई दशकपछि प्रकाशित यी दुई किताबबाट के बुझिन्छ भने, फुकुयामा ‘उदार लोकतन्त्र नै संसार जोड्ने अन्तिम दर्शन’ हो भन्ने मान्यताबाट टसमस छैनन्।
यही धार पछ्याउँदै सन् २०१८ मा उनको नयाँ किताब आयो– ‘आइडेन्टिटी’।
सानो आकारको यो किताब ‘एन्ड अफ हिस्ट्री’ कै निरन्तरता हो।
‘मेरो अघिल्लो किताबलाई धेरैले गलत रूपमा बुझेझैं लाग्यो। त्यसका अन्तिम दुई अध्यायमा मैले उदार लोकतन्त्रको अवधारणामा कहाँ–कहाँबाट चुनौती आउनसक्छ भनेर चर्चा गरेकै थिएँ,’ उनी भन्छन्, ‘धर्म, संस्कृति र पहिचानको मुद्दाले उदार लोकतन्त्रमा चुनौती ल्याउन सक्छ भन्ने मेरो आकलन थियो।’
पछिल्लो समय संसारभरि पहिचानको मुद्दा प्रबल छ। नेपाल होस्, युरोप वा अमेरिका।
हामी यता जातीय र भौगोलिक पहिचानका कुरा उठाइरहेका छौं, उता अमेरिकी र युरोपेलीहरू आफ्नो पहिचान निम्ति आप्रवासीप्रति अनुदार बनेका छन्।
उदार लोकतन्त्र अंगालेका पश्चिमी मुलुकहरूले जुन ढंगमा आर्थिक विकास गरे, संसारभरबाट त्यहाँ बसाइसराइ बढ्यो।
आप्रवासीहरूले आफूसँगै नयाँ संस्कृति, नयाँ विचार, नयाँ रहनसहन, नयाँ आनीबानी र नयाँ तौरतरिका पनि लिएर गए।
विस्तारै नयाँ समाजमा आफ्नो पहिचान खोज्न थाले। स्वामित्व माग गरे। हैसियतको प्रश्न उठ्यो।
अमेरिकी लोकतान्त्रिक संस्थाहरूले बेहोरेको सबभन्दा ठूलो चुनौती के भने, त्यहाँ अल्पसंख्यकलाई मूलधारमा ल्याउने कोशिस गर्दा बहुसंख्यकले अपहेलित महशुस गर्न थाले।
जब समाज बहुल हुँदै जान्छ, विविध पहिचानले भरिन्छ, राज्यका स्रोतसाधन र नीतिहरूमा समुदायको आ–आफ्नै दाबी र प्रतिदाबी सुरु हुन्छ। यसले राज्य संयन्त्रहरू कमजोर हुँदै जान्छन्।
अमेरिकामा त्यही भयो। डोनाल्ड ट्रम्पको उदयको कारण यही हो।
‘उदार लोकतन्त्रमा सबैलाई आफ्नो कुरा बोल्ने र प्रस्तुत गर्ने अधिकार हुन्छ। तर, सामूहिक समाजका रूपमा बस्न केही यस्ता संयन्त्र निर्माण गर्नुपर्ने हुन्छ, जसले उदार लोकतन्त्रलाई संस्थागत राख्न महत्वपूर्ण भूमिका खेल्छ,’ फुकुयामा पछिल्लो किताबमा लेख्छन्, ‘राज्यका तिनै संयन्त्र जब कमजोर हुँदै जान्छन्, उदार लोकतन्त्र असफल हुने सम्भावना बढेर जान्छ।’
विगतमा उदार लोकतन्त्र वामपन्थी र दक्षिणपन्थीबीच विभाजित थियो। वामपन्थीहरू राज्यको उपस्थिति बढी हुनुपर्छ भन्थे, दक्षिणपन्थीहरू राज्यभन्दा बजारको भूमिका बढी खोज्थे।
आज अधिकांश राज्य पहिचान, आदर्श, निराशा र तनावमा जेलिएका छन्। एकातिर पहिचानको खोजी छ, अर्कातिर खोजेको पाइनँ भन्ने निराशा।
निराशाले तनाव र क्रोध जन्माउँछ। समाजमा चिरा ल्याउँछ।
हरेक व्यक्ति आफ्नो हैसियत स्थापित भएको अनुभूति गर्न चाहन्छ। राज्यले बराबरी व्यवहार गरोस् भन्ने अपेक्षा राख्छ। उनीहरूको एउटै तर्क छ, ‘कि मेरो पहिचान स्वीकार गर, नभए तिमी अर्को पक्षका हौ।’
लोकतन्त्रको चुनौती हिजो पनि अल्पसंख्यकलाई कसरी समाहित गर्ने भन्ने थियो। विरोधीका कुरा कसरी सुन्ने भन्ने थियो। जुन समाजमा विरोधी हुन्न, अल्पसंख्यक हुन्न, जहाँ प्रतिरोध हुन्न, त्यो समाज लोकतान्त्रिक हुनै सक्दैन।
विभिन्न जातजाति, भाषाभाषी र संस्कृति समेटेर बनेको राज्यले बहुलताको मुद्दा सम्बोधन गर्न नसक्नुले नै उदार लोकतन्त्रमा समस्या आएको फुकुयामा तर्क गर्छन्।
नेपालको सन्दर्भमा, हिजोको समय सबै जातजाति, भाषाभाषीलाई समेटेर राज्य बन्यो। अब सबै जातजाति र भाषाभाषीले आफ्नो पहिचान खोजेका छन्। यसलाई राजनीतिक रूपले सम्बोधन गर्नुपर्नेछ। यो सम्बोधन उदार लोकतन्त्रमा मात्र सम्भव छ।
अल्पसंख्यकका चासो र पहिचानको मुद्दा पन्छाएर लग्यौं भने उदार लोकतन्त्र कसरी सुदृढ होला?
उदार लोकतन्त्र नै नरहे अल्पसंख्यकले आफ्नो आवाज कहाँ पाउला? सामूहिकताको कुरा कहाँ उठाउला?
त्यसैले फुकुयामा भन्छन्, ‘बहुलवादी समाजले मात्र उदार लोकतन्त्र धान्न सक्छ, उदार लोकतन्त्रमा मात्र बहुलवादी समाज फल्नफुल्न सक्छ।’
उनले सन् १९८९ मा सुरु गरेको उदार लोकतन्त्रको बहसलाई यसरी २९ वर्षपछि पहिचानको मुद्दासँग जोडेर बिट मारेका छन्।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
तस्बिरहरू: निशा भण्डारी/सेतोपाटी
यी पनि हेर्नुहोस्: