भर्खरै सुदर्शन थापाकृत फिल्म 'प्रसाद २' हेरेँ। सुरूदेखि नै विवाद र समस्याका बाबजुद निर्माण टिमले छुवाछुत, जातीय घृणा, दमन र अपमानमा केन्द्रित यो सिक्वेल फिल्म रिलिज गर्न सफल भयो। यसका निम्ति निर्देशक थापा, निर्माता सुदर्शन बस्नेत, प्रस्तोता सुभाष थापा, लेखक सुशील पौडेल, कलाकारहरू; विपीन कार्की, अर्पण थापा, केकी अधिकारीसहित सम्पूर्ण टिमलाई उत्पीडित समुदायको तर्फबाट आभार व्यक्त गर्छु।
फिल्मले निकै कलात्मक तरिकाले दलितलाई मुक्ति संघर्षमा सशक्त ढंगले लाग्न प्रोत्साहित गरेको छ। यो ज्यादै प्रशंसनीय कार्य हो।
समग्रमा फिल्मबाट के बुझ्न सकिन्छ भने अब दलितको मुद्दा दलितले मात्रै उठाउने होइन। यो साझा समस्या हो र गैरदलित पनि हातेमालो गर्न तत्पर छन्। धेरै जना राजनैतिक परिवर्तनसँगै सामाजिक परिवर्तन देख्न आतुर छन्। सामाजिक न्यायको पक्षमा उभिँदै छन्। अब राजनीतिक रूपमा संघर्ष उठाउनुपर्छ तर बिँड तातेर हुँदैन– पहिला ताप्के नै तात्नुपर्छ।
प्रसाद २ को मूल सन्देश अत्यन्तै सान्दर्भिक र समसामयिक छ। कलाकारहरूको प्रस्तुति पनि प्रशंसनीय छ। विशेषगरी केकी अधिकारी र अर्पण थापाले अवार्ड नै पाउने खालको अभिनय गरेका छन्। तर कतिपय कुरामा निर्देशकले ध्यान नपुर्याएका कारण फिल्म त्यति शक्तिशाली बन्न सकेको छैन।
सर्वप्रथम त फिल्मको शीर्षक (प्रिक्वेलको पनि) नै अशोभनीय लाग्छ। गलत लाग्छ। जति नै बच्चाको चाहना भएको मान्छेले पनि आफ्नी श्रीमतीलाई परपुरूषले यौनसम्बन्ध राखेर, अझ बलात्कार गरेर जन्माएको बच्चालाई सितिमिति स्वीकार गर्दैन। छोरो होस् या छोरी, स्वीकार गरिहाले पनि त्यो बच्चालाई भगवानकै 'प्रसाद' त पक्कै ठान्दैन!
यसरी प्रसादको फरक अर्थ लगाउन खोज्दा बलात्कार जस्तो जघन्य अपराधलाई एक प्रकारको पूजा ठानेको जस्तो भान हुन्छ। घुमाउरो पाराले बलात्कारी पुरूषलाई भगवान सम्झेको ठानिन सक्छ। समाजमा जघन्य अपराधलाई प्रोत्साहन गरेको रूपमा बुझिन सक्छ। महिला हिंसा र उत्पीडनको नजरन्दाज गरेको वा सामान्यीकरण गरेको जस्तो पनि देखिन सक्छ।
हिन्दु लगायत सबै धर्ममा 'प्रसाद' भनेको ता अत्यन्तै चोखो, पवित्र चिज हो। ईश्वरका नाममा प्रसाद चढाउनु र त्यसको ग्रहण गर्नु पूजापाठको, उपासनाको महत्वपूर्ण पक्ष हुन्। प्रसाद छुन र सेवन गर्न पनि विधि पुर्याउनुपर्ने चलन छ। प्रसाद सेवन गर्दा चित्त शुद्ध हुने, शरीर राम्रो हुने, परमात्मासँगको सम्बन्ध अझ प्रगाढ बन्ने जनविश्वास छ। तसर्थ फिल्मको नाम र प्रसादको वास्तविक अर्थ पटक्कै मेल खाँदैन।
आफ्नी श्रीमती नारायणीलाई बदमास क्षेत्री साथीले बलात्कार गरेर जन्माएको बच्चालाई बाबुराम परियारले 'प्रसाद' का रूपमा ग्रहण गरेको भन्ने अनौठो कथाले जातीय रूपमा अर्कै अर्थ लाग्ने सम्भावना रहन्छ। यसबाट परोक्ष रूपमा दलितको अपमान भएको छ। दलितका निम्ति सवर्ण जाति सबै भगवान बराबर हुन् र तिनको अपराध कर्मको फल समेत दलितका निम्ति वरदानसरि हुन्छ भन्ने अर्थ लगाउने ठाउँ छ।
यस्ता 'निटिग्रिटी' हरू सबै फिल्मका महत्वपूर्ण पक्ष हुन्छन्। खासगरी प्रसाद २ जस्ता 'सोसल ड्रामा' निर्माण गर्दा यस्ता धेरै कुरा ख्याल राख्नुपर्छ। किनकि यस्ता फिल्म सामाजिक यथार्थतामा उभिएका हुन्छन्। विषयलाई धेरै कोणबाट बुझ्नुपर्ने हुन्छ। झन् छुवाछुत, जातीय विभेद जस्ता संवेदनशील विषयको गाम्भीर्यता बुझ्न नसके अर्थको अनर्थ लाग्ने खतरा हुन्छ।
समग्रमा प्रसाद २ को न्यारेटिभ वा कथा त्यति मिलेको छैन। सिक्वेन्स नमिल्दा भन्न खोजेको कुरा प्रभावकारी हुँदैन, अलमल हुन्छ। जस्तो, सुरूमै न्यारेटरले प्रिक्वेल 'प्रसाद' को कथा सम्झाउँदै बलात्कारबाट जन्मिएको छोरा बाबुरामले प्रसाद ठानेर स्वीकार गरेको बताउँछ। तर त्यो छोरो बाबुरामको नभएर बलात्कारीको हो भन्ने कुरा स्वयं अपराधी, नारायणी र बाबुरामलाई मात्रै थाहा छ भन्ने चाहिँ प्रष्ट पारिँदैन।
यो भूलका कारण जब पछि बलात्कारी रमेश आफैंले गाउँलेका सामु पोल खोल्छ, गाउँले सबै चकित हुन्छन्। पर्दामा अन्यौल र आक्रोश उत्पन्न हुन्छ। तर त्यो भावनाले दर्शकलाई छुँदैन।
यसरी अकस्मात कथाले नयाँ मोड लिन्छ र परिवारभित्रै, दलित समुदायभित्रै त्यति बेलासम्म मासा पाएका र आशा गरिएका बाबुराम परियार बदनाम हुन्छन्। अनेक कष्ट, अपमान भोग्दै र संघर्ष गर्दै आएका बाबुराम र उसकी श्रीमती नारायणी (काजीकी छोरी) को बिछोड होला जस्तो परिस्थिति बन्छ। तर यो सारा घटनाले गाउँलेलाई जस्तो दर्शकलाई आश्चर्यमा पार्दैन। मूल पात्रहरूको रूवाबासीले दर्शकका आँखा रसाउँदैनन्।
कुनै पनि फिल्म सफल हुन दर्शक कथामा चुर्लुम्मै डुब्नुपर्छ। पर्दामा देखाइएका घटना असत्य हुन्, आख्यान मात्रै हुन् भन्ने दर्शकले केहीबेर भुल्नुपर्छ। मूल पात्रलाई चोट लाग्दा दर्शकले दुखेको अनुभूति गर्नुपर्छ। खलपात्रले सजाय पाउँदा हलमा खुसी र सन्तोषको माहोल फैलिनुपर्छ। त्यो यो फिल्ममा बिरलै पाइन्छ।
यो जादु हासिल गर्न भूमिका निर्वाह गर्ने कलाकारको अभिनय त तगडा हुनु पर्यो नै। निर्देशकले पनि जति अप्ठ्यारा वा अस्वाभाविक विषयवस्तुलाई पनि अत्यन्तै सरल र स्वाभाविक रूपमा प्रस्तुत गर्न सक्नुपर्छ। मूल पात्रलाई अनेक हन्डर, ठक्कर खुवाउँदै एउटा निष्कर्षमा पुर्याउनुपर्छ। हरेक घटनाबाट प्रमुख पात्रहरूको दिमाग खुल्दै जानुपर्छ। उनीहरूको बलबुद्धि योग्यता र क्षमता बृद्धि हुँदै जानुपर्छ।
प्रचलित सूत्रजस्तो आजका फिल्ममा सधैं मुख्य पात्रको जित हुनैपर्छ भन्ने छैन। अन्ततः तिनले हारे पनि कही हुँदैन। मृत्यु भए पनि फरक पर्दैन। तर तिनको जीवनले, तिनको संघर्षले परिवार, समाज, देश वा मानव जगतलाई केही गतिलो चिज छाडेर जानुपर्छ। फिल्मले उजागर गर्न खोजेको विषयका कतिपय पक्षबारे दर्शकको आँखा खोलिदिन सक्नुपर्छ। ताकि चिजलाई दर्शकले नयाँ तरिकाले बुझ्न थालून्! दर्शकको मनमा नयाँ उत्साह, नया प्रतिबद्धता, नयाँ ऊर्जा पैदा होस्!
बलिउडका चर्चित र बक्सअफिसमा अत्यन्तै सफल सोसल ड्रामाहरूमा आर बाल्कीद्वारा निर्देशित सन् २०१८ फेब्रुअरीमा रिलिज भएको 'प्याड म्यान' लाई पनि लिन सकिन्छ। महिलाले महिनावारी हुने बेला लगाउने प्याडसँग जोडिएको कथा कतिलाई त नाम सुन्दै मन परेन होला। तर यो अत्यधिक प्रसिद्ध भयो। कारण अक्षय कुमारले निर्वाह गरेको लक्ष्मीकान्तको चरित्रमा दर्शकहरू झुमे।
लक्ष्मीको दुःखमा दर्शक रून्छन्, सफलतामा खुसी हुन्छन्। उसले संघर्ष गर्दा दर्शक सफलताको कामना गर्छन्। सत्यकथामा आधारित यो विशेष पात्रले अनेक हन्डर खाएर पनि अन्ततः आफ्नो 'मिसन' सफल बनाएरै छोड्छ। सस्तोमा प्याड बनाउने मेसिन बनाएर लाखौं गरिब महिलाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। रजस्वला नितान्त प्राकृतिक चिज हो, यसलाई लज्जाको विषय ठान्नुको सट्टा यसबाट हुन सक्ने समस्या र रोगब्याधबाट दिदीबहिनी, छोरी, आमा, श्रीमतीलाई बचाउन पर्छ भन्ने शक्तिशाली सन्देश फिल्मल् प्रवाह गरेको छ।
प्रसाद २ मा पनि मैले विपीन कार्कीले निर्वाह गरेको बाबुराम परियार चरित्रमा आजको दलित समुदायले खोजेको एउटा क्रान्तिनायक खोजेको थिएँ। त्यस्तो पात्र जसले उत्पीडित समाजलाई आन्दोलित हुने हुटहुटी प्रदान गरोस्। जसले अन्ततः ज्यानै फालेर भए पनि जातीय घृणा र हिंसाविरूद्ध संघर्ष चर्काओस्। जसले दलितलाई मुक्ति आन्दोलनबारे केही नयाँ विचार र भिजन देओस्।
सुरूमा मैले केकी अधिकारीले निर्वाह गरेको नारायणी पात्रमा पनि यो सम्भावना देखेको थिएँ। ऊ त अझ दमाईसँग बिहे गरेकै कारण जात 'झारिएकी' महिला, बलात्कारको शिकार भएर पनि न्याय नपाएकी महिला। त्यसैले पनि जातीय र लिंगीय संघर्षको दोभान बन्छे होला भन्ने लागेको थियो।
तर न बाबुराम सशक्त बन्दै गयो, न नारायणी। उनीहरूको लड्ने इच्छाशक्ति पनि शिथिल बन्दै गयो। मनोबल ढल्दै गयो। बलात्कारी रमेश (अर्पण थापा) आफैंले गाउँलेहरू सामु पोल खोल्दा पनि दम्पतीले खासै केही गर्न सकेनन्। न कुनै गतिलो तरिक गर्न सके, न न्यायका लागि बलियो खम्बा बनेर उभिन सके। उल्टो रमेशको उक्साहटमा नारायणीले समेत श्रीमानलाई विश्वास गरिन।
सबैबाट अलग्गिएको बाबुराम केही गर्नै नसक्ने अवस्थामा पुग्यो। धन्न, एक जनाले सत्य कुरा बाहिर ल्याएर उसको साख बच्छ। बाबुराम समाजमा फेरि स्थापित हुन्छ।
यसरी दर्शकले खासै नचिनेको एक जना 'माइनर' क्षेत्री पात्रको मद्दतले मुख्य पात्रहरूको उद्धार हुन्छ।
यो कथा खल्लोखल्लो छ। 'ह्याप्पी एन्डिङ' त्यति विश्वासिलो र अर्थपूर्ण लाग्दैन, सोसल ड्रामाका लागि सुहाउँदो छैन। बाबुरामले राजनीतिक शक्ति हासिल गरेपछि उसको जीवनमा आउने परिवर्तन अस्वाभाविक लाग्छ। पचाउन कठिन हुने यस्तो चमत्कार एकाध गाउँसमाजमा भएको पनि होला। तर मैले चिनेका कैयौं दलित छन् जसलाई राजनीतिक पदले उनीहरूले भोग्ने सामाजिक बहिस्कारमा कुनै फरक पारेको छैन।
दलितलाई घरभित्र लग्दा घरका देवीदेउता रिसाउँछन्, कूल बिग्रिन्छ, पितृले पिर्छ भन्ने विचार सर्वव्यापी छ। शूद्रसँग छोराछोरीले बिहे गरे कूलकुलाइन रिसाउँछन्, स्वर्ग जाने बाटो बन्द हुन्छ भन्ने छ। यो कुरा असत्य हो, अधर्म हो भन्ने कुरा नारायणीका बाआमा र नाताकुटुम्बले कसरी बुझे? गाउँलेले कसरी यो पक्ष त्यागेर छुवाछुत मुक्तिका लागि तयार भए? यसका कुनै आधार नखुलाई देखाइएको 'ह्याप्पी एन्डिङ' अतिरन्जित लाग्छ।
'प्रसाद २' को एउटा आलोच्य पक्ष के छ भने दलित मुद्दामा बनाइएको फिल्म भए पनि एकै जना दलित कलाकार छैनन्। दलितको भूमिका निर्वाह गर्ने दलित नै हुनुपर्छ भन्ने होइन। विपीन कार्कीले दमाई ठिटोको चरित्रलाई मेहनत गरेरै न्याय गरेका छन्। जातीय घृणा र यौनहिंसाको दोहोरो मारमा परेकी केकी अधिकारीको भूमिका त अझ सशक्त छ, वास्तविक छ। तैपनि जातीय अपमान र घृणा प्रत्यक्ष भोगेका कुनै कलाकारलाई समेटेको भए सूनमा सुगन्ध हुन्थ्यो।
अर्को कुरा संयोग मात्रै हुन सक्छ, एकप्रकारले यो फिल्ममा क्षेत्रीको श्रेष्ठता कायम गर्न खोजेजस्तो देखिन्छ। यसै पनि निर्देशक, निर्माता, कलाकार लगायत फिल्ममा संलग्न अधिकांश मानिस क्षेत्री समुदायका छन्। कथाको केन्द्रमा पनि क्षेत्री नै छन्। अलि गहिरिएर हेर्दा यो फिल्मले बाहुनप्रति घृणाभाव सम्प्रेषण गरेको छ। पौराणिक कालदेखिको परम्पराअनुसार गाउँमा क्षेत्रीको (काजीको) सत्ता छ र उसको प्रमुख सल्लाहकार बाहुन पण्डित छ। तर चुनावमा काजीको छोरो पालिका अध्यक्ष उठ्दा पण्डितको रणनीतिले काम दिँदैन। उसको योजनाले क्षेत्रीका विरूद्ध उठेको बाबुराम परियारलाई निस्तेज पार्न सक्दैन। तसर्थ बाध्य भएर काजी र छोरोले खराब चरित्रको भए पनि क्षेत्री ठिटो रमेशलाई रणनीतिकारका रूपमा प्रयोग गर्छन्।
अर्पण थापाको आकर्षक अभिनयले दर्शकलाई केही मनोरन्जन दिन्छ। उनले निर्वाह गरेको रमेश पात्रको चाणक्य नीतिले झन्डैझन्डै बाबुरामलाई घर, परिवार र समाजबाटै अलग बनाइदिने अवस्थामा पुर्याइदिन्छ। अर्को क्षेत्री पात्रकै विशेष पहलमा सबै कुरा मिल्छ। तर बाहुनलाई यो कुरा सह्य हुँदैन।
यसरी फिल्मले बाहुनको पछाडि नलाग, यिनीहरू अन्धविश्वासी हुन्छन् र बदलिएको समयसँगै परिवर्तन हुन मान्दैनन्, बरू क्षेत्रीको पछि लाग्दा मुक्तिको बाटो खुल्न सक्छ, उनीहरू तुलनात्मक रूपमा कम पुरातनपन्थी हुन्छन् भन्ने देखाउन खोजेको छ। यो पनि समस्याग्रस्त छ।
समग्रमा, गतिलो विषय भए पनि लेखन र निर्देशनमा धेरै कमीकमजोरी भएकाले प्रसाद २ सोचे जति प्रभावकारी हुन सकेको छैन। यस्तो तरिकाले कुनै फिल्म जनप्रिय हुँदैन। तैपनि फिल्मले उजागर गर्न खोजेको विषय गम्भीर छ, समसामयिक छ। यस्तै विषयमा सुदर्शन थापाले जस्तै अन्य कलाकर्मी, साहित्यकार, लेखक, मिडियाकर्मी लगायत सबै बौद्धिक वर्गले आफ्नो प्रतिभा खर्च गरे वास्तवमै समाज बदलिन समय लाग्ने छैन।
(लेखक डा. मित्र परियार समाजशास्त्री तथा दलित अभियन्ता हुन्।)