किताब चर्चा
दयाराम भन्ने पोस्टम्यान थिए। नयाँ नयाँ जागिर थियो उनको। हाइस्कुल पास गरेपछि यसै बेकाम बसेका थिए। उनका हल्कारा बुबाले सहरको पोस्टमास्टरकहाँ धाएर जसोतसो छोरालाई जागिर लगाइदिए। चार महिनाभरि दहीको ठेकी, बारीमा फलेको काँक्रो र लौका चढाएपछि बल्ल पोस्टमास्टरको निगाह भएको थियो।
दयाराम साताको दुईचोटि गाउँ आउँथे। काँधमा झोला भिरेर जसै उनी गाउँ पस्थे, व्यग्र आँखाहरू उनका पाउ पछ्याउन थाल्थे। ढिकी कुटिरहेका महिला टक्क अडिएर उनी छिर्ने घर निहार्थे। दूध दुहिरहेकाहरूको उत्सुकता र हडबडीले औंलाको सन्तुलन बिग्रन्थ्यो। दूधको एक धारा बाल्टिनमा पर्थ्यो, अर्को धारा भुइँमा पोखिन्थ्यो।
बच्चाहरू लटरम्म फलको बोटमा उधूम मच्चाइरहेका बाँदरझैं दयारामलाई पछ्याउँदै गाउँका गल्लीमा दुगुर्न थाल्थे। पिँढीमा बसेर गुड्गुडाइरहेका बूढाबाहरू हातमा चिलिमको नली समातेर एकटक दयारामतिर हेरिरहन्थे।
गाउँलेहरू हर्ष र आशामिश्रित लवजमा उनको स्वागत गर्दै भन्थे, ‘नमस्कार पोस्टम्यान बाबु।’
लडाइँको समय थियो। भर्तीमा गएका गाउँले तन्नेरीहरू बम र बारुदसँग जुध्दै थिए। उता गोलीको वर्षा हुँदै थियो, यता आमाको ममता र प्रियसीको प्रेम घरिघरि आँशुको ढिक्का बनेर बर्सिन्थ्यो।
दयारामले कम समयमै थाहा पाइसकेका थिए, उनी गाउँ पस्नासाथ पल्टनेकी आमा र पत्नीहरू हरिणझैं आँखा घुमाउँथे, खरायोझैं कान तन्काउँथे। उनीहरू दयारामतिर यस्तरी हेर्थे, मानौं उनी स्वयं फौजबाट फर्केका सिपाही हुन्। खाकी पहिरन र कमिजको अघिल्लो खल्तीमा जतनसाथ अड्काएको कलमले उनी पल्टने परिवारको निम्ति सौभाग्य र दुर्भाग्यका दूत बनेका थिए।
उनले ल्याउने सन्देशले कुनै घरको आँगन चकाचौंध हुन्थ्यो, कुनै चकमन्न।
जुन घरमा उनी मनीअर्डर थमाउँथे, त्यहाँबाट दूध–दही नखाई फर्कन पाउँथेनन्। कहिलेकाहीँ निधारमा रातो अक्षताको टीकासमेत पर्थ्यो, र हातमा दक्षिणा।
उनले ल्याउने सन्देशले कहीँ नवविवाहित दुलही लाजले गाला रातो पार्दै बुइगलतिर चढ्थिन्, कहीँ बुइगलमा बसेर कान टाठो पार्दै कुरा सुनिरहेकी दुलही आँगनमा आएर कपाल फिँजाउँदै, चुरा फुटाउँदै विरहमा चिच्याउन थाल्थिन्।
एकचोटि उनी धनसिंह बिष्टको घरमा सन्देश पुर्याउन गएका थिए। चिठीमा धनसिंहका छोरा कश्मीर लडाइँमा मारिएको खबर थियो। दयारामले आफैं पढेर सुनाएका थिए। सन्देश भुइँमा झर्न नपाउँदै धनसिंहकी बुहारी दयाराममाथि जाइलागिन्।
कमिजका बटन चुँडिने गरी उनलाई झाकलझुकल पार्दै सराप्न थालिन्– 'हे पापी, तँलाई जन्माउने आमाबाबुले यस्तै कुकर्म सिकाएको थियो? मेरो जिन्दगीमा कसरी यस्तो बज्र हान्न आइस् तँ? यस्तो आँट गर्नलाई के तेरा आमा र बहिनीका चुराहरू पहिल्यै फुटिसके? मेरा लालाबालालाई अनाथ बनाउन आउने तँजस्ताले कहिल्यै आमाबाबुको माया नपाएस्! जसरी तँ मेरो घरमा कहर बनेर बर्सिस्, तेरो घरमा कुनै दिन यस्तै तार पुग्यो भने म माई भवानीकहाँ कालो बोका चढाउँछु।’
धनसिंह बिष्टकी बुहारी निकै बेर फत्फताइरहिन्। उनको श्राप दयारामको छातीमा सूल बनेर गड्यो। मनमनै सोचे, ‘उसको लोग्ने युद्धमा मारियो त मेरो के दोष? गोली दाग्ने म हुँ र? उसलाई युद्धमा पठाएको मैले हो र?’
दयारामलाई धेरै दिन निद्रै परेन। रात–बिरात धनसिंहकी बुहारीको श्रापले पछ्याइरह्यो। उनलाई लाग्यो, संसारको सबभन्दा श्रापित पेसा हल्काराकै होला, जहाँ आफूले गर्दै नगरेको पापको बोझ बोक्नुपर्छ। बिनासित्ति अर्काको मन रुवाउनुपर्छ, घरबार उजाड्नुपर्छ।
यस्तै बिलखबन्दमा परेका बेला उनको हातमा जसौत सिंहको चिठी पर्छ।
खाममा नाम र ठेगाना देख्नासाथ उनी अत्तालिन्छन्। जसौत सिंहका छोरा पनि लडाइँको मैदानमा छन्। केही समयअघि उनकै घरमा चिठी पुर्याउन जाँदा बुहारी घरिघरि कर्के आँखाले उनलाई हेर्दै थिइन्। कति कौतूहल थियो उनको आँखामा! कति उत्सुकता छल्किरहेको थियो!
त्यो दिन खुसीको सन्देश सुनेर उनले डबल दूध र डबल चिनीको बाक्लो चिया खुवाएकी थिइन्।
आज उनकै घरमा फेरि अर्को सन्देश लिएर जानुछ! के होला यो सन्देश? शुभ होला, कि अशुभ?
मनमा तर्कना चल्छ– यसपालि दुःखको सन्देश सुनाउनुपरे जसौत सिंहकी बुहारीलाई कपाल फिँजारेर चुरा फुटालेको कसरी हेर्न सकुँला? उनको श्राप कसरी सहन सकुँला?
दयारामको दिमाग रिंगिन थाल्छ। जीउमा कामज्वरो छुट्छ। चिटचिट पसिना आउँछ। मनको सुर्ताले एकैछिनमा उनलाई निस्लोट बनाउँछ।
उनी जसौत सिंहको घर जान सक्दैनन्। उनको ठाउँमा पोस्टमास्टर पाँडेजी जान्छन्।
त्यो दिनभरि दयारामको आँखाअगाडि अन्धकार छाउँछ। भयानक सपनाले पछ्याइरहन्छ। बेलाबेला मुर्छा परेझैं हुन्छन्, बेलाबेला बौरिन्छन्।
साँझ जब पाँडेजी चिठी पुर्याएर फर्कन्छन्, दयाराम प्रतिक्रिया सुन्न आतुर हुन्छन्। पाँडेजी भन्छन्, ‘आज भाग्य बलियो रहेछ। जसौत सिंहकी छोरी सुत्केरी भइछे। नाति भएछ। शुभ समाचार ल्यायौ भन्दै मलाई आठ आना दक्षिणा दिए। तृप्त हुने गरी खिर खुवाए। बाक्लो दूधको चिया पनि पिलाए। तिम्रो लागि पनि एक भाग खिर पठाइदिएका छन्। चार आना दक्षिणा पनि दिएका छन्।’
जसै दक्षिणाको पैसा र खिरको भाग हात पर्छ, दयाराम फाल हालेर पाँडेजीको खुट्टा ढोग्न पुग्छन्। मानौं, उनलाई दिनभरि छोपेर बसेको प्रेतको छाया छुटेको होस्।
यो कथा पढेर तपाईंहरूलाई आफ्नै गाउँमा चिठी लिएर आउने हुलाकीको याद आएन?
रमेशचन्द्र सिंह मटियानी, उर्फ शैलेश मटियानीको विशेषता नै यही– उनका रचनाहरूमा ग्रामीण जनजीवन र घटनाक्रम यस्तरी बुनिएका हुन्छन्, हामीलाई आफ्नै गाउँका पात्र र परिवेशको झल्को आउँछ।
समय–परिस्थितिले भौंतारिँदै जन्मे–हुर्केको गाउँ छाडेर सहर पसेका वा प्रवासिएका जो–कोहीलाई जन्मथलोको यादले लखेटिरहन्छ। कोही गाउँको चौतारो र पँधेरो सम्झेर अतीतमा डुब्छन्, कोही पिङको चचहुईले रोमाञ्चित हुन्छन्। कोही लाहुरे बाजेले सुनाउने मलाया युद्धको नालीबेलीमा ‘नोस्टाल्जिक’ बन्छन्, कोही मेला भर्न जाँदा मुटु साटेका प्रियसीको यादले छट्पटाउँछन्।
शैलेशका कथाहरूमा यी सबै खालका ग्रामीण अनुभव, भोगाइ, पात्र र परिवेशको खात छ।
त्यहाँ गाउँको पण्डित पनि हुन्छ, पुलिस पनि। दिनभर सिकुवामा बसेर चिलिम गुड्गुडाइरहने हुक्केबाजे पनि छ, साँझ बेला बालखाहरू वरिपरि राखेर कथा सुनाउने बज्यै पनि। दाउरे पनि, लाहुरे पनि। स्कुलका मास्टर पनि, स्वास्थ्य चौकीका सिस्टर पनि।
शैलेशको साहित्यमा एउटा गाउँको समाज मात्र होइन, सिंगो लोक अटाएको छ। सत्ताको प्रतिपक्षमा रहेर सधैंभरि आममान्छेको कथा भन्ने उनको साहित्यलाई त्यही भएर धेरैले प्रेमचन्दकै हाराहारीको दर्जा दिएका छन्।
सेतोपाटीको यो स्तम्भमा शैलेश मटियानीबारे लेख्न बस्दा म धेरै समय अलमलिएँ — म उनको लेखनको चर्चा गरूँ, या उनको जीवनको?
यी भारतीय लेखकको जीवन दुःख र संघर्षले भरिएको उपन्यासभन्दा कम छैन। मैले उनलाई एउटा किताबको पात्र मानेर उनको जीवन–गाथा मात्र यहाँ उतारे पनि कुनै गहन उपन्यासको चर्चा गरेजत्तिकै हुनेछ।
अर्कातिर, त्यही दुःख र संघर्षपूर्ण जीवनको जगमा उभिएको उनको लेखन छ, जसका एक–एक पत्रमा उनले जिन्दगीभरको अनुभव उरालेका छन्।
उनका रचनाहरूमा पाइने वाक्यपद्धति, शब्द संयोजन, उखानतुक्का र बिम्बको प्रयोग यति बेजोड र यथार्थपरक छन्, मैले अहिलेसम्म पढेका हिन्दी साहित्यमा यस्तो कुशल कालिगढी देखेकै छैन।
जिन्दगीको कठिन आरोह–अवरोहबाट गुज्रेका शैलेशले आफ्नो उर्वर अवधिमा जति धेरै साहित्य रचना गरे, त्यो संख्यात्मक हिसाबले पनि विरल हो।
उनका प्रकाशित सामग्रीको आँकडा मात्र हेर्ने हो भने, ३० वटा उपन्यास, २८ कथा संग्रह, सात लोककथा संग्रह, १६ बाल साहित्य, तीन संस्मरण, दुई गाथा र १३ वटा अन्य विविध रचना छन्। यसबाहेक साहित्यिक पत्रिका ‘विकल्प’ र विचार पत्रिका ‘जनपक्ष’ मा उनले लामो समय स्तम्भ पनि लेखे।
शैलेशले आफ्नो रचना प्रक्रियाबारे ‘मैं और मेरी रचना प्रक्रिया’ शीर्षकमा लामो वृत्तान्त लेखेका छन्। नैनीतालबाट प्रकाशित हुने ‘पहाड’ पत्रिकाले सन् २००१ मा शैलेशको निधनलगत्तै विशेष अंक निकालेको थियो, जसमा उक्त लेख छापिएको छ। यसले हामीलाई शैलेशको जीवन र साहित्यको रचना–गर्भ उधिन्न मद्दत गर्छ।
‘मसँग आफ्नो रचना प्रक्रिया भन्नलाई यति धेरै तथ्य र कथ्य छन्, म ती सबैलाई समेटेर निकट भविष्यमै ‘जुआरीके बेटे और बूचडके भतीजेकी आत्मकथा’ शीर्षकमा छुट्टै किताब लेख्ने विचार गर्दैछु। तर, यो कृतिका लागि म केही समय पर्खिन चाहन्छु। अहिलेलाई ‘मैं और मेरी रचना–प्रक्रिया’ को माध्यमबाट म आफ्नो व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा प्रस्तुत गर्दैछु,’ शैलेश लेख्छन्।
‘यो रचना–प्रक्रिया लेख्नुमा मेरो मनको एउटा भावना पनि कारण छ। हिन्दी साहित्यमा मजस्तो संघर्षजीवी साहित्यकार अरू पनि धेरै होलान्। कहिलेकाहीँ संघर्ष र विडम्बनाको क्षण यस्तो बबन्डर बनेर आउँछ, त्यसले आस्था र अस्तित्वको वटवृक्ष जरासमेत उखेलेर लैजान्छ। यदि त्यो वटवृक्ष भित्रभित्रै कमजोर छ, यानिकी लेखकमा अटुट आत्मबल र अडिग आस्था छैन भने, त्यो बबन्डरले निश्चय पनि लेखकको जरा हल्लाइदिन्छ।’
‘जब वन–उपवनको एक–एक वटवृक्ष उखेलिएर भूमिसात् हुन्छ, तब त्यो बबन्डरको विनाशकारी विभीषिकाबाट अन्य वृक्ष पनि भयक्रान्त हुन्छन्, धर्मराउँछन्, चर्मराउँछन्। उनीहरूलाई यस्तो लाग्छ, मानौं जुन भूमिले उनीहरूको जरा अँठ्याएर बसेको छ, त्यो नीब कमजोर हुँदैछ। उनीहरू बबन्डरको चपेटमा पर्दैछन्। साहित्यका वटवृक्ष साहित्यकारहरू पनि जब जीवनको कटु संघर्ष झेल्न नसकेर आफ्नै नीबबाट उखेलिन्छन्, तब उनीहरूका अन्य सहोदर–सहधर्मीहरूको आस्था डगमगाउन थाल्छ। यही डगमगाहटमा उनीहरूको आत्मविश्वासको काँध कमजोर हुँदै झुक्न थाल्छ।’
शैलेश अगाडि लेख्छन्, ‘जसरी एक जना व्यक्ति आफ्नो आस्थाबाट भूमिसात् हुँदा अरूको आस्था पनि डगमगाउने आशंका रहन्छ, ठिक त्यस्तै, यदि एक जना व्यक्ति भीषण बबन्डरमा पनि आफ्नो धर्ती र आफ्नो नीबमा अपराजय योद्धाझैं अडिग रह्यो भने, ऊ अरूको आस्था र अस्तित्वलाई बाँधेर राख्ने पुर्जा बन्नसक्छ। उसको आत्मबलबाट अरूले पनि संघर्ष गर्न बल पाउँछ।’
‘हिन्दीका अधिकांश लेखक आज पनि आर्थिक अभाव र सम्पादक, प्रकाशक, समीक्षक तथा सरकार र पुँजीपतिहरूको गलत प्रवृत्तिबाट त्रस्त छन्। संघर्षपूर्ण जीवन बाँचिरहेका छन्। यस्तोमा प्रत्येक साहित्यकारले आफ्नो आस्था र अस्तित्वलाई सक्षम बनाउने संकल्प गर्नुपर्छ। ताकि, जतिसुकै भीषण बबन्डरमा पनि उनीहरूको जरा नहल्लिओस्। कदाचित् जरा उखेलियो भने पनि यस्तरी उखेलियोस्, जसको आवाजले बबन्डर पनि थर्थराओस् र नतमस्तक हुँदै भनोस्– कोही त रहेछ यहाँ, संकल्पजीवी र संघर्षजीवी साहित्यकार!’
यहाँ शैलेश मटियानीले जसरी साहित्यकारहरूलाई एकअर्काको आस्था अपराजय बनाउन आह्वान गरेका छन्, यस्तै आह्वान समाजका हरेक क्षेत्रको निम्ति खाँचो छ।
शैलेशले वटवृक्षको बिम्ब प्रयोग गरेर एउटा अग्रज साहित्यकारले समयको बबन्डर झेल्न नसक्दा सिंगो साहित्य क्षेत्रमा कोहराम मच्चिन्छ भनेजस्तै समाजका हरेक क्षेत्रमा धेरैले आस्था मानेका एक जना व्यक्ति च्यूत हुँदा सिंगो समाजको आस्था र विश्वास डगमगाउँछ। राजनीतिमा यसको प्रभाव अझ बढी हुन्छ। दिशा देखाउनुपर्ने नेतृत्वले बाटो बिराएर समय, परिस्थितिका अगाडि घुँडा टेक्यो र नैतिकता गुमायो भने राजनीतिको सिंगो तलाउ भ्रष्टाचारले गनाउन थाल्छ।
कुनै पनि सिर्जनाको गहिराइ नाप्न सर्जकको भोगाइ बुझ्नुपर्छ। शैलेशका रचना र उनले बुनेका वटवृक्ष र बबन्डरको बिम्बलाई उनको जीवन–गाथाबाट मात्र पर्गेल्न सकिन्छ।
‘मैं और मेरी रचना प्रक्रिया’ पढ्दा थाहा हुन्छ, शैलेशको जिन्दगी भीषण बबन्डरहरूबीच गुज्रियो। उत्तराखण्डको कुमायूँ जिल्ला, अल्मोडामा सन् १९३१ मा जन्मेका उनी बाह्र वर्षको उमेरमा टुहुरा भए। उनले त्यति बेला चार कक्षा मात्र पास गरेका थिए। पहाडको कष्टपूर्ण जीवनबीच उनले आफ्नो पढाइलाई निरन्तरता दिन सकेनन्।
स्कुल छुट्यो, गोठाले जीवन सुरू भयो।
उनी बिहानै उठेर नलबाट पानी भर्थे। घर फर्केर गाई–भैंसी दुहुन्थे। गोठ सफा गर्थे। दिउँसो वस्तुभाउ चराउन जंगल जान्थे। साँझ फर्किने बेला घाँस वा काठको भारीले उनको काँध झुकेको हुन्थ्यो।
उनका बुबा गाउँका नामी जुवाडे थिए। बुबाको मृत्युपछि जुन काकाको आश्रयमा बसे, उनी मासु बेच्थे। उनलाई ‘जुवाडेको छोरा र कसाईको भतिजा’ भनी गाउँभरि खिसिट्युरी गरिन्थ्यो। यति हुँदाहुँदै उनमा पढ्ने–लेख्ने इच्छा एकदमै धेरै थियो। गाउँका हेडमास्टर लक्ष्मणसिंह उनलाई भन्थे, ‘अर्काको जुठो भाँडा माझ्नुपरे पनि, लुगा धुनुपरे पनि विद्याप्राप्तिको लक्ष्यबाट कहिल्यै विमुख नहुनू।’
लक्ष्मणसिंहको यही प्रेरणाले आफ्नो मरिसकेको इच्छामा प्राण भरेको शैलेशले बारम्बार भनेका छन्।
उनै लक्ष्मणसिंहले चार वर्ष स्कुल छाडेर बसेका शैलेशलाई आठ कक्षामा भर्ना गरिदिए। काका–काकीको कचकचले त्यहाँ पनि उनको पढाइले निरन्तरता पाएन। उनको औपचारिक अध्ययन म्याट्रिकमै सीमित रह्यो।
यसबीच उनले सहरबाट निस्कने ‘अमर कहानी’ र ‘रंगमहल’ मा आफ्ना कथा र कविता पठाउन थाले। रचना छापिएपछि लेखकको घरमा पत्रिकाको एउटा प्रति निःशुल्क आउँथ्यो। शैलेश ती प्रति जतनसाथ लुकाएर राख्थे। दिनभरिको घरधन्दा सकेर राति धिपधिपे बत्तीको उज्यालोमुनि गुपचुप पत्रिकाका पाना पल्टाउँथे। अखबारको जुन पानामा आफ्नो नाउँ छापिएको हुन्थ्यो, त्यसलाई निकै बेर मुसार्थे र एकटक हेरिरहन्थे।
‘आफ्नो नाउँ छापिएको हेर्नुजस्तो अगाध र अवर्णनीय सुख मैले जिन्दगीमा अन्त कतै पाइनँ,’ शैलेशले भनेका छन्।
चरम अभावबीच साहित्यकार बन्ने आकांक्षाको खुड्किलो चढ्ने क्रममा एकदिन उनले काकाको घरबाट घ्यू चोरेर बजारमा बेचे। त्यसबाट आएको १९ रुपैयाँ खल्तीमा बोकेर अल्मोडाबाट रानीखेत, हल्द्वानी हुँदै दिल्ली पुगे।
दिल्लीमा ‘अमर कहानी’ का सम्पादक ओमप्रकाशले ‘अग्रवाल एन्ड कम्पनी’ मा मासिक ४० रुपैयाँको नोकरी लगाइदिए। उनको मन त्यहाँ रम्न सकेन। दोकानदारीमा उनको कुनै रूचि थिएन।
उनले दिल्ली छाडेर इलाहाबाद जाने निर्णय लिए। इलाहाबादको प्रयाग साहित्यको उर्वर भूमि मानिन्थ्यो। प्रयाग पुगेपछि मात्र साहित्यकार बन्ने संकल्प पूरा होला भन्ने सपनाले उनलाई तान्न थाल्यो। तर, त्यहाँसम्म जान रेल चढ्ने पैसा पनि उनीसँग थिएन।
उनले ओमप्रकाशसँग मद्दत मागे।
ओमप्रकाशले ‘रंगमहल’ को निम्ति एउटा उपन्यास लेख्ने सुझाव दिए। त्यति बेलासम्म उनले ‘अग्रवाल एन्ड कम्पनी’ को जागिर छाडिसकेका थिए। लेख्नलाई कागज र कलम किन्ने पैसाधरि थिएन। उनी ओमप्रकाशको घरबाट कागज मागेर लालकिल्लाको बगैंचामा जान्थे र दिनभरि लेखिरहन्थे।
इलाहाबाद जाने उमंग र उत्साहमा उनले तीन दिनभित्र पहिलो लघु–उपन्यास लेखे — ‘दोराहा’।
यो तीन दिनले शैलेशलाई साहित्यकार बन्ने सपना सहज छैन भन्ने पाठ सिकायो। जब उनी दिल्लीका ठूल्ठूला किताब पसल छिर्थे, त्यहाँ साहित्यको महासागरभित्र आफ्नो कृतिको अस्तित्व के हुने होला भनेर कहालिन्थे।
अल्मोडाजस्तो सानो पहाडी सहरबाट आएर अतिभावुकता र आक्रोशपूर्ण मनस्थितिमा देखेको सपना पूरा गर्न सकिएला कि नसकिएला भन्ने संशयले उनको मनमा घर बनाउँथ्यो।
उनको दृढताको अगाडि संशय पराजित भयो।
‘रंगमहल’ पत्रिकालाई १५ रुपैयाँमा ‘दोराहा’ उपन्यास बेचेर उनले इलाहाबाद जाने रेल चढे। रेल जति प्रयाग नजिक पुग्थ्यो, उनका आँखामा उपन्यास–सम्राट बन्ने सपना उति चहकिलो हुँदै जान्थ्यो।
प्रयागमा पनि उनले अनेक हन्डर खाए। सहयोगको आश लिएर गएका धेरैले दुत्कारे। त्यहाँ शमशेरबहादुर सिंह भन्ने एक जना व्यक्ति, जो पछि उत्तराखण्ड आन्दोलनका नेता भए, उनले शैलेशलाई धेरै भरथेग गरे। कयौं दिन आफ्नै घरमा आश्रय दिए। कामको निम्ति कयौं मान्छेकहाँ चिठी लेखेर पठाए।
जहाँ–जहाँ गए, त्यहाँ उनले अपमानित हुनुपर्यो। हिन्दी साहित्यका महान साहित्यकार भनिने एक महाकविले त चिठी पढेर अनुहारमा विचित्र मुस्कान छर्दै काव्य लयमा बचन–बाण हाने, ‘तिमीभन्दा पहिले एक जना पहाडी केटोलाई मैले काममा राखेको थिएँ, तर त्यो बेइमान निस्क्यो।’
महाकविको बचनको चोटले विक्षिप्त शैलेश कयौं दिन इलाहाबादको फुटपाथमा भट्किए। राति जाडोले कठ्याङ्ग्रिदै अर्काको घरको पिँढीमा बास बस्न जाँदा चोर भन्ठानेर प्रहरीको पक्राउमा परे, चौकीको हावा खाए।
असफलताका ती पलमा सहाराको हात बढाउने उनै शमशेरबहादुर नै थिए, जसले हप्काउँदै भने, ‘तिमीलाई आफ्नो प्रतिभाप्रति अटुट आस्था छैन भने साहित्यकार बन्ने मोहबाट मुक्त होऊ र पूरा ध्यान रोजीरोटीमा लगाऊ। यसले तिम्रो मानसिक क्लेश कम हुन्छ। लेख्नु नै छ भने यस्तो अगाध आस्थाका साथ लेख, ताकि तिमीलाई साहित्यकार मात्र होइन, महान साहित्यकारका रूपमा सबैले सम्झना गरून्। तिमी आफ्नो प्रतिभाप्रति आस्था राखेर जति दृढ संकल्प गर्छौ, त्यति नै माथि उठ्न सक्छौ।’
शमशेरबहादुरका प्रेरणादायी शब्द नै उनको प्रयाग बसाइको एकमात्र उपलब्धि रह्यो।
उनी यही प्रेरणा लिएर प्रयागबाट मुजफ्फरनगर, मुजफ्फरनगरबाट दिल्ली हुँदै ‘दैनिक हिन्दुस्तान’ मा काम गर्ने एक परिचितसँग पाँच रुपैयाँ सापट मागेर रेलमा बिनाटिकट बम्बई पुगे।
यहाँसम्म आइपुग्दा उनले निश्चय गरिसकेका थिए– अबउप्रान्त कहिल्यै कुनै साहित्यकारकहाँ आश्रय खोज्दै जाने छैन।
‘महान साहित्यकारहरू महान मनुष्य पनि हुन्छन् भन्ने भ्रम मेरो आँखाको पर्दाबाट हटिसकेको थियो,’ उनी लेख्छन्, ‘महान भनिएका साहित्यकारको दाँजोमा साधारण व्यक्तिको हृदय बढी संवेदनशील, सौजन्यपूर्ण र मानवीय संवेदनायुक्त भएको मैले पाएँ।’
बम्बईमा आकाश छुने गरी तन्किएको महल र त्यसको ठिकमुनि समुद्र छुने लमतन्न फुटपाथ – शैलेशको निम्ति यही फुटपाथ अब एक मात्र आश्रय थियो।
‘बम्बईका फुटपाथ र यी फुटपाथमा शरणागत कुल्ली, मजदुर, भिकारी, गुन्डा र दादाहरूले मलाई जुन आत्मीयता देखाए, सहारा दिए र श्रम गरेर बाँच्ने जुन दिशा–दृष्टि दिए, त्यो मैले कुनै पनि साहित्यकारबाट पाउने सिकाइभन्दा अनमोल थियो,’ शैलेश लेख्छन्।
शैलेशले बम्बईका फुटपाथमा जीवन जिउने कला सिके। भोकसँग संघर्ष गर्न जाने। कहिलेकाहीँ भोकले पेट अर्मरिएर आउँदा, आन्द्रा बटारिँदा, हिँड्दा हिँड्दा गोडाका नसा बाउँडिदा उनी थपक्क निषेधित पार्कमा गएर लम्पसार सुतिदिन्थे। प्रहरी सिठी फुक्दै आउँथ्यो, पक्रेर लैजान्थ्यो। सात–आठ दिनलाई खानेकुराको जुगाड भइहाल्थ्यो।
प्रहरीले धोका दिएको बेला उनी अस्पतालको ब्लड बैंकमा लाम बस्न जान्थे। पुरानो रगत बेचेर ज्यानमा नयाँ रगत भर्थे।
संघर्षको भट्टीमा जल्दा–जल्दै एकरात उनलाई ‘बुद्धत्व’ पाएझैं भयो– यदि आफ्नो स्वप्न संकल्प पूरा गर्नुछ भने साधारण मजदुरको हैसियतमा बाँच्ने दीक्षा लिनु जरुरी छ। महान साहित्यकार बन्ने महत्वाकांक्षा राखेको मान्छेले निम्न कोटीको श्रम गर्नु ठिक होइन भन्ने कुन्ठाग्रस्त माकुरीजालोलाई मनको घरबाट सदाको निम्ति हटाउनुपर्छ। श्रमको शरणमा परेपछि नै मान्छेको मृतप्रायः प्राण, हतप्रभ प्रतिभा र शिथिल स्वप्न संकल्पको उद्धार हुनसक्छ।
यही आत्मविश्वासका साथ एकदिन शैलेश ‘श्रीकृष्ण पुरी हाउस’ नामक चाट पसलमा महिनाको आठ रुपैयाँ तलबमा भर्ती भए।
त्यहाँ उनी जुठो भाँडा उठाउने र माझ्ने काम गर्थे। बिहान ७ देखि १२ र दिउँसो २ देखि राति ११ बजेसम्म ‘ड्युटी’ थियो। दिनको चौध घन्टा ड्युटीले शरीर थाकेर ढुंगा हुन्थ्यो, तर सिर्जनशील कल्पनाको रफ्तार थामिन्थेन।
जुठेल्नुमा जुठा प्लेटहरूको खात लाग्ने बेलासम्म उनी पर्खेर बस्थे र त्यही मौकामा कथा, कविता बुन्थे। शैलेशले आफ्नो अधिकांश गीत र कथा यही समयमा रचना गरेको बताएका छन्।
तीन वर्ष उनले यही चाट–हाउसमा बिताए। उनको दर्जा फेरियो। भाँडा माझ्ने मसल्चीबाट बढुवा हुँदै ग्राहकसँग अर्डर लिने वेटर भए। तलब पनि आठ रुपैयाँबाट बढेर बीस रुपैयाँ महिनावारी पुग्यो।
सबभन्दा ठूलो कुरा त, बम्बईको आगोमा रापिएर शैलेश सुन भए।
उनले बम्बईका गल्ली चहारे, मुहल्ला चहारे, कोठीहरू चहारे। पानवाला, रिक्सावाला, कोठावाला, हवल्दार, गुन्डागर्दी गर्ने भाइ, वेश्या र वेश्याका दलालसम्म उनका साथी भए। यी सबैको संगतले जिन्दगीलाई हेर्ने दृष्टि फराक भयो। फराक दृष्टिले सिर्जना खारियो।
उनको साहित्यको क्यानभासमा जिन्दगीका इन्द्रधनुषी रङहरू निखारिएर आउन थाल्यो।
बम्बईका यिनै अनुभव समेटेर उनले पहिलो उपन्यास लेखे– 'बोरीवलीसे बोरीबन्दर तक'।
यो उपन्यासले 'स्वप्न नगरी' बम्बईको गर्भमा लुकेका तीता यथार्थको कारुणिक चित्रण गर्छ। यहाँबाट सुरू लेखन यात्रा मानसिक रूपमा विक्षिप्त भएर निधन नहुँदासम्म अटुट रह्यो।
शैलेशका कृतिलाई हामी दुई भागमा बाँड्न सक्छौं। एउटा भागमा अल्मोडाको पहाडी जीवनप्रति अगाध मोह उर्लेको पाइन्छ भने अर्को भागमा बम्बैया सहरी संस्कृतिको झलक छ। उनी आफैं पनि कुमायूँ र र बम्बईलाई आफ्नो साहित्य सिर्जनाका दुई क्षितिज मान्छन्। भन्छन्, ‘मेरा कृतिहरूको कथ्य र शिल्प, दायरा र दृष्टिकोण यिनै दुई क्षितिजको माटो, संस्कृति र परिस्थितिका प्रतिबिम्ब हुन्। यसमा कहीँ बम्बईको सुगन्ध छ, कहीँ कुमायूँको आत्मा।’
जहाँसम्म कुमायूँको कुरा छ, यसले उनका रचनामा पहाडी संघर्ष र जनजीवनको कलेवर समेट्छ, जुन हामीलाई आफ्नै गाउँघरको कथाजस्तै लाग्छ।
अहिले पनि हाम्रा गाउँघरबाट लाखौं तन्नेरी बिदेसिएका छन्। उति बेला लाहुर जान्थे, अहिले वैदेशिक रोजगारमा जान्छन्। वृद्ध आमाबा उसैगरी परदेशिएका छोराको बाटो हेरेर बसेका छन्। प्रियसी आँखा रसिलो पार्दै सन्देश पर्खिरहेका छन्। अचेल सन्देशको निम्ति दयाराम पोस्टम्यानको बाटो कुर्नुपर्दैन, मोबाइलमा नेटवर्क छ कि छैन हेर्नुपर्छ। परिवेश भिन्न, परिस्थिति उही।
‘अर्धांगिनी’ कथामा उनले लाहुरबाट गाउँ फर्केका व्यक्तिको मनस्थिति जसरी चित्रण गरेका छन्, त्यो हाम्रो गाउँघरको वस्तुस्थितिसँग हुबहु छ।
यी लाहुरे बाटोभरि पत्नीको कल्पनामा डुब्छन्। गाउँको सीमाना टेकेपछि त्यहाँका रूखपात, बुट्टयान र ढुंगाहरू पनि उनलाई परिचितझैं लाग्छ। उनी रेडियो बोकेर गाउँ डुल्छन्। पँधेरामा गएर सिन्थोल साबुनले नुहाउँदा गाँवै बसाउँछ। उनी रम खान्छन्, भुटुवा चपाउँछन्। टनकपुरमा बास बस्नुपरे आधा कमाइ बाटोमै सकिएला भनेर घाम अस्ताउने बेला घरको पिँढी टेक्न पुग्छन्।
पहाडी संस्कृतिको सुगन्धयुक्त यस्तो वर्णनले हामीलाई लाहुरबाट घर फर्किरहेका आफ्नै प्रवासी दाजुभाइको कथा पढेझैं अनुभूति हुन्छ।
शैलेशका रचनामा पाइने आञ्चलिक स्वाद बदलिँदो परिवेशमा पनि ताजा छ। पहाडी जीवन कष्टकर हुँदाहुँदै त्यहाँको मानवीय सम्बन्ध कसरी आपसमा जेलिएका छन् भन्ने यसले दर्शाउँछ। पहाडका मान्छे कुनै न कुनै रूपमा एकअर्कासँग भावनात्मक रूपले निकट हुन्छन्। भूगोलको कष्टबीच आपसमा व्यवहार मिलाउँदै बाँच्नुपर्ने बाध्यता छ। सामाजिक सम्बन्ध र सामाजिक रीतिरिवाज जतिसुकै असमान भए पनि दिनानुदिनको बसउठमा एकअर्कासँग निकट नभई धर छैन।
शैलेशका रचना पहाडी जीवनको यही आत्मीयता र भौतिक निकटता झल्काउने दस्तावेज हुन्।
उनको रचनामा पाइने आञ्चलिक स्वाद एउटा अर्थमा भने नेपालसँग भिन्न छ — नेपालको राजनीतिक परिदृश्यमा पहाडलाई शक्तिशाली मानिन्छ। सत्तामा सधैंभरि पहाडीहरूकै बहुमत रहँदै आएको छ। मधेसकाहरू आफूलाई सीमान्त ठान्छन्। भारतको अवस्था भिन्न छ। त्यहाँ पहाड सधैं अल्पमतमा छ। समथरका बासिन्दा राजनीतिमा शक्तिशाली छन्।
शैलेशले भारतको सन्दर्भमा अल्पमतको आवाजलाई साहित्यको मूलधारमा ल्याए। हामीकहाँ पनि यस्तै आञ्चलिक साहित्यको खाँचो छ, जहाँ अल्पमतको आवाज बढीभन्दा बढी मुखरित होस्।
अहिलेको सन्दर्भमा ‘मैं और मेरी रचना–प्रक्रिया’ मा उल्लिखित यो अंश सान्दर्भिक छः
‘जब इङ्ल्यान्डकी महारानी दिल्ली आइन्, उनी जुन–जुन बाटो हिँडिन्, त्यहाँ–त्यहाँको सडक र फुटपाथ चिल्लो पारियो। हेर्दा फोहोरी र घिनलाग्दा आममान्छेलाई प्रहरीले लठ्ठी हिर्काउँदै इलाकाबाटै खेदे। धेरैलाई गिरफ्तार पनि गरे।’
‘जब–जब बाहिरबाट राजकीय महत्वका राजा–रानी वा नेताहरू आउँछन्, तब–तब देशको दरिद्रता, बेरोजगारी र कमजोरीमा पर्दा चढाउन अल्पकालिक, कृत्रिम व्यवस्था र अमानवीय व्यवहार गरिन्छ। यसको साटो समस्त नागरिकको आर्थिक स्तर उकास्न सरकार कुनै ठोस कदम किन चाल्दैन? सरकारसँग राष्ट्र निर्माणका सयौं योजना हुन्छन्, तर लाखौं बेरोजगार, गरिब र घरबारविहीन जनतालाई उद्धार गर्ने ठोस कदम हुँदैन।’
‘प्रत्येकचोटि यस्तो अनुभव गर्नुपर्दा मलाई दुःख लाग्छ।’
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)