लगातारको वर्षाले काठमाडौको आकाश पखालेर निलो बनाएको थियो। मनसुन नसकिए पनि उपत्यकामा टनटलापुर घाम लागिरहेको थियो। खुलेको आकाश र घमाइलो दिनमा मेरो मन चाहिँ धुम्म बनिरहेको थियो — मनसुनी बादल आकाशमा मडारिएजस्तो।
मेरो मन दुईतिर बाँडिएको थियो — एउटा कुनै सफलतामा प्रफुल्लित भएजस्तो। अर्को केही गुमाउनुको पीडाले खिन्न बनेजस्तो।
दोधारे मन लिएर म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेँ। हाम्रो ह्यांगर नजिकै राखिएको थियो 'नाइनएन-एआइएन एटिआर-४२' जहाज।
सोह्र वर्षदेखि परिचित त्यो जहाज मेरा लागि नौलो थिएन। त्यस दिन त्यसलाई देख्दा नरमाइलो लाग्यो। मनमा कताकता 'मैले यसलाई यही रूपमा हेर्न पाउने अन्तिम पटक हो' भन्ने आभासले अर्कै खाले अनुभूति भयो।
त्यो दिन थियो — २०२४ सेप्टेम्बर १०।
मेरो मन दोधारमा पर्नुको कारण थियो — त्यसै दिनदेखि हामी त्यो एटिआर जहाजलाई 'अवकाश' दिएर बिदाइ गर्दै थियौं।
धेरैले त्यसअघि नेपालमा जहाजको अवकाश हुन्छ भन्ने थाहा पाएकै थिएनन् सायद। बुद्ध एयरका लागि मात्र होइन, जहाज निर्माता कम्पनी एटिआरका लागि पनि त्यो एउटा ऐतिहासिक घटना थियो।
हामीले जहाजलाई अवकाश दिनुअघि एटिआरको इतिहासमै कुनै पनि व्यावसायिक र उड्दै गरेको यात्रुवाहक विमानले सम्पूर्ण साइकल पूरा गरेर अवकाश पाएको थिएन। उड्डयन क्षेत्रमा जहाज पुरानो हुँदैन भन्ने मान्यता छ। त्यो सही पनि हो। त्यति हुँदाहुँदै जहाजको प्रकारअनुसार निश्चित साइकल पूरा गरेपछि त्यसलाई बिदाइ गर्नुपर्ने हुन्छ।
मुख्यतः जहाजलाई 'जेनरल' र 'एयरलाइनर' भनेर वर्गीकरण गरिएको हुन्छ।
जेनरल वर्गमा ३० सिट क्षमताभन्दा तलका जहाज पर्छन्। हामीले बुद्ध एयरको सुरूआत त्यस्तै जहाजबाट गरेका थियौं। ती जहाजको 'अनलिमिटेड लाइफ' हुन्छ। त्यसो भन्दैमा मर्मतसम्भार नगरेर वा जहाजको कुनै 'कम्पोनेन्ट' फेर्नुपर्दा नफेरी उडाउन सकिन्छ भन्ने होइन। नियमित मर्मतसम्भार भइरहने हो भने त्यस्ता जहाजका लागि कुनै निश्चित समय तोकिएको छैन।
हामीले त्यो समूहमा पर्ने बिचक्राफ्ट-१९०० डीलाई २५ वर्ष र ७५ हजार साइकलभन्दा बढी उडायौं। त्यस्ता जहाजलाई हामीले क्यानडाको कम्पनीलाई २५ वर्षअघि जति मूल्यमा किनेका थियौं, त्यस्तै मूल्यमा बिक्री गर्यौं।
हाम्रै दृष्टान्तसमेत जेनरल एभिएसनको जीवन अनिश्चित हुन्छ भन्ने आधार दिएको छ।
कुनै जहाज एकपटक उडेर अवतरण गरेपछि एउटा साइकल पूरा हुन्छ। त्यस्ता ७० हजार साइकल पूरा गरेपछि एटिआरको नाइनएन-एआइएन जहाजले अवकाश पाएको हो। निर्माता कम्पनीले तोकेको साइकल पूरा गर्ने क्रममा पनि हामी व्यावसायिक उडान गर्दै थियौं। सन् २००८ सेप्टेम्बर १७ तारिखबाट त्यो जहाजले व्यावसायिक उडान सुरू गरेको थियो। उसको पहिलो व्यावसायिक उडान माउन्टेन फ्लाइट थियो।
प्रायः जहाजहरू पुरानो हुँदै गएपछि त्यसलाई यात्रुवाहकबाट कार्गोमा परिवर्तन गरिन्छ। हामीले भने सेप्टेम्बर ९ तारिखसम्म त्यो जहाजलाई यात्रुवाहककै रूपमा उडायौं। सत्तरी हजार साइकल पूरा हुन थोरै बाँकी रहँदा सेप्टेम्बर १० तारिखमा त्यसले अवकाश पायो। माउन्टेन फ्लाइटबाट व्यावसायिक उडान सुरू गरेको जहाजको अन्तिम उडान पनि माउन्टेन फ्लाइट नै रह्यो। सेप्टेम्बरमा उडान सुरू गरेको त्यसले सेप्टेम्बर महिनामै' साइकल पूरा गरेर सधैंका लागि अवतरण भयो।
त्यो जहाजले १६ वर्ष ३ दिने उडानका क्रममा १८ लाखभन्दा बढी यात्रुलाई सेवा दिएको थियो।
बिदाइ भनेको केही आफूबाट टाढा जानु हो। त्यसले मलाई त्यस दिन एकखाले आघात पुगेको महसुस भएको थियो। अर्कोतिर एउटा जहाजले आफ्नो सम्पूर्ण आयु पूरा गरेर बिदाइ हुन पाउनु हाम्रा लागि खुसीको कुरा पनि थियो।
सन् २००८ मा हामीले इन्टरनेसनल फाइनान्सियल कर्पोरेसन आइएफसीको ऋण सहयोगमा दुइटा एटिआर-४२-३२० जहाज भित्र्याएका थियौं। आइएफसीकै ऋण सहयोगमा ह्यांगर निर्माण थालेका थियौं। यो १६ वर्षमा हामी एटिआर अपरेटरहरूमा संसारकै सातौं ठूलो एयरलाइन्स कम्पनी बन्न पुगेका छौं।
नेपालमा सुरूमा निकोन एयरले एटिआर भित्र्याएको थियो। अनेक कारणले त्यो कम्पनी डुब्यो तर दोष एटिआरमाथि लाग्यो। एटिआरले बाध्य भएर आफ्नो रकम उठाउन त्यस बेला नेकोन एयरसँग भएका जहाजका पार्टपुर्जासमेत बेचेको थियो। त्यसो गर्दासमेत उसले घाटा बेहोरेको थियो। हामीले भने त्यसै किसिमका एटिआर जहाजबाट सहज एवं सुलभ भाडादरमा हवाइ सेवा दिइरहेका छौं।
अबको केही वर्षमा तीन/चार वटा एटिआर जहाजहरू त्यसै गरी अवकाशमा जानेछन्। हामीले ती जहाजलाई विस्थापित गर्दै थप जहाज भित्र्याउने योजना अघि बढाएका छौं। एटिआर जहाजलाई पूरा साइकल चलाएर अवकाश दिइएको कुराले बुद्ध एयरलाई एउटा पृथक पहिचान दिएको छ।
कुनै विमानलाई पूरा साइकल चलाएर अवकाश दिने काम बुद्ध एयरका लागि मात्र नभई एटिआरका लागि पनि गर्वको कुरो भएको छ। यो म र बुद्ध एयरसँगै समग्र नेपाली र नेपालकै गर्वको विषयसमेत हो। यसरी जहाजलाई अवकाश दिने हाम्रो कामले मुख्य चार सन्देश दिएको छ।
पहिलो कुरा जहाज पुरानो हुने सम्बन्धमा रहेका मिथ्या कुरालाई यसले चिर्ने काम गरेको छ। नेपालका विमान सेवा कम्पनीले पुराना जहाजबाट सेवा दिइरहेको आरोप लाग्ने गरेको छ। जहाज चाहिँ कहिल्यै पुरानो हुँदैन। यसका हरेक पार्टपुर्जाको साइकल तथा एक्सपायरी डेट हुन्छ। त्यसैअनुरूप जहाजलाई मर्मतसम्भार तथा नयाँ पार्टपुर्जा जडान गरेर चलाएमा त्यो पूरा साइकल चल्न सक्छ भन्ने उदाहरण हाम्रो अवकाश पाएको एटिआर जहाज भएको छ।
त्यसले जहाजको नयाँ र पुरानो मान्यता सम्बन्धी मिथ्या कुरालाई चिर्ने काम गरेको छ। कसैले ल्याएको नयाँ जहाजको पनि मापदण्ड अनुसार समयमा मर्मतसम्भार भएन भने त्यसले दुर्घटना निम्त्याउन सक्छ। नियमित रूपमा मापदण्ड अनुसार मर्मतसम्भार भएको जहाज चाहिँ पूरा साइकल चल्न सक्छ।
दोस्रो भनेको बुद्ध एयर एउटा सामर्थ्ययुक्त कम्पनी हो भन्ने उजागर हुनु हो। एटिआर विमानलाई पूरा साइकल चलाएर अवकाशमा लैजाने अवस्थामा पुग्नुले बुद्ध एयर विमानहरूको मर्मतसम्भार र उडान सञ्चालमा अब्बल छ भन्ने पुष्टि भएको छ। हाम्रो प्राविधिक र अपरेसनको टिम विकसित राष्ट्रको भन्दा कम नरहेको यसले देखायो।
बुद्ध एयरको यस्तो सामर्थ्य देखिनु भनेको देशकै लागि गर्वको कुरा हो। यसमा हामी प्रसन्न नहुने कुरा छैन। नेपालीमा निराशा छाएका बेलामा यो पनि एउटा आशाको त्यान्द्रो हो भन्ने मेरो बुझाइ छ। व्यावसायिक जीवनमा कुनै पनि विमान निर्माता कम्पनीका लागि समेत ऐतिहासिक मानिएको घटनाको साक्षी मात्र होइन, त्यसको कर्ताकै रूपमा आफूलाई उभ्याउन पाउँदा मलाई गौरव लाग्नु स्वाभाविक नै हो।
तेस्रो कुरा भनेको बुद्ध एयरको एउटा भिन्नै र पृथक पहिचान बन्नु हो। यो कामले बुद्ध एयरप्रतिको विश्वसनीयता वृद्धि गरेको छ भने 'यो कम्पनी राम्रो हो' भन्ने सन्देश प्रवाह भएको छ। त्यसले बुद्ध एयरलाई एउटा पृथक पहिचान स्थापित गर्न सकारात्मक भूमिका खेलेको छ। बुद्ध एयरले विश्वमा अन्य कुनै पनि वायुसेवा सञ्चालकहरूले 'हालसम्म गर्न नसकेको काम गर्यो' भन्ने सन्देशले पहिचान अभिवृद्धिमा सहयोग पुगेको छ।
चौथो कुरा भनेको बुद्ध एयर यात्रुप्रति सधैं उत्तरदायी छ भन्ने पुनर्पुष्टि हुनु हो। बुद्ध एयरलाई धेरै यात्रुले उत्तरदायी कम्पनीकै रूपमा लिन्छन्। हामीले त्यसबारे बारम्बार चर्चा गर्ने गरेका छौं। एउटा चल्दाचल्दैको जहाजलाई उसले उड्नुपर्ने साइकल उडिसकेपछि अवकाश दिने कदमले हामीमा यात्रुप्रतिको उत्तरदायित्वबोध छ भन्ने कुरालाई प्रकट गरिदिएको छ।
जहाजलाई अवकाश दिने कार्यक्रममा एटिआरको प्रतिनिधित्वसमेत गर्दै काठमाडौंस्थित फ्रान्सेली दूतावासकी नियोग उपप्रमुख इल्ला कली आफै उपस्थित भएर बुद्ध एयर र एटिआरले उत्तरदायित्वबोध गरेर यस्तो काम गरेको बताएकी थिइन्। त्यो हाम्रा लागि निकै खुसीको क्षण थियो। उनको अभिव्यक्तिले हामीलाई थप हौसला प्रदान गर्यो।
त्यस दिन चर्को घाममा नाइनएन-एआइएन एटिआर-४२ जहाजलाई सिनियर क्याप्टेन शोभन बस्नेतले चलाएर अघि बढाउनुभयो।
हामीले जहाज आउने बाटोको दुवैतर्फ अग्निनियन्त्रक यन्त्र राखी पानीको फोहोराले त्यसलाई बिदाइ गर्ने प्रबन्ध मिलाएका थियौं। उहाँले जहाज अघि बढाएर गुडाउँदै ल्याएपछि दुवैतर्फबाट पानीको फोहोराले त्यसलाई अन्तिम बिदाइ गरियो।
मान्छेको होस् वा मेसिनको बिदाइको क्षण नरमाइलो हुने रहेछ। जहाजलाई दुईतिरबाट पानीका फोहोराले बिदाइ गरिँदै गर्दा मेरा आँखामा पनि सायद आँसु छचल्किँदै थिए। त्यो नरमाइलो मान्नुपर्ने मात्र क्षण थिएन, एउटा सफलताको इतिहास रचिएको बेला पनि थियो। त्यसैले मैले आफैलाई सम्हालेँ र मन्द मुस्कान निकाल्ने कोसिस गरेँ ।
(लेखक वीरेन्द्र बहादुर बस्नेत बुद्ध एयरका कार्यकारी अध्यक्ष हुन्। यो लेख बुद्ध एयरको प्रकाशोन्मुख कृतिको अंश हो।)