किताब चर्चा
म समय हुँ।
मेरो कुरा सुनेर केही मान्छे चकित हुने छन्। भन्ने छन्, जो कालको मुखमा परिसक्यो, ऊ कसरी बोल्न थाल्यो? तर, यस्तो पनि समय आउँछ, कालले लगिसकेको मान्छेले पनि बोल्नुपर्छ।
जब हाडछालाको जीवित पुतला मृतक भाँती आचरण गर्न थाल्छ, तब मजस्तो मृतकले पनि समयको गर्भबाट निस्केर बोल्नैपर्छ।
मेरो लागि यो संसार नै एउटा युद्धभूमि रह्यो। र, मेरो जीवन भन्नु युद्धभूमिमा वाणहरूको तूणीर। अनेक किसिमका घटनाहरूका वाण जसमा खाँदाखाँद भरिएको छ, त्यस्तो तूणीर!
आज म आफ्नो जीवनको तूणीर सबैका अगाडि खोल्न चाहन्छु। घटनाहरूका एक–एक वाण छर्लंग देखाउन चाहन्छु। वीरताको तराजुमा आफूलाई परख्न चाहन्छु। मातृत्वको मूल्य निश्चित गर्न चाहन्छु। प्राण बाजी लगाउनधरि पछि नपर्ने मित्रताको कसौटीमा आफ्नै परीक्षा लिन चाहन्छु। हार्दिक फोहराले भिजेको वन्धुत्वद्वारा म आफ्नो मूल्यांकन गर्न चाहन्छु।
अन्तरमनबाट आउने एउटा आवाज म घरिघरि सुन्छु। त्यो आवाजबाट ध्यान हटाउने यत्न गर्छु। तर, जसरी हावाको तेज झोंकाले अग्निको ज्वाला निभ्नुको साटो पहिलेभन्दा रापिलो दन्किन्छ, त्यसरी नै मेरो अन्तरमनको आवाज झन् झन् चिच्याउँदै मलाई भन्छ, ‘कर्ण! तँ आफ्नो जीवन–कथा सबैलाई सुनाइदे! ताकि दुनियाँले चिनून् तँ को होस्?’
हो, म कर्ण हुँ। महाभारतको कर्ण।
म समयसँग आफ्नो जीवनको हिसाब माग्दैछु। म जे हुँ, जे थिएँ, त्यसलाई इतिहासले त्यही अर्थमा चिन्यो, कि अनर्थ लगायो?
प्रारब्धले कति न्याय गर्यो मेरो जीवनमाथि? कति अन्याय गर्यो?
तपाईंहरूले महाभारत त पढ्नुभएको होला? वा, सुन्नुभएको?
टेलिभिजनमा त पक्कै हेर्नुभयो होला। बीआर चोपडाले केही दशकअघि लगभग सय भागको टेलिशृंखलामार्फत् ‘महाभारत’ लाई घरघरको अमरकथा बनाइदिए। अचेल ‘युट्युब’ मा पनि हेर्न सकिन्छ।
ती कथाहरूले मेरो जीवनमा न्याय गर्यो वा गरेन, त्यो तपाईंहरूले नै जाँच्ने कुरा हो।
मलाई लाग्छ, मेरो कथा अधूरो रूपमा सुनिएको छ, अधूरै रूपमा बुझिएको छ।
मलाई महाभारतमा सधैं दुर्योधनछेउ उभ्याइयो। उनका हरेक अहंकार र कुकृत्यको साझेदार बनाइयो। द्रौपदीको वस्त्रहरण बेला म मौन साक्षी बनेको सबैले देखे। अभीमन्यूलाई युद्धका सारा नियम तोड्दै वध गरेको पनि सबैले देखे।
यी यस्ता घटना हुन्, जो विषालु वाण बनेर युगौं युगसम्म मेरो परिचय र मेरो अस्तित्वलाई छियाछिया पारिरहनेछन्।
मेरा प्रिय पाठकहरू, तपाईं पनि तराजुको एक पल्लामा यिनै दुई घटनालाई राखेर अर्को पल्लामा मेरो जीवन नतौलनुहोला। यिनै घटनाको कसौटीमा मेरो जीवन नपरख्नुहोला।
त्यस्तै गर्ने हो भने, मेरो कथा नसुने हुन्छ, नपढे हुन्छ।
आज समयका रूपमा मैले आफ्नो जीवन फर्केर हेर्नुको उद्देश्य आत्मालोचना हुँदै होइन। म ती घटनामा आफूलाई दोषी मान्दिनँ। न भागीदार भएकोमा कुनै ग्लानि वा पश्चाताप नै छ। त्यसैले, आत्मालोचना गर्ने त प्रश्नै आउँदैन।
यदि आज आएर मैले द्रौपदी वस्त्रहरण वा अभीमन्यू वधमा साक्षी किन बसेँ भनेर पश्चाताप मानेँ भने त्यो मैले बाँचेको जीवनप्रति नै अन्याय हुनेछ।
मैले जे गरेँ, जे कारणले गरेँ, त्यसमा मलाई ग्लानि छैन, युगौं युगसम्म कहिल्यै हुने छैन।
त्यसो भए म आफ्नो कथा किन सुनाउँदै छु?
म यस कारण सुनाउँदैछु, ताकि महाभारतका पात्रको गुण–दोष केलाउनुअघि तपाईंहरूले यो बुझ्नुस्, जुन कुरा बाहिरबाट देखिन्छ, त्यो पूर्ण सत्य नहुनसक्छ।
हरेक कर्मको पछाडि कारण हुन्छ। मान्छेलाई उसको जीवनप्रतिको मूल्य–मान्यताले नै जीवनपथमा डोर्याउँछ। म पनि त्यही मूल्य–मान्यताको अधीन रहेर जीवनपथमा डोरिएँ। वा, भनौं भौंतारिएँ।
आफ्नो कथा सुनाउनुअघि म मराठी उपन्यासकार शिवाजी सावन्तलाई धन्यवाद दिन चाहन्छु, जसले २७ वर्षकै उमेरमा ‘मृत्युञ्जय’ उपन्यास लेखेर मेरो कथा दुनियाँसामु राखिदिए। र, सदियौंदेखि अन्यायमा पिल्सिएको कर्ण पात्रलाई न्याय दिन खोजे।
अर्का मराठी लेखक इरावती कर्वेको पनि ऋणी छु, जसले ‘युगान्त’ उपन्यासमा यसैगरी मेरो गाथा कहिन्, मैले बाँचेकै स्वरूपमा।
आज यी दुई लेखकका बहुचर्चित उपन्यासबाट निस्केर म हरि शर्मा भन्ने स्तम्भकारको ‘किताब चर्चा’ मार्फत् फेरि आफ्नो कथा सुनाउन जाँदैछु।
म वेद व्यास, द्वैपायन, कृष्णद्वैपायन गरी तीन जना ऋषिले विभिन्न कालखण्डमा पूर्णता दिएको ‘महाभारत’ गाथाको एक्लो यस्तो पात्र हुँ, जो पूर्णतया लौकिक छ।
अरू सबै पात्र यस्ता छन्, जो एक जुनीमा बाँचिरहेका भए पनि उनीहरूको अनेक जुनी छ। उनीहरूको कर्मलाई पूर्वजन्म र भविष्यले निर्धारण गर्छ।
लेखकत्रयले सबै पात्रका जुनी–जुनीलाई अनेक आख्यान, उपाख्यानको तानाबानामा यस्तरी गुथेका छन्, जसरी मदानीमा दही। त्यसैले त भनिन्छ– महाभारतमा जे छ, त्यो संसारमा छ, महाभारतमा जे छैन, त्यो संसारमै छैन।
यी सबै अलौकिक कथा–कहानी र पात्र–परिवेशको भीडमा म कर्ण भने तपाईंहरूजस्तै छु। नितान्त मानवीय।
जसरी तपाईंहरूलाई आफ्नो पुनर्जन्मबारे थाहा छैन, मलाई पनि छैन।
जसरी तपाईंहरू आफ्नो भविष्यबारे अज्ञान हुनुहुन्छ, म पनि अज्ञान छु।
जसरी तपाईंमा कुनै दैवीशक्ति छैन, समयक्रमले उत्पादन गर्ने घटनाहरूसामु निरीह बन्नुहुन्छ, त्यस्तै म पनि निरीह छु।
हो, मैले जन्मँदा कानमा कुन्डल र जीउमा कवच धारण गरेको थिएँ। तर, त्यसलाई म दैवीशक्ति मान्दिनँ।
संसारमा यस्ता थुप्रै मान्छे छन्, जसले जन्मँदै कुनै खोट वा गुण लिएर आएको हुन्छ। चाहे त्यो गालाको खोबिल्टा भन्नुस् वा छालामा कालो धब्बा, जसलाई ग्रहण बेला आमाले आफ्नो गर्भ सुम्सुम्याउँदा लागेको दाग भनिन्छ।
यी कवच–कुन्डललाई म कसरी दैवीशक्ति मान्न सक्छु, जसको जिन्दगीभरि मलाई कहिल्यै खाँचो परेन। जब खाँचो पर्यो, त्यो मेरो शरीरमा थिँदै थिएन। मैले सरक्क उतारेर इन्द्रलाई दान गरिसकेको थिएँ।
तपाईंहरू पनि कवच–कुन्डलकै आधारमा ममा दैवीशक्ति थियो भन्ने भ्रममा नपर्नुस्। त्यो मेरो निम्ति शारीरिक सुन्दरता बढाउने गालाको खोबिल्टाभन्दा बढ्ता कहिल्यै भएन।
म महाभारतको अतिसामान्य पात्र हुँ, जो तपाईंहरूजस्तै हरेक पल प्रतिकूल परिस्थितिसँग जुध्दै अगाडि बढेँ। दुःखसँग लडेँ, समाजले बनाएको संरचनासँग भिडेँ।
कुरुक्षेत्रको लडाइँ सबैले देखे, तर दिनानुदिन जीवनमा मैले जुन लडाइँ लडेँ, त्यो कसैले देखेनन्।
त्यो मेरो पहिचानको लडाइँ थियो।
को हुँ म? तपाईंहरूलाई थाहा छ मेरो परिचय? भन्नुस् त!
म जन्मले क्षत्रीय, कर्मले सूतपुत्र। के यो प्रारब्धले रचेको अन्याय होइन? होइन, भन्नुस् त!
मेरो जन्म नै अनौठो परिस्थितिमा भयो।
दुर्वासा ऋषिले कुन्तीलाई इच्छाएका देउता डाकेर सन्तान जन्माउने वर दिएका थिए।
जसरी सानो बालक खेलौना पाएपछि ओल्टाइपल्टाइ गर्न हतारिन्छ, भर्खरै यौवनावस्था टेकेकी कुन्तीलाई पनि त्यस्तै कौतूहल भयो। उनले आफूले पाएको वरदानको शक्ति जाँच्न सूर्यदेवको कामना गरिन्।
सूर्यदेव आफ्नो प्रचण्ड तेजका साथ धर्तीमा अवतरित भए।
यौवनले मदमस्त कुमारी कन्या कुन्ती र तेजवान सूर्यदेवको समागमबाट मेरो जन्म भयो, अनुहारमा सूर्यकै तेज र ज्यानमा कवच–कुन्डलका साथ।
कुन्तीलाई अब धर्मसंकट भयो।
मलाई पुत्रको दर्जा दिउँ, उनी अविवाहित छिन्। बिनाविवाह कोसँग संसर्ग गरेर सन्तान जन्माइस् भन्ने प्रश्नको वाणले उनको चरित्र छियाछिया हुन्छ।
त्यागुँ, आमाको मन छियाछिया हुन्छ।
कुन्तीको यो दुबिधा म राम्ररी अनुमान गर्न सक्छु। तर, उनको दुबिधासँग मेरो के लेनादेना?
उनले सूर्यदेवको कामना गर्नु, सूर्यदेवसँग संसर्ग गर्नु र मलाई जन्माउनुमा मेरो के दोष?
यदि म उनीहरूको उत्तेजनाको प्रतिफल हुँ भने दोष त उनीहरूकै पो! होइन र?
मेरो नियति हेर्नुस् त, जसले मलाई नौ महिना कोखमा राखेर जन्माए र जन्मिनेबित्तिकै नदीमा बगाइदिए, उनै कुन्ती देवीतुल्य मानिन्छन्।
जसले आफ्नो बीजबाट मेरो प्राण भरे, उनै सूर्यदेव नित्य पुजिन्छन्।
उनीहरूकै प्रेम भनुँ वा पापको सन्तान, म चाहिँ जीवनभर अपहेलित रहेँ। के म यस्तो अपहेलनाको हकदार थिएँ त? भन्नुस् त!
आजको आँखाबाट हेर्दा कुन्ती स्वतन्त्र महिलाकी प्रतिरूप हुन सक्छिन्। उनको शरीरमाथि उनकै हक छ। उनी मलाई अविवाहित रहेरै जन्माउन सक्छिन्। गला फुट्ने गरी पुत्र घोषणा पनि गर्न सक्छिन्। बाबुको परिचय नखुले पनि आमाको नामबाट नागरिकता पाउनु मेरो कानुनी हक रहला, भलै नागरिकता पाउन सजिलो हुने छैन।
के तपाईं मलाई बिनाबाबुको सन्तान वा अविवाहित महिलाको सन्तान भनेर तिरस्कार गर्नु हुन्थ्यो त? पक्कै गर्नु हुन्थेन।
भनेपछि, जुन तिरस्कार मैले आजीवन भोगेँ, त्यसलाई कसरी न्यायोचित ठहर्याउने?
यसरी जन्मबाटै ठगिएको म कर्मले पनि कम ठगिएको छैन।
होश सम्हालेदेखि मैले आफूलाई सूतपुत्रका रूपमा पाएँ। महारानी कुन्ती, जो संयोगले मेरी आमा थिइन्, उनले नदीमा अर्पण गरेको म बग्दाबग्दै अधिरथको हातमा पुगेँ।
त्यो साँझ जब अधिरथले गंगा नदीको भेलबाट टिपेर मलाई आफ्नो काखमा लिए, उनी त्यही पल मेरा पिता भए। युगौं युगसम्म, सारा सृष्टिको शक्तिले अन्यथा भने पनि म उनैलाई आफ्नो पिता मानिरहने छु।
त्यो बेला अधिरथको मनमा अनेकौं प्रश्न उठे होलान् — अधिरथ, तँ यो अर्काको सन्तान कसरी घर लैजान सक्छस्? समाजले यो कसको छोरा हो भनेर सोधे के जवाफ दिन्छस्? तैंले कतै बाहिरै श्रीमती राखेर उतै सन्तान जन्माएर त ल्याइनस्?
अधिरथ, तँ गरिब छस्, तिमीहरू बूढाबूढीलाई नै कसरी पेट पालौंला भन्ने छ, यस्तोमा शिशुको पालनपोषण कसरी गर्छस्? शिक्षादिक्षा कसरी दिन्छस्?
फेरि यो शिशु हेर्दैमा तेजवान क्षत्रीयजस्तो छ! कुनै राजखलकको झगडाको शिकार हुनसक्छ! राज्यका विद्रोहीहरूले सत्ता हडप्न राजा र रानीलाई मारेर नवजात राजकुमारलाई नदीमा बगाइदिएको पनि हुनसक्छ! भोलि ती विद्रोहीहरूले यी राजकुमार ज्यूँदै छन् भन्ने थाहा पाए तिमीहरू बूढाबूढीको ज्यान पनि संकटमा पर्न सक्छ!
यस्ता अनेकौं प्रश्न उब्जे पनि अधिरथले आफ्नो मन अधीर हुन दिएनन्।
भविष्यमा जस्तोसुकै संकट परोस्, उनले मलाई कुन्तीले झैं गंगामा हुत्याइदिएनन्, बरू काखी च्यापेर घर लगे र उत्साहित हुँदै पत्नी राधाको काखमा हालिदिए।
राधा सधैंझैं सन्ध्याकालीन भान्साको तयारीमा थिइन्। जिन्दगीमा उनको एउटै शोक थियो, उनी निःसन्तान थिइन्। उनले अनेक व्रत गरिन्, तीर्थ गरिन्, उपचार पनि गराइन्, तै सन्तानसुख पाउन सकिनन्।
यस्तोमा मलाई काखमा पाउँदा उनी खुसीले पागलझैं भएकी थिइन्।
गंगाको चिसो पानीमा कयौं दिनदेखि तैरिँदा तैरिँदा कठयाङ्ग्रिएको मलाई उनले आफ्नो न्यानो छातीमा टाँसेर मेरो निधार, गाला, आँखा, कान, नाक सबैतिर चुम्बनको वर्षा गरेकी थिइन्।
आफ्नो ममतामयी मुलायम हातले मेरो चिसो आङ मुसारेकी थिइन्। र, भनेकी थिइन्, ‘छोरा, आज तैंले मेरो अँध्यारो जीवनलाई झल्झलाकार पारिस्। अँध्यारो घरमा प्रकाश छरिस्।’
त्यो घडी राधाको मनमा पनि अनेकौं प्रश्न आएनन् होला र — अधिरथले यो कसको बच्चा टिपेर ल्यायो? कतै उसले मेरो आँखा छलेर सौता त ल्याएको छैन? कतै यो त्यही सौताको छोरा त होइन?
होइन भने पनि भोलि समाजले सोधे, म के जवाफ दिउँला?
समाजको त के भर, यहाँ पुरुषलाई कसैले प्रश्न सोध्दैन, लाञ्छनाको शिकार हुनुपर्ने स्त्री नै हो।
मलाई सन्तान नपाएर तड्पिँदै हिँडेको सबैले देखेका थिए, आज एकाएक मेरो काख भरिएको देख्दा कतै मेरै सतीत्वमाथि शंका गरिने त होइन? मैले नै कुनै परपुरुषसँग लागेर यो सन्तान जन्माएँ भनेर प्रश्न गरिने त होइन?
यस्ता नानावली सन्देहका बाबजुद राधाको मन पनि धीर नै रह्यो।
उनले मलाई फेरि मातृत्वबाट विमुख गराउने कल्पनासम्म गरिनन्। बरू गाउँभरि सख्खर बाँड्न लगाइन्।
र, सगर्व उद्घोष गरिन्, ‘राधा, आज आमा बनिन्।’
यस्ता निस्वार्थ आमाबाबुको ज्येष्ठ पुत्र हुन पाएकोमा मलाई गर्व छ। युगौं युगसम्म म यसैमा गर्व गरिरहनेछु।
मेरा पिताजी अधिरथ हस्तिनापुरका महाराज धृतराष्ट्रका सारथी हुनुहुन्थ्यो। त्यो समय रथ हाँक्ने काम सूत जातिका मान्छेले गर्थे। यो भनेको सामाजिक संरचनामा सबभन्दा तल्लो वर्ग हो, जसलाई ‘सेवक’ भनिन्छ।
अहिलेको अवस्थामा भन्दा ‘पानी नचल्ने’ दलित त होइन, तर सामाजिक प्रतिष्ठाका हिसाबले त्योभन्दा खासै माथि पनि थिएन।
यस्तो निम्न वर्गको सन्तान भएर पनि मेरो सौर्य र साहस कुनै क्षत्रीयभन्दा कम थिएन। म शस्त्र र शास्त्रमा सानैदेखि निपूर्ण हुँदै थिएँ। मेरा आमाबाबुले मेरो शिक्षादिक्षामा आफ्नो गरिबीको छाप पर्न दिएनन्। मलाई हरसम्भव उच्च कोटीको शिक्षा दिलाउन चाहे।
त्यो जमानामा द्रोणाचार्यको गुरुकुल सर्वश्रेष्ठ विश्वविद्यालयका रूपमा चिनिन्थ्यो। अहिलेको हार्वर्ड र अक्सफोर्डजस्तै। मैले पनि त्यहीँ पढ्न चाहेँ।
द्रोणाचार्यलाई भेटेर भर्ना हुने कोशिस गरेँ। आफूलाई शिष्यका रूपमा स्वीकार गर्न याचनासम्म गरेँ।
उनले कसैगरी मानेनन्।
‘तिमी सूतपुत्र हौ,’ उनले मलाई भने, ‘मेरो गुरुकुलमा राजकुमारहरू मात्र पढ्छन्। तिमीले यहाँ भर्ना हुने कल्पना पनि कसरी गर्यौ?’
के यो कुनै गुरूले गर्ने व्यवहार हो? भन्नुस् त!
आजको समय कुनै विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा भर्ना हुन चाहन्छ, र उसलाई जातकै आधारमा भर्ना लिइएन भने तपाईं के भन्नुहुन्छ? के तपाईंहरू यस्तो जातीय भेदभाव गर्ने उपकुलपतिलाई दण्डित गर्नुहुन्न? गर्नुहुन्न, भन्नुस् त!
द्रोणाचार्य त्यस्तै जातीय कुन्ठाले भरिएका र सामाजिक उँचनिचको भारले थिचिएका व्यक्ति थिए, जसलाई सबै आदर गर्छन्। पूजा गर्छन्।
म उनको आदर गर्दिनँ। घृणा पनि गर्दिनँ। घृणा गर्नु भनेको कुनै न कुनै किसिमको भावना व्यक्त गर्नु हो। म त उनीप्रति कुनै भावना नै व्यक्त गर्न चाहन्न।
उनले मलाई भर्ना नदिनुको एउटै कारण थियो, उनी आफ्ना प्रिय शिष्य अर्जुनलाई संसारकै उत्कृष्ट धनुर्धर बनाउन चाहन्थे। उनी कतिसम्म पक्षपाती थिए भने, अर्जुनको बाटोमा जो–जो आए, उनले त्यसलाई किनारा लगाउन खोजे।
एक्लव्य मजस्तै द्रोणचार्यको अन्यायका शिकार हुन्।
उनले द्रोणाचार्यलाई गुरु मानेर मूर्ति प्रतिस्थापन गरी आफैं धनुर्विद्या सिके। त्यसमा निपूर्ण पनि भए। उनी अर्जुनभन्दा कता हो कता श्रेष्ठ धनुर्धर थिए। यो कुरा थाहा पाएपछि द्रोणाचार्यलाई सह्य भएन। उनले गुरुदक्षिणाका नाममा एक्लव्यको बूढीऔंला नै खोसे।
कतिसम्म पापी, हेर्नुस् त!
मसँग पनि उनलाई त्यही डर थियो। मलाई गुरुकुलमा समावेश गरे आफ्नो प्रिय शिष्य अर्जुन पछाडि पर्ने भय थियो। हस्तिनापुर साम्राज्यबाट गुरूका रूपमा जति दानदक्षिणा र तलब, पारिश्रमिक पाउँथे, त्यसको भार उतार्न उनलाई गाह्रो पर्थ्यो।
तर, म एक्लव्य थिइनँ।
मैले न उनलाई गुरू मानेँ, न मेरो शिक्षाको भोक द्रोणाचार्यको मोहताज रह्यो।
यसले बरु मेरो भोक अझ बढाइदियो। मैले मनमनै अर्जुनभन्दा श्रेष्ठ धनुर्धर बनेर देखाइदिने इख लिएँ। अर्जुनलाई आफ्नो चरम प्रतिद्वन्द्वी मान्न थालेँ।
कसैप्रति इख राख्नु राम्रो हो कि होइन, मलाई थाहा छैन। इख नभएको मान्छे र विष नभएको सर्पको काम छैन भन्ने त कहावत नै छ। तै मेरो सारा इख अर्जुनतर्फ सोहोरिनुमा त्यो घटना मुख्य कारण थियो।
मेरो मनमा यस्तो विचार जन्मिनुमा कोही दोषी थिए भने ती द्रोणाचार्य थिए। उनको दोषको भार म आफ्नो काँधमा किन बोकुँ, भन्नुस् त!
त्यो घटनापछि द्रोणाचार्यकै बराबरी वा त्योभन्दा उच्च कोटीका गुरू पर्शुरामको गुरुकुलमा म भर्ना भएँ। उनीबाट ती सबै शिक्षा प्राप्त गरेँ, जुन द्रोणले अर्जुनलाई सिकाएका थिए।
यहाँनिर मैले एउटा बेइमानी गरेको छु। त्यसलाई बेइमानी भन्ने कि नभन्ने त्यो निर्णय तपाईंहरू नै गर्नुस्।
पर्शुरामको शिष्य बन्न मैले आफ्नो परिचय लुकाएँ। ब्राह्मणका रूपमा आफूलाई प्रस्तुत गरेँ।
यसमा मेरो के दोष? त्यो बेलाको जातीय संरचनामा मैले आफूलाई सूतपुत्र भनेको भए के उनले मलाई शिष्य स्वीकार गर्थे?
गरेकै भए पनि मलाई ब्रह्मास्त्र लगायत सबै किसिमका अस्त्रशस्त्रले निपूर्ण पार्थे? पार्थे, भन्नुस् त!
उनले यस कारण मलाई शिक्षा दिए, किनकि उनले ममा शूरवीरको लक्षण देखे। यो संसारबाट क्षत्री जातिको सफाया गर्ने उनको उद्देश्य थियो। तर, उनी बूढा भइसकेका थिए। आफैं हतियार उठाएर यो दीर्घयोजना पूरा गर्ने उनको सामर्थ्य थिएन। त्यही भएर मलाई रोजे।
आफ्नो ज्ञानको भण्डार ममा भरेर क्षत्री जातिको सफाया गर्ने अभीष्ट पूरा गर्न चाहन्थे, गुरु पर्शुराम। मैले उनको त्यो अभीष्ट भाँपे। पेटमा भतभती आगो बलेको बेला म जसरी पनि आफ्नो लक्ष्यसम्म पुग्न चाहन्थेँ। त्यसैले, गुरुको अगाडि झूटो बोलेँ।
मेरो त्यो झूटले कसलाई हानि गर्थ्यो? कसैलाई गर्थेन। गर्थ्यो त, भन्नुस् त!
बरु त्यसले मैलाई हानि गर्यो।
जब गुरु पर्शुरामले मेरो जातीय पहिचान थाहा पाए, उनले क्रोधित हुँदै मलाई श्राप दिए, ‘जिन्दगीमा जुन बेला यी शिक्षादिक्षाको तँलाई सबभन्दा बढी खाँचो पर्ला, त्यो बेला यी शिक्षा तेरो काममा आउने छैनन्। तैंले सब बिर्सनेछस्।’
यति सानो गल्तीको यत्रो ठूलो सजायँ! एउटा किशोर विद्यार्थीलाई!
के मेरो क्षमतामा कुनै खोट थियो? थिएन। तै म दण्डित भएँ। के यो न्याय हो? भन्नुस् त, के यो न्याय हो?
यसरी मेरो कर्मभूमि प्रवेश नै एक श्रापितका रूपमा भयो। यो कठोर यथार्थलाई भयावह सपना मानेर म जिन्दगीमा अगाडि बढेँ। र, सिधै हस्तिनापुरको त्यो रंगभूमिमा प्रवेश गरेँ, जहाँ पाण्डव र कौरवका एक सय पाँच भाइ आ–आफ्नो शस्त्रविद्या प्रदर्शन गर्दै थिए।
त्यो बेला मेरो उद्देश्य दुर्योधनलाई रिझाएर हस्तिनापुरको राजखलकसँग नजिकिन्छु भन्ने थिँदै थिएन। म त द्रोणाचार्यको सेखी झार्न चाहन्थेँ। आफूलाई अर्जुनभन्दा श्रेष्ठ धनुर्धर साबित गर्न चाहन्थेँ।
यहाँ पनि जातीय कुरा उठाएर मलाई पाखा लगाउने काम भयो।
रंगभूमिमा मेरो प्रदर्शन अर्जुनभन्दा कुनै दृष्टिले कम थिएन। म उनलाई परास्त गर्नबाट एक कदम मात्र पछाडि थिएँ। त्यो एक कदम छिचोल्नबाट मलाई वञ्चित नगरिएको भए, महाभारतको इतिहास अर्कै लेखिने थियो।
यो संसारले आजपर्यन्त अर्जुनलाई होइन, मलाई सर्वश्रेष्ठ धनुर्धरका रूपमा चिन्थे।
मेरो त्यो एक कदममा द्रोणाचार्यको जीवनभरको प्रतिष्ठा अडेको थियो। उनले तत्क्षण रंगभूमिमा मेरो प्रवेश र प्रदर्शनमाथि आपत्ति जनाउँदै ‘सूतपुत्रलाई क्षत्रीय राजकुमारहरूको बराबरी राख्न हुँदैन’ भन्ने तर्क गरे।
कुलगुरु कृपाचार्यले सहमति जनाए। यहाँसम्म कि, भीष्म पितामहजस्ता पराक्रमी र विदुरजस्ता नीतिशास्त्रका ज्ञाता पनि सहमतिमा मुन्टो हल्लाएर मूर्तिवत् बसिरहे।
यहाँ कृपाचार्यमाथि किन प्रश्न उठाइन्न? भीष्म र विदुरजस्ता ज्ञानीहरूलाई किन इतिहासले सोध्दैन– तिमीहरूले जातीय आधारमा कसैलाई भेदभाव गर्न सुहाउँछ?
धर्मको दुहाइ दिँदै हिँड्ने यी महान व्यक्तिहरूलाई ईश्वरको नजरमा सबै धर्म र जातिका मान्छे बराबर हुन् भन्ने किन कसैले भन्दैन?
कोही धनुर्धर अर्जुनलाई लल्कार्दैछ र अर्जुन साँच्चिकै शूरवीर हो भने उसलाई त्यो चुनौती स्वीकार गर्न किन शरम?
यो त कसैलाई एक्लै परीक्षामा राखेर संसारकै उत्कृष्ट विद्यार्थी घोषणा गरेजस्तो भएन र?
यति हुँदाहुँदै अर्जुन सबैका प्रिय, भीष्म, द्रोण, विदुर, कृपाचार्य सबैका पुजनीय, म चाहिँ निन्दनीय, किन? किन, भन्नुस् त!
त्यो रंगभूमिमा दुर्योधन मात्र एक्ला यस्ता व्यक्ति थिए, जो मेरो पक्षमा उभिए।
मलाई क्षत्रीय नहुँदा नहुँदै अंगराजको पद्वी दिएर आफूले लगाइरहेको मुकुट नै मेरो शिरमा पहिर्याइदिए।
पहिचान भनेको तुलनात्मक हुन्छ। म को हुँ भनेर आफैंभित्र हेर्नु वेदान्त परम्परा हो, बुद्धको परम्परा हो। यसमा मान्छेले अन्तरआत्माभित्र ‘म’ खोज्ने यत्न गर्छ। अरूलाई हेरेर आफ्नो परिचय खोज्नु भने लौकिक परम्परा हो।
पहिचानका यी दुवै तरिका गलत होइनन्। कोही अन्तरआत्मा नियाल्छ, कोही अरूसँग आफूलाई दाँज्छ।
मेरो पहिचानको खोजी भनेको ब्रह्मज्ञानको खोजी थिएन। म राजारजौटा र शक्तिको बीचमा थिएँ। आँखा खुलेदेखि नै आफूलाई सामाजिक संरचनाको सबभन्दा तल्लो तहमा पाउँथेँ। पहिचानको दुबिधामा भौंतारिरहेको थिएँ। जातीय दमनको शिकार थिएँ। अपहेलित थिएँ।
त्यस्तो व्यक्तिलाई हस्तिनापुरका राजकुमार सगौरव अंग देशका राजा घोषित गर्छन् भने, म किन अस्वीकार गरूँ? अस्वीकार गर्नुपर्ने कारणै के छ?
के मैले त्यो पदको निम्ति याचना गरेको थिएँ र? दुर्योधनका अगाडि गिड्गिडाएको थिएँ र?
उनले मेरो क्षमता देखे, परखे र मलाई राजा बनाए। यसमा मेरो के दोष!
मलाई राजा बनाउनुमा उनको कुनै अभीष्ट थियो भने म के जानुँ? त्यसमा मेरो के सरोकार?
त्यसो हो भने त, महाभारतका हरेक पात्रको हरेक कर्ममा कुनै न कुनै अभीष्ट लुकेकै छ। यदि उनीहरू आफ्नो सम्पूर्ण अभीष्ट बोकेर पनि नायक हुन सक्छन् भने म चाहिँ किन खलनायक? कसरी खलनायक? भन्नुस् त!
मलाई लाग्छ, जुन घडीमा दुर्योधनले आफ्नो मुकुट मेरो शिरमा पहिर्याइदिए, यो जगतमा पहिलोपटक पहिचानको राजनीति स्थापित भयो। यही राजनीति आजपर्यन्त चलिरहेकै छ।
म यही पहिचानका कारण जीवनभरि दुर्योधनप्रति ऋणी रहेँ। उनलाई कहिल्यै बेइमानी गर्न चाहिनँ। त्यसपछिका मेरा सारा कर्म मैले दुर्योधनप्रति निर्वाह गर्नुपर्ने मित्रताको धर्म थियो।
मैले दुर्योधनका सारा जायज–नाजायज आकांक्षा पूरा गर्न आफ्नो क्षमताले भ्याएसम्म कुनै कसर छाडिनँ। किनकि, आफ्नै जन्म दिने आमाबाट परित्यक्त मलाई जसले पहिचान दियो, भीष्मजस्ता सर्वमान्य पितामह, द्रोणजस्ता सर्वआदरणीय गुरू र विदुरजस्ता शास्त्रीबाट अपहेलित मलाई जसले समाजको तल्लो तप्काबाट उठाएर माथिल्लो मुकाममा पुर्यायो, ऊसँग आजीवन कुममा कुम जोड्नु मेरो कर्तव्य थियो।
यही कर्तव्यलाई मैले आफ्नो धर्म पनि मानेँ।
तपाईंहरू भीष्म पितामहलाई हस्तिनापुरका वफादार संरक्षक मान्नुहुन्छ। हस्तिनापुर दीर्घकालीन रूपमा सुरक्षित नरहेसम्म मृत्यवरण नगर्ने उनले कसम खाएका थिए। सिंहासनमा जो बस्छ, उसैप्रति आजीवन वफादार रहे। यही वफादारीको निम्ति उनले पनि दुर्योधनका जायज–नाजायज आकांक्षाहरू शिरोपर गरे।
त्यसो भए भीष्म पितामह र ममा फरक के रह्यो?
उनी राज्यप्रति कर्तव्यनिष्ठ थिए, म आफ्नो मित्रप्रति, जो संयोगले त्यही राज्यका युवराज थिए।
उनले जे कारणले दुर्योधनको साथ छाड्न सकेनन्, मैले पनि त्यही कारणले सकिनँ। त्यसो भए उनी चाहिँ सर्वमान्य, म चाहिँ अमान्य, किन? के यो ममाथि अन्याय होइन? भन्नुस् त!
मेरो जीवनमा सबभन्दा बढी लाञ्छना लगाइने घटना द्रौपदी वस्त्रहरण हो।
सबैले सोध्छन्– त्यो बेला म किन बोल्न सकिनँ? किन मैले दुर्योधन, दुःशासन र शकुनीको स्वरमा स्वर मिलाएँ? किन?
हो, त्यो बेला म मौन रहेँ। द्रौपदीविरुद्ध मेरो मुखबाट अपशब्द पनि निस्क्यो। कुनै पनि नारीलाई त्यसरी सम्बोधन गर्न हुँदैन। यो स्वीकार्य हुँदै होइन। म यसको समर्थन गर्दिनँ। तर, यो घटनालाई एक पहलूबाट मात्र हेरेर हुँदैन। यसको अर्को पाटो पनि छ।
यसको सुरुआत हुन्छ, द्रौपदीको स्वयंवरबाट।
त्यस दिन द्रौपदीको स्वयंवरमा म पनि थिएँ। त्यहाँ सबैलाई आमन्त्रण गरिएको थियो। कसले भाग लिन पाउने र कसले नपाउने भनी सर्त राखिएको थिएन। जातीय वा वर्गीय सीमा पनि तोकिएको थिएन।
द्रौपदीका भाइ धृष्टद्युम्नले सभा मण्डपमा उठेर घोषणा गरे, ‘पानीमा परेको छाया हेर्दै जसले माथि घुमिरहेको माछाको आँखामा निशाना साँध्न सक्छ, त्यही शूरवीरको गलामा मेरी बहिनी द्रौपदीले वरमाला पहिर्याउने छिन्।’
यति सुन्नासाथ द्रौपदीको कामना गर्दै त्यस सभामा उपस्थित सबै पराक्रमी निशाना लगाउन तयार भए। तर, कसैले पनि निशाना लगाउनु टाढाको कुरा, धनु उठाउनधरि सकेनन्।
जसै मैले धनु उठाएर त्यसमा ताँदो चढाएको थिएँ, द्रौपदीले ‘मेरो वरमाला सूतपुत्रका लागि होइन’ भन्दै सभामा सबैका अगाडि मेरो अपमान गरिन्।
यदि उनको वरमाला सूतपुत्रका लागि थिएन भने, त्यहाँ पहिले नै मेरो प्रवेश किन वर्जित गरिएन?
धनु उठाएर, ताँदो चढाएर, निशाना लगाउनु एक कदमअघि किन मेरो मुटुमा जातीय विभेदको वाण चलाइयो?
स्वयं श्रीकृष्ण उपस्थित त्यो राजसभामा जातीय रूपले मान्छेलाई कुनै कामबाट वञ्चित गरिएको थियो, तर उनी मौन रहे। त्यो राजसभा मौन रह्यो।
यस्तो विभेदका लागि इतिहासले किन श्रीकृष्णलाई प्रश्न गर्दैन? किन द्रौपदीलाई प्रश्न गर्दैन? किन राजा द्रुपदको त्यो राजसभालाई यो अपमानको उत्तरदायी ठहर्याउँदैन?
मान्छेलाई उसको जन्म र जातकै आधारमा विभेद गर्ने द्रौपदी पुज्य हुन्छिन् भने मलाई किन तिरस्कार? भन्नुस् त!
जसरी द्रोणले अर्जुनलाई सर्वश्रेष्ठ धनुर्धर घोषित गर्न मलाई पाखा लगाए, यहाँ पनि अर्जुनकै खातिर मेरो बाटो छेकियो।
द्रौपदी अर्जुनलाई वरमाला लगाइदिन चाहन्थिन्। त्यसैले, मलाई अपमानित गरेर निकालिन्। के यो ममाथि अन्याय होइन?
यही अपमानको घाउ, जुन मेरो आत्मामा शूल बनेर गडेको थियो, त्यसैको पीडा प्रकट भएको हुनसक्छ, द्रौपदी वस्त्रहरण बेला। त्यतिखेरैदेखि मेरो आत्मामा दबेर बसेको चित्कार मेरो मुखबाट पोखिएको हुनसक्छ।
यसमा संयम अपनाउन नसक्नु मेरो भूल थियो होला, तर मलाई यो भूल गर्न उक्साउने स्वयं द्रौपदी थिइन्।
इतिहासले यो पहलूबाट आँखा बन्द गरेर एकपक्षीय रूपमा मेरो मूल्यांकन गर्यो।
जहाँसम्म उनको वस्त्रहरणमा म किन मौन बसेँ भन्ने प्रश्न छ, त्यस बेला हस्तिनापुर राजसभामा म मात्र होइन, भीष्म, द्रोण, कृपाचार्य, विदुर र स्वयं महाराज धृतराष्ट्रसमेत मौन थिए।
यहाँसम्म कि, आफ्नै पत्नीलाई जुवामा बाजी लगाउने द्रौपदीका ‘नालायक’ पाँच पति पनि त्यहाँ मूर्तिवत् थिए।
इतिहासले उनीहरूलाई दोषी ठान्दैन भने त्यो दोषको भार मैमाथि मात्र किन? भन्नुस् त!
महाभारत लडाइँमा पनि म ठगिएको छु। मलाई आफ्नो वीरता प्रदर्शन गर्ने मौका कहिल्यै दिइएन। मैले अर्जुनभन्दा सर्वश्रेष्ठ धनुर्धर हुँ भनेर साबित गर्ने अवसर नै कहिल्यै पाइनँ।
अर्जुनलाई स्वयं श्रीकृष्णको छत्रछायाँ थियो। जब–जब उनी अर्जुनमाथि खतरा मडारिएको देख्थे, त्यसलाई आफ्नो मायावी चमत्कार र आफ्नो दिव्यवाणीद्वारा वशमा लिन्थे। र, अर्जुनको पराक्रममा आँच पनि आउन दिन्थेनन्।
कृष्णको यस्तो कूटनीति कुरुक्षेत्रको लडाइँ हुनुअघि नै सुरू भयो।
एकदिन श्रीकृष्णले मलाई आफ्नो रथमा राखेर सँगै यात्रामा लगे। सुनसान ठाउँमा रथ रोकेर केही बेर मसँग भलाकुसारी गर्दै पैदल हिँडे।
मैले आजीवन आफूलाई राधाको पुत्र राधेय मानेँ र युगौं युगसम्म मानिरहन्छु। यसबाहेक अरू कुनै परिचय मलाई स्वीकार्य थिएन, र छैन। तर, त्यस दिन श्रीकृष्णले यस्तरी मेरो जीवनको रहस्यबाट पर्दा उघारिदिए, म युद्धको मुखमा आएर विचलित भएँ। आधा लडाइँ त म त्यतिबेलै हारेँ।
त्यो श्रीकृष्णको जित थियो, अर्जुनको जित थियो।
‘कर्ण, तिमी राधेय होइनौ,’ उनले मेरो जन्मको रहस्य खोल्दै भने, ‘तिमी कौन्तेय हौ। कुन्तीपुत्र कौन्तेय। पाण्डवका ज्येष्ठ दाजु।’
यति भनेर श्रीकृष्णले आफ्नो मुलायम हात मेरो काँधमाथि राखे। उनको शब्दले मलाई व्याकूल बनाउँदै थियो। शब्दको तुलनामा उनको स्पर्श झनै शीतल थियो।
‘श्रीकृष्ण, सत्य के हो, असत्य के हो, यो म बुझ्न सकिरहेको छैन। म बुझ्न पनि चाहन्नँ,’ मैले भनेँ, ‘यदि म कौन्तेय हुँ भने कुन्तीबाट यति टाढा किन छु? यदि पाण्डव हुँ भने पाण्डव दाजुभाइहरूबाट यति अलग किन छु? सूर्यपुत्र हुँ भने अन्धकारको साम्राज्यमा किन यस्तरी भट्किरहेको छु?’
त्यो यस्तो करुण पल थियो, जसले यो जगतको कठोरभन्दा कठोर पाषाणहृदयी मानिसको अन्तस्करणलाई समेत द्रवित बनाउने ताकत राख्थ्यो।
मेरो जन्मसँग जोडिएको सामाजिक रुढीवादको क्रूरता र एक आमाको मूक क्रन्दन!
म परिचयको खोजीमा जीवनभर भौंतारिएँ, त्यस दिन श्रीकृष्णलाई मलाई आफूसँग परिचित गराएका थिए। त्यो परिचयबाट म सम्हालिएँ कि अझ छट्पटाउँदै भौंतारिएँ, इतिहासको गर्भमा हेरेर तपाईंहरू आफैं मूल्यांकन गर्नुहोला।
एउटा कुरा भने दाबीका साथ भन्न सक्छु, आफू कौन्तेय भएको थाहा पाएपछि पनि राधेयको परिचयबाट मैले एक निमेष आफूलाई अलग पाइनँ।
यो पनि दाबीका साथ भन्न सक्छु, आफू ज्येष्ठ पाण्डव भएको थाहा पाएपछि पनि दुर्योधनको परममित्र हुनु र उनीप्रतिको कर्तव्यबाट मेरा पाइला एक निमेष डगमगाएनन्।
आफ्नो नयाँ नाम र नयाँ परिचयले मेरो पुरानो नाम र पुरानो परिचय पखालेन, बरु त्यो त बोझ बनेर खप्टिए।
सायद मैले त्यही बोझ उतारेको हुँ, जब इन्द्र छल गर्न आएको थाहा पाउँदा–पाउँदै आफ्नो प्राणरक्षक कवच र कुन्डल सरक्क काटेर दिएँ।
त्यो घटनापछि मैले कुन्ती र सूर्यसँग सधैंका लागि आफ्नो नाता तोडेँ।
यहाँसम्म कि, महारानी कुन्ती स्वयं आफ्नो मातृत्वको आँशु बगाउँदै मलाई पुत्र स्वीकार गर्न तयार भएर आउँदा पनि मेरो अन्तरआत्मा पग्लिएन।
मैले त्यो बेला चाहेको भए आफूलाई कौन्तेय घोषणा गर्न सक्थेँ। दुर्योधनको कृपाले होइन, स्वयं आफ्नो जन्मले राजा बन्न सक्थेँ। क्षत्रीय कहलिन सक्थेँ।
यसमा कुन्ती तयार थिइन्, श्रीकृष्ण तयार थिए। पाण्डव दाजुभाइहरूले उनीहरू दुई जनाको कुरा नखाने सवालै थिएन।
मैले त्यसो गरेको भए, महाभारतको कथा नै अर्कै लेखिन सक्थ्यो।
मेरो अन्तरआत्मालाई भने त्यो मञ्जुर थिएन, चाहे कथा जस्तोसुकै लेखियोस्।
स्वर्गकै आसन पाए पनि म दुर्योधनजस्तो मित्र त्याग्न सक्थिनँ, जसले चारैतिरबाट दुत्कारिएको म सूतपुत्रलाई अंगराज बनाएर आफूसँगै बस्ने हैसियत दिए।
यति हुँदाहुँदै मैले महारानी कुन्तीलाई खाली हात पठाइनँ।
मैले उनलाई बाचा गरेँ, ‘युद्धमा कि म मर्छु, कि अर्जुन। हामी दुईमध्ये जो मरे पनि तपाईंका पुत्रहरूको संख्या कम हुने छैन।’
त्यसपछि मैले सोधेँ, ‘तपाईं यो युद्धमा कसलाई जीवित देख्न चाहनुहुन्छ? मलाई कि अर्जुनलाई?’
उनी बोल्न सकिनन्।
उनको मौनता नै मेरो जवाफ थियो।
आखिरमा महाभारत युद्धको सोह्रौं दिन त्यो पल आयो, जब म र अर्जुन आमनेसामने भयौं। त्यो मेरो जिन्दगीकै सबभन्दा ठूलो परीक्षाको घडी थियो। आफूलाई सर्वश्रेष्ठ धनुर्धर साबित गर्ने मौका।
तर, हेर्नुस् त, प्रारब्धले मलाई कसरी ठग्यो!
त्यो लडाइँमा मैले चाहेको भए अर्जुनलाई सजिलै परास्त गर्न सक्थेँ।
अग्रसेन नामक एक सर्प थियो। वर्षौंअघि जब अर्जुनले खाण्डव वनमा आगो लगाए, अग्रसेन आफ्ना बालबच्चासहित मुश्किलले ज्यान बचाएर भागेका थिए। त्यही बेलादेखि उनी अर्जुनका दुश्मन थिए।
महाभारत युद्ध सुरु भएपछि कसैगरी आफ्नो शत्रुता साँध्न पाइन्छ कि भनेर उनी मौका ताक्दै कुरुक्षेत्रमा भट्किरहेका थिए।
अग्रसेनले मलाई भने, ‘हे कर्ण, तिमी मलाई आफ्नो वाणमा धारण गराऊ र अर्जुनतिर प्रहार गर, म उसको प्राण लिएर मात्र फर्कन्छु।’
म मानिनँ।
‘भाइ अग्रसेन, मलाई माफ गर,’ मैले भनेँ, ‘म तिमीलाई आफ्नो वाणमा चढाएर अर्जुनतिर प्रहार गरी तिम्रो विषको बलमा उसलाई जित्न चाहन्न। म उसलाई आफ्नै सामर्थ्यले हराउन चाहन्छु।’
अग्रसेनले भने, ‘कर्ण, तिमी फेरि एकचोटि विचार गर। मैले यतिविधि याचना गर्दा पनि तिमीले अनादर गर्यौ भने पछुताउनुपर्ला।’
‘मलाई यसको चिन्ता छैन,’ मैले भनेँ, ‘जे होला, म स्वयं भोगुँला।’
त्यसपछि जे भयो, तपाईंहरू सबैलाई थाहा छ।
जिन्दगीको यति महत्वपूर्ण लडाइँमा, जब मलाई आफ्नो शस्त्रविद्याको सर्वाधिक खाँचो थियो, त्यो विद्या गुरु पर्शुरामको श्रापले सबै खोसियो।
मैले ब्रह्मास्त्र त धारण गरेँ, तर त्यसलाई चलाउने मन्त्र नै बिर्सें।
त्यही पल मेरो रथको पाङ्ग्रा जमिनमा धसियो।
मौका हेरेर श्रीकृष्णले अर्जुनलाई भने, ‘अर्जुन, तिमी वाण चलाऊ।’
अर्जुन अन्कनाए। श्रीकृष्णले उनलाई उक्साए।
अर्जुनको गाण्डिवबाट वाणको फोहरा छुट्यो।
मैले भनेँ, ‘श्रीकृष्ण, मेरो रथको पाङ्ग्रा जमिनमा धसिएको छ। म निकाल्दैछु। यस्तो बेला म निहत्थामाथि प्रहार गर्नु कहाँको धर्मयुद्ध हो?’
यो सुनेर श्रीकृष्णले अर्जुनलाई उत्तेजित पार्न द्रौपदी वस्त्रहरण र अभीमन्यू वध सम्झाए।
जुन श्रीकृष्णले मलाई जन्मको रहस्य खोल्दै पाण्डव पक्षमा आउन आह्वान गरेका थिए, हस्तिनापुरको राजा बनाउने लोभ देखाएका थिए, उनै श्रीकृष्णले हुँदै नभएका लाञ्छना लगाएर इतिहासका पानामा मेरो चरित्रमाथि कहिल्यै नमेटिने दाग लगाइदिए।
त्यही दागले आजसम्म मेरो चरित्रको सही मूल्यांकन भएन।
द्रौपदीको कुरा मैले भनिसकेँ। जहाँसम्म अभीमन्यू वधको प्रश्न छ, त्यसमा म कसरी दोषी हुन सक्छु? जबकि, म त्यति बेला कौरव पक्षको सेनापति पनि थिइनँ।
लडाइँमा मैले आफ्ना दुई–दुई जना छोरा गुमाइसकेको थिएँ। अभीमन्यूमाथि तरबार चलाउँदा बाबुको भावना जागृत भएको हुनसक्छ भन्ने कसरी भुल्न सकिन्छ?
त्यो कुरुक्षेत्र मैदान थियो, अभीमन्यू शूरवीर थिए। उनी मार्न पनि सक्थे, मर्न पनि सक्थे। उनको मृत्युको भार मैमाथि किन? भन्नुस् त!
यही उधेडबूनमा म एक हातले मन्त्र बिर्सेको ब्रह्मास्त्र च्यापेर अर्को हातले रथको पाङ्ग्रा उचाल्दै थिएँ, त्यही बेला अर्जुनले मतिर निशाना साँधे।
म सूतपुत्र, म राधेय, म दुर्योधनको परममित्र कर्ण पृथ्वीमा लम्पसार भएँ।
सूर्यनारायण अस्त हुनुभो, पृथ्वीमा अन्धकार फैलियो।
कालको मुखमा पुगिसकेको मान्छेले यसरी समयको गर्भबाट निस्केर कथा सुनाउँदा तपाईं चकित पर्नुभयो होला!
चकित नहुनुस्, किनकि म समय हुँ। म समयसँग आफ्नो जीवनको हिसाब माग्दैछु।
र, बारम्बार मागिरहन्छु।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि हेर्नुहोस्: