सेतोपाटीको ‘किताब चर्चा’ स्तम्भअन्तर्गत राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाबारे प्रकाशित मेरो लेखलाई लिएर केही समययता विभिन्न टीकाटिप्पणी भइरहेका छन्। मेरो लेख — सनसनी मच्चाएको ‘एन्ड अफ हिस्ट्री’ — फुकुयामाकै सम्बन्धमा अमेरिकी पत्रिका ‘न्यूयोर्कर’ मा प्रकाशित लेखसँग मिल्दोजुल्दो रहेको कुरा प्रबुद्ध पाठकहरूले उठाउनुभएको छ। यसै सन्दर्भमा म आफ्नो धारणा साझा गर्न चाहन्छु।
मूलतः म लेखक होइन, लेख्नभन्दा पढ्न रुचाउने सामान्य पाठक हुँ। यस्तो पाठक, जसले किताबमार्फत् जीवन र जगत बुझ्ने प्रयास गर्दै आएको छ। म किताब पढ्दा ज्ञान र आनन्द त पाउँछु नै, सँगसँगै आफूले जानेका–बुझेका कुरा बाँड्न पाउँदा मलाई औधि खुसी लाग्छ।
स्तम्भको पहिलो लेखमै मैले विश्वेश्वरप्रसाद कोइरालालाई उद्धृत गर्दै भनेको थिएँ, ‘एउटा व्यक्ति पढेर ज्ञानी त हुनसक्छ, तर ज्ञान उसको निजी हुन सक्दैन। त्यो सामूहिक प्रयोगमा आउनुपर्छ। यसको निम्ति चिन्तन र चर्चा अपरिहार्य छ।’
मैले यो पनि भनेको थिएँ, ‘सामाजिक विकासमा ज्ञानको महत्व स्वीकार्ने हो भने आफूले पढेका कुरा कुनै न कुनै रूपमा समाजसम्म पुर्याउनैपर्छ, त्यो हामी पढ्नेहरूको सामाजिक दायित्व हो।’
यही धारणाबाट प्रेरित भएर म लामो समयदेखि सार्वजनिक विमर्शमा सरिक रहँदै आएको छु। सेतोपाटीमा आफूले पढेका किताबमाथि स्तम्भ सुरू गर्नुको कारण पनि यही हो।
जसरी म लेखक होइन, त्यसरी नै समीक्षक पनि होइन। मैले कुनै एउटा किताब उठाएर त्यसमाथि शास्त्रीय ढंगले समीक्षा गरेको थिइनँ। त्यसो गर्नु मेरो उद्देश्य पनि होइन।
मेरो उद्देश्य हो, किताब पढेर आफूले ग्रहण गरेका कुरा आमपाठकसँग बाँड्ने। मेरो उद्देश्य हो, त्यो किताब कुन सन्दर्भमा लेखियो, त्यसले विश्व परिवेश र हाम्रो परिवेशमा के अर्थ राख्छ भन्नेबारे आफ्नो धारणा साझा गर्ने। मेरो उद्देश्य हो, किताबको विषयवस्तुमा लेखकको पृष्ठभूमिले पारेको प्रभाव र त्यो किताबले सिर्जना गरेको तर्क–बितर्कमाथि चर्चा गर्ने।
यस स्तम्भअन्तर्गत अहिलेसम्म प्रकाशित २२ वटा लेख यिनै विषय वरिपरि घुमेका छन्।
ती लेखमा मैले आफूलाई मनपरेका किताब, त्यसमा निहीत सैद्धान्तिक धार वा त्यसले उठान गरेको विषयवस्तु र त्यसबारे विश्वव्यापी चर्चा–परिचर्चालाई आफ्नो दृष्टिकोणसहित आमपाठकसमक्ष राख्ने प्रयास गरेको छु।
केही किताब त मैले बीस वा तीस वर्षअगाडि पढेका पनि थिए। त्यति बेला पढ्दा के सिकेँ, के बुझेँ र आजको परिवेशमा ती किताब वैचारिक रूपले कत्तिको सान्दर्भिक छन् भनेर जाँच्ने मौका मैले पाएँ।
उदाहरणका लागि, युभल नोहा हरारीका किताबले विज्ञान–प्रविधिको विकाससँगै मानव सभ्यताको इतिहास र मूल्य–मान्यतामा उत्पन्न संकटमाथि प्रकाश पारेको छ, जुन आजको टड्कारो प्रश्न हो। मैले हरारीका किताबमा केन्द्रित रहेर मानवीय सभ्यताको विकासक्रम कसरी अवरुद्ध छ भन्ने चर्चा गरेँ।
नेपालभित्र एक समय यस्तो थियो, जति बेला किताब र पत्रपत्रिका पढ्न सहज थिएन। राजनीतिक किताबमाथिको प्रतिबन्ध त अझ कडा थियो। त्यो समय राजनीतिक विषयवस्तुमा लेखिएका किताब पाउनु र पढ्नु कति चुनौतीपूर्ण थियो भन्ने उजागर गर्न मैले लियो रोजका किताबलाई उदाहरणका रूपमा लिँदै छलफल गरेँ।
विद्यार्थी कालदेखि वयस्क उमेरसम्म मैले जहाँ–जहाँ यात्रा गरेँ, त्यसले मलाई दक्षिण एसियाली साहित्यप्रति रुचि जगाएको थियो। मैले भारतीय लेखकद्वय फणीश्वरनाथ रेणु र शैलेश मटियानीका किताबमार्फत् साहित्यमा आञ्चलिकताको प्रभाव केलाउने प्रयास गरेँ। यी दुवै लेखकले भारतीय परिवेशमा रचना गरेका साहित्य हाम्रो समाज र परिवेश बुझ्न पनि उत्तिकै उपयोगी छन्।
पछिल्लो समय दक्षिण एसियामा जुन किसिमको राजनीतिक विभाजन र जातधर्मका नाममा मनमुटाव छ, त्यो वस्तुस्थिति बुझाउन मैले भीष्म साहनीको ‘तमस’ माथि चर्चा गरेँ।
भारत–पाकिस्तान विभाजनको पृष्ठभूमिमा लेखिएको यो किताबले एउटै समाज धर्म र राजनीतिका नाममा कसरी बाँडिन्छ भन्ने बुझ्न मद्दत गर्छ। हिंसाको राजनीतिलाई यसले नजिकबाट हेर्छ। हामी पनि हिंसाको राजनीतिबाट संवैधानिक राजनीतितर्फ बामे सर्दैछौं। हाम्रो राजनीतिक संक्रमणलाई पर्गेल्न यो किताबले एउटा आलोकको काम गर्छ।
भारत–पाकिस्तान विभाजन ताकाकै चर्चित लेखकहरू सआदत हसन मन्टो र इश्मत चुग्ताईका किताबले हामीलाई साहित्य सिर्जनाको धरातल कति फराकिलो हुनुपर्छ र साहित्यमा यौन बन्देजको विषय हो कि होइन भन्ने बुझाउँछ। नेपाली साहित्य रचनाको दायरा फराकिलो पार्न मन्टो र चुग्ताईका कृति सहायक हुन सक्छन् भनेर मैले यी लेखकलाई पनि आफ्नो स्तम्भमा ल्याएँ।
भारतमा नरेन्द्र मोदीको उदयपछि राजनीतिमा धर्मको प्रभाव हाबी छ। नागरिकता विधेयकलाई लिएर त्यहाँ केही समयअघि आन्दोलन चर्कियो। यी घटनाक्रम नेपालको पनि चासोको विषय हो। यसै सन्दर्भमा मैले भारतको कट्टर हिन्दु संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को उदयमाथि वाल्टर एन्डरसन र श्रीधर दाम्लेले लेखेका किताब र जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक निरजा गोपाल जयालको नागरिकतासम्बन्धी किताबबारे चर्चा गरेँ। यी किताबले चित्रण गर्ने राजनीतिमा धर्मको प्रभाव र नागरिकताको जटिलता हाम्रो निम्ति सान्दर्भिक छन्।
हामी खुला समाजको यात्रामा लम्कँदै गर्दा पहिचान छनौटको विषय महत्वपूर्ण बनेको छ। सीमान्तकृत र लैंगिक अल्पसंख्यकको हक–अधिकारको वकालत नयाँ आन्दोलनका रूपमा अगाडि आएको छ। यसबारे चर्चा गर्न मैले फ्रेन्च लेखक जिन जेनेटका किताब उठाएँ।
स्तम्भमा चर्चा गरिएकामध्ये मलाई रामचन्द्र गुहाको महात्मा गान्धीसम्बन्धी किताबले बढ्ता छोएको छ। गुहाले राजनीतिक स्वच्छता र नेतामा हुनुपर्ने दृढता र सादगीलाई महात्मा गान्धीको व्यक्तित्वमार्फत् प्रस्तुत गरेका छन्। हामीकहाँ राजनीतिक अवस्थादेखि राजनीतिक नेताहरूको आचरण जसरी धमिलिएको छ, त्यसलाई शुद्धीकरणतर्फ लैजान गान्धीको व्यक्तित्वले धेरै कुरा सिकाउँछ।
यी र यस्ता किताबले मलाई जीवन र जगतको जटिलता बुझ्न सहयोग गरेको छ। आफ्नो त्यही बुझाइ आमपाठकसमक्ष बाँड्न मैले सेतोपाटीलाई माध्यमका रूपमा उपयोग गरेँ। यो स्तम्भ मैले सेतोपाटी समाचारकक्षमा सञ्चारकर्मी साथीहरूमाझ दिएको प्रवचन र अन्तर्क्रियाको उपज हो।
म हरेक पन्ध्र दिनमा कुनै एक लेखकका किताब छनौट गर्थेँ र त्यसमाथि प्रवचन दिन्थेँ। यस क्रममा आफूले छानेको किताब, लेखकको पृष्ठभूमि र त्यसबारे अन्तर्राष्ट्रिय चर्चा–परिचर्चा बुझाउन म विभिन्न पत्रपत्रिकामा प्रकाशित लेख–रचना र लेखकका अन्तर्वार्ता सन्दर्भ–सामग्रीका रूपमा प्रयोग गर्थेँ। त्यसले मलाई सम्बन्धित किताब, लेखक र त्यससँग जोडिएका ऐतिहासिक तथ्य बुझाउन सहज हुन्थ्यो।
कुनै पनि विषयमा लेख्दा वा छलफल गर्दा लेखक वा वक्ताको विचार फरक हुन सक्छ, तर ऐतिहासिक तथ्यहरू फरक हुँदैनन्। ती हिजो पनि त्यही थिए, भोलि पनि त्यही रहन्छन्। यस सन्दर्भमा म न्यूयोर्कर मात्र होइन, पेरिस रिभ्यू अफ बुक्स, लन्डन रिभ्यू अफ बुक्स, न्यूयोर्क रिभ्यू अफ बुक्स लगायत न्यूयोर्क टाइम्स, गार्डियनजस्ता पत्रपत्रिकामा छापिएका रचना पनि छलफल क्रममा उद्धृत गर्थेँ। भारतीय साहित्यमाथि चर्चा गर्दा दिनमान, नवनीत, कादम्बिनीजस्ता पत्रिकामा प्रकाशित रचनाहरूलाई सन्दर्भ–सामग्रीका रूपमा प्रस्तुत गर्थेँ।
म आफ्नो प्रवचन क्रममा सम्बन्धित किताबका साथै माथि भनिएका पत्रपत्रिका र जर्नलमा प्रकाशित लेख–रचनाका महत्वपूर्ण अनुच्छेद पढेर सुनाउँथेँ। कतिपय अन्तर्राष्ट्रिय जर्नलका लेख–रचना त आफैं डाउनलोड गरेर पढ्न दिन्थेँ।
मेरो उद्देश्य आफूले पढेका र जानेका कुरा सेतोपाटीका पत्रकार साथीहरू र त्यसमार्फत् आमपाठकसमक्ष पुर्याउनु थियो। यस निम्ति जबसम्म साथीहरूको जिज्ञासा शान्त हुँदैन, तबसम्म म आफूले थाहा पाएसम्मका उदाहरण दिँदै विषयवस्तु छर्लंग पार्ने कोशिस गर्थेँ।
यसरी दुई–तीन घन्टासम्म चल्ने प्रवचन र अन्तर्क्रियाको निचोडका रूपमा ती लेख तयार भएका हुन्। तपाईंहरू मलाई आफ्नै स्तम्भको वास्तविक लेखक नमान्न सक्नुहुन्छ। मलाई यसमा कुनै गुनासो छैन। सुरूमै भनिसकेँ, म लेख्नभन्दा पढ्न रुचाउने पाठक हुँ। मैले आफूलाई लेखकका रूपमा चिनाएको छैन र त्यो मेरो वास्तविक परिचय होइन पनि। खुला समाज प्रवर्द्धन निम्ति विचार आदानप्रदानलाई महत्वपूर्ण कडीका रूपमा स्वीकार गर्ने हो भने हामीले अपनाएको यो विधि गलत होइन भन्नेमा म पूर्ण विश्वस्त छु।
हामीले राजनीतिक, सामाजिक र आर्थिक रूपले स्वतन्त्र, खुला र बहुलवादी समाज निर्माणको परिकल्पना गरेका छौं। यो तब मात्र सम्भव छ, जब ज्ञानको दायरा फराकिलो हुन्छ। जब विचार–विमर्श र छलफलले प्रश्रय पाउँछ। एकांकी समाज न स्वतन्त्र हुन सक्छ, न खुला। बहुलवादी हुन त कदापि सम्भव छैन। एकांकी सोचले पनि बहुलवादी समाजको आधार निर्माण गर्दैन। यस निम्ति विचारहरूको बन्देजरहित प्रवाह हुनुपर्छ। मेरो स्तम्भ त्यही विचार प्रवाहलाई गति दिने कोशिस थियो।
स्तम्भ सुरू गर्नुको कारण र त्यसको रचना प्रक्रियाबारे चर्चा गरिसकेपछि अब म फुकुयामासम्बन्धी मेरो लेखमा उठेका टीकाटिप्पणीमाथि आफ्नो कुरा राख्न चाहन्छु।
मेरो लेखका केही अनुच्छेद ‘न्यूयोर्कर’ सँग कसरी मिल्न गयो भनेर प्रबुद्ध पाठकहरूले प्रश्न उठाउनुभयो। कतिपयले ‘बौद्धिक चोरी’ को आरोपसमेत लगाउनुभयो। लामो समय सार्वजनिक शिक्षामा लागेको हैसियतले यो कति गहन मुद्दा हो भन्ने मैले बुझेको छु। म आफूमाथि उठेका यी प्रश्नलाई नयाँ सिकाइका रूपमा लिन्छु।
सन् १९९० दशकको सुरूमा जब म अमेरिकाको कोर्नेल विश्वविद्यालयमा पढ्दै थिएँ, फ्रान्सिस फुकुयामाको किताब ‘एन्ड अफ हिस्ट्री’ अत्यन्तै चर्चित थियो। राजनीतिक विचारधाराका दृष्टिले संसारभरि हलचल मच्चाएको उक्त किताबबारे विश्वविद्यालयको कक्षाकोठादेखि क्यान्टिनमा समेत चर्चा–परिचर्चा हुन्थे। हामी उनको विचारको प्रभाव र बहसको तरंगबाट उम्किन सक्दैन थियौं।
त्यति बेला राजनीतिशास्त्रको विद्यार्थीका हैसियतले मेरो मनमा एउटा प्रश्न उठिरहन्थ्यो, के साँच्चै इतिहासको अन्त्य भएकै हो? के इतिहासको अन्त्य सम्भव छ? सेतोपाटीमा ‘किताब चर्चा’ सुरू गरेपछि मैले फुकुयामाको राजनीतिक दर्शनलाई आधुनिक समाजको परिप्रेक्ष्यमा केलाउने कोशिस गरेँ।
यस क्रममा किताबको परिवेश, लेखकको पृष्ठभूमि र त्यसले ल्याएको अन्तर्राष्ट्रिय तरंगबारे चर्चा गर्दा मैले माथि भनेजस्तै न्यूयोर्करसहित विभिन्न पत्रपत्रिका र जर्नलमा प्रकाशित लेख–रचनालाई सन्दर्भ–सामग्रीका रूपमा उपयोग गरेको हुँ।
मैले सन्दर्भ–सामग्रीका रूपमा प्रयोग गरेका कुरा प्रायः ऐतिहासिक तथ्य हुन्। त्यही भएर अखबारी लेखका रूपमा प्रकाशित गर्दा कतिपय त्यस्ता तथ्य उद्धरणका रूपमा प्रयोग गर्नुपर्छ भन्ने हामीलाई लागेन। यो लेख कुनै प्राज्ञिक बहसमा भाग लिन वा जर्नलमा छाप्न नभएर किताब पढ्न इच्छा गर्ने र किताबबारे बुझ्न चाहने आमपाठक निम्ति तयार पारेकाले पनि हामीले ती ऐतिहासिक तथ्य उद्धृत गर्न जरूरी ठानेनौं। अखबारी लेखमा त्यस्ता तथ्यको धेरै उद्धरणले पाठकहरूको पठन अनुभव झिँझलो बनाउँछ भन्ने लागेर पनि हामीले कम प्रयोग गरेका हौं।
आमपाठकले किताबको मर्म कसरी सहज ढंगले बुझ्न सक्छन् भन्ने नै हाम्रो मनसाय थियो। आफ्नो स्वाध्ययनको आनन्द अरूसँग बाँड्नु नै मेरो मूल ध्येय थियो।
आफूले पढेका किताबमाथि विचार राख्दा कुनै मौलिक सिद्धान्त प्रतिपादन गरेको छु भन्ने दाबी म गर्दिनँ। मैले भनेका कुरा विगतमा अरू कसैले भनिसकेका हुन सक्छन्। विगतमा अरू कसैले लेखिसकेका पनि हुन सक्छन्। एउटै किताबमाथि चर्चा गर्दा वा एउटै लेखकबारे विमर्श गर्दा उस्ताउस्तै विचार प्रवाह हुनुलाई म संयोग होइन, स्वाभाविक मान्छु।
यति भन्दाभन्दै म यहाँ के प्रस्ट पार्न चाहन्छु भने, प्राज्ञिक अनुशासनमा काम गरेको हैसियतले सन्दर्भ–सामग्रीका रूपमा लिइएका तथ्यलाई उद्धृत गर्नुपर्ने आवश्यकता मैले राम्ररी बुझेको छु। त्यही भएर जब केही प्रकाशक साथीहरूले मेरो स्तम्भलाई किताबका रूपमा छाप्ने प्रस्ताव ल्याए, मैले ‘त्यस निम्ति धेरै काम गर्न बाँकी छन्’ भनेर पन्छाएको थिएँ।
आमसञ्चार माध्यममा लेखिने तौरतरिका र किताबका रूपमा प्रस्तुत गर्ने तरिका बिल्कुलै भिन्नै हुन्छ। यी लेखलाई किताबका रूपमा प्रकाशन गर्दा मैले ऐतिहासिक तथ्यहरू कुन–कुन सन्दर्भ–सामग्रीबाट लिइएका हुन् भनेर उद्धरण गर्नुपर्छ। पढेको किताब कति सालमा छापिएको कुन संस्करण हो, मूल संस्करणको दाँजोमा के–के संशोधन भए भन्ने पनि खुलाउनुपर्छ।
प्रबुद्ध पाठकहरूले औंल्याउनुभएको न्यूयोर्कर मात्र होइन, मैले सन्दर्भ–सामग्रीका रूपमा प्रयोग गरेका अरू लेख–रचना पनि सबै यहाँ उद्धृत भएका छैनन्। आज फर्केर हेर्दा मलाई आफूले अन्तर्क्रिया क्रममा पढेर सुनाएका सबै किताब, जर्नल, लेख, समीक्षा, अन्तर्वार्ताहरूको स्रोत खुलाइदिएको भए हुन्थ्यो भन्ने पक्कै लागेको छ। यस निम्ति आत्मालोचना गर्न मलाई कुनै संकोच छैन।
प्रबुद्ध पाठकहरूले आफ्नो तीक्ष्ण दृष्टिबाट औंल्याउनुभएको कुराले मलाई आफ्नो कमजोरी चिन्ने अवसर दिएको छ। यसले मलाई आगामी दिनमा थप बलियो बनाउनेछ।
पढ्ने, लेख्ने र कुनै पनि विषय मिहिन केलाउने समूह फराकिलो हुँदैछ भन्ने अनुभूतिले मलाई थप उत्साहित पनि बनाएको छ। यस्तै क्रिया–प्रतिक्रियाले नै सार्वजनिक बौद्धिक चेतनाको स्तर उक्सिने हो। यसले हामी सबैको लेखन र अभिव्यक्ति सन्तुलित राख्न एउटा इँटा थप्नेछ भन्ने मलाई लाग्छ।
सबभन्दा ठूलो कुरा त, यस्तो क्रिया–प्रतिक्रियाले हामीलाई कुनै पनि कुरा लेख्दा वा बोल्दा अर्काको दृष्टिबाट पनि हेर्न सिकाउँछ। हामीले आफ्नो सहजताका लागि कतिपय तथ्य उद्धरण गर्नुपर्दैन भन्ठानेका थियौं, जबकि पाठकका दृष्टिमा त्यही कुरा उद्धृत भएर आउन कति जरूरी छ भन्ने हामीले सिक्यौं। खुला विचार प्रवाहको सकारात्मक पक्ष यही हो।
म पाठकहरूले औंल्याउनुभएका कमी–कमजोरी र टीकाटिप्पणीलाई नयाँ सिकाइका रूपमा ग्रहण गर्छु। र, सेतोपाटीमा जुन नयाँ स्तम्भ लेख्ने तयारी गर्दैछु, त्यसमा ती कमी–कमजोरी नदोहोरियोस् भनेर सजग र सचेत रहन्छु।
मेरो आगामी स्तम्भ २०४६ यताको राजनीतिक विकासका विविध घटनाक्रम र त्यसमा मेरो बुझाइमाथि केन्द्रित हुनेछ। पछिल्लो तीस वर्षको प्रजातान्त्रिक र गणतान्त्रिक कालखण्डलाई मैले विभिन्न राजनीतिक संस्थामा प्रत्यक्ष संलग्न रहेर चिन्ने र बुझ्ने मौका पाएँ। प्रजातान्त्रिक र गणतान्त्रिक संक्रमणका सुरूआती जटिलता पर्गेल्ने मौका पाएँ।
यस क्रममा नेपालका राजनीतिक व्यक्तित्व, राजनीतिक संस्था र राजनीतिक परिवेश तथा प्रवृत्तिलाई मैले नजिकबाट देखेको छु। आफ्ना तिनै अनुभवका आधारमा म आगामी स्तम्भमा नेपालको प्रजातान्त्रिक परिवर्तन र गणतान्त्रिक परिवर्तनमाथिको सैद्धान्तिक विवेचना तपाईंहरूसँग साझा गर्नेछु।
पछिल्लो टीकाटिप्पणीले मेरो यो नयाँ यात्रालाई पक्कै पनि थप मजबुत बनाउने छ।
(हरि शर्माका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)